आज भारतीय कवि अमृता प्रितमको आत्मकथा ‘रसिदी टिकट’ को अन्तिम खण्डमा पुगेकी थिएँ । उनले हिउँमा लेखिएका अक्षरसँग आफ्नो जीवनलाई दाँजेकी रहिछन् । उनको आत्म–वृत्तान्त पढेपछि अमृताका बारेमा केहि कुरा थाहा भयो । सामान्य घर परिवारमा जन्मेकी पंजावी मूलकी अमृता त एक जोधाहा नारी रहिछन् । गर्न खोज्नेलाई समयले बाँध्न नसक्दो रहेछ । साठीकै दशकमा उनले अकल्पनीय ख्याति कमाएकी रहिछन् र देशकै प्रतिनिधित्व गरेकी रहिछन् । हो, उनै अमृताले आफ्नो आत्मकथामा बरफमा कुँदिएका अक्षरहरुको उल्लेख गरेकी छिन् । जीवनको क्षणभंगुरताका बारेमा योभन्दा अर्को अनुपम उदाहरण के हुन सक्छ र ? हाम्रो सारा जीवन बरफमा आफ्ना नाम खोप्नमै बित्छ । त्यो बरफको पग्लिएर जाने गुणको हामी उति वास्ता पनि गर्दैनौँ । हामी ठान्छौँ— हामीले गरेका कामहरु, सुनामहरु बर्षौसम्म रहिरहनेछन्, अनि हामी युगौँ सम्म सम्झिइने छौँ । तर त्यस्तो हुँदैन । पोखरीमा ढुंगा हान्दा सानो पानीको खोपिल्टो पर्छ तर त्यो रिक्तता एकै निमेषमा भरिइहाल्छ । हामीमध्ये कोहि नहुनुको रिक्तता त्यति मात्र हो । बरफमा कुँदिएका अक्षरको स्थायित्व पनि बरफ पग्लेर पानी नहुन्जेल मात्र हो ।
प्रितमको
लेखनी पढिरहँदा मलाई करिब दुई दशक अघिको समयको सम्झना आयो । समय यस्तै यस्तै हो ।
क्रिस्मस आउन लागेको थियो । म भित्रपट्टि
भान्सामा केहि कुरा र मनमा अर्कै कुरा पकाउँदै थिएँ । छोरो सानो थियो र घर पछाडि
ब्याकयार्डमा खेल्दै थियो । उसको बाबा लनमोइङ्मा व्यस्त । छोरोले आकाशमा अचम्म
देखेछ । अनि बाबुछोरै त्यो अचम्मलाई उत्सव बनाएर नाच्दै कराए— ‘ए, ए
बाहिर यता आऊ ।’ गार्डेनमा कुनै अचम्मकै जीव फेला परेजत्तिकै उफ्रेको मैले
भित्रबाटै देखेँ र बाहिर निस्केँ । उनीहरुले त आकाशतिर औंल्याए । म पनि त्यो देखेर
अचम्भित बनेँ । नीलो आकाशमा बादलकै रंगका धुवाँका अक्षरहरु तैरिरहेका थिए । नीलो
आकाशमा चाँदिका जस्ता देखिने अक्षरमा जीजस् सेभ्स अस् , जीजस्
इज राइजिङ् लेखिएको थियो । हामीले अचम्म मान्दै ती अक्षरहरु लत्पतिएर नबुझिने
हुन्जेल हेरिरह्यौँ । एकछिन् सम्म त त्यो ईश्वरकै चमत्कार हो जस्तो लाग्यो । केहि
बेरमा छिमेकी सज्जनले भने— यो जेट प्लेनबाट धुवाँका सहायताले हावामा लेखिएका अक्षर
हुन् ।
आकाशका
अक्षरहरुलाई हेरिरहँदा ती अक्षरहरु बिस्तारै धुमिल हुँदै गए । ती अक्षरहरु बिस्तारै लत्पतिए र बिलिन भए ।
कवि प्रितमले उनको आत्मकथामा उल्लेख गरेका बरफमा लेखिएका अक्षर र मैले देखेका
धुवाँका अक्षरहरुमा धेरै समानता थियो । नीलो आकाशका ब्याकग्राउन्डमा लेखिएका बादलु
अक्षरहरु एकैछिनमा लत्पतिए अनि अस्तित्वविहिन भए । हाम्रो जीवन जस्तै ।
अमृता प्रितमले ‘रसिदी टिकट’ लेख्ने मनसुवा गरेको कुरा अर्का लेखक खुशवन्त सिंहलाई सुनाएकी रहिछन् । त्यो सुनेर खुशवन्तले भनेछन्— तिम्रो जीवनमा लेख्न लायक कुरै के छ र ? एउटा हुलाक टिकटको पछिल्तिर लेखेपनि हुन्छ । लेखक खुशवन्तको यो कुरा कुनै कटाक्ष थिएन । यो हुलाक टिकटमा लेख्न मिल्ने जीवनकथाको अर्थ शायद ती दुवै धुरन्धर लेखकले बुझेका हुनुपर्छ । खुशवन्तको त्यस कुरालाई सहर्ष स्वीकार्दै अमृताले पुस्तकको अघिल्लो खण्डमा नै सो कुरा उल्लेख गरेकी छन् र त्यो कुराकै आधारमा पुस्तकको शीर्षक ‘रसिदी टिकट’ राखेकी छन् ।
अमृताका
हिउँमा कोरिएका अक्षर, म आफैं साक्षी बनेकी धुँवाका अक्षर र
आफ्नो अखबारी लेखनलाई उस्तै ठान्छु बेलाबेला म । हामी सबै कुनै प्रकार र माध्यमबाट
आफ्ना कुरा सुनाउन प्रयत्नरत छौँ । माध्यमहरु फरक होलान् तर हाम्रो प्रयास अरुलाई
सुनाउनु नै हो । म आफूलाई त्यहि भीडमा पाउँछु । ठूला ठूला लाइब्रेरीमा पस्दा पनि
मलाई त्यस्तै उकुसमुकुसले छोप्छ । हजारौँ किताबहरु पाठकलाई पर्खिरहेका हुन्छन् ।
हेरेर र गनेर नसक्नु शब्दका ठेलीहरु अटेसमटेस गरेर बसेका हुन्छन् । यी भीडहरुमा म
कहाँ सुनिइन्छु होला ? मेरो विचारबाट फुत्किएका अक्षरहरुले
शब्दका भीडमा कहाँनेर कति महत्व राख्लान् ? यी लुला, लंगडा
र कमजोर शब्दहरुले मेरा भावको भारी कहिल्यै बोल्न सकेका छैनन् । एउटा कलमजीविले जे सोच्छ, त्यो
कुरा बिटल्सका गीतहरुले धेरै पहिले गाइसकेका रहेछन् ।
‘हे
महाशय, तपाईँ मेरो लेखनी पढिदिनुहुन्छ कि ?
मैले
वर्षौ लगाएर लेखेको लेखनी
यसो
हेरिदिनुहुन्छ कि ?’
एउटा
सर्जकले यस्तै सोच्छ । तर
लेखनीको थुप्रो पर्गेलिनसक्नु हुन्छ पाठकलाई । लाखौँ पुस्तक भएको लाइब्रेरीमा
पस्दा पनि मैले मनले खोजेका पुस्तक नभेटेका अनुभव छन् । अनि यस्तै अनुभव नोबेल
पुरस्कार विजेता लेखिका माया एन्जेलोलाई पनि भएको कुरा मैले पढेकी थिएँ । किताब
सम्पादन गर्ने क्रममा आफूले खोजेजस्ता चखिला कथा नभेटेपछि उनले आफैं कलम उठाइन् र
साहित्यतर्फ को नोबेल पुरस्कार पनि जितिन् ।
मलाई
थाहा छ, म बादलमा धुँवामा अक्षर कोरिरहेकी छु । मलाई थाहा छ, म
बरफका ढिकामा मेरो नाम कुँदिरहेकी छु । तर म निराश छैन । लेख्नुलाई धर्म मानेपछि, मैले
लेख्नुपर्छ । म पढिनु वा नपढिनु भन्दा पनि, मैले अक्षर
खेलाउनै पर्छ । एउटा लेखकको धर्म नै त्यहि हो । एउटा वाचकको धर्म नै वाचन गर्नु हो
। व्यासमा बसेर पण्डितजी पुराण भनिरहेका हुन्छन् तर श्रोताहरु सबैले त्यसमा ध्यान
दिएका हुँदैनन् । तर पंडितजीले आफ्नो धर्म निर्वाह गरिरहन्छन् । यस अर्थमा हाम्रो
मन र केटाकेटीको मन उस्तै छ । केटाकटीहरु ठूलाले भनेको कुरामा त्यति ध्यान
दिइरहेका हुँदैनन् । उनीहरुको मन अर्थोकै केहिले तानिरहेको हुन्छ । ठूला मान्छेहरु
पनि त्यस अर्थमा उस्तै हुन् । उनीहरु कुनै सभा, समारोह वा
पूराणमा बसिरहेका हुन्छन् तर उनीहरुको ध्यान अन्यत्रै हुन्छ । उनीहरु आफ्नै
संवादमा व्यस्त हुन्छन् ।
किन्डरगार्टेन
कक्षामा केटाकेटीहरु देख्ता मलाई त्यस्तै लाग्छ । टिचरले कथा भनिरहेकी हुन्छिन् ।
उनीहरु एकछिन चाख मानेर सुनेजस्तो गर्छन् । फेरि बुर्कुसि मार्छन् । केटाकेटीहरु
केहि खेल्छन् वा केहि खान्छन् । त्यसमध्ये कोहि आफ्नै धूनमा केहि कोर्ने प्रयास
गरिरहेका हुन्छन् । हो, यहि मानसिकता नै ठूलाहरुमा पनि हुन्छ ।
एउटा सिंगो समूह एकै प्रकारले ध्यानमग्न हुँदैन ।
जुनसुकै अवस्था वा परिस्थितिमा पनि मानिस देखिइन र सुनिइन चाहन्छ । यसका लागि नै ऊ सधैँ प्रयासरत रहन्छ । तर यी सम्पूर्ण प्रयासहरु धुवाँका अक्षरहरु अथवा बरफमा कोरिएका चित्रहरु सरह नै हुन् । कुनै अक्षरहरु अलि समय टिक्लान्, कुनै त त्यसै धूमिल भएर जान्छन् । पहिले पहिले रत्नपार्कमा सडक पेटिमा चकले चित्र बनाउने कलाकार देख्थेँ म । ऊ विभिन्न रंगका चकहरु प्रयोग गरेर देवताका प्रतिविम्व भुर्इंमा उतार्थ्यो । सडक पेटीमा हिँड्ने मान्छेहरु तर्केर हिँड्थे । केहि पैसा त्यो चित्रकारतर्फ़ फाल्थे । साँझ परेपछि दोबाटे कलाकार आफ्नो झोला टिपेर हिँड्थ्यो । दिनभरि श्रद्धाले तर्केर हिँडेका मान्छे अध्याँरामा तिनै चित्रमाथि कुल्चँदै हिँड्थे । दिनभरी जोगाएर राखिएका देउता साँझ छिप्पिएसँगै बिलाउँथे । बिर्सिइन्थे । यी चकले कोरेका देवता, धुँवाका अक्षर र बरफमा कोरिएका नामहरुमा आज म समानता देख्दैछु ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 18 November 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).