‘शून्य’ को अर्थ पनि लेखकले बडो मार्मिक तरिकाले प्रष्ट पारेका छन् ।
उनी भन्छन् — संयुक्त राष्ट्रसङ्घले मानव जीवनको दिगो विकासका निम्ति सन् २०३०
सम्म पुरा गर्नुपर्ने १७ वटा लक्ष्य निर्धारण गरेको छ । तर दुर्भाग्यवश् यी
लक्ष्यको सूचीमा गर्भवती आमाहरुको उचित रेखदेखको कुरा त भुसुक्कै छुटेछ । आफू एक बालरोग विशेषज्ञ भएको नाताले डा. केसी
बालबालिकाको पूर्ण विकासका लागि सर्वप्रथम उनीहरुका आमाको विकास हुनु जरुरी
ठान्छन् । तसर्थ आफ्नो कर्मभूमि कर्णाली क्षेत्रमा भेटिएका आमाहरुको स्थितिबोधले
उनलाई ती सत्रवटा लक्ष्यभन्दा अगाडि ‘शून्य’ नम्बरमा मातृत्वविकासको लक्ष्य
थपिनुपर्ने कुराको अनुभूति भयो । उनका अनुसार “शून्य भनेको एकमा पुग्नुअगाडिको
तयारी हो नि । फूल फुल्ने र फल फल्ने वृक्ष उम्रिने माटोमा हो । शून्य पनि अरु अंकका
मान बढाउने त्यही माटो हो...एक, दुई, तीनदेखि १७ सम्मका सबै लक्ष्यहरु शुरु गर्ने
सुभारम्भ धर्को यही शून्य बनोस् ।” यो अर्थमा शून्य मूल्यवान् छ ।
डाक्टरले
दिएको चकलेट खाने क्रममा जब भुनभुने बिरालोको जस्तो विचित्रको आवाज निकाल्छ, तब उनी झस्किन्छन् । कुरा बुझ्दा भुनभुनेको
बाबु इन्डिया भास्सिएको, उसकी आधा अनुहार डढेकी आमालाई गाउँलेले
बोक्सीको आरोप लगाएर अनेक प्रकारले सताउने गर्दा उनी आजित भएर गाउँभन्दा टाढाको
जंगलमा गएर एक्लै बस्ने गरेकी तथ्य पत्ता लाग्छ । दिउँसो आफू
घाँस
दाउरा गर्न जंगल जानुपर्ने हुनाले सानो भुनभुनेलाई उनी जंगली जनावरबाट जोगाउन
डोकोले छोपेर हिँड्दिरहिछन् । उनका घरभरि बिराला रहेछन् । कुनै पनि मानव आकृतिको
सम्पर्कमा नआएको भुनभुने यिनै बिरालाको क्रियाकलाप हेर्दै हुर्केको रहेछ । यसैले
गर्दा उसको व्यवहार र बोली बिरालोको जस्तो भएको कुरा बुझ्न डाक्टरलाई कुनै बेर
लागेन ।
म
भुनभुने र कैरवीको भाषिक विकासको तुलना गर्न थालेँ । हामी मूलतः सिकाइका दुई
सिद्धान्तहरु — ‘बिहेबियरिजम्’ र ‘मेन्टलिजम्’ का बारेमा खूबै पढ्छौँ र पढाउँछौँ ।
भाषिक सिकाइमा पनि यी सिद्धान्त लागू हुन्छन् । पहिलो सिद्धान्तअनुसार केटाकेटीहरु
अरुले बोलेको सुनेर उनीहरुकै नक्कल गरेर बोल्छन् । यदि उनीहरुले बोलेको ठीक छ भने
अरुहरुले स्याबासी दिन्छन् र उनीहरुलाई त्यहि कुरा पटक पटक भन्न हौस्याउँछन् ।
यसरी केटाकेटीको भाषिक विकासमा वाह्य वातावरणको ठूलो हात हुन्छ । उनीहरुले अरुको
सम्पर्कमा आएर जति जति नयाँ कुरा सिके, उति
उति नै उनीहरुको भाषा विकसित हुँदै जाने हो । यसको विपरित दोस्रो सिद्धान्तअनुसार
केटाकेटीको भाषिक विकास हुन वाह्य वातावरणले मात्र पुग्दैन ।
प्रख्यात
भाषाविद् नोम चोम्स्कीका अनुसार सबै सामान्य व्यक्तिभित्र कुनै पनि भाषा सिक्न
सक्ने सामर्थ्य हुन्छ । त्यसलाई उनले ‘ल्याड’ अर्थात् ‘ल्याङ्ग्वेज याक्युजिसन
डिभाइस’ को संज्ञा दिएका छन् । जब साना केटाकेटीहरु भाषाको सम्पर्कमा आउँछन्
उनीहरुको ल्याड सकृय हुन्छ र उनीहरु त्यो भाषा सिक्न सक्छन् । यसबाट के बुझिन्छ
भने बिहेबियरिजम् र मेन्टलिजम्को अन्तरक्रियाबाट नै केटाकेटीको भाषिक विकास सम्भव
छ । यहाँ एउटा मात्र सिद्धान्तले काम गर्दैन ।
यसैको परिणाम हो — भुनभुनेले चार वर्षको उमेरसम्म पनि केही बोल्न नसक्नु । ऊ भित्र भाषा सिक्न सक्ने क्षमता ‘ल्याड’ भएर पनि उसले मान्छेले बोलेका कुनै पनि शब्द सिक्नै पाएन । यसको बदलामा उसले बिरालाको क्रियाकलाप मात्र देख्यो र उनीहरुकै आवाज सुन्यो; त्यसैले त उसको व्यवहार र भाषा पनि बिरालाकै जस्तै भयो । यसको विपरित कैरवीले आफ्नो परिवारमा भएका विभिन्न सदस्यका कुरा सुन्न पाई र जे जे सुनी त्यो बोल्ने अभ्यास पनि गर्न थाली । यति मात्र नभई ऊ अरुले उसका पुस्तक पढिदिएको सुन्थी, खेलौनाका बारेमा बोलिएको सुन्थी र त्यस्तै नक्कल गर्न खोज्थी । यसको परिणामस्वरुप डेढ वर्षकै उमेरमा ऊ हामीले भनेका धेरैजसो कुरा बुझ्ने र प्रतिक्रिया दिन सक्ने पनि भैसकेकी थिईँ । यो उसको सिकाइको उर्वर समय थियो । उसले बुझे पनि नबुझे पनि घरका सबै सदस्य ऊसँग अनवरत रुपमा बोली नै रहन्थ्यौँ । ऊ पनि ध्यान दिएर सुन्थी र उसलाई मन लागेको बेलामा तिनै कुरा बोल्थी । भाषा सिकाइको सिद्धान्तअनुसार केटाकेटी पाँच वर्षको उमेरसम्ममा आफ्नो मातृभाषा बोल्न सक्षम हुन्छन् । तर उचित वातावरणको अभावमा भुनभुनेले चार वर्षको उमेरसम्म पनि एउटै शब्द सिक्न सकेको थिएन । छ न त ऊसँग उसकी आमा थिइन् । आमाछोरा कुरा गर्न सक्थे होला । तर दिनभरि जंगलमा काम गरेर थाकेर बेलुका घर आइपुगेकी आमाले के बोल्नु ? उनलाई त खालि यति ठूलो भइसक्ता पनि किन आफ्नो छोरो बोलेन भन्ने पीर मात्र थियो ।
डाक्टरले
समस्याको पहिचान गरिसकेपछि कसरी अब ती आमाले बोल्न सिकाउन सक्थिन् भन्ने कुरा
धैर्यपूर्वक बताए — “बच्चो र आफ्नो अनुहार एकै ठाउँमा पार्ने, बच्चोका आँखालाई आफ्नो ओठमा पार्ने, अनि एउटा अक्षर मात्र भन्ने, फेरिफेरि भन्ने, बच्चोले नभनेसम्म भन्ने, जस्तै
‘आ’,
जस्तै ‘मा’, है त । ...बच्चोले एउटा अक्षर बोल्न
जानेपछि ती एउटा एउटा अक्षर जोड्न सिकाउने अनि ती शब्द भन्न सिकाउने है । जस्तै
दु+दु=दुदु, आ+मा=आमा, बुझ्नुभो नि ?”
नभन्दै
अर्कोपल्ट ती आमा डाक्टर भेट्न आउँदा निकै उत्साही र खुशी देखिएकी थिइन् । उनले
हँसिलो स्वरमा भनेकी थिइन्,
“यो बोल्यो
डाक्टर, यो बोल्यो । आमा भन्यो आमा । अब अरु
पनि सिकाउँला यसैगरी ।” आमाले भुनभुनेको भाषिक सिकाइको साँचो त पत्ता लगाइन् ।
मेरो मन भने त्यो सानो भुनभुनेमै अल्झिएको छ । ऊ कत्तिको बोल्ने भयो होला ? उसले बिरालो प्रवृत्ति छोड्यो कि छोडेन होला ? ऊ बोल्ने भएर स्कूल जान पाउँछ कि पाउँदैन होला ? जंगलमा एक्लै बसेकी भुनभुनेकी आमाले कसरी उसको
स्कूलको व्यवस्थापन गर्लिन् ? यता
कैरवी अब त दुई वर्षकी भइसकी । ऊ फरर दोहोरो कुरा गर्न सक्छे । जब म कैरवीसँग
भिडियो च्याट गर्छु, अनायास भुनभुने मेरो मनमा आएर थपक्क
बस्छ । अनि म भगवान्सँग प्रार्थना गर्छु— “हे भगवान्, यो बालकले पनि बोल्न सिकोस् र आफ्ना मनका कुरा
अरुसँग व्यक्त गर्न सकोस् ।”
कस्तो शक्तिशाली पात्रको कथा लेख्न सकेका होलान् डा. नवराज केसीले ?
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 30 June 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]