Friday 16 June 2023

कहिल्यै नवैलाउने फूल : छन्द कविता

 

 

करिब एक/डेढ महिनाअगाडि म एउटा पुस्तक विमोचनको कार्यक्रममा सहभागी भएकी थिएँ । यो पुस्तक विभिन्न छन्दमा लेखिएका कविताको संग्रह थियो । यो कविता संग्रहमा टिप्पणी गर्ने क्रममा एकजना महाशयले अहिलेको समयमा छन्दमा कविता लेखिनुहुँदैन भनेजस्तो मनसाय व्यक्त गरे । हामीले वर्तमान परिप्रेक्ष्यमा उत्तरआधुनिकताको डोरो पक्रिएर साहित्य सिर्जना गरेनौँ भने हामी विश्व साहित्यको मानचित्रबाट हराउँछौँ भन्ने कुरामा उनको जोड थियो । उनले भने अनुसार छन्दमा कविता लेख्नु भनेको पुरातनवादलाई पछ्याउनु हो जुन अहिले ‘आउट डेटेड’ भैसकेको छ । उनका यिनै अभिव्यक्तिबाट प्रेरित भएर म यो लेख लेख्दैछु । किन किन मेरो मन उनको भनाइसँग सहमत हुन मानेन ।


मानिसको कल्पनामा अथवा सिर्जनात्मकतामा यसरी लगाम लगाउन मिल्ला र ? नयाँ नयाँ सिद्धान्तको विकाससँगै पुराना सिद्धान्त नामेट भएर जाने हुन् र ? के साँच्चै छन्दलाई पछ्याउने मान्छेले अबको समयमा साहित्य सिर्जना गर्न सक्तैन र ? यस्तै यस्तै अनेक प्रश्न मेरो तुच्छ मस्तिष्कमा सलबलाएका थिए छन्दविरोधी महाशयका कुरा सुनेर । न म छन्दकी ज्ञाता हुँ, न त कविता विधा नै मेरो लेखन क्षेत्र हो । यो एउटा पाठकीय दृष्टिकोण मात्र हो ।

हो, कविता लेखनमा गद्य कविताको आगनसँगै नयाँ नयाँ शैली विकास भइरहेका छन् ,यो अत्याधुनिक युगमा । दुई/चार महिनाअगाडि एपी वान टेलिभिजनमा प्रस्तुत भएको ‘द पोएट आइडल’ भन्ने टेलिभिजन रियालिटी सोमा सहभागी प्रतिस्पर्धी नव कविहरुले आफूले लेखेका कविता संगीतको तालमा प्रस्तुत गरेका थिए । यसैगरि हिजोआजका चर्चित युवा कवि नवराज पराजुलीको कविता वाचन शैली पनि गज्जबको छ । उनी अभिनयका साथ कविता पाठ गर्छन् र उनका कविताले गहिरा गहिरा कथा भनिरहेका हुन्छन् । उनका पन्ध्र–बीस मिनेट लामा कविता सुन्न बस्ता पनि श्रोता बोर हुँदैनन् । अबको लाइनमा कविले के भन्ने हुन् भनेर उनीहरु अन्तिमसम्म उत्तिकै उत्सुक भएर सुनिरहेका हुन्छन् । पहिले पहिले लेखन र वाचनमा सीमित कविता अहिले आएर गीत संगीतजस्तै प्रस्तुतीमा पनि अगाडि बढेका छन् ।


गीत संगीतकै कुरा गर्दा पनि त यहाँ लोकगीत, आधुनिक गीत, पप गीत, रक गीत, र्‍याप गीत जस्ता अनेक किसिमका गीत गाइन्छन् । अनि के हामीले अहिलेको समयमा रक संगीत प्रचलित छ भनेर लोकगीतको अस्तित्व नै छैन भन्नू ? आज पनि हाम्रा कानलाई लोकगीत उति नै प्रिय छन्, जति पहिले हुने गर्थे । यसको मीठासले गर्दा नै त अहिले लोक दोहोरी पनि अरु किसिमका संगीतजस्तै चलेकै छ ।

नेपाली साहित्यमा नाम चलेका कृतिहरुको नाम लिँदा अझैसम्म पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘मुनामदन’ खण्डकाव्य अग्रपंक्तिमा आउँछ । यो खण्डकाव्य झ्याउरे छन्दमा लेखिएको छ । मुनामदनको कथा प्राय: सबै नेपालीको जीब्रोमा झुण्डिएकै छ । यसैगरि कवि शिरोमणि लेखनाथ पौड्यालका छन्दमा लेखिएका कविताहरु कति अर्थपूर्ण छन् ; अहिलेको समयमा पनि ती उत्तिकै सान्दर्भिक लाग्छन् । राष्ट्रकवि माधव घिमिरेले पनि छन्दमै कविता लेखेर यो उपाधि पाएका हुन् । फेरि हिजोआजका कविहरु छन्दमा कविता लेख्दै लेख्दैनन् भन्ने पनि त होइन नि ! उदाहरणका लागि हालसालै कवि रोहिणी रसिक छन्द कविता संग्रह ‘छन्द आराधना’ लिएर नेपाली साहित्यको आकाशमा उदाएका छन् । उनको यो कृति ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार–२०७९’ का लागि छानिएका पाँच उत्कृष्ट काव्यकृतिको छनोटमा पनि परेको छ । साहित्यपोस्ट अनलाइन साहित्यिक पत्रिकालाई दिएको एउटा अन्तर्वातामा कवि रसिक छन्दको महिमाबारे यसो भन्छन्, “साधकले नियमित साधना गर्दै जाने र साधनाबाट सिर्जित सिर्जना प्रशस्ति अभियान चलाउँदै जाने हो भने पद्य साहित्य हरेकको मनमा विराज गर्न सक्छ । जसरी रामायण, महाभारत, गुणरत्नमालाले सबैको जीब्रोमा स्थान जमाएको थियो त्यसैगरि छन्दको पुनरोदय हुन्छ र हुनु आवश्यक छ ।” हुन पनि हो, हाम्रा प्राचीन ग्रन्थहरु सबै छन्दोवद्ध नै छन्; तिनले आधुनिक समयमा आफ्नो लोकप्रियता गुमाएका छैनन् ।


छन्दमा कविता लेख्ने काम चानचुने होइन । हुन त कविता लेखन आफैमा पनि कठिन छ — थोरै शब्द प्रयोगबाट धेरै कुरा प्रभावकारी ढंगमा भन्नुपर्ने । त्यसमा पनि छन्द कविले त यी शब्दको प्रयोगमा बडो अनुशासित हुनुपर्छ । सानो एउटा मात्रा मात्र विराइयो भनें यसले छन्दको सुन्दरतालाई कुरुपतामा बदलिदिन्छ । त्रिभुवन विश्वविद्यालय, केन्द्रिय विभागमा नेपाली विषय प्राध्यापन गर्ने साहित्यकार रामप्रसाद ज्ञवाली पनि छन्दको क्लिष्टतालाई पुष्टि गर्छन् । उनले एउटा अन्तर्वातामा भनेका छन्, “लेखकको संख्या हेर्दा छन्दमा भन्दा गद्यमा लेख्नेको संख्या बढी छ । किनभने छन्दमा लेख्न शास्त्रमा लेख्नुपर्‍यो । गुण सिक्नुपर्‍यो । भाषा र छन्दका बीचमा ताल मिलाउन सक्नुपर्‍यो । धेरै साधना गरेपछि मात्र छन्दमा लेख्न सकिन्छ ।” उनका अनुसार छन्द कविताको युग पुनर्जागरण भएको छ ।

यी सबै तथ्यहरुले के देखाउँछन् भने अहिलेको उत्तरआधुनिक समाजमा ‘छन्दमा कविता लेखिनु हुँदैन’ भन्ने भनाइ आधारहीन छ । नेपाली कविताको विकास क्रममा छन्द कविताको आफ्नै स्थान छ । गद्य कविताले छन्द कवितालाई विस्थापित गर्न सक्दैन । योभन्दा पनि महत्वपूर्ण कुरा एउटा श्रष्टाको सिर्जनालाई पुष्पित, पल्लवीत हुनबाट कुनै पनि सिद्धान्तको सीमाले रोक्नुहुँदैन । संसार हेर्ने दृष्टि सबैको एउटै हुँदैन; फरक फरक धारणा, विचार र विश्वासले त संसार सुन्दर छ । फूलबारी पनि सुन्दर विभिन्न फूलहरुले गर्दा नै हुन्छ । यसै परिप्रेक्ष्यमा, जब नयाँ सूचना र प्रविधिको विकास भयो, अझ भनौँ मानिसको जीवनमा इन्टरनेटले प्रवेश गर्‍यो, हरेक किसिमका ज्ञान र सूचना उनीहरुको कम्प्यूटरमा नै उपलब्ध भयो । इन्टरनेटको अत्यधिक प्रयोगले अब संसारका पुस्तकालय नचलेर बन्द पो हुने हुन् कि भन्ने त्रास मानिसको मनमा थियो । तर त्यसो भएन । विभिन्न पुस्तकले भरिएका पुस्तकालयलाई नयाँ सूचना र प्रविधिले विस्थापन गर्न सकेन । इन्टरनेटमा उपलब्ध इ–बुकका तुलनामा भौतिक रुपमा उपलब्ध पुस्तकको महत्व रत्तिभर पनि कम भएको छैन ।  

यसैगरी, कविता लेखन क्रममा विभिन्न खाले नयाँ नयाँ शैलीको विकास भए पनि छन्दमा लेखिने कविताको महत्व कम हुने छैन । गद्य कविताले जे बोल्छ, त्यो पद्य कविताले पनि बोल्न सक्छ । अझ यसमा थप कुरा लय हुन्छ, गेयात्मकता हुन्छ । आफ्नो आफ्नो रुपमा यी दुवैखाले कविता सुन्दर छन् । साहित्यमा यिनले आफ्नो आफ्नो स्थान कायम गरेका छन् र साहित्यको अस्तित्व भएसम्म ती स्थान सुरक्षित भइ रहने छन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  16 June 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).