Friday 10 February 2023

खिचा निम्कीको खोजी

 

एक सानो घरेलु टोली भर्खरै मध्य जाडोका बेलामा ताप्लेजुङतिर साहित्य लगाउन गएको थियो । टोली फर्केर आउँदा सिलाम, पहाडे मकै, दालका साथमा नौलो चामल पनि आयो । दुई पाथी अट्टे नामको चामलको पोको बढो जतनसाथ मझेरीमा राखेर अप्राप्य बस्तु हात परेको जस्तो गरेर प्रशंशा शुरु भयो । त्यसलाई यसरी प्रस्तुत गरियो कि त्यो चामल पकाएर खाँदा दाल तरकारी नै चाहिँदैन । अझ एक दुई सदस्यलाई त अट्टे गफ सुन्दा सुन्दै के लागेछ भनें यो चामलमा पानी मात्र हालेर पकाउँदा पनि खिर वा ढकने बन्छ । अट्टे गफले हप्ता दिन जति गफको मसलाको काम गर्यो । पहाडमा बस्नेहरुलाई त यो विषयमा जानकारी थियो तर तराईमा जन्मेका पछिल्ला पुस्तालाई भनें यसबारेमा थाहा थिएन । 


यात्रा क्रममा खानेकुराका नयाँ प्रकार र स्वादको कुरा पनि आइहाल्छ । अट्टे गफ जस्तै खिचा निम्कीको कुरो दुई÷तीन हप्ता अगाडिको हो । लगातारका ढुस्सिएका दिनपछिको एक शनिवार बिहानको कलिलो घाम घरको बरण्डामा आइपुग्यो । घरमा बस्दा बस्दा दिक्क भएका हामी त्यस्तो घमाइलो दिनमा कतै घुम्न जान पाए नि हुन्थ्यो भनेर पारीवारिक सल्लाह गर्न थाल्यौँ । नजीकका धेरै गन्तव्यहरु विचार गरिए र अन्तमा बाह्रदशी जाने र त्यहाँ रहनुभएका, हाम्रो परिवारलाई असाध्य माया गर्ने आफन्त भेट्ने, त्यहाँबाट राजगढ जाने र तल इन्डियाको बोर्डरसम्म पुगेर आउने निर्णय भयो । यताबाट जाने छजनाको टोली बन्यो र जयपुरदेखि एकजना चारपानेमा आएर हामीलाई पर्खने, अनि त्यहाँबाट जम्मा सात जना भएर यो एकदिने यात्रा तय गर्ने योजना बन्यो ।

गाडीको बन्दोबस्त गरी बिहानको करिब नौ बजेतिर हामी दमकबाट हिड्यौँ । चारपानेमा पुग्दा नपुग्दै हाम्रा टोलीनेतालाई चियाको चस्का लागिहाल्यो । चारपाने पुग्नेबित्तिकै गाडी रोकेर मीठो चिया पाइने दोकान खोज्ने काम शुरु भैहाल्यो । हामी सबै यस्ता यात्रामा हिँड्दाहिँड्दै चियाका पारखी भैसकेका छौँ । दोकान चियाउँदै हिँड्दै गर्ने क्रममा एउटा अलि चल्तिको जस्तो देखिने दोकानअगाडि गएर हामी झुम्मियौँ । टोलीनेताले दोकानेसँग छोटो अन्तरवार्ता लिनुभयो । ऊ मणिपुरे भएको पत्ता लगाउनुभयो । अनि त के थियो र ! चिया गफ शुरु भैहाल्यो ! आसामे र मणिपुरेले मीठो चिया ख्वाउँछन् भन्ने कुरामा हामी ढुक्क थियौँ । नभन्दै त्यहाँको चिया धीत मर्ने नै थियो । घाम ताप्दै, चियाको आनन्द लिँदै गरिरहेका बेला अचानक त्यहाँ उहिले मलाई धनकुटामा ४÷५ कक्षामा पढाउने शिक्षिका बिन्दु श्रेष्ठ आइपुग्नुभयो । त्यसरी उहाँलाई त्यहाँ देख्दा त म छक्कै परेँ । बिन्दु दिदीले बाटोबाट मेरी दिदीलाई देख्नुभएछ र छेउमा आएर ‘तिमी अन्जना होइन ?’ भनेर सोद्धा दिदीलाई मान्छे ठम्याउन अलिबेर लागेछ । छोटो र रमाइलो भेटघाटपछि फेरि भेट्ने वाचा गर्दै अब हामी हाम्रो पहिलो गन्तव्य, यानि बाह्रदशीतिर हुइँकियौँ ।


हामी जाने घर त ठ्याक्कै कसैले देखेको रहेनछ । बाटामा जो भेटिन्छ उसैलाई ‘यहाँ गौतमको घर कहाँ छ ?’ ‘दुईजना बूढाबूढी बा आमा हुनुहुन्छ नि !’ ‘यसो खेततिर घर थियो,’ भनेर सोद्धै खोज्दै हामी अगाडि बढ्दै थियौँ । अन्तमा हामीलाई बाटो देखाइदिने एउटा पक्का मान्छे फेला पर्यो । उसले भन्यो, ‘यहाँबाट सिधा जानू, अलि पर पुगेपछि बाटो तलतिर खस्छ, त्यतै लाग्नू । त्यो बाटोले तपाईँहरुलाई मनकाजी थापाको दोकानमा पुर्याउँछ । त्यहाँ पुगेर गौतमको घर सोध्नुभयो भने ठ्याक्कै बताइदिन्छन् !’ अब के थियो र ? बाटो खस्ने र मनकाजी थापाको दोकानले हामीलाई निकैबेर हाँस्ने खुराक दिए । आखिरमा त्यो भलो मानवले गरेको दिशा निर्देश ठीक रहेछ ।

बाह्रदशीको छोटो भेटघाटपछि हामी राजगढतिर झर्यौं। हाम्रो समूहमा राजगढसँग परिचित दुईजना सदस्य हुनुहुन्थ्यो । एकजना दमकदेखि नै हामीसँग हुनुभएको र अर्कोजना जयपुरबाट थपिनुभएको । जयपुरे आफन्तीको मूलघर नै राजगढ ! त्यसैले उहाँले आफ्ना एकजना देवरका घरमा हाम्रो जलपानको व्यवस्था गरिसक्नुभएको रहेछ । यो भन्दा चाखलाग्दो कुरा हाम्रा दमकका सहयात्रीले बताउनुभयो । उहाँ धेरै वर्षअगाडि राजगढको एउटा विद्यालयमा पढाउनुहुँदो रहेछ । उहाँका अनुसार अन्त कतै नपाइने लामा लामा एकहाते निम्की त्यहाँ पाइँदा रहेछन् । बाटाभरि उहाँले तिनै लामा निम्कीको कथा सुनाउनुभयो । ‘आज म सबैलाई लामा निम्की खुवाउँछु,’ उहाँले निकै उत्साहित हुँदै भन्नुभयो । होला त नि भनेर हामी पनि उत्सुकताका साथ कहिले राजगढ आइपुग्छ र लामा निम्की खानु भन्दै प्रतिक्षारत भयौँ ।

राजगढमा हाम्रो गाडी रोकिनासाथ हाम्रा सहयात्री उफ्रेर सबभन्दा पहिले ओर्लनुभयो । त्यहाँ देखिएको पहिलो चिया दोकानमा फुत्त पस्नुभयो र ‘यहाँ त रहेनछ’ भन्दै अर्को दोकानतिर लाग्नुभयो । करिब पाँच सातवटा दोकान चाहरिसक्ता पनि कसैले लामा निम्की देखेको र बेचेको कुरा गरेनन् । अब भने हामी सबै एकमुख लागेर उहाँलाई ‘हजुरले त्यसै भन्नुभएको होला,’ भनेर जिस्काउन थाल्यौँ । आफू गलत पो भइने हो कि भनेर उहाँले अलि चिन्तित अनुहार लगाउनुभयो तर आफ्नो खोजीकार्य रोक्नुभएन । अन्तमा हामी एकजना स्थानीयको दोकानमा पस्यौँ । त्यहाँ लामा निम्कीबारे सोधीखोजी गर्दा केही सत्य तथ्य फेला पर्यो । उनीहरु त्यस्ता लामा निम्कीलाई ‘खिचा निम्की’ भन्दा रहेछन् । राजगढमा पहिले पहिलेजस्तो त्यस्ता निम्की छ्यापछ्याप्ती पाइन छोडेछ । हटियाको दिन चैँ कसैकसैले पकाउने रहेछन् । यति कुरा सुनेपछि हाम्रा सहयात्री हँसिला हुनुभयो र हामीतिर फर्केर विजयी भावमा भन्नुभयो, ‘देख्यौ त ! हुन त हो नि लामा निम्की पाइने कुरा ! तिमीहरु मैले ढाँटेको भन्दैथियौ नि ! तर पहिलेजस्तो खाजाको रुपमा प्रयोग हुन भने छोडेछ । हामीलाई एक लाँक्रो निम्कीले टन्नै खाजा पुग्थ्यो ।’ ‘खिचा निम्की’ को कथाको यसरी ह्यापी इन्डिङ भयो ।


खाजा खान जानुभन्दा पहिले हामी इण्डियाको बोर्डर टाँगनडुब्बा हेर्न जाने भयौँ । इण्डिया ‘क्याशलेस सोसाइटी’ तिर उन्मुख भइरहेको परिप्रेक्ष्यमा अब इण्डियन पैसा पहिलेका रु ५०० का नोटजस्तै काम नलाग्ने हुन सक्छन् भन्ने आँकलन भैरहेको वर्तमान समयमा हामीले आफूसँग भएका सबै इण्डियन पैसा पनि बोर्डरमा सक्ने हिसाबले बोकेका थियौँ । तर टाँगनडुब्बा बोर्डर त नाम मात्रको रहेछ । त्यहाँ न कुनै चहलपहल, न कुनै दोकान नै देखिए । मैले देखेका इण्डियन बोर्डरमध्ये यहि सबभन्दा परित्यक्त रहेछ । थोरै भए पनि इण्डियाको रौनक र भीड देख्न नपाएर हामी सब निराश भयौँ ।

जे होस् यो यात्राले हामीलाई सधैँभरि ‘खिचा निम्की’ सम्झाइरहने कुरामा चाहिँ दुई मत छैन । ए साँचि तपाईंले खिचा निम्कीको अर्थ त वुझ्नुभयो होला नि, होइन? हामीले पनि प्रयोग गराइबाट यसको अर्थ लगायौं ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 10 February 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).