मानिसका बाल्यकालका सम्झनाहरु जीवनका अरु कालखण्डका भन्दा प्यारा हुँदा रहेछन् कि के हो ! त्यसै भएर होला शायद जीवनपर्यन्त तिनले पछ्याइरहन्छन् । बाल्यकालका यस्तै मीठा सम्झनामध्ये एउटा सम्झना — केटाकेटी बेलामा हाम्रा बुवाको जन्म गाउँ जाने गरेकोले मेरो मानसपटलको एक खण्ड ढाकिएको हुन्छ ।
मैले
यसो सम्झी हेरेँ— म अन्तिमपटक कहिले त्यहाँ पुगेकी रहेछु भनेर । मनमनै हिसाब
गरिहेर्दा झण्डै साढे चार दशक अगाडि रहेछ । पूर्वी पहाड धनकुटाको एउटा गाउँ–फलाँटे
। त्यो समयमा धनकुटा बजारबाट बिहान झिसमिसेमा हिँड्दा दिउँसो २—३ बजेतिर पुगिन्थ्यो । शायद बुवालाई फलाँटे अतिप्रिय थियो । त्यहाँका
अनेक किस्सा उहाँ हामीलाई सुनाइरहनुहुन्थ्यो । कहिले गाउँबाट तल बेसीमा खेती गर्न
गएको, घाँसदाउरा गरेको, पिरो नखाने हजुरबुवाको खानामा अन्जानमा
केही पिरो वस्तु परेको र हजुरबुवा खाना खाइसकेपछि हँसिया बोकेर खोर्सानीको बोट
काट्न बारीमा जानुभएको । बुवाका यस्तै दन्त्यकथाजस्ता लाग्ने सम्झनाका बीचमा
मुवाँले सुनाएको कथा पनि कम रोमाञ्चकारी लाग्दैनथ्यो ।
मुवाँलाई
विवाह गरेर बुवाले बेहुलीका रुपमा फलाँटे नै लानुभएको थियो रे । धनकुटा बजारकै
सेरोफेरोमा हुर्किनुभएकी मुवाँलाई गाउँका विकट बाटाहरुको त्यतिसारो अनुभव रहेनछ ।
जे भए पनि अब विवाह गरेर दिएको घर त जानैपर्यो । तेर्सो बाटो र ओरालो बाटोमा त ठीकै हो तर ठाडा ठाडा उकाला चढ्दा
चैँ मुवाँ गलेर बिस्तारो हिँड्नुहुन्थ्यो रे । यस्तो बेलामा मुवाँलाई मनोरञ्जन
गराउन बुवा बाँसुरी बजाउनुहुन्थ्यो रे । धनकुटाबाट फलाँटे जाँदा आउने सबभन्दा
प्रख्यात राम्चेको उकालो थियो । त्यहि राम्चेको उकालामा बुवाले बाँसुरी बजाउँदै
बेहुली मुवाँलाई फकाएको कुरा माहिला काका अझै पनि
गर्नुहुन्छ ।
माहिला
काकाकै पछि लागेर म फलाँटे गएकी थिएँ । पहाडको बाटो केटाकेटी मान्छे म रमाउँदै
रमाउँदै बुवाको गाउँ हेर्न हिँडेकी थिएँ । देब्रेबास, कागते, निगाले, हिले, पाख्रीबास त मानवबस्ती भएकै ठाउँ थिए । तैपनि एक ठाउँबाट अर्को ठाउँ पुगुन्जेल सिर्फ
उकाला ओराला बाटा, फाट्टफुट्ट बटुवा, हरीयाली, रमाइलो मौसम ।
हिले पुग्नेबेलाको चिसो हावा र फुसफुस उड्ने कुहिरोले आज पनि मेरो मनमा शितलता
ल्याउँछ । मलाई सबभन्दा रमाइलो हिले छोडेर तलतिर लागेपछि लाग्ने गर्थ्यो ।
हिलेदेखि
उताको हावापानी नै अर्कै । ओसिलो जमीन, बाटोको दायाँ
बायाँ हरियाली, निकैबेर हिँडेपछि भेटिने १—२
वटा घर, अनि फेरि सुनसान बाटो, ठाउँ ठाउँमा
जरुवा पानीको भाटे धाराको कुलुलु । अँजुलीमा त्यो पानी थापेर खानुको मजै अर्को ।
मुगाखोलाको सुनसान र डरलाग्दो ओरालो । अनि पाख्रीबास कृषि केन्द्रको झिलिमिलि
रमाइलो । त्यतिबेला ब्रिटिशहरुकै हातमा भएकाले त्यो कृषिकेन्द्र गुलजार थियो ।
पाख्रीबासभन्दा उताको बाटो म सम्झिन्न तर राम्चेको उकालो र फलाँटे पुग्ने बेलाको
तिनदोभानेको जंगलचाहिँ बिर्सिएकी छुइनँ ।
फलाँटेमा
हाम्रा थुप्रै आफन्त हुनुहुन्थ्यो— माहिला काकाको परिवार, कान्छा
काकाको परिवार, साहिली ठूलीआमा विशेष हुनुहुन्थ्यो । अरु घरहरु भएका ठाउँलाई
बाटापारि, माझाघर, तिखेढुङ्गा जस्ता नामले पुकारिन्थ्यो ।
बुवाको नाम जोडिएर होला यो ठाउँ मलाई रमाइलो लाग्थ्यो ।
मेरो मनमा भएका फलाँटेका सम्झना यस्तै यस्तै थिए । बिचमा जान मन नलागेको त होइन तर कहिल्यै मौका नै परेन । बि.एड. पढिसकेर करिब एक वर्ष मैले पाख्रीबास कृषि केन्द्रद्वारा सञ्चालित शीतलादेवी प्राथमिक विद्यालयमा पढाएकी थिएँ । त्यतिबेला पनि फलाँटे जाने साइत जुरेन ।
यसपालीको
दशैँको छुट्टीमा भने अचानक हाम्रो फलाँटे जाने योजना बन्यो । धनकुटाबाट सान्दाजु, भाउजु, म र
मेरा श्रीमान् मिलेर बिहान गएर बेलुका फर्कने भयौँ । यस्तो सम्भव होला कि नहोला
भन्ने शंका पनि थियो मनमा । पहिले पहिले ८—१०
घण्टा हिँडेर बल्ल पुगिने ठाउँमा एकै दिनमा पुगेर फर्कन सकिन्छ भन्ने कुरा मलाई
अलि रोमाञ्चकारी पनि लाग्यो । मान्छे भन्न त भन्थे — “ए ! आजकल त फलाँटेसम्मै गाडी जान्छ ।” तर कहाँबाट जान्छ, कसरी
जान्छ देखेको थिएन । आफ्ना आँखामा त हिँडेर गएको मात्र झलझली थियो ।
बिहान सात बजे हामी धनकुटाबाट एउटा मारुती भ्यान रिजर्भ गरेर पाख्रीबाससम्म जाने भयौँ । मेरो मनभरि फुसफुसी भूर्इं कुइरो उडिरहेको हिले बजारको चित्र गाडिएको थियो । हिले उक्लिएपछि त्यो चित्र भत्कियो । पुरानो हिले बजारको स्वरुप नै बदलिएछ । धरान, धनकुटाभन्दा हिले खासै फरक देखिएन । कुइरोको सट्टा टनटलापुर घामले हाम्रो स्वागत गर्यो । मैले पाख्रीबासको पहिलेको मौलिक स्वरुप पनि भेटिँन । पाख्रीबास कृषि केन्द्रलाई तलै छोडेर डाँडा माथिमाथिबाट मोटरबाटो कुद्ने भएकोले आफूलाई प्रिय लाग्ने त्यो कृषि केन्द्रको एक झलकसम्म मैले पाइनँ । पाख्रीबासबाट फलाँटेसम्म पुग्नका लागि भाइ चन्द्रले एउटा अटोको बन्दोबस्त गरिदिएको थियो । अटोवाला खड्का कान्छा भाइ अलि गफाडि नै रहेछ । उसले हामीलाई कसरी पाख्रीबासबाट सिधै भोजपुर जाने बाटो नबनुन्जेल फलाँटे चम्किएको थियो भन्ने कुरा सुनायो । पाख्रीबासबाट फलाँटेसम्म बस कुद्न थालेपछि मान्छेहरु व्यापारको अवसर खोज्दै फलाँटेतिर आएका थिए रे । त्यतिबेला भोजपुरदेखिका मान्छे किनमेल गर्न फलाँटे आउँथे रे । यो वि.सं. २०५८—५९ तिरको कुरा रहेछ । त्यतिबेला फलाँटेमा जग्गाको किनबेच पनि निकै भएछ । त्यो गाउँ सानु सानु पहाडी बजारमा परिणत भएछ । तर हिजोआज फलाँटे शून्य छ । कुनै बस त्यहाँ पुग्दैनन् । बस पाख्रीबासबाट सिधै भोजपुर जान्छन् । व्यापार व्यवसाय केहि छैन । त्यसैले यो बाटोमा खाली यहि तीन पांग्रे अटो मात्र कुद्छ लोकल मान्छे बोकेर, खड्का कान्छो कथा सुनाउँदै थियो । मेरा आँखा भने उहिले भेटिएका जरुवा पानीका धारा खोज्दैथिए र निराश हुँदै थिए । पहिले हिँड्ने बाटोमा भेटिने रोमाञ्चक अनुभूतिहरु अटोको द्रुत गति र हिँड्नु नपर्ने सहुलियतसँग साटिँदै थिए । मैँले नत राम्चेको उकालो भेटेँ, न त तिनदोभानेका घना जंगल नै ।
अहिलेको
फलाँटेले मेरो मनको तिर्सना मेट्न सकेन । मैँले चिनेजानेका आफन्तमा कान्छा काका
काकीबाहेक कोहि पनि त्यहाँ बाँकी रहेनछ । कतिजना त अर्कै लोकमा पुगिसकेका । बाँकी
भएकाहरु पनि बसार्इं सरेर अन्तै गएका । गाउँको स्वरुप भत्किएर अर्कै भएको । पहिले
बोल्ने गरेका ठाउँका नाम मेटिएका । बाटामा देखिने अनुहार सबै नयाँ । त्यो
टुक्रिएको चित्रका चोइटा उठाएर मैले जोड्न सकिन । मेरो मनको फलाँटे हराएछ । अहिले
त यो ठाउँ पाख्रीबास नगरपालिकाभित्र
पो पर्दो रहेछ ।
त्यहीँका
स्थानीयलाई त यातायातको सुविधाले पक्कै पनि फाइदा पुर्याएको होला । उनीहरुलाई त्यो
सबै परिवर्तन शायद अनौठो नलाग्दो हो । तर म भनें अब कहिल्यै फलाँटे जाने रहर
गर्दिन होला ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 11 November 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
राम्रो । जय होस्
ReplyDeleteMero gawu Pani tyastai bhayeko chha ahiley .Pahiley ka chhunduwar yamaduwar gadiko batoma pardainan ra nyasro lagchha gawu Jada .Lekhma yathartha darsawunu bhayeko chha .
ReplyDeletesabaitira yastai chha dijyu. malai pani 20 barsako antaraalamaa janma gaaun jaandaa tyahi anubhuti bhaeko thiyo.
ReplyDelete