आजभोलि अर्ग्यानिक भन्ने शब्द अति प्रयोग भएको पाइन्छ । सागपात, दाल, तरकारीदेखि लिएर गीतका भाकासम्मलाई अर्ग्यानिकको ट्याग लगाइन्छ । त्यस्तै एउटा अर्ग्यानिक यात्रा जुरेको थियो भर्खरै । एक जीवनमा एकपटक मक्का पुग्नुपर्छ अरे हरेक मुस्लिम सम्प्रदायीले भन्ने सुनिएको हो । हाम्रा लागि यो यात्रा त्यहि अर्थमा रह्यो । यात्री संख्या दश थियो । तर मलाई लाग्छ सबै यात्रुहरुका उद्देश्य फरक थिए । हामीमध्ये केहि त्यहि पुण्य भूमिमा हुर्किनु बढ्नुभएको थियो । केहि सदस्य भनें बिल्कुलै फरक भूगोलबाट हुनुहुन्थ्यो र केहि भनेँ हजारौँपटक सुनिएका ठाउँका नाम अनि पात्रहरुका बारेमा जान्ने लालसा राखेर बाटो लागेका थियौँ ।
हाम्रो मुख्य गन्तब्य पाँचथरको
च्याङ्थापू थियो । कस्सिने हो भनेँ दमकबाट बिहान हिँड्दा बेलुकै त्यहाँ पुग्न सक्थ्यौँ । तर
यात्रा सुस्थिरले गर्नु पर्छ र ढुक्कको हुनुपर्छ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै
बिहान निस्केर बास बस्न फिदिम बजार पुग्ने टुंगो भयो । वर्षौँ इलाममा बिताउनुभएका
कमल दाइले सास एकोहोरो पार्दै स्थान विवरण दिई नै रहनुभयो । त्यसमा थपथाप पार्ने र
विवरणलाई शुद्धिकरण गर्ने कामका लागि अर्का दाइ डा. गोविन्द अघिल्लै सिटमा
हुनुहुन्थ्यो । मणिपुरे साहित्यकार वसन्तीदेवी र अर्की युवा साहित्यकार अनिता
पन्थीले प्रश्नका अड्का थापिरहनुभयो । यतै सुरुङ्गातिरै दुई दुई ढिका भक्का र
चियाको नास्ता गरेपछि भने इलाम माथिको बिब्ल्याँटेमा खाना खान पुगियो । भाग्यले
जुराएको भन्नुपर्छ, खाना पनि विचित्रकै मिठो । चार बजेतिर फिदिम पुगेपछि स्थानीय
साहित्यकारहरुसँग संवाद, गीत, कविता श्रवण
सम्म भ्याइयो ।
आफ्नो जरो सधैँ प्यारो भनेजस्तै आफ्ना
पितापूर्खाले बिराएको भूमी टेक्ने सुअवसर यसपालि फागु पूर्णीमाका मौकामा जु¥यो । बर्षौंदेखि सुनिएका र पढिएका विचित्रको कथानक जस्तो भूमिमा
टेक्दा मन त्यसै हर्षित थियो । त्यो स्थानको सुनिएका कथा र अहिलेको स्थितिमा कति
अन्तर होला त भनेर ठ्याक्कै भन्न नै गाह्रो । मलाई त्यो फलाम खोलाका छेउमा रहेको
ओढार देख्नु थियो । हामीलाई दन्त्यकथा जस्तो लाग्ने शैलीमा हाम्री सासूआमा साना
साना लाला बाला लिएर जिन्दगीको कुनै कालखण्डमा त्यो ओढारमा एक्लै बस्नुपरेको कुरा
सुनाउनुहुन्थ्यो । त्यसैले मलाई फलाम खोलाको पानी शीरमा सिन्चिनु थियो, अनि
कथा जस्तो लाग्ने तथ्यलाई मनैमा पुनजीर्वित गर्नुथियो ।
आजभन्दा झण्डै साठी वर्षअघिको
च्याङ्थापू मैले परिकल्पना गरेर हेरेँ । बाटो घाटो, औषधि पानी, यातायात, शिक्षा, सञ्चार
नभएको एउटा अँध्यारो समय । त्यसमाथि पनि स–साना नानीहरु लिएर ओढारमै बास बस्नु कति
कष्टकर समय हुँदो हो । त्यहि ओढारबाट फुत्केर हिँडेका दुई सदस्य त हाम्रो यात्रा
टोलिमै थिए । अहिले मोटर हिँड्ने बाटोबाट खुत्रुक्क पाँच मिनेट तल झरेपछि भिरालो
पाखोमा ढुंगे ओढार रहेछ । हाम्रो परिवारले घर मानेर बसेको ओढारमा अहिले त कसैले
अदुवा पो थुपारेको रहेछ । ओढारको तल्तिरपट्टि बेंसी खेत । त्यहि खेतीको एक
टुक्राका भरमा हाम्रो परिवार पालिएको रहेछ । अनि छेवैमा फलाम खोला अविरल बगिरहेको
रहेछ । ऊ बेलादेखिको बडेमानको बरको रुख पनि त्यहिँ रहेछ । त्यो बर एउट अमूक साक्षी
। यदि त्यो वृक्षले संवाद गर्दो हो त कति कुरा भन्दो हो । पारिपट्टि भित्तामा
भीरतिर देखाएर कमल दाइ अनवरत रुपमा बाघ कराएका देखि मसानका ताँती खोलाका तिरैतिर
हिँडेका कुरा हामीलाई सुनाइरहनुभएको थियो
। म भनें सम्झँदै थिएँ कति कष्टकर जीवन यात्रा भोग्नुभएको हाम्रा पूर्वजहरुले ।
बडेमानका झ्याउले ढाकेका कटुसका रुखहरु
तिनै समयको साक्षी होलान् भन्ने म सोच्दैथिएँ ।
हामीलाई सधैँ अबेर हुन्छ । माथि बाटामा
गाडीसँगै बस्नेहरु, तल नझर्नेहरु माथिबाटै कराए, “लौ छिटो गर, ढिलो
भैसक्यो ।” हो नि साँच्चै । यो चेत पसेदेखि हाम्रा मनमा पसेको हतारोले कहिल्यै
छाड्दैन । रातभर निदाउन्जेल मात्र हतारो बिर्सने हो । जुरुक्क उठेर आँखा खोलेदेखि
हुन थालेको हतारो बेलुका आँखा चिम्लिउन्जेल उत्तिकै हुन्छ । मैले विचार गरेर हेरेँ
। यो वर्षैभरि हतारो परेको रहेछ । गएको दशक नै हतारोको चपेटामा बितेछ । मेरो मात्र
होइन मैले चिनेजानेका सबैलाई उत्तिकै आपद देखेँ । उस्तै चटारो देखेँ । स्याँस्याँ
र फ्याँफ्याँ देखेँ । ए हतारो, तँदेखि मलाई आजकल घृणा लाग्न थालेको छ
। बिनासित्तिमा तैंले मलाई वर्षौंदेखि अत्याइस् । बौलाहा बनाएर कुदाइस् । मलाई
मनलाग्दी हाँस्न पनि दिइनस् । बोल्न दिइनस् । घुम्न दिइनस् । बेकारको हुटहुटी
मात्र जगाइरहिस् मेरो मनमा ! तर अहिले मलाई यो जनगणनाको परिणाम सार्वजनिक भएपछि
एउटा कुरा जान्न मन छ — लगभग ती ४६ लाख केहि पनि काम नगरी बस्ने नेपालीहरुका मनमा
हतारो छ कि छैन होला नि ?
मूलतः यो पटकको यात्रा हतारको थिएन । प्रशस्त समय राखेर, सुस्थिरले बाटो तय गर्दै, खाँदै, हाँस्दै गरिएको यात्रा थियो । तर पनि त्यसै बीचमा स–साना हतार त टुच्च टुच्च आइहाल्ने रहेछन् ।
ओढारबाट अगाडि बढेपछि गढीको डाँडामा
पुगियो । झण्डै १०० फिट तल गहिरोमा देखाउँदै दाजुहरुले भन्नुभयो, “हामीले
पढेको हरि मिडल स्कुल यहिँ थियो । पछि बाटो बनाउँदा पुरियो । अनि स्कूल ऊ माथि
सारियो ।” हो, त्यहि थुम्कीबाट माथि नाम्रेकको डाँडामा हाम्रा सासू ससुरा बसेको घर
घडेरी देखिने रहेछ । तल्तिर डिलमा बडेमानको झण्डै शताब्दी पुरानो लप्सीको बोट समेत
ठडिएकै रहेछ ।
त्यो बेलासम्म आफ्नो थातथलोको ठ्याक्कै ठेगाना
थाहा थिएन मलाई । यता पूर्वतिर यसो मान्छेसँग बोलाचाला गर्दा ‘पहाड चै कता’ भन्ने
थेगो नै छ । हामी सधैँ ताप्लेजुङ्ग भन्ने गर्थ्यौं। तर नाम्रेक अनि च्याङ्थापू त
पाँचथरमा पो रहेछन् त ! पहाडका स्थान, थातथलो र नाता
सम्बन्धका शब्दकोशजस्ता कमल दाइलाई समेत यो कुरा थाहा रहेनछ क्यारे । पछि उहाँ
च्याङथापू पाँचथर र ताप्लेजुङ्गका सिमानामा पर्छ भनेर कुरा मिलाउँदै हुनुहुन्थ्यो
। घुमिफिरी च्याङ्थापू पुग्दा साँझ पर्नै लागेको थियो । त्यस भेगको अत्यन्त पुरानो
विष्णु मा.वि.मा भेटघाट, छोटो कार्यक्रम सकेर स्कूलले प्रायोजन
गरेको एकसर्को चिया पिउँदा दिन घर्किसकेको थियो । कराउँदा कराउँदा कमल दाइको घाँटी
बसिसके पनि टोलीका केहि सदस्यहरुलाई पछि लगाएर उहाँ फालेलुङको डाँडो देखाउन अघि
लाग्नुभयो । निकै बेर हिँडेपछि एउटा झोलुंगे पुल आयो । त्यस पुलमा एकछिन रमाइलो
गरेर एकमाना जति पानी अमला बटुलेर फिर्दा रात परिसकेको थियो । खाना एक ठाउँ र बास
अर्कै ठाउँमा बस्दोवस्त भएको रहेछ । खाना खाने बेलामा वर्षाद शुरु भयो ।
आधा सदस्य खाना खाने ठाउँमा घिउमा पकाएका फापरका रोटी छिनाउँदै रहेछन् । केहि सदस्य भनेँ गलेर पाहा भएर सुतेका उठ्नै मानेनन् । एकछिनको घनघोर वर्षा छ्याप्प ओछायो । एक एक फापर रोटी खाइसक्दा झ्याप्पै अँध्यारोले छोप्यो । “अब भने राम्रो भयो । पानी प¥यो । तुवाँलो उघ्रियो । अब हिमाल देखिन्छन् । हातैले छुन सकिएला जस्तो हुन्छ,” कमल दाइ फापरका रोटीको तरान लागेर जाग्नुभएछ । अरुले नपत्याए जस्तो गर्दा उहाँले भन्नुभयो, “बिहान उज्यालो त हुन देओ ।”
राती फेरि घनघोर वर्षा भयो । हामी
बसेको गेष्ट हाउस अगाडि आँगनमा लेदो र हिलो थुप्रिएर सडकमा निस्कनै असम्भव जस्तो
थियो । कसो कसो काठ, इँटा लगाएर बाटो बनाइकन सडकमा निस्कियौँ । अबको यात्रा ताप्लेजुङ्गको
थियो । फुङलिङ बजारमै बासको प्रवन्ध भएको थियो ।
एउटा अर्को कुराको निर्क्यौलमा पुगेँ म यसपालिको यात्रा गर्दा । त्यो के भनेँ दुई पुस्ताले एकै स्थानमा गुजारा गर्दो रहेनछ । बाबुले बनाएको घर छोराले फेर्ने रहेछ । बाबुको बासस्थानमै छोराले जसोतसो गुजारा चलाए पनि नातिका पालामा स्थानान्तरण भैहाल्ने रहेछ । बालीले पनि माटो फेरिमाग्छ । एकै प्रकारको बाली निरन्तर एकै जमिनमा लगाइराखे जमिनले त नाइँ नाइँ भन्छ । मान्छेको के कुरा ! त्यहि भएर नै हाम्रा ससुरा बा ताप्लेजुङ्गको ओसेबाट फुत्केर पाँचथरको च्याङथापू हुँदै, भूटानसम्म पुगेर अन्तिममा झापामा ठेगान लाग्नुभएको होला । हाम्रा आफ्नै बुबा पनि धनकुटाको फलाँटेबाट कचिँडे, धनकुटा बजार हुँदै कहिले धरान, कहिले विराटनगर हुत्तिरहनुभयो । मेरो आफ्नै पनि कथा प्रकारान्तरले उस्तै छ ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 31 March 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).