Saturday 21 January 2023

हुस्सुले छोपेको संक्रान्ति

 

 

पुषभरि घमाइला भएका दिन माघे संक्रान्तिका दिन अचानक बिहानैदेखि हुस्सुले छोपियो । ओछ्यानमै हुँदा बाहिर सडकमा कल्याङ्कुलुङ् आवाज सुनियो, ‘नमूना बजारमा आगो लाग्यो रे, नमूना बजारमा आगो लाग्यो रे `


हो रहेछ, दमकको व्यस्त घिमिरे मार्केटमा रातीको तीन बजेदेखि नै आगलागी शुरु भएको रहेछ । यो घटना सेलाउन नपाउँदै फेरि ‘पोखरामा प्लेन क्र्यास भयो’ भन्ने समाचार निमेषभरमै छ्याप्छ्याप्ती फैलियो । सुन्नेबित्तिकै मैले यस्तो अकल्पनीय खबर पत्याउन सकिँन । पोखरा भन्नेबित्तिकै एउटा सुन्दर पर्यटकीय शहरको चित्र आँखामा सजीव भएर उभिन्छ । यस्तो ठाउँमा कता प्लेन क्र्यास हुनु — मेरो मन यस्तो कुरा पत्याउन अस्वीकार गर्छ । तर सामाजिक सञ्जालभरि यही समाचारले प्रमुखता पाउनुले मेरो अस्वीकृति क्षणभरमै अस्तित्वहीन बन्न पुग्छ ।

म डराउँदै डराउँदै छिनछिनमा आउने अपडेट हेर्छु । कहाँ के चुक्यो ? त्यो दुर्घटनाग्रस्त प्लेनका चालक क्याप्टेन कमल केसी एक सक्षम चालक मात्र नभई अरु चालकलाई तालिमसमेत दिने कुशल प्रशिक्षक भएको तथ्य खुल्छ । यतिमात्र नभई त्यो दिन पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा त्यो विमान अवतरण भएको भए सह–चालक अन्जु खतिवडाको तालिम सकिएर उनी पूर्ण चालक हुन्थिन् रे । कस्तो विडम्बना ! यी अन्जुका श्रीमान् पनि सोह्र वर्षअगाडि प्लेन उडाउने क्रममा त्यो प्लेन जुम्लामा दुर्घटनाग्रस्त हुँदा दिवङ्गत भएका थिए रे । त्यसपछि नै अन्जुले पनि पाइलट नै हुने दृढ संकल्प गरी त्यही विषय पढिछन् ।

बिस्तारै बिस्तारै त्यो दुर्घटनाग्रस्त विमानमा को को थिए, तीमध्ये को को स्वदेशी थिए, को को विदेशी थिए भन्ने समाचार प्रसारण हुँदै जान्छन् । यो घटनासित सम्बन्धित विभिन्न अनुमान हुन थाल्छन् । तर वास्तविकता कसैलाई थाहा छैन । के चै थाहा छ त भन्दा यति एयरलाइन्सको एउटा विमान काठमाडौँबाट पोखरा जाने क्रममा सेती खोलाको खोँचमा दुर्घटनाग्रस्त भयो । त्यसमा ६८ जना यात्रु, एक जना चालक, एक जना सह–चालक र दुई जना विमान परिचारिका गरी जम्मा ७२ जना सवार थिए । यो देखि बाहेक सबै अनुमानित कुरा ।

जहाँ विमान खस्यो, त्यसको वरिपरि बस्ती नै बस्ती देखिन्थ्यो । यदि खोँचमा नखसी त्यो विमान यो बस्तीको बीचमा खसेको भए ? यस्तो कल्पनामात्रले पनि मेरो मन चिसो भयो । शायद अवतरण हुने बेलामा त्यो प्लेनमा कुनै किसिमको खराबी आयो होला, बिसौं वर्षदेखि प्लेन उडाउँदै आइरहेका पाइलट केसीले आफ्नो अगाडि आएको खतराको अनुभूति हुनेबित्तिकै यो बस्ती जोगाउन प्लेनलाई त्यो डरलाग्दो खोंचतिर मोडे होला । अरु सबै अनुमानभन्दा मलाई यो अनुमान नै सबभन्दा विश्वसनीय लाग्यो । सत्यतथ्य अझै आउन बाँकी नै छ । छानबीन आयोगले यो पनि छिट्टै पत्ता लगाउला ।


एकातिर सारा देशवासी माघे संक्रान्ति मनाउँदै थिए, अर्कातिर ७२ वटा जीवनका सपना धरासायी हुँदैथिए । कसरी यसलाई सहज रुपमा ग्रहण गर्ने — मलाई अप्ठ्यारो परिरहेको थियो । मैले पत्याए पनि, नपत्याए पनि सत्य बदलिनेवाला थिएन । त्यतिबेला मलाई आफूले धेरै अगाडि पढेको एउटा कथा ‘अपोइन्टमेन्ट इन समारा’ को स्मरण भैरहेथ्यो । यो एउटा मध्यपूर्वी एशियामा प्रचलित लोक कथा हो । पछि यसलाई प्रख्यात बेलायती लेखक विलियम समरसेट ममले पुनः भने र त्यसपछि फेरि एक प्रसिद्ध अमेरिकी लेखक जोन ओ’हाराले आफ्नो उपन्यासको नाम नै ‘अपोइन्टमेन्ट इन समारा’ राखे । यो कथाले मृत्यु कति शास्वत हुन्छ भन्ने कुराको राम्रो उदाहरण पेश गरेको छ । कथा यस प्रकार छ ।

कुनै समयमा बगदादमा एउटा धनी व्यापारी बस्थ्यो । एकदिन उसले आफ्नो काम गर्ने केटालाई केही घरायसी सरसामान किन्न बजार पठायो । केही क्षणमा त्यो काम गर्ने केटो हस्याङ् र फस्याङ् गर्दै घरमा आयो । अत्तालिएको स्वरमा उसले एकै सासमा भन्यो, ‘हजुर, म बजारमा पुग्नासाथ त्यो भीडमा एउटी आइमाइसँग ठोक्किएँ । मैले, त्यो आइमाईको भेषमा मृत्युलाई देखें। त्यसले मलाई डरलाग्दो इशारा गरी । म डरले थर्कमान् भएँ र केही नकिनीकन घरतिर कुदें । हजुर मलाई आफ्नो घोडा दिन सक्नुहुन्छ ? म त्यसमा चढेर समारातिर बड्किन्छु । त्यो दुष्ट मृत्युरुपी आइमाईले मलाई त्यहाँ भेट्दिन ।’ यस्ता कुरा सुनेर त्यो व्यापारीलाई काम गर्ने केटाको माया लाग्यो र उसले आफ्नो घोडा खुशीसाथ त्यो केटालाई दियो ।

केटो घोडामा चढेर पछाडि नफर्कि बडक बडक बड्कियो र एकैछिनमा बिलायो । त्यो व्यापारी रिसले चूर भयो । त्यसैले उसले बजार गएर आफैं त्यो मृत्युसँग पौठेजोरी खेल्ने विचार गर्यो । बजारमा पुग्नेबित्तिकै उसले भीडमा त्यही मृत्युलाई उभिइरहेको देख्यो । ऊ त्यसको नजिक गयो र रिसाउँदै सोध्यो, ‘तिमीले यहाँ सामान किन्न आएको मेरो काम गर्ने केटोलाई किन डर देखायौ ?’ यस्तो प्रश्न सुनेर मृत्यु छक्क पर्यो र भन्यो, ‘मैले उसलाई डर देखाएको होइन । म त उसलाई यहाँ बगदादमा देखेर तीन छक्क परेको थिएँ किनभने ऊसँग आज राती मेरो समारामा भेट हुनुपर्ने थियो ।’

त्यो बिचरो काम गर्ने केटोलाई यो योजनाको बारेमा कुनै जानकारी थिएन । ऊ त समारामा गएर आफ्नो ज्यान जोगाउन सक्छु भन्ने ठानी त्यता लागेको थियो । शायद त्यो केटाको जस्तै गरी हामी सबैको मृत्युसँग भेट हुने दिन र समय निश्चित छ तर हामी कसैलाई कहिले र कतिबेला भन्ने कुराचाहिँ थाहा हुन सक्तैन ।


यस्तो अवश्यभावी प्रकृयालाई यसैगरी चित्त बुझाउनुको विकल्प के रह्यो र ? मलाई अलि चित्त नबुझेको कुरा चाहिँ मानिसहरुले किन त्यो कहालीलाग्दो दुर्घटनाको आनन फानन भिडिओ खिचेर सामाजिक सञ्जालभरि छरपस्ट पारेका होलान् ? यसले त्यो दुर्घटनामा पर्ने व्यक्तिका आफन्तलाई कति पीडा दियो होला ? यस्ता घटनाले मानिसमा मानवता हराउँदै गएको हो कि जस्तो पनि लाग्छ । आधिकारिक सञ्चार माध्यमहरुले बिस्तारै घटनाको विवरण त दिने नै थिए । तर सबैलाई पत्रकार हुनुपर्ने !

मेरा लागि सधैं विशेष हुने माघे संक्रान्तिले यसपाली मलाई कुनै रौनक र खुशीयाली दिन सकेन । म हात जोडेर यति एयरको त्यो दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण व्यक्तिको आत्माको चीर शान्तिको कामना गर्नबाहेक के नै पो गर्न सक्छु र ? यसका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । ईश्वरले मृतकका सबै आफन्त परिजनलाई यो दुःखद परिस्थितिबाट पार पाउन अदम्य धैर्य, साहस र शक्ति प्रदान गरुन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 20 January 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  

 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).