Sunday 8 January 2023

चेप्टीमा एक दिन

 

हिउँदको बेला छ । बिहान, बेलुका चिसो भएपनि दिउँसो पारिलो घाम लाग्छ । अहिलेको समय मानिसलाई घुमफिर गर्नका लागि उपयुक्त हुने रहेछ क्यार ! त्यसैले हरेक दिन विद्यालयका या कलेजका विद्यार्थी लिएर, कीर्तन टोली लिएर, सहकारी संस्थाका मानिस लिएर अथवा अन्य संस्थाका मानिस लिएर बाटामा गाडी गुडेका देखिन्छन् । यो सब देखेपछि हाम्रो विद्यालयका केटाकेटी मात्र किन चूप लाग्थे र ! प्रिन्सिपल सरले यो वर्ष चै शैंक्षिक भ्रमणको साटो अन्य केही क्रियाकलाप पो गराउने कि भन्दै विचारविमर्श गरिरहेकै बेला ठूला कक्षाका केटाकेटीहरु “हामी शैक्षिक भ्रमण जान पाउनुपर्छ” भन्ने व्यहोराको निवेदन लिएर प्रिन्सिपलको अफिसमै पुगेछन् ! अनि त नलगिकन भयो र ? कहाँ जाने भन्ने ठाउँ पनि उनीहरुले नै तय गरेछन्— इलामको पर्यटकीय स्थल चेप्टी ।


नाम त मलाई त्यति कर्णप्रिय लागेको थिएन । त्यसै चेप्टिएको सानो ठाउँ होला जस्तो ! तर यो ठाउँको बयानचाहिँ अलि अलि सुनेकी थिएँ मैले । गएर आउनेहरु “कस्तो राम्रो छ चेप्टी” भन्दै जिब्रो पड्काउँथे । हेरिहालौँ नयाँ ठाउँ भन्दै जानेकै सूचीमा मैले पनि आफ्नो नाम टिपाएँ । पौष १० र ११ गते दुई दिन बिदा परेकाले हामीले १० गते चेप्टी जाने निर्णय गरेका थियौँ ।

दमकबाट करिब दुई–अढाई घण्टाको बाटो रहेछ । मास्तिर लाग्ने बाटो दुर्गापुरबाट छुट्टिने रहेछ । बीचमा इलाम जिल्लाकै सानो सानो शुक्रबारे बजार पर्ने रहेछ । ठाउँ ठाउँमा भने बाटो ज्यादै डरलाग्दो । सुलुलु बस पछाडि नै सर्ला जस्तो ! कुनै कुनै गाडीले त मान्छे तान्न नसकेर तिनलाई ओह्रालीकन मुस्किलले त्यो अक्करे बाटो कटाएको पनि देखियो । धन्न हाम्रा दुईवटै बसका चालकहरुले कुनै समस्या सिर्जना नगरी हामीलाई सकुशल गन्तव्यमा पुर्याए । बिहानको करिब आठ बजे हिँडेका हामी साढे दश बजेको आसपासमा त्यहाँ पुगेका थियौँ ।

पहिले आँखामा परेको दृश्य मूल गेटबाट नछिरीकनै बाहिरको ठूलो प्राङ्गण एउटा मेलामा परिणत भएको ! कति बिहानैदेखि मान्छे आएर त्यहाँ पोखिन भ्याएका होलान् । ती बाहिर हुने सबै समूह त्यहिँ पकाइखाने खालका रहेछन् । कुनै समूहमा पकाउँदै गरेका, कुनैमा ठूलो स्वरमा गीत बजाएर नाच्दै, कुनैमा खाँदै, कुनैमा खेल्दै । त्यतिबेलै गुलाबी रंगका एक भारी कटन क्याण्डी बोकेर मानिसका भीडमा घुस्तै गरेका भाइहरु । यस्तो भीड होला भनेर त मैले अनुमान नै गरेकी थिइँन । भित्र पकाउने सुविधा नभएकाले पिकनिक जानेले चाहिँ बाहिरै अड्डा जमाएका रहेछन् ।

हाम्रो समूहमा चाहिँ सबैले आ–आफ्नो खानेकुरा बोकेकाले सिधै भित्र छिर्ने निधो गयौं । धन्न भित्र पकाउन नपाए नि खानचाहिँ मिल्ने रहेछ । भित्र छिर्नका लागि चार वर्षभन्दा माथिका सबैलाई पैसा लाग्दो रहेछ — प्रतिव्यक्ति रु २०० ।  भित्र छिरेपछि पनि बाहिरको भीडभन्दा डबल भीड देखियो । हाम्रा समूहका पनि त्यो भीडमा सबै कता हराए कता ? छिर्दाछिर्दै त्यहाँ बस्ने खाने अलि ठूलो चौर भएकाले हामी ८÷९ जना त्यतै लाग्यौँ । हाम्रा केही विद्यार्थी त्यहिँ बसेर भकाभक खान थालिसकेका रहेछन् । सधैँको खानेबेला टरेको र भोक पनि निकै लागेकाले पहिले खाने अनि मात्र को कता गयो खोज्ने निधो गर्यौं

चेप्टी चेप्टिएको होइन, निकै फुकेको नै रहेछ । पहाडको त्यस्तो खोंचमा निकै व्यवस्थित एउटा पार्क बनाएको रहेछ । समयको मागलाई ध्यानमा राखेर टिकटक बनाउने, भिडियो खिच्ने र फोटो खिच्ने प्रशस्त ठाउँहरु बनाइएका । कहिँ फूलैफूलको पिङ्ग, कहिँ माथि छातै छाताको लहर, कहिँ फूलबारी, कहिँ कृत्रिम जनावर, कहिँ रेलको डब्बा, कहिँ पानीका छाँगा, यस्तै यस्तै । मान्छे दृश्यावलोकन गर्नभन्दा फोटो खिच्न र भिडियो खिच्नमै व्यस्त देखिन्थे । केटाकेटीका लागि खेल्ने सामग्रीहरु राखिदिएकाले हाम्रा विद्यार्थी पनि यस्तैमा भुलिए, रमाए ।


त्यहाँ केटाकेटी, युवायुवती, अधबैँसे  बुढाबुढी सबैको जमघट देखिन्थ्यो । कोहि कता लागेका छन्, कोहि कता । सबै रमाएका । हामी २÷३ जना एकसर्को सर्र घुम्यौँ र भेटिएका जतिलाई त्यहि गेटछेउको चौरमा दुई बजे आउनू है भन्दै त्यहिँ गएर एउटा रुखको छहारीमा बस्यौँ ।

अघि हामी आएभन्दा त्यहाँ पनि भीड बढेछ । छेउमा सीमित खानेकुरा किनेर खान पाइने रहेछ । मानिसहरु त्यहिँ चाउमीन किन्न र चटपटे किन्न लाम लागेका थिए । यहाँ रु २५ मा पाइने चटपटेलाई त्यहाँ रु ५० पर्दो रहेछ, अनि हाफ–प्लेट चाउमिनलाई रु १०० । मिनरल वाटर १ लिटरको रु ३० । किनेर खानेको कमी पटक्कै थिएन । झोलाबाट आफ्नो खानेकुरा झिकेर खाने पनि उत्तिकै देखिन्थे । १–२ घण्टा पहिले हामीले देखेको चौरभन्दा अहिलेको चौर प्लास्टिकका प्लेट, चम्चा, गिलास, कागतका प्लेट र पानीका बोतलले निकै फोहोर भैसकेको थियो । हाम्रो समूहका बादल बाबुले कहाँबाट खोजेर एउटा डस्टबिन ल्याएका थिए र हामीले हाम्रो फोहोर त्यसैमा हालेका थियौँ । अहिले त्यो पनि ओभरफ्लो भएको थियो । यस्तो फोहोर देखेर मलाई चाहिँ विरक्त लागेको थियो । जता खान पनि स्वतन्त्रता चाहिँ दिएको छ, प्रशस्त डस्टबिन चाहिँ किन नराखिदिएको होला भनेर म सोच्दै थिएँ ।

हाम्रो छेउमा नै चन्द्रगडिको कीर्तन टोलीबाट आएका पाँच÷छ जना महिला बसेका थिए । तीमध्ये एउटीचाहिँ युवती थिई, अरु सबै अधबैँसे । त्यो युवतीले पनि फोहोरप्रति असन्तुष्टि व्यक्त गरी, “अचेल त पहिलेभन्दा मानिस अलि सभ्य भैसके ! डस्टबिन राखिदिएको भए त फोहोर त्यसमै हाल्थे होला नि ! हामी बिहान आउँदा कस्तो सफा थियो यहाँ । अहिले यस्तो हेर्नै नहुने भैसक्यो।” यसो बुझ्दा थाहा भयो त्यहाँ फोहोर उठाउने कर्मचारी त रहेछन् ! उनीहरु नै बेला बेला आएर भूर्इंमा छरिएका फोहोर उठाउनुपर्ने रहेछ । नभन्दै हामी बस्ताबस्तै त्यहाँ एकजना गर्भवती महिला डोको बोकेर आइपुगिन् र सकी नसकी निहुरिँदै फोहोर टिपेर डोकामा हाल्न थालिन् । त्यस्तो सकस गर्नुभन्दा ठाउँ ठाउँमा त्यस्तै डोका राखिदिँदा त मानिसले आफ्नो फोहोर तिनमै हाल्दाहुन् र फोहोर उठाउनुको सट्टा डोकै उठाउँदा धेरै सजिलो हुन्थ्यो होला भन्ने मेरा मनमा लागिरह्यो । कुरा गर्नलाई त्यो भीडमा सम्बन्धित निकाय उपलब्ध थिएन ।


अब हाम्रो फर्किने समय नजिकिँदै थियो । केटाकेटी पनि अलिअलि गर्दै जम्मा हुँदै थिए । हामीले निर्देशन दिएअनुसार नै दुई बजेको आसपासमा सबै शिक्षक, कर्मचारी र विद्यार्थी त्यहाँ आइपुगे । एकपटक सबैको हाजिरी लिई हामी गेटबाट बाहिरियौँ । बाहिरपट्टी नै रहेको एउटा ससानो रोलरकोस्टरमा मानिसहरु हाहा र हुहु गर्दै मच्चिदै थिए । वनभोज पनि चम्किरहेकै थियो । कटन क्याण्डीवाला पनि गुलावी रंगका पोकाले केटाकेटीलाई लोभ्याउँदै थियो । हामी भने आफ्ना बसमा चढेर त्यहाँ उपस्थित जनसमुदायलाई हात हल्लाउँदै आफ्नो बाटो लाग्यौँ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 30 December 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  

 



1 comment:

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).