म धेरै लामो समयदेखि मेरा एकजना दाजु कृष्ण वस्तीलाई भेट्न खोजिरहेकी थिएँ । यसको पनि एउटा कारण थियो । हुन त उहाँसँग मेरो भौतिक रुपमा भएको भेट सम्झनुपर्दा बाल्यकालमै पुग्नुपर्छ । तैपनि उहाँको चित्र ट्याटु भएर मेरो मनमा गढेको थियो । जब मैले अष्ट्रेलियामा हुँदा आफ्नी आमा गुमाएँ, कृष्ण दाजु नै मेरो पीडामा मल्हम लगाउन मेरो म्यासेन्जरमा आउनुभएको थियो । त्यही समयदेखि अथवा वि.सं. २०७० सालदेखि नै मलाई उहाँसँग भेट गर्न मन लागेकोः एक दशकपछि मात्र बल्ल मेरो इच्छा पूरा भयो ।
बस्न त कृष्ण दाजु विराटनगरमा नै बस्नुहुन्छ । दमकमा पनि आफन्तहरु
भेट्न यदाकदा आउने गर्नुहुन्छ । तर खोइ कुन्नी के ले छेकेको थियो हामी दुईको बाटो
।
यस्तै एक महिनाजति अगाडि नै त हो, म सोध्दै खोज्दै
उहाँको घर पुगेकी ! टाढा त कहाँ हो रहेछ र ? ठ्याक्कै
महेन्द्र मोरङ्ग क्याम्पसको आडबाट तलतिर लागेपछि त आइहाल्ने रहेछ नि ! नदेख्ता
मात्र कहाँ हो कहाँ जस्तो लाग्ने । बाटोबाटै दाजुको घरमा फूलेका झिलिमिली फूलहरु
देख्दा मेरो मनमा भाउजू चैँ फूलकी साह्रै सौखिन हुनुहुँदो रहेछ भन्ने आएको थियो ।
भाउजूलाई त मैले देखेकी पनि थिइन । आजभन्दा करिब ४०÷४२ वर्षअगाडि अन्तरजातीय विवाह गर्न आँट गर्ने रमिता भाउजू पक्कै पनि
एक प्रगतिशील र साहसी नारी नै हुनु हो भन्ने लाग्थ्यो मलाई । उहाँ धेरै वर्षसम्म
शिक्षण पेशामा रहेर अहिले सेवानिवृत्त जीवन बिताइरहनुभएको छ भन्ने कुरा मलाई थाहा
थियो ।
“भाउजू, हजुर त फूलकी साह्रै सौखिन
हुनुहुँदो रहेछ, हगि ?” मैले रमिता भाउजूलाई सोधेँ । उहाँले मुसुक्क हाँस्तै भन्नुभयो, “मलाई
फूल असाध्य मनपर्छ । अहिले त के छ र मैयाँ
! पहिले त मैले यो बरण्डाभरि पनि फूल नै फूल राखेकी थिएँ ।” मन त कसलाई पो पर्दैन
र फूल ? तर त्यसलाई चाकर पनि त उति नै गर्नुपर्छ । साँच्चै नै फूलप्रति लगाव
नभएको मान्छेले त्यति राम्रो फूलबारी बनाउनै सक्तैन।
बरण्डामा बसेर रमिता भाउजूले फूलाउनु भएको विभिन्न जातका फूल हेर्दै म आफ्नी सासूआमालाई पनि सम्झिरहेकी थिएँ । उहाँ बित्नुअगाडिका दुई वर्ष सासूआमाले आफ्नो फूलबारी सजाएर नै बिताउनुभएको थियो । उहाँका फूलबारीमा पनि अनेक किसिमका फूल फूलिरहन्थे । उहाँ अरु केही काम गर्न सक्नुहुन्नथ्यो तर फूल रोप्ने, गोड्ने, पानी हाल्ने काम गरिरहनुहुन्थ्यो । ती फूल हेरेर मुस्कुराउनुहुन्थ्यो, तिनै फूलसँग बात मार्नुहुन्थ्यो । “भाउजू, हजुर त दाजुसँग ठाकठुक पर्दा कुदेर आएर यिनै फूल हेर्नुहुन्छ होला, हगि ?” मैले सोधेँ । “हो नि ! यी फूल मसँग कुरा गर्छन्,” रमिता भाउजूले भन्नुभयो । यसका साथै उहाँले फूलसँग सम्बन्धित अरु केही रोचक कुरा सुनाउनुभयो । “तपाईँले विचार गर्नुभएको छ मैयाँ, हामीले एक ठाउँमा फूलिरहेको फूलको गमला त्यो ठाउँबाट अर्को ठाउँमा सा¥यौँ भने फूल खिस्रिक्क पर्छ । त्यसलाई उत्तिकै घाम, पानी, मल पुगेको हुन्छ, तैपनि त्यो रमाउँदैन । अनि २,४ दिनपछि फेरि बिस्तारै आफ्नो सुन्दरतामा फर्कन्छ,” भाउजूले आफूले ढकमक्क फूलाएका फूलहरुतिर हेर्दै भन्नुभयो । यो जानकारी मेरो लागि नौलो थियो । फेरि फूलैका कुरा अगाडि बढे । “यी फूल त मेरालागि छोराछोरीजत्तिकै हुन् । पहिले पहिले म स्कूलबाट थाकेर घर आउँदा यी फूल देखेपछि नै आधा थकाइ त मरेर जान्थ्यो,” रमिता भाउजूले थप्नुभयो । उहाँले अझ अगाडि भन्नुभयो, “कहिले मलाई रातको एघार बजे यी फूलले बोलाएजस्तो लाग्छ । अनि म उठेर यिनमा पानी हाल्छु । अनि मात्र ढुक्कले सुत्न सक्छु ।” रमिता भाउजूको कति सारो लगाव फूलसँग !
के साँच्चै नै फूलले मानिससँग वार्तालाप गर्न सक्लान् त ? विज्ञहरुका
लागि यो सोधको विषय हुन सक्छ । यससम्बन्धी विभिन्न अध्ययन भैरहेका पनि छन् ।
उदाहरणका लागि सन् २०२१ मा सिंगापुरियन वैज्ञानिकहरुको एउटा समूहले गरेको एउटा
अनुसन्धानले बोटबिरुवा मानिससँग वार्ता गर्न सम्भव छ भन्ने कुरा देखाएको छ ।
त्यसैगरि बर्नाडिन राकोमा आफ्नो लेखमा हालसालै गरिएका विभिन्न अध्ययनले खासमा
बोटबिरुवा एक अर्कासँग, अरु जनावरसँग र यहाँसम्म कि मानिससँग
पनि कुराकानी गर्न सक्छन् भन्ने तथ्य उल्लेख गर्छिन् । क्रिस बारानिउकका अनुसार
मालीहरु बोटबिरुवासँग गफ ग¥यो भने यसले
उनीहरुलाई हुर्कन र बढ्न प्रोत्साहन गर्छ भन्ने कुरामा विश्वास गर्छन् ।
शायद यो मायाकै खेल होला । सयारिरह्यो, हेरचाह गरिरह्यो, बोलिरह्यो
गर्दा के मानिस, के अरु जनावर, के बोटबिरुवा अर्थात् के फूल सबैलाई
यसले उर्जाको काम गर्दो हो जीवन्त हुनका लागि । यसै सन्दर्भमा सन् १९२० औँ र १९३०
औँ को दशकतिर एक बेलायती डाक्टर एडवार्ड ब्याचले फूलद्वारा गरिने उपचार पद्धतिको
विकास गरेका थिए । उनका अनुसार फूलमा र बोटबिरुवामा मानिसका संवेगहरुलाई निको
पार्ने एक प्रकारको शक्ति हुन्छ । आधुनिक अनुसन्धानहरुले यो तथ्यको पुष्टि नगरेको
भएता पनि ब्याचको फूलद्वारा गरिने उपचार पद्धति व्यवहारमा प्रचलित छ । यो उपचार
पद्धतिमा यदि कोही व्यक्ति नकारात्मक संवगेबाट गुज्रिरहेको छ भने त्यो व्यक्तिले
विभिन्न बोटबिरुवामाथि हात राख्दा त्यो नकारात्मक संवेग हराएर जान्छ ।
मेरी एकजना जेठानी दिदी भूटानमा हुनुहुन्छ । उहाँ पनि फूलबारीमा फूलाएका विभिन्न खाले फूल फेसबुकमा राखिरहनुहुन्छ । धेरै वर्ष विद्यालयमा अध्यापन गरेर अहिले सेवानिवृत्त जीवन बिताइरहनु भएकी उहाँ आफ्नो धेरैजसो समय फूलसँगै बिताउनुहुन्छ रे । यसरी फूलबारीमा रमाउँदा उहाँलाई समय बितेको पनि पत्तो हुँदैन रे । दिदी भन्नुहुन्छ, “कोइ कोइ बेला सुकेको पात अथवा ओइलाएको फूल देख्ता मनमा कस्तो कस्तो हुन्छ । ला, मैँले त यिनीहरुलाई देखिनछु नि भनेर म ती सुकेका पात टिपेर फ्याँक्छु र ओइलाएका फूललाई लु खाओ है भनेर पानी दिन्छु । यी फूल त मेरो बात मार्ने साथी पनि पो हुँदा रहेछन् त बैनी ।” फूलको महिमा गाउँदै उहाँ अझ अगाडि भन्नुहुन्छ, “अन्त मेरो मन भुलाउने एउटा डगी पनि छ हो । त्यसले कोइबेला दिक्क लाउँछ तर फूलहरु सधैँ शान्त र सुन्दर हुन्छन् । एउटा नभए अर्को, अर्को नभए अर्को फूलिरहेका हुन्छन् । यो देख्ता मलाई आनन्द आउँछ । अझ ती फूलमा माहुरी, भमरा अथवा विभिन्न खाले पुतली झुम्मिएको देख्ता कसको मन रमाउँदैन होला र ?”
यी सबै प्रसंगहरुले एउटा कुरा त पक्कै स्पष्ट पार्छ — त्यो के भने
मानिस र फूलको नाता गहिरो हुँदो रहेछ । मलाई फूलेका फूल र निर्दोष बालबालिकाका
अनुहार उस्तै उस्तै लाग्छन् । मानसिक तनाव भैरहेको बेलामा फूलेका फूल र साना
बालबालिका देख्ता त्यो तनाव त्यसै कम भएर जान्छ । यसरी हेर्दा ब्याचले भनेजस्तै फूलमा
हाम्रो दुखेका मनलाई निको पार्ने शक्ति त पक्कै हुन्छ । बालबालिकालाई त भगवान्कै
अवतार भनिन्छ । त्यसैले तिनलाई देख्ता कसको चित्त नरमाउला ?
रमिता भाउजू छोरा, बुहारी र नातिनीहरु भेट्न २÷४ महिना अमेरीका जाने कुरा गर्दै हुनुहुन्थ्यो । उहाँलाई आफू उताबाट फर्केर घर आउँदा अहिले ढकमक्क फूलेका
फूल सबै मर्ने कुराको चिन्ता पनि उत्तिकै थियो । अब मेरो घर फर्कने बेला भैसकेको
थियो । रमिता भाउजूले कुराको बिट मार्दै भन्नुभयो, “के गर्नु मैयाँ
! उता अमेरीकामा भएका साना नातिनीहरु सम्झियो उतै जान मन लाग्छ । फेरि आफ्ना यी
प्रिय फूल बेस्याहार हुने कुरा सम्झिदाँ दिक्क लागेर आउँछ ।”
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 26 May 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
फुल्दो गुलाब बिछ ज्ञान अनेक फुल्छन।
ReplyDeleteउद्द्यानमा गै बस सब तत्व खुल्छन" भनेर
त्यसै महाकबी देबकोटाले भनेका होइनन।
हजुरको प्रतिक्रियाको लागि हार्दिक धन्यवाद ।
ReplyDelete