तलाऊ किनारामा राखिएको एउटा बेञ्चमा प्रेमिल एक जोडी देखिए । अँध्यारो छिप्पिसकेको थियो । वरिपरि नजिकैका डाँडामा भएका रिसोर्ट र कटेजहरुका झिलिमिलि बत्तिले डाँडै हुनसम्मको रमाइलो देखिएको थियो । तलाऊ वरिपरिको वाकिङ ट्रेलमा अनगिन्ति मानिसहरु बिस्तारै टहलिइरहेका थिए । हेर्दैमा थाहा पाइने; उनीहरुका हिँडाइमा केहि पनि हतारो थिएन । उन्मुक्त हाँसो र स्वच्छन्द बोलिले वातावरण नै रौनकिलो । तलतिर तलाऊमा चिसो हावाले पानीका तरंग उठाइरहेको थियो । ती तरङ्गित पानीका छालमा विभिन्न रंगका विजुलीका उज्यालो पर्दा त तलाऊभरि इन्द्रेनी ओछ्याएजस्तो देखिने रहेछ । इन्द्रेनीको तन्ना ओछ्याएजस्तो तलाऊ !
दिउँसै उज्यालामा एक फन्को मारिसकेको त्यो तलाऊ राती पो अझ सुरम्य
देखियो । साँझमा बरु तलाऊ वरिपरि पर्यटक घुमाउने घोडाहरुसँग तर्किनु पर्ने ।
सुन्दर र चिल्ला घोडा लिएर घोडे भाइहरु ग्राहक फकाइरहेका । कोहि घोडामा मान्छे
राखेर विस्तारै डोहो¥याउँदै
गरेका । साँझतिर त त्यहिं नजिकै चियाका बुटाबुटामा तन्नेरी तरुनीहरु फोटो हान्दै
गरेका । तल मैदानको उखुम गर्मीबाट उफ्रेर पुगेका युवायुवती तलाऊ किनारामा बड्किने घोडाभन्दा पनि फुर्तिला
भएर उछलकुद गरिरहेका देखिन्थे । मौसम पनि त्यस्तै, वातावरण
पनि उस्तै उमंगमय । तल तलाऊ,
अनि मास्तिर डिलका छेउमा चियाबारीले ढाकेका हरिया पाखा असाध्य नै मनमोहक लाग्ने
। हरियाली बीचमा उम्रिएका सुन्दर पाहुना
घरहरुबाट कसोकसो आँखा छेउछाउका रुखमा परेछन् । अल्गा अल्गा धूपीका रुखहरु त झन्
कति लोभ लाग्ने । ऊ माथि रुखका टुप्पामा शीतल सिर्सिरे हावा बयेली खेलेको झनै राम्रो
। हावासँगै जिस्किँदै रुखका टुप्पाहरु लरक लरक हल्लिएको त अझ लजालु मायालुले लाजले
मुन्टो लर्काए जस्तो हेरिरहूँ जस्तो लाग्ने
।
वास्तवमा हामी घामका जरा खोज्दै श्री अन्तुतिर लागेका थियौँ । मधेसको
छाला फुट्ने घामबाट केहि राहत पाइएला भनेर चिसो खोज्दै हिँड्दा श्रीअन्तु पुगियो ।
एउटा सानो झोलामा केहि लुगा बोकेर हिँड्ने, जहाँ
पुगिन्छ त्यहिँ बास बस्ने उद्देश्यले गरिएको बन्जारा टाइपको घुमाइ भनौं न । भाग्यवश्
विर्तामोडबाट सिधै श्रीअन्तु जाने साना जीपहरु पाइने रहेछन् । खुत्रुक्क जीपमा
बसेपछि इलामको बर्ने, जोरकलश अनि कन्याम छिचोल्दै जाँदा
फिक्कल नपुग्दै बाटो मोडिने रहेछ । श्रीअन्तुमा घाम नाँच्दै नाँच्दै डाँडाका
फेदिबाट निस्केको बखान त कति हो कति सुनेको । गाडिभरि पनि अपरिचितहरुसँग तिनै कुरा
भइरहे । घाम आफैंमा नौलो कुरा त थिएन ।
तैपनि सन्दर्भ विशेषले होला घामले नै मनमा ठाउँ ओगट्यो । विर्तामोडबाट अढाई तीन
घन्टामा टुङ्गामा पुगिहालिने रहेछ ।
सानो भन्ज्याङ्ग बजारले सधै पाहुना पर्खिबसेजस्तो । ड्राइभर भाइले
सोधे —
कता जाने ? अब हाम्रो टुङ्गो थिएन । पाहुना बोलाउन
र टुङ्गो नभएकालाई आश्रय दिन केहि महिला, पुरुष
सोधखोज गर्दै गाडिमै आइपुगे । यो पाहुनाको सिजन होइन रहेछ । तुवाँलो नभएको बेला
पारेर असोजदेखि मंसिरसम्म चाहिँ मान्छेको ओइरो खनिँदो रहेछ । तर हामी गएको वैशाखको
बेला पनि त्यति निरसिलो चाहिँ होइन ।
झोला थन्क्याएर भन्ज्याङ्ग बजार घुम्ने क्रममा देखियो, अलिअलि गर्दै गाडिहरु आउन थालेका । उता सिमापारीबाट पनि युवा जोडिहरु मोटरसाइकलमा बत्तिकै आएका । बजार त सानो । चिया खाजा पसल भेट्नै गाह्रो भयो । एक सहृदयी होमस्टेवालाले मिठो चिया र फापरका रोटि बनाइदिए । जाने ठाउँ सक्किसकेको थियो । मन चुमुर्किन थालेको थियो । तिनै होमस्टेवाला मित्रले सुझाए — ऊ त्यता अन्तु पोखरी जानू न ।
सानो थुम्किले भन्ज्याङ्ग बजारलाई पर्दाले छेकेजस्तो अन्तु पोखरी खुत्रुक्क त्यहिँ भएपनि यताबाट केहि नै नदेखिने रहेछ । दुईसय पाइला जति कच्चि बाटो हिँडेपछि त अर्कै दुनियाँमा पुगेजस्तो । धन्न आइएछ जस्तो । आँखा भरिको रमिता नि । कुदेर मास्तिरका चियावारीमा गएर नाचौँ कि, पोखरी डिलका युवाहरुसँग नारिएर हासौं कि ! हैन, ती चिल्ला घोडामा चढेर बड्किऊँ कि ! त्यसो नगरेर ती सुन्दर रिसोर्टहरुमा रमाइलो मानेर झुमिरहेका जमातमा पो मिसिउँ कि ! मन बढो उद्वेलित भयो । भोकाएको जनावरलाई अचानक घाँसे मैदानमा छाडिदिँदा हतासिए जस्तो भयो । अब त्यता पोखरी डिलमा बसौँ र मन थिग्रिन दिउँ । अब सिङ्गो साँझ बाँकी छ । रात बाँकी नै छ । हो नि त ! साँझ त्यसै मादक बन्दै गयो पोखरीका वरिपरि । युवा युवतीहरु थपिँदै गए । घोडावाला भाइहरु घोड सवार गराउन पाहुना फकाउँदै थिए । एउटा भाइ छेउमा आयो, र सोध्यो, “राइड ? हर्स राइड ? बहुत मजा आएगा ।” “अहिले हैन, पछि गरौँला ।,” भनेपछि केटो हाँस्दै फर्कियो । अब सुस्तरी पोखरी वरिपरि घुम्नु थियो । अलिअलि फोटो उठाउनुथियो । त्यता वरिपरिको बिजुलीका उज्यालामा बिजुलीकै गतिमा नाच्ने युवाहरुका लर्कने ज्यान, मर्कने कम्मर र संगीतका लयमा झुमेका पाइलाहरुसँग एकाकार हुनुथियो ।
खाना त आठ बजे
भनेको थियो बास बसेको ठाउँमा । तर रात छिप्पिदै जाँदा, पोखरी
सुनसान हुँदै गयो । रौसेहरु आफ्ना आफ्ना बासतिर पसेछन् क्यारे । माथि बगानमा एक
हुल तन्नेरीहरु गीतारको तालमा गीत गाउँदै थिए । पोखरीका डिलभरि पनि बत्ती भैदिएको
भए ! तर निर्माणको काम धमाधम भैरहेको रहेछ
। घोडाहरु हिँड्ने अर्कै ट्रेल भैदिएको भए
— त्यसको
पनि योजना भैरहेको रहेछ । घोडाको मलमुत्र साह्रै कडा ! त्यो गन्धले अलिक पिरोल्दो
नै रहेछ । ती घोडावाला भाइहरु मान्छे हिँड्ने गोरेटोमा भएका लिदि त तुरुन्तै सफा
गर्दा रहेछन् । तर के गर्नु मुत्र गन्ध अति कडा । उनीहरुको पनि गरिखाने मेलो हो ।
मान्छेलाई मनोरञ्जन पनि चाहिएकै छ । तर घोडा कुदाउने र मान्छे टहलिने अर्कै
छुट्टाछुट्टै मार्ग भैदिए हुने नि जस्तो लाग्यो ।
घोडाको चमत्कार त अझ बिहान पो देखिने रहेछ । श्रीअन्तुमा घाम झुल्किने समय ५:१३ रहेछ । गुगलले भनिदियो । घाम डाँडो निकै पर रहेको कुरा सुनिसकेको हुँदा बिहानै हामी सडकमा निस्कियौँ । एउटा भ्यानवाला भाइले भने — पचास पचास लिन्छु । उनले माथि चौरसम्म लगिदिए । त्यहाँदेखि माथि गाडी प्रतिबन्धित रहेछ । अँध्यारैमा मानिसहरु घामडाँडातिर हतासिएर कुदिरहेका थिए । वालक, वृद्ध, युवा कति हो कति । धुपीको पट्टेर जंगलका बिचबाट बाटो रहेछ । सबैजना उत्तिकै हिँड्न नसकिने उकालो बाटो । अलिकति हिँडेपछि सास फुलेर आयो । घोडावाला भाइहरु हतासिएर घोडामा मान्छे दौडाइरहेका थिए । माथि पु¥याइराखेर फेरि हुर्रिदै तल आउँथे अनि फ्याँफ्याँ गरिरहेका मान्छे टिपेर टुप्पातिर घोडा लान्थे । बिहान घाम निस्कनु अघि त रमितै हुनेरहेछ । नभन्दै घामभन्दा पहिले नै हामी टावर चढ्यौँ । सैयौँ मान्छे हातमा मोबाइल लिएर अघि तयार परेका रहेछन् । टावर त भरिइसकेछ । मान्छेका टाउका बिचबाट उदाउँदो घाम नदेखिएला भन्ने शंका लागेर माथि टावरमा चढिसकेका हामी फेरि तल ग्राउन्डमा निस्कियौँ । दिन राम्रो परेछ । घामले मुन्टो देखायो । मान्छे हर्ष र उल्लासले चिच्याए । टावरका गेटमा दर्जनौं दिदी बहिनीहरु सेलरोटी घुमाउँदै थिए, चना भुट्दै थिए । पुडी तार्दै थिए । पकौडा, जेरी के के हो, के के । चिया भाँडाहरुमा भुल्किदै थियो । अब त्यो उकालो चढेको भीड भोकाएर गेटबाट बाहिरिन्छ र ती पकवानहरु रोजी रोजी धुल्याउँछ भन्दै हामी ओह्रालो लाग्यौं । घाम हेर्ने हतास सकिएको रहेनछ । मान्छे अझै घाम छोप्न दौडदै थिए । हामी ओरालो लागेको देखेर उनीहरु अलि खुम्चिए । एक घाम उम्के पनि अर्को घाम भेटिएला भनेजस्तो गरेर उनीहरु उकालोतिर लम्किरहे ।
तल चौरमा आइपुग्दा बल्ल तीनजना महिला जाँदै रहेछन् । “देख्नु भो
तपाईँहरुले ?,” एक जनाले सोधिन् । “देखिँदैन आजकल
भनिदिए अरुले अनि हामी त ढिलो भयौँ,” उनले
दुःख मनाउ गरिन् । “हैन, ठिकै छ । धेरै ठूलो कुरा मिस गर्नुभएको
छैन तपाईँहरुले । बरु बिस्तारै जानोस् । धुपीको जंगलको चिसो हावा खानोस् । अनि
मास्तिरै खाजा खाएर विस्तारै आउनोस् न । घाम त आफ्नै घरको वार्दलीबाटै पनि देखिन्छ
नि ।” उनीहरुलाई घत परेछ क्यारे “हो त नि !” भन्दै ती महिला ठाडै उकालो लागे ।
हामी भनें मनभरि अन्तुको मादक सौन्दर्य बोकेर घर फर्किने तरखरका लागि भन्ज्याङ्ग
बजारतिर झ¥यौं ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 19 May 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).