Saturday 28 January 2023

खाने मुखलाई जुँगाले छेक्दैन

 

 सिक्कीमको एउटा साहित्यिक कार्यक्रममा भाग लिएर आउने हाम्रा परिवारका सदस्यहरुबाट मैले त्यहाँका वरिष्ठ साहित्यकार पद्मश्री सानु लामाको बारेमा धेरै सुनेकी थिएँ । ‘८४ वर्षको उमेरमा पनि कति सकृय ! ’, ‘सबै पाहुनाको ख्याल राख्ने’, ‘कति व्यवस्थित पारामा काम गर्न सक्ने’ यस्तै यस्तै । आफूले नदेखेको मान्छे । त्यसैले मैले खासै ध्यान दिइन । सौभाग्यवश् तिनै सानु लामा दमक आउने खबर सुनें । गत पौष ३० गते हाम्रै विद्यालय विद्याशिल्प एकेडेमीको प्राङ्गणमा उनको सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।


उनलाई देख्नेबित्तिकै म तीन छक्क परेँ । सुटेड बुटेड— कुनै दृष्टिकोणबाट उनी ८४ वर्षका जस्ता देखिएका थिएनन् । अनुहारमा एक किसिमको तेज । अझै केही गर्ने जोश र आँट भएजस्ता देखिन्थे उनी । तोकिएको समयमा जब म कार्यक्रम स्थलमा पुगेँ;  एकजना सेतो सुट लगाएका नौला व्यक्ति देखिए । मेरो छेउमै हुनुभएको आफ्नी दिदीलाई कुइनाले ठेल्दै मैले आश्चर्यचकित स्वरमा भनें, ‘ए दिदी ! अघि सानु लामाहरुको टीममा त ती व्यक्ति थिएनन् नि । उनी को हुन्, हजुर चिन्नुहुन्छ ?’ दिदीले पनि अलि आँखा गाडेर हेर्नुभयो र हाँस्दै भन्नुभयो, ‘ती सानु लामा नै हुन्, हेर् त ।’ एकैछिनमा कसरी लुगा फेर्न भ्याएका ! कति सचेत । लामाको यस्तो सजगता देखेर म प्रभावित भएँ ।

यसैगरि, जब उनी बोल्न थाले, उनको विनम्रता स्पष्ट रुपमा झल्कन्थ्यो । उनी भारत सरकारले आफ्ना नागरिकलाई विविध विधामा दिने प्रतिष्ठित पद्मश्री सम्मान साहित्यिक विधामा पाउने पहिलो भारतीय नेपाली रहेछन् । उनले साहित्य क्षेत्रमा गरेको समग्र योगदानको कदरस्वरुप २००५ मा सो सम्मान पाएका रहेछन् । उनीपछि लिलबहादुर क्षेत्रीले सन् २०२० मा सोहि विधामा यो प्रतिष्ठित सम्मान पाए । यस्ता विशिष्ट व्यक्ति भैकन पनि उनमा कुनै दभ्भ, कुनै अहंकार झल्किएको थिएन । उनको लवज, अनि चालढाल तपाईँ हामीजस्तै साधारण व्यक्तिको जस्तो थियो । सानु लामासँगको यो भेटले मलाई उनको बारेमा जान्न अझ उत्सुक बनायो र उनको बारेमा त्यही सम्मान कार्यक्रममा सुनेका र मैले आफैँ पनि पढेका कुराले मलाई सानु लामाका बारेमा धेरै जानकारी प्राप्त भयो ।


खासमा सानु लामा इन्जिनियर हुन् । उनी नितान्त आफ्नो रुचिले साहित्यमा लागेका हुन् । आफ्नो साहित्य सिर्जनालाई उनी माता सरस्वतीको वरदान भन्छन् । उनले साहित्यका विविध विधामा कलम चलाए पनि उनको प्रिय विधाचाहिँ कथा नै हो । उनले सन् १९९३ मा साहित्य अकादमी पुरस्कार पनि कथा विधाकै लागि पाएका हुन् । एउटा पेशामा लागेका र त्यही पेशामा आइपर्ने विभिन्न कामले गर्दा सिर्जनात्मक काममा लाग्न नसकेको गुनासो गर्नेहरुलाई लामा गलत साबित गरिदिन्छन् । उनका पेशा र साहित्य सिर्जना सन्तुलित रुपमा सँगसँगै अघि बढेका छन् । आफ्नै कामको सिलसिलामा सिक्कीमका विभिन्न ठाउँमा डुलेका लामा तिनै ठाउँलाई आफ्नो लेखनको परिवेश बनाउँछन् र आफ्नो यात्राक्रममा भेटिएका मानिसहरु उनका कथाका पात्रहरु बन्छन् । त्यसैले त उनका कथा सजीव र यथार्थ लाग्छन् । यतिमात्र होइन, सानु लामा मैले कामको धपेडीले गर्दा साहित्यमा जति समय दिनुपर्थ्यो त्यति दिइँन अथवा साहित्यमा धेरै डुबेर आफ्नो पेशाप्रति वफादार भइँन पनि भन्दैनन् । एउटा अन्तरवार्तामा उनी भन्छन्, ‘...केहीले पनि मलाई साहित्यपथमा हिँड्न वाधा पुर्याएन । साहित्य गरिरहेँ, कसैले वाधा उत्पन्न गरेनन् । अर्कोतिर इन्जिनियरिङ्गको डिप्लोमा लिएर आएँ, सरकारी जागिर खान पाएँ । आमाबाबुको खुशीको सीमा थिएन । मैले ठूलो आँट र आशीर्वाद पाएँ । वास्तवमा त्यही जागिरले मेरो घरसंसार चल्यो, सेवाबाट अवकाश लिएँ । यो उमेरमा आइपुग्दा मलाई कुनै प्रकारको गुनासो गर्नु छैन । मैले जानेजति र सकेजति साहित्यको सेवा गरेँ— त्यो भन्दा बेसी गर्न सकिनँ भनेर पश्चाताप पनि छैन ।’

उनको यो भनाइबाट के स्पष्ट हुन्छ भनें उनी एक सत्कर्ममा लागेका व्यक्ति हुन् । उनी सांसारिकताको व्यर्थको चक्रमा फँसेर हाँप र झाँप गर्दै यो पुगेन र त्यो पुगेन भन्दै रोइकराई गर्दै हिँड्ने खालका पनि होइनन् । उनको यस्तो सन्तोषी प्रवृत्तिलाई केलाउँदा उनले आध्यात्मिक जीवन जिउने अभ्यास गरिरहे झैं लाग्छ । यसको पुष्टि अन्तरवार्ताकारहरुले उनलाई सधैँ खुशी देखिने र कहिल्यै नरिसाउने भनेबाट पनि हुन्छ ।

सानु लामा एक प्रसिद्ध गीतकार पनि रहेछन् । हामीलाई कति गीत मन पर्छन् । ती गीत हामी गुनगुनाउँछौँ । हामीलाई ती गीत गाउने गायक गायिकाको नाम थाहा हुन्छ तर ती गीत कसले लेखे भन्ने कुरा थाहा नहुन सक्छ । आफूलाई असाध्य मन पर्ने र गुनगुनाउने स्व. अरुणा लामाले गाएको गीत ‘बालपनको आँगन त्यागेर...’ सानु लामाले लेखेको कुरा थाहा पाउँदा म तीन छक्क परेकी थिएँ । यसैगरी हामी साना हुँदा रेडियो नेपालमा प्रायः घन्कने गीत, ‘मितेरी साइनो लाएँ हजुर बैरागी हुन नसक्दा...’ पनि उनैले लेखेका रहेछन् ।


सानु लामालाई पढ्ने क्रममा उनका कृतिमा भेटेको अर्को विशेष पक्ष भनेको यिनको नारीप्रतिको धारणा हो । उनका कथाका कुनै पनि नारी पात्रलाई पुरुषको तुलनामा कमजोर देखाइएको छैन । यस सम्बन्धमा एउटा अन्तरर्वातामा उनी आफैंले भनेका छन्, ‘नारीलाई म जहिले पनि पुरुषको हाराहारीमा राखेर हेर्ने गर्छु । कुनै कुरोमा पनि म नारीलाई हेय ठान्दिनँ । नारीले आफ्नो चोखो उच्छृखलता व्यक्त गर्नु उसको स्वाभाविक अधिकार अथवा स्वतन्त्रता हो ।’

हेर्दै सन्तजस्ता देखिने लामा धेरैका लागि प्रेरणाका स्रोत बन्न सक्छन् । जीवनमा कति मान्छे भेटिन्छन्, कतिलाई बिर्सिइन्छ, तर कति भने मीठो संझना बनेर मस्तिष्कमा टाँसिइरहन्छन् । मेरा लागि सानु लामा यस्तै भैदिए । उनीबाट मैले सिक्ने कुरा धेरै रहेछन् । जीवनको उत्तरार्धमा आइपुगेका उनी अब त पक्कै सुस्ताउलान् भन्ने मेरो सोचाइले पनि फेल खायो । युवककै जोशमा उनी अझै धेरै कृति प्रकाशनमा ल्याउने तयारीमा रहेछन् । उनको सम्मान कार्यक्रममा भाग लिन भारतको सिलगढीबाट आएका अर्का विद्वान् तुलसी भट्टराईले भनेअनुसार सबै भारतीय नेपाली सानु लामालाई ‘भारत रत्न’ सम्मान दिलाउन लागिपरेका छन् रे । भारत रत्न भारतीय सरकारले उसका नागरिकलाई दिने सबभन्दा माथिल्लो दर्जाको पुरस्कार हो । भारत रत्नपछि पद्म विभूषण, त्यसपछि पद्म भूषण र अन्तमा पद्मश्री गरी यी चार पुरस्कार सबभन्दा उच्चकोटीका पुरस्कार मानिन्छन् भारतमा । मनमा अठोट लिएर शुद्ध मनले जुन कर्म गरे पनि त्यसमा सफल हुन सकिन्छ भन्ने कुराको जीवन्त उदाहरण पेश गरेका सानु लामालाई भारत रत्न प्राप्तीका लागि मेरो पनि हार्दिक शुभकामना ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 27 January 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).