Saturday 6 May 2023

नानीहरु नाप्ने सिजन

 

 

हरिश विद्यालयले नवप्रवेशिहरुलाई लिइने परीक्षामा फेल भएछ । हरिशकी आमा रिसले धुवाँ भइछन् । हरिश पढिरहेको स्कूलमा उसको प्रगतिदेखि असन्तुष्ट भएर उनले अर्को स्कूलको प्रवेश परीक्षामा छोरालाई सामेल गर्न लगेकी रहिछन् । तर दशा के भइदियो भनेँ हरिश प्रवेश परीक्षामा नै फेल भयो । अब उनले आफ्नो मुढे तर्क लगाइन् र भनिन्, “ट्यालेन्ट टिचर भए पो, विद्यार्थी ट्यालेन्ट हुन्छन् । मेरो हरिशलाई पढाउने टिचरै काम नलाग्ने ।” अझ अघि बढेर उनले विरह गाइन्, “त्यो हरिश पढ्ने स्कुलका सबै विद्यार्थी हरिश जस्तै हुन् र उनीहरुले कतै नाम निकाल्नै सक्दैनन् ।” हरिशकी आमा आफैँ निरक्षर हुन् । छोरोको प्रगति नभएकोमा भनें उनलाई औडाहा छ । उनी छोराले भने अनुसारका लुगा जुत्ता, साइकल किनिदिन्छिन् । तर पनि घरको कान्छो छोरो हरिश कि फ्रि फायर गेममा छ, कि पब्जीमा छ, कि गाउँ छिमेकका दौंतरीहरुसँग पोकेमोन कार्ड ट्रेडिङमा छ । उसलाई घरमा नटेर्न छुट छ । हरिशलाई कल गरेर, रोड्याइँ गरेर आफूलाई मनलागि गर्न छुट छ । आमा भनेकी आमा हुन् । उनले आफू सक्दो गरेकी छन् । बाबुले विदेशबाट दुःख गरेर पठाएका पैसा छोराको स्कूल र ट्यूसनमा खर्च गरेकै हुन् । अन्त्यमा हरिशकी आमाको निस्कर्ष के रहेछ भने  शिक्षकको क्षमता नपुगेकै हो । यस अर्थमा उनी सहि हुन् किनभनें हरेक विद्यार्थीको क्षमताको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्न सहयोग गर्नु प्रत्येक विद्यालय र शिक्षकहरुको दायित्व हो । तर सिकाइमा घर र विद्यालयको दायित्व बराबरी हुन्छ । विद्यार्थीको पढाइ र प्रगतिमा घरको पनि उत्तिकै दायित्व हुन्छ भन्ने कुरा उनले बुझ्न चाहिनन् वा सकिनन् ।


यस्तो समस्या हरिशको मात्र हैन । अर्को एकजना अभिभावकले मलाई असन्तुष्टि प्रकट गर्दै आफ्नी छोरीको होमवर्क चेक नभएको गुनासो व्यक्त गरिन् । तर गर्दै नगरेको होमवर्क के कसरि चेक गर्ने त भन्ने प्रश्नमा उनले भनिन् — “स्कूलमा थर्काइदिएको भए घरमा गएर गर्ने थिई नि नानीले होमवर्क ।” यस्तो समस्या प्रायः सबै विद्यालयले भोग्दा हुन् । अझ अर्को रोचक पक्ष त अभिभावकहरुको इच्छा आफ्नो छोरो अथवा छोरी जोरिपारीका भन्दा अब्बल होस् । सोधेका कुराहरु फ़र्फ़री भनिदिओस् । मोवाइल र टेलिभिजनबाट परै बसोस् । बोल्दा अत्यन्त अदवसँग बोलोस् । तर कुनै पनि विद्यालयले मात्र यी सम्पूर्ण गुणहरु एउटा विद्यार्थीमा भरिदिन सक्दैन । त्यसो हुँदो हो त सबै विद्यार्थीहरु एउटै दर्जामा आउने थिए । परीक्षा प्रणालीको जरुरत हुने नै थिएन । बाबुआमाले सोचेजस्तै विषय पढेर उनीहरु नाम, दाम र प्रतिष्ठा सोहोर्ने थिए ।

वैशाख महिना लागेसँगै स्कुले नानीहरु नाप्ने सिजन चल्छ । सबैभन्दा पहिले त अब्बल ठानिएका स्कूलहरुले हाम्रा नानीहरु जाँच्छन् । ठूला शहर केन्द्रीत विद्यालयहरुमा, नामी विद्यालयहरुमा आफ्ना नानी जाँचिमागेर हामी पनि त्यसको मूल्य तिर्न राजी हुन्छौँ । यो जाँच्ने रोग पनि लोकतन्त्र जस्तै भएको छ । गाउँ गाउँमा सिंहदरवार भने झैं गाउँ गाउँमा प्रवेश परीक्षाको रोग सल्केको छ । संस्थागत विद्यालयले त यो गर्ने नै भए, सामुदायिक विद्यालयमा समेत यो रोग फैलिएको छ । प्रश्न यहाँ के उठ्छ भनेँ मापदण्डमा नपर्ने विद्यार्थी कहाँ जाने ? विद्यालय र शिक्षकको काम सिकाइमा प्रोत्साहन गर्ने हैन र ? कुनै पनि विद्यार्थीलाई प्रवेश परीक्षामा अनुत्तिर्ण गराएर त्यस विद्यार्थीको मानसिकतामा आउने हिन भावना र त्यसबाट उत्पन्न नकारात्मकताको जवाफदेहि को हुने ? अनि राम्रा मात्र विद्यार्थी छानेर लिएर आफूलाई उत्कृष्ट दावी गर्ने विद्यालय संस्कारलाई कसले रोक्ने ?


हाम्रो समाजमा त्यसै पनि नपढ्नेहरुलाई त्यति गन्तिमा ल्याइँदैन । नपढेका मानिसमा त छोराछोरी पढाउनुपर्छ भन्ने मात्र चेत हुन्छ । तथाकथित पठितहरुमा भने मैले ठूलो समस्या देखेकी छु । उनीहरु आफूलाई सर्वज्ञ ठान्छन् र मेरो नानी यत्तिको हुनु पर्ने किन भएन भन्ने प्रश्न गर्छन् । उनीहरुमा के समस्या हुन्छ भनें बच्चालाई स्कूल पठाएर विहान वेलुकै ट्यूसन पढाएपछि बच्चा अब्बल भएर निस्कन्छ । तर यो भ्रम हो । सबैको क्षमता उत्तिकै हुँदैन । मानसिक क्षमता र रुची आ–आफ्नै हुन्छन् । केहि अभिभावकहरु वच्चालाई दायाँ वायाँ गर्न समय नै नपुग्ने गरी होमवर्क चाहन्छन् । 

नानी बाबुहरुले आ–आफ्ना क्षमता लिएर आएका हुन्छन् । विद्यालयले पनि सकेसम्म फरक क्षमता भएका र पढ्नमा उति अभिरुची नभएका विद्यार्थीहरुलाई पनि उत्तिकै प्रोत्साहित गर्न पर्ने हो । तर हामीकहाँ त्यो कुराको साधारणतयाः प्रचलन छैन । त्यसको परिणामस्वरुप भर्खरै मात्र कवि तथा फिल्म निर्देशक उपेन्द्र सुब्बाकी छोरीलाई राजधानीकै एक विद्यालयले हतोत्साहित गरेको समाचार आएको थियो । हामी अभिभावकहरु पनि विद्यालयले नै सबै काम गरिदेओस् भन्ने सोच राख्छौँ । घरमा पनि हेरिदिनुपर्छ है भन्ने हो भने थोरै अभिभावकहरु मात्र त्यस कुरामा सहमत हुन्छन् । उनीहरु कि त नभ्याउने, कि त नानीले नटेर्ने कुरा सुनाउँछन् । घरमा हामीले वातावरण सिर्जना नगरिदिने हो भनेँ, नानीहरुलाई समय नदिने हो भने पक्कै पनि पढाइले अपेक्षित प्रतिफल दिन सक्दैन ।


केटाकेटीहरु सबैले बाबु आमाले चाहेकै जस्तो नगर्न सक्छन् । वाल मष्तिस्कलाई तौलिने हाम्रो प्रक्रिया पनि गलत हुन सक्छ । हाम्रो ज्ञानको दायरा अनुसार हामी उनीहरुलाई प्रश्न सोध्छौँ । अनि उत्तर नआएमा त्यसको कारण खोज्ने प्रयास गर्दैनौँ र सोझै विद्यालयमा झम्टिन पुग्छौँ । तर जब बच्चा आफूले सोचे मुताविक वा त्यो भन्दा अब्बल लाग्छ, त्यसबेला हाम्रो सोचाइले फड्को मार्छ । यो बच्चालाई एक कक्षा फड्काउन पाए, अलिक चाँडो हुनेथियो । कक्षा फड्काउन पर्ने कारण सोधियो भने अभिभावकको उत्तर हुन्छ, यसको उमेर वितिगयो । स्कूल हाल्न ढिलो भयो । बच्चाले सक्छ वा सक्दैन हेरिदैन । उसको उमेर वितिगएको मात्र देखिन्छ । अनि अभिभावकहरु भन्छन्— “म यसलाई पेल्छु नि ।” अनि उनीहरुलाई उनीहरुले बुझ्ने भाषामा सोध्नुपर्ने हुन्छ, “नानीले सधैँ पाँच गाँस भात खान्छ । उसको पेट नै त्यत्रै छ । तपाईँले दश गाँस भात कोच्याउँदा पेट दुख्ला, उल्टि गरिदेला नि त !” “हैन म पेल्छु, उमेर वितिगयो नि त !” यहि एक उत्तर हुन्छ ।

साना नानीहरुले ठूला र गह्रौं झोला बोकेर हिँडेको हामी देख्छौं । ती विषयहरुमा अनन्त वहस गर्छौ तर ती नानीहरुलाई हामी आफैं हाम्रा अधुरा सपनाहरुको मरिकुच्चको भारि बोकाइरहेका हुन्छौं । त्यो हामी देख्दैनौं । अढाइ तीनका अबोध नानीहरुलाई हाम्रा सपनाको भारि बोक्न गाह्रो भएको हामी देख्दैनौं । त्यसैले आउनुहोस्, हामी विद्यालय र घर परिवार मिलेर हाम्रा केटाकेटीको आन्तरिक क्षमताको पहिचान गरौं र त्यो क्षमताको विकासका लागि उनीहरुलाई सहयोग गरौं । यो नैं हामीले उनीहरुलाई दिने सुन्दर उपहार हुनेछ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 5 May 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).