Saturday 26 November 2022

विद्रोहको आगो जगाउनू, बहिनी !

 

 

दुई / चार दिन अगाडि एकाबिहानै एकजना बहिनी हाम्रो घरमा आइन् र हाइहेलोपछि भनिन्, “अब त बाँच्नै मुश्किल भयो, म्याम !” मैले छक्क पर्दै सोधेँ, “किन के भयो र बैनी ?” “आज रातभरि सुत्न पाएको छैन । मेरो घर छेउको भाइले उसको बूढीलाई काट्छु भन्दै खेदाएछ । डरले थरथर काम्दै बूढीचाहिँ मेरो घरको ढोका ढकढक गर्न आइपुग्यो । अन्त हो मैले उसलाई भित्र आउन दिएँ । मेरो बूढीलाई किन लुकाको ? निकाल्नू । नत्र म त्यहिँ आएर त्यसलाई पनि काट्छु र तिम्लाई पनि बाँकी राख्दिना भन्दै झ्यालबाहिरबाट खुकुरी पो नचाउँछ ! गाह्रो भो हो म्याम !” उनले एक सासमा अघिल्लो रातको घटना सुनाइन् । यस्तो भएको यो पहिलोचोटि पनि होइन रहेछ । रक्सी खाने, श्रीमतीसँग झगडा गर्ने अनि कुटपिट गर्ने गरिरहँदो रहेछ त्यो भाइ ।


           बहिनी त आफ्नो कथा सुनाएर गइहालिन् । ती बहिनी हिँडेपछि मेरो मन भने त्यो लोग्नेको गाली र कुटाइ खाने महिलामा गएर अड्क्यो । किन ऊ त्यो सबै सहेर बसेकी होली ? अहिलेको समय त पहिलेको जस्तो छैन ! लोग्नेको अत्याचार सहन नसकेर त्यसलाई छोडिकन आफैं गरिखाने जोधाहा नारीहरु हाम्रै समाजमा प्रशस्त भेटिन्छन् । अझ भएन हिजोआज त महिलाका हक अधिकारका लागि काम गर्ने संघसंस्था पनि छन् ! किन त्यो बहिनी सबै यातना चूपचाप सहेर बसिरहेकी होली ! मेरो मनमा यस्तै कुराहरु आइरहे । शायद उसलाई कोही आएर उसको उद्धार गरिदेला भन्ने पो लागेको थियो कि ! यस्तो हो भने उसको यो कामना कहिल्यै पूरा हुनेवाला थिएन । आफ्नो लागि आफैं आवाज नउठाएसम्म, आफैं कदम नचालेसम्म कसैले केहि गर्ने छैन । यहि परिप्रेक्ष्यमा मलाई मैले धेरै वर्ष अगाडि पढेको नुजुदको कथाको सम्झना आयो ।

नुजुद अली यमनकी नागरिक हो । ऊ नौ वर्षकी हुँदा आफूभन्दा करिब तेब्बर उमेर भएको पुरुषसँग उसका बाबुआमाले जबरजस्ती उसको बिहे गरिदिए ! सोचिहेर्नोस् त, यो एक्काइसौं शताब्दीमा पनि नौ वर्षकी अबोध बालिकाको विवाह करिब ३० वर्षको मानिससँग गराइदिने कस्तो समाजमा हुर्केकी रहिछ नुजुद अली । आफूले जति विरोध गरेपनि पहिलो दिनदेखि नै नुजुद यौन शोषणको सिकार बनी । यौन शोषण बिस्तारै बिस्तारै घरेलु हिंसामा परिणत भयो । त्यो बिचरी सानी केटी सहायताका लागि हरेक रात चिच्याउँथी तर उसको बचाउका लागि कोही आउँदैनथ्यो । उसको रोइकराइबाट आजित भएर एकदिन लोग्नेचाहिँले नुजुदलाई माइत पुर्याइदिने भयो । तर उसले नुजुदलाई केही दिनपछि फेरि घरै आउनुपर्ने शर्त राख्यो ।


त्यो नरकबाट निस्किएर माइत पुगेपछि आमाबाउले आफूलाई बचाउलान् कि भन्ने झिनो आशा पनि थियो नुजुदको । तर यस्तो केहि भएन । यमनजस्तो अति–पितृसत्तात्मक देशमा महिलाले कुनै प्रकारको आवाज उठाउनु असम्भव प्रायः थियो । यो सन् २००८ तिरैको कुरा हो । उसबेला यमनी महिलाको अवस्था कस्तो थियो भन्ने कुरा नुजुदको भनाइले प्रष्ट पार्छ, “मेरी आमा कहिल्यै केहि बोल्नुहुन्नथ्यो । उहाँ सधैँ उदास र  परित्यक्त जस्तै देखिनुहुन्थ्यो । आखिरमा उहाँको पनि अरु यमनी महिलाको जस्तै मागी बिहे भएको थियो । त्यसैले उहाँलाई हाम्रो देशमा पुरुषले आदेश दिन्छन् र महिलाले चूपचाप त्यो मान्छन् भन्ने कुरा राम्ररी थाहा थियो । उहाँका लागि मेरो पक्षमा बोल्नु भनेको समयको बरबादी जत्तिकै थियो । सहयोगको आशा गरेकी नुजुदलाई उल्टै उसको बुवाले हुकुम दिएछ, “तैँले तेरो लोग्नेको घर छोडेर अन्त जाने भन्ने प्रश्न नै उठ्दैन ।”

त्यतिबेला नुजुदलाई प्रष्ट भयो कि उसका लागि आवाज उठाइदिने यहाँ कोही रहेनछ । यदि उसले आफ्नो नारकीय जीवनबाट मुक्ति पाउने हो भने आफैँ कुनै ठोस पाइला चाल्नु पर्नेछ । उसले आफूलाई यातना दिने क्रुर लोग्नेकी दासी भएर जीवन बिताउनुभन्दा त्योसङ्ग छुटकारा पाउन आफ्नो लागि आफैँ लड्ने अठोट गरी । आफ्नी सौतेनी आमाको सल्लाह बमोजिम् नुजुदले माइतीबाट भागेर अदालत जाने निर्णय गरी ।

उसले निडर भएर आफ्नो अधिकारका लागि अथक लडाईँ लडिरही । अन्तमा, पुरुष समर्थक यमनी कानूनका अनेक झन्झट र झमेलाका वावजूद पनि उसले पारपाचुके पाई । आफ्नो शिक्षालाई पुनः अगाडि बढाउने उसको सपना पूरा भयो । उसलाई अब आफ्नो पक्षमा लडिदिने सदा नसिर जस्तै वकिल बन्नुथियो । त्यतिबेला नुजुदको यस्तो साहसिक कथाले सम्पूर्ण विश्वको ध्यान खिचेको थियो । नुजुद यमनमा ऊ जस्ता साना केटीहरुका लागि रोल मोडल बनेकी थिई । यति मात्र होइन, नुजुदलाई अमेरीकी महिलाहरुको पत्रिका ‘ग्ल्यामर’ले सन् २००८ की वर्ष महिला भएको घोषणा गर्यो । हिलारी क्लिन्टनले समेत नुजुदका बारेमा भनेकी छन्, "मैले देखेका महान महिलामध्ये एक नुजुदले साहसका साथ एक उदाहरण पेश गरेकी छन् ।"


नुजुदको यो सत्यकथालाई सुप्रसिद्ध फ्रेन्च पत्रकार तथा लेखक डेल्फिन् मिनोइले ‘आइ एम नुजुद, एज १० एण्ड डिभोसर्ड् ’ भन्ने पुस्तकमा लेखेकी छन् । नुजुदको जस्तो साहस हरेक महिलाभित्र हुन्छ जस्तो लाग्छ मलाई । दुर्भाग्यवश त्यस किसिमको साहस समाजका अनेक प्रकारका प्रतिबन्धका परतमुनि छोपिएको हुन्छ । एउटी दश वर्षकी बालिकाले आफ्नो जीवनको लागि त्यति ठूलो निर्णय लिन सक्छे भने वयस्क महिलाहरुले त्यसो गर्न नसक्ने भन्ने त हुँदै हुँदैन । फेरि यस्तो कुरा अरुले भनेर हुने पनि होइन । आफ्नो लागि आफैं नै आवाज नउठाइ यहाँ केहि हुनेवाला छैन । यो कुरालाई ती बहिनीकी साथीले बुझ्नु जरुरी छ । उसले आफ्नो जीवन अगाडि बढाउन कुन बाटो लिने भन्ने छनोट गर्न सक्नुपर्छ । नुजुदले जस्तै लोग्नेले दिएको यातनापूर्ण जीवनबाट छुटकारा पाउने या त्यही नारकीय जीवनलाई आफ्नो नियती सम्झिएर स्वीकार्ने निर्णय त स्वयं उसैले लिने हो; अनि उसको निर्णयलाई साथ दिन अनेकौँ सहयोगी हात उठ्न सक्लान् ।

नारीहरु स्वभावतः शारीरिक रुपमा कमजोर हुन्छन् तर त्यसको अर्थ उनीहरु आफ्ना लागि लडाईं लड्न सक्दैनन् भन्ने होइन । आफूजस्ता हजारौं निर्दोष बालिकाहरुलाई कँज्याउने कानूनी जन्जीरहरुलाई नुजुदले सदाका लागि चुँडाइदिई । दश वर्षको कलिलो उमेरमा आफ्नो जीवनको दिशा बदल्न सक्ने नुजुदको अदम्य साहसको जति प्रशंसा गरेपनि सकिँदैन । उसले एकचोटि आफ्नो अत्याचारी लोग्नेको घर फर्केर नजाने निर्णय गरेपछि पछाडि फर्केर हेर्नुपरेन । ऊ जसरी पनि पारपाचुके लिने र पुनः जीवन जिउने कुरामा कटिबद्ध थिई । यसै अनुरुप अगाडि बढेपछि ऊ सफल पनि भई । भलै आज नुजुद अली उसकी रोल मोडल सदा नसिरजस्ती वकिल हुन सकेकी छैन तर उसको कोशीश जारी छ । ऊ जबरजस्ती गरिदिने विवाह र बालविवाह विरुद्ध आवाज उठाउने सामाजिक अभियन्ता बनेकी छ । आफू खुशी आफ्नो जीवन जिउन सक्ने भएकी छ । आफू भित्रको विद्रोहको ज्वाला निभ्न नदिएकैले नुजुद सदियौंदेखिको कुसंस्कारको जरा टक्टक्याउन सफल भई । एकदिन ऊ सफल वकिल पनि बनोस् — नुजुद अलीलाई हार्दिक शुभकामना । यसका साथै ती पीडित बहिनीले पनि आफू भित्रको विद्रोहको आगो जगाउन् । उनमा पनि नुजुद अलीको जस्तै आफ्नो जीवनको निर्णय लिन सक्ने क्षमता र साहस पलाओस् भन्ने कामना छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 25 November 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).