Saturday 24 September 2022

एक युगपुरुषको गाथा

 

 

         


    आजभन्दा १३७ वर्ष अगाडि एक अन्धकार युगमा जन्मिएका फलामसिं लिङ्देनको जीवनवृत्त वरिपरि रहेर वीरेन्द्र थोक्लिहाङले फाल्गुनन्द उपन्यास तयार गरेका छन् । उपन्यास भनिए पनि सत्यका छेउमा बगिरहेको कथावस्तु कतातिर कल्पना हो र कहाँनेर यथार्थ हो भनेर खुट्याउन नसकिने गरी वीरेनजीले अति मिहिन ढंगले कथा बुनेका छन् । अहिले निस्कने पुस्तकका भीडमा वीरेनजीको फाल्गुनन्द मैले पृथक पहिचान बोकेको, पूर्वेली स्वादले भरिएको यथार्थपरक लेखनीका रुपमा पाएँ । मेरा लागि, अझ भन्नुपर्दा पढ्दाखेरी पट्टाई नलाग्ने र खर्लप्पै पढेर छिनाइने पुस्तक मध्येको एकमा गणना गर्दा हुनेरहेछ ।

          अहिलेका पुस्ताले मुश्किलले मात्र कल्पना गर्न सक्ने समयको सेरोफेरोमा लेखिएको यो उपन्यासको मर्म भन्नु नै सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको परिचय विस्तार गराउनु हो । त्यस्तो अँध्यारो समयमा ज्ञानको राँको बालेर चेतना छर्दै समस्त पूर्वी भेगलाई उठाउन लागि परेका यी सन्तपुरुष फाल्गुनन्दका बारेमा यसरी एउटा स्पष्ट शब्दचित्रको खाका कोर्न सक्नु वीरेनजीको ठूलो खुवी हो । यथार्थवादी उपन्यास भन्नु नै वास्तविक जीवनको परिकल्पित घटना हो । यसले पाठकलाई यथार्थ सत्यको भ्रम पार्दछ । यस अर्थमा वीरेनजीको फाल्गुनन्द एक यथार्थवादी जीवनीपरक उपन्यास हो ।

          यो उपन्यास व्यक्तिपरक देखिएपनि यसले नेपालको पूर्वी भेगमा बस्ने लिम्बू जातिको सम्पूर्ण संस्कार र परम्परालाई सूक्ष्म रुपमा चित्रित गरेको छ । आत्मज्ञानले परिपूर्ण स्वामी फाल्गुनन्दले लिम्बू जातिमा देखिएको पछौटेपन हटाउन अनेक उपाय गरी समाधानहरु सुझाएका छन् । सामान्यजनहरु सोझै ज्ञानगुणका कुरातिर आकर्षित नहुने बुझेर फाल्गुनन्दले शक्ति र तन्त्र उपासना गरेर सिद्धी प्राप्त गरेको कुरा पनि उपन्यासमा वर्णन गरिएको छ । माङको कृपाले सिद्धी प्राप्त गरी उनले बिरामीहरु तंगर्याएका छन्, पानी पारेका छन् र बन्जर ठाउँमा पानी उमारेका छन् । सामान्यजनहरु यी चमत्कारबाट प्रभावित हुन्छन् । अनि यिनै शक्तिका आडमा महागुरुले मानव जातिको र विशेषगरि लिम्बू जातिको उत्थानका लागि मार्गदर्शन गरेका छन् । यसै क्रममा महागुरुले वि.सं. १९८८ मा लिम्बू जातिका अगुवाहरु भेला गरेर निर्णयमा हस्ताक्षर गराए । यस मुचुल्कामा परम्परा र कुसंस्कारलाई सबैले हातेमालो गरेर हटाउनुपर्छ भनेर आव्हान गरिएको छ ।

          एउटा लेखकले पात्रभित्र पसेर पात्रकै अवतार लिएर लेख्न सके मात्र कृतिलाई न्याय गर्न सकिन्छ । यो कृति लेखनक्रममा वीरेनजीले फाल्गुनन्दकै अवतार धारण गरेका छन् । उनले कथालाई तृतीय पुरुष दृष्टिविन्दुमा लेखेका छन् । पुस्तकमा वीरेनजी आफैं दर्शक र ज्ञाता भई घटनाक्रमलाई न्यारेट गरेका छन् । कथाक्रममा फाल्गुनन्द आफैं पनि प्रथम पुरुष बनाइएका छन् । सामान्य र रोचक कथनहरुलाई जोडेर, ऐतिहासिक तथ्यको डोरी समातेर, श्रुती र किम्वदन्तीहरुलाई उचित प्रकारले जोडेर, अनि लेखकको कल्पनाशीलताले कथामार्गमा देखिएका भ्वाङ्ग र खाल्डाहरु पुर्दै पुर्दै कथा अगाडि बढेको छ । कथा पढिसक्दा पाठकहरुका मनमा एक व्यक्ति कसरी समाज सुधारक, भाषा संरक्षक, सत्यधर्म प्रचारक, कुशल संगठनकर्ता, विचारक र दर्शनज्ञाता भएर जनमानसमा छाप छोड्न सफल भए भन्ने कुरा स्वतः आउँछ ।

          अशिक्षा र अन्धकारले जकडेको युगमा, पुराना अन्धविश्वासले गाँजेको  समयमा स्वज्ञानले परिपूर्ण एउटा अहिंसावादी व्यक्तिले गरेको समाज सुधारको प्रयास अकल्पनीय छ । यस्तै कुराहरुको भेटेसम्मको अध्ययन अनुसन्धान गरेर वीरेनजीले सहज र सरल ढंगले महागुरु फाल्गुनन्दको योगदानलाई भावी पुस्ताका पोल्टामा हालिदिएका छन् । फाल्गुनन्दको योगदान र ज्ञान कुनै जाति र सम्प्रदायभन्दा माथि उठेर सम्पूर्ण मानव जातिकै भलाई र उत्थानका लागि गरेको अथक प्रयास रहेछ भन्ने कुरा उपन्यास पढिसकेपछि छर्लङ्ग हुन्छ ।


          एउटा दैवीय शक्ति प्राप्त व्यक्तिले किन अन्त्यकालमा दुःख पायो ? आफूले चाहेको स्थान सम्म पुगेर इच्छा मरण किन गर्न सकेन र बारम्बार ठक्कर बेहोर्नु पर्यो त भन्ने कुरा पनि मेरो सोचाइमा नआएका होइनन् । तर फेरि मैले के सोचेँ भनेँ हरेक महापुरुषहरु समाजका उदाहरण हुन् । उनीहरु मानवका रुपमा यस धर्तीमा अवतरीत भइसकेपछि मानव जीवनमा आइपर्ने सम्पूर्ण पक्षहरुको सामना गर्नैपर्ने रहेछ । मानव जीवनका वाधाहरु, अड्चनहरु, लोभ, मोह, क्रोध, मायाजस्ता काँडाघारीहरु पन्छाउँदै मार्ग प्रशस्त गराइदिँदै, अँध्यारोमा पुल्ठो बोकेर अघि बढ्नु जरुरी रहेछ । फाल्गुनन्दजस्ता पथप्रदर्शकहरुले उदाहरण बनेर सत्य स्थापित गर्नुपर्ने रहेछ । कुनै पनि वाधा, अड्चन, तगारालाई भत्काएर सत्य स्थापित गर्न कति दृढ संकल्पको आवश्यकता पर्दोरहेछ भन्ने तथ्य पनि स्थापित गर्नुपर्ने रहेछ । जसरी हामीले पढिआएका, सुनिआएका रामायण, महाभारतमा पनि राम र कृष्णले सर्वज्ञानी र सर्वशक्तिमान भैकन पनि एउटा सामान्यजनले बेहोर्नु पर्ने दुःख बेहोर्नुपर्यो, जिजस क्राइस्टले अनेकन् हन्डर खाएर क्रुसमा टाँगिनु पर्यो, मोहम्मदलाई पनि अज्ञानीहरुले खेदो गरे, त्यसैगरी फाल्गुनन्द स्वामीले पनि अनेकौँ हण्डर र बिघ्नवाधा खप्नुपर्यो । एउटा सामान्यजनले भोग्ने सम्पूर्ण कष्ट खप्नुपर्यो । आफूले चिताएका सम्पूर्ण कुरा उनले गर्न सकेनन् । यसरी उपन्यासले तत्कालिन समयको पतनोन्मुख समाजको उद्धार गर्ने दृढ संकल्प गरेर अघि बढेका महागुरु फाल्गुनन्दको परिचय गराउने र उनका ज्ञान मार्गबारे जगतलाई बुझाउने काम गरेको छ ।

          लेखनक्रममा वीरेनजीले नेपालको पूर्वी भेगमा रहेका किराँत समूदायको संस्कृति र चालचलनलाई समेत रेशमी शैलीमा प्रस्तुत गरेका छन् । अलिअलि पूर्वीय संस्कृतिसँग  भिजेका पाठकहरुलाई त यस लेखनीले धान नचाउँछ, झार्लाङ्गी सम्झाउँछ, गाउँको बिहेको दृष्य झल्झली आँखा अगाडि ल्याइदिन्छ । हराइसकेका शब्दहरुमा वीरेनजीले यस उपन्यास मार्फत सास भर्ने काम पनि गरेका छन् । सांस्कृतिक रुपमा प्रयोग हुने शब्दहरु जस्तै झार्लाङ्गी, धोवो, गुन्द्री, मान्द्रो, तोङ्वा, पिपा, लोकन्दी, कोथीवाले खुकुरी जस्ता शब्दहरुलाई सलाइन पानी चढाएर बौराएका छन् । त्यहि लिम्बू समूदायका आधुनिक पुस्तामा समेत अहिले ती शब्द हराइसकेका छन् । शब्दको अर्थ थाहा भए पनि ती शब्दले बोक्ने मिठासलाई कर्ममा उतारेको देखेपछि र भोगेपछि मात्र शब्दको रस आउने रहेछ ।

         


वीरेनजीले २८५ पृष्ठको जीवनीपरक पुस्तकलाई उपन्यास भनेपनि उनले यो एक पवित्र ग्रन्थ नै तयार पारेका रहेछन् । श्रुती परम्परामा आधारित मुन्धुम परम्पराका कुराहरु उनले आवश्यक ठाउँमा उपन्यासमा उल्लेख गरेका छन् । यसरी वीरेनजीलाई गुरुकृपा वा माङको आशीर्वाद नै प्राप्त भएको भन्नुपर्छ । उनको यो कृतिलाई उत्कृष्ट खोजमुलक आख्यानका रुपमा पनि हेर्न सकिन्छ । त्यहि समूदायमा हुर्किबढी गरेका वीरेनजीले जति मिहिन ढंगले त्यस समूदाय र संस्कृति परम्पराको जीवन्त तस्वीर उतार्न सके, त्यति कुरा परत्रबाट सम्भव हुँदैनथ्यो होला भन्ने मलाई लाग्छ । यस अर्थमा हरेक नेपालीले विशेषगरी पूर्वेलीले, यो पुस्तक एकपटक पढ्नै पर्ने पुस्तकका रुपमा मैले देखेकी छु । हाम्रा लिम्बू किराँत पूर्खाहरुले पूजन गरेको भूमिमा टेक्नेहरुले उता उत्तरतिरको सिलौटीतिर हेरेर, फक्ताङलुङतिर फर्किएर शीर ननिहुराए त हामी कृतघ्न ठहरिने रहेछौँ । त्यति कुरा वीरेनजीले बुझाउन खोजेका छन् फाल्गुनन्द मार्फत।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 23 September 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).