Saturday 4 February 2023

हाँडीका मकै

 

 

 एउटासँग अर्कोलाई दाँज्ने कामले अनन्त दुःखको सिर्जना गर्दोरहेछ । तर यो दँजाइको भूमरीमा सबैजना कुनै न कुनै समयमा परिहालिने । आदिकालदेखि चलिआएको ‘अर्को घोडा चढ्यो भनेर आफू धूरीमा चढेर हट् हट् गर्न भएन’ भन्ने उखान सबैका मुखमा भएपनि मनभित्र भनेँ विरलै हुनेरहेछ । हामी हरेक कुरा दाँज्छौँ— हरेक कुरा । अनि कि त अरुभन्दा माथि नै छौँ भनेर ढुक्क पर्छौं, कि त अरुभन्दा खस्ता भइयो भनेर मन चुम्रुक्क पार्छौं । वास्तवमा मानव दुःखका मुख्य कारकहरुमध्ये यो दँजाई पनि पर्छ । दाँज्ने कुराले मन स्थिर रहन दिँदैन । अर्को दुःखको मूल कारण भनेर अरुबाट गरिने आशालाई मानिएको छ । कसैसँग केहि आशा गर्नु र त्यो प्राप्त नहुनु हो भनेँ अलिकति चित्त कटक्क भइ नै हाल्छ ।


यो दँजाइको प्रभाव म विद्यालयमा पनि देख्छु । स–साना बोली नफुटेका नानीहरु लिएर अभिभावकहरु आउनुहुन्छ । ‘अलिक हुर्किन दिनुपर्छ । भोक लाग्यो, सू सू आयो भन्न सक्ने हुनुपर्छ,’ भनेर सल्लाह दियो भनेँ उहाँहरु त्यस कुरालाई सहज रुपमा ग्रहण गर्नुहुन्न । यो सँगैको नानी स्कुल जान थालिसक्यो । बितिसक्यो । अब ढिलो हुन्छ भन्ने चिन्ता उहाँहरु प्रकट गर्नुहुन्छ । अर्थात् उसको दाजु वा दिदी त यस उमेरमा स्कूल गैसकेको कुरा उहाँहरु सुनाउनु हुन्छ । स्कूल जान बानी परिसकेपछि, पढन् लेख्न शुरु भएपछि पनि यो दँजाइको अन्त्य हुँदैन । फलानाले त यति जानिसक्यो, यसले किन गरेन ? सँगै एकैदिन स्कुल आउन थालेको किन यो चाहिँ पछाडि पर्यो त ? आफ्नो नानीलाई अझ खिपेर पढाइदिन उहाँहरु अनुरोध गर्नुहुन्छ ।

हामी भन्छौँ— हेर्नोस्, हामी कसैको पनि अनुहार ठ्याक्कै एक अर्कासँग मिल्दैन । करिब करिब मिल्ला । तर जुम्ल्याहा नानीहरुमा समेत केहि न केहि फरक हुन्छ । त्यस्तै हो दिमागी क्षमता पनि । हाम्रा एक अर्काका अनुहार फरक भएजस्तै हाम्रो दिमागी क्षमता पनि भिन्न भिन्न हुन्छ । त्यस कुरालाई हामीले स्वीकार्नुपर्छ र आफ्नो नानीलाई अरुसँग दाँज्न छाड्नुपर्छ । एकछिन् उहाँहरु बुझेर टाउको हल्लाउनुहुन्छ तर फेरि उहाँहरुको चित्त मान्दैन । अनि भन्नुहुन्छ— ‘तर फलानो र मेरो बच्चा एकैदिन स्कूल लगाएको हो । म झन् काजू, ओखर, च्यवनप्रास पनि खुवाउँछु तर यसको दिमाग नै मोटो त होइन होला त ? एउटै कक्षामा एउटै शिक्षकले पढाएका विद्यार्थीमा फरक किन आयो त ?’ सबैको फरक क्षमता हुन्छ भन्ने कुरा प्राकृतिक गुण नै हो । उहाँहरुले गरेको तर्कमा उहाँहरुको दृष्टिकोणले हेर्दा कतै गलत छैन तर पनि सामान्य रुपमा के भन्न सकिन्छ भनेँ समान तापमानमा एउटै घानमा हाँडीमा भुटिएका मकैका दाना पनि एकैपटक पड्किँदैनन् । नानीहरु पनि त्यस्तै हुन्, सँगै पढाइै शुरु गरेका नानीहरु एउटै गतिमा प्रस्फुटित हुँदैनन् । कुनै अगाडि हुन्छन् र कुनै विस्तारै आउँछन् ।


हाम्रो मनले दाँज्नु हुन्न भन्ने जान्दाजान्दै पनि अलिकति त्यस्तो चस्को परिहाल्छ । हाम्रो सामाजिक बनोट नै त्यस्तै छ । को अगाडि, को पछाडि, को माथि, को तल, को जीतको माला लगाउने, को हारेर शीर निहुराउने भन्ने कुराहरु त हाम्रो चेतसँगै विकसित भएर गएको हुन्छ । हामी जित्न मात्र सिकाउँछौँ, हार्न सिकाउँदैनौँ । सधैँ हाम्रो भागमा जीत मात्र पर्छ भन्ने कुनै निश्चित छैन । जीतलाई र हारलाई उसैगरि सम्हाल्न हामी हाम्रा नानीहरुलाई विरलै मात्र सिकाउँछौँ होला ।

फलानो त यस्तो छ, तँ चाहिँ यस्तो भनेर हामी नानीहरुलाई सम्झाउन खोज्छौँ तर त्यस कुराले उनीहरुभित्र कस्तो असर पार्ला भन्ने कुरामा त्यति ध्यान दिइरहेका हुँदैनौ । यस किसिमको दँजाइले वास्तवमा साना नानीहरुमा आफू कमजोर रहेछु भन्ने भाव उत्पन्न हुन्छ । त्यो हिनताभावबाट उत्पन्न हुने दूरगामी असरको हामी आँकलन गर्न सक्दैनौँ । यस सम्बन्धमा एउटा कथा छ ।

एकजना सेनापति एकपटक गुम्बामा गएर मूल लामालाई सोधेछ, ‘मैले यति धेरै लडार्ईंहरुमा भाग लिएँ । कति वीरतापूर्वक म लडेँ । सिंगो देशको नाम राखेँ । शत्रुहरुलाई परास्त गरेँ । तर म जहिले जहिले गुम्बामा आउँछु, म आफूलाई निरिह र बेकामे ठान्छु । तपाईंहरु यहाँ ध्यान गरेर बस्नुहुन्छ, कुनै काम पनि गर्नुहुन्न तैपनि तपाईंहरुलाई देख्दा म आफू कमजोर र नालायक भएजस्तो लाग्छ ।’

लामाले उनका कुरा सुनेपछि सेनापतिलाई पर्खिनू भने । धेरै मानिसहरु पंक्तिवद्ध भएर लामालाई पर्खिरहेका थिए । उनीहरुका समस्या एकएक गर्दै सुनेर समाधान सुझाइसक्दा दिन नै ढल्कियो । अन्त्यमा लामाले सेनापतिलाई नजिकै बोलाएर बसाए । चियापान गराए र भने, ‘म अब तपाईंको प्रश्नको उत्तर दिन्छु ।’ त्यसपछि उनले शुरु गरे— ‘आज दिनभरि घाम लाग्यो । यो घमाइलो दिनमा टाढा टाढासम्मको दृष्य स्पष्ट देखियो । मानिसहरुले आफ्ना आफ्ना काम गरे । बिस्तारै दिन ढल्दैछ । साँझ पर्छ । रात पर्छ । आकाशमा टहटह तारा देखिन्छन् । चन्द्रमा उदाउँछ र शीतल प्रकाश छर्छ । यो नित्य निरन्तर भैरहेको छ । अब भन्नुहोस् त सेनापतिज्यू— यो घाम राम्रो कि जून राम्रो ?’

प्रश्न जटिल नभएपनि सेनापतिले एकछिन् सोचे अनि भने, ‘घाम देखे घामै राम्रो जून देखे जूनै राम्रो ।’

अनि लामाले थपे, ‘हो तपाईंले भनेको कुरा सहि हो । घाम र जूनका छुट्टाछुट्टै विशेषता छन् । घाम देख्दा घामै राम्रो लाग्छ अनि जून देख्दा जूनै । हामीहरु पनि त्यस्तै हौँ । घाम र जूनका आफ्ना आफ्नै विशेषता भए झै हामी सबैका पनि आफ्ना आफ्नै विशेषता छन् । यिनै विशेषताले गर्दा नै हाम्रो महत्व छ र संसार सुन्दर छ । ल मैले तपाईंलाई दिन सक्ने उत्तर यहि हो ।’ यति सुनेपछि सेनापति ढुक्क भएर फर्किए ।


हो पनि । हामी सबैका आफ्ना आफ्नै विशेषता छन् । त्यसैले त जगत सुन्दर छ । हामी सबैका एकै स्वभाव र क्षमता भइदिएको भए संसार अल्छिलाग्दो हुन्थ्यो होला । दुनियाँमा फलफूलका नाममा केरामात्र, फूलका नाममा सयपत्री मात्र, अन्नका नाममा मकैमात्र फल्दो हो त कति पट्यारलाग्दो दुनियाँ हुँदो हो । विभिन्न प्रजातिका र रंगका फूलबारी जस्तै नै हो हाम्रो आफ्नोपन पनि । हामीले हाम्रा नानीहरुलाई आफ्नै क्षमता अनुसार अघि बढ्न हौसला दिनुपर्छ । सबैजना डाक्टर मात्र भएर वा इन्जिनियर मात्र भएर पनि समाज चल्दैन । समाज चल्न त हरेक पेशाका लागि जनशक्ति चाहिन्छ । आफ्ना नानीहरुलाई हजारौँ, लाखौँ पेशाहरुमध्ये एकमा अब्बल बन्न प्रोत्साहित गर्न सके र हरेक पेशालाई समान रुपमा सम्मान गर्नुपर्छ भनेर सिकाउन सके जीवन सुन्दर बन्ने कुरामा दुईमत नै छैन ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 3 February 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




2 comments:

  1. कति सहज भाषामा जीवनको यथार्थलाई छर्लङ्ग पार्ने लेख साझा गर्नु भएको दिदी हजुरले! आनन्दको अनुभूति गरें पढेर!

    ReplyDelete
  2. Hamiley yesari bujhnu parchha .

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).