माओवादी आन्दोलनसँग सम्बन्धित धेरै पुस्तक लेखिए होलान् , केही त मैले पनि पढ्ने मौका पाएकी छु । तर यो पुस्तक मेरा लागि अलि खास रह्यो किनभने यसका लेखक आफैं माओवादी आन्दोलनका एक सकृय योद्धा भएर त्यो जनयुद्धलाई प्रत्यक्ष भोगेका छन् । त्यसैले यहाँ वर्णित घटनाहरु सबै विश्वसनीय लाग्छन् । आख्यान भैकन पनि यो यथार्थ लाग्छ ।
यो उपन्यासको मुख्य पात्र मुन्से हाम्रो दैनिक जीवनमा भेटिने एउटा सशक्त राजनैतिक पात्र हो । माथिल्लो दर्जामा हुने तथाकथित नेताहरुले कसरी एउटा सामान्य, अनपढ, अरुको लहैलहैमा लाग्ने र सजिलै बटार्न सकिने व्यक्तिलाई उफार्दै , फकाउँदै र हौस्याउँदै आफ्नो पार्टीमा घिसार्छन् र त्यस्ता व्यक्तिलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गर्छन् भन्ने कुरालाई उपन्यासकार माबुहाङले प्रष्ट रुपमा देखाइदिएका छन् । मुन्से एउटा यस्तै पात्र हो । ऊ सामान्य घरखेती गरेर बस्ने गाउँको एउटा सोझो युवा हो । उसलाई बाठाटाठा नेताहरुले हौस्याएकै भरमा उसको समुदायको नेतृत्व गर्नसक्ने नेता बनाउँछन् । उसलाई तत्कालीन राजतन्त्रको विरोध गर्न लगाउँछन् र ऊ पनि त्यो गाउँका प्रधानपञ्च आफ्नै ठूलोबुवाको विरोधमा उत्रन्छ । यसरी राजनीतिमा पसेको मुन्से भासिँदै भासिँदै माओवादी जनआन्दोलनको नेतृत्व गर्नसम्म पुग्छ ।
‘माओवादी जनयुद्ध (कैदी नं. ५१ को बयान)’ उपन्यासले नेपालको एक कालखण्डको राजनैतिक इतिहासलाई जीवन्त पारेको छ । यस अर्थमा यो पुस्तक त्यो समयको राजनैतिक इतिहासको अमूल्य दस्तावेज पनि हो । जनयुद्ध शुरु हुनुअगाडिको राजनैतिक विचलनदेखि जनयुद्धपश्चात् दोस्रो संविधानसभाको निर्वाचन हुँदासम्मको समयलाई यो उपन्यासमा समेटिएको छ ।
यो उपन्यास पढ्दै जाँदा लाग्छ — त्यो जनआन्दोलन त्यत्तिकै शुरु भएको थिएन । सधैँको अस्थीर राजनीति, आफ्नो स्वार्थसिद्धिमा मात्र लागेका भ्रष्ट नेता, बढ्दो भ्रष्टाचार र सर्वसाधारणले चाहिँ सधैँ पाइरहने दुःख र सास्ती जस्ता तत्वबाट साधारण जनताले उन्मुक्ति चाहिरहेको अवस्थामा बाठा माओवादी नेताहरुले जनताको यही भावनालाई किने । जनयुद्धको विजयपश्चात् देशमा जनसरकार आउँछ, धनी र गरीबको भेदभाव घट्छ, देशका सबै जनता बराबर हुन्छन्, कसैले दुःख पाउनुपर्दैन भन्नेजस्ता मीठा मीठा सपना देखाएर उनीहरुले सोझासिधा सबै गाउँले युवाहरुलाई त्यो युद्धमा लाग्न प्रोत्साहन गरे । नभन्दै नयाँ नेपालको सुन्दर कल्पना गर्दै ती युवा पनि युद्धमा होमिए । मुन्से यस्तै परिवर्तनको चाहना गर्ने एउटा युवा हो ।
ऊ त्यो जनयुद्धको साक्षीको रुपमा देखापरेको छ । हामीले जनयुद्धताका विभिन्न संसारमाध्यमबाट जे जस्ता कुरा सुन्थ्यौँ अथवा देख्थ्यौँ, ती सबै कुराको विस्तृत विवरण यो उपन्यासमा भेटिन्छ । त्यसैले यो पुस्तकले पाठकलाई पुनः त्यही समयमा लैजान्छ । अझ भनौँ मुन्सेले ऊसँगसँगै पाठकलाई पनि त्यही युद्ध प्रत्यक्ष रुपमा देखाउँछ । माओवादी र सेना दुवै समूहका राम्रा नराम्रा पक्ष यहाँ भेटिन्छन् ।
यही युद्धका बीचमा मुन्से र रुपाबीचमा पलाएको र झाङ्गिएको कारुणिक प्रेम कथा पनि यहाँ पढ्न पाइन्छ । उनीहरु एकअर्काप्रति पूर्ण समर्पित हुँदाहुँदै पनि जातीय विभेदले गर्दा विवाह बन्धनमा बाँधिन सक्दैनन् । मुन्से लिम्बूको छोरो र रुपा बाहुनकी छोरी हुनु नै उनीहरु एकाकार हुन नसक्नुको प्रमुख कारक तत्व बन्छ । बाहुनी श्रीमती ल्याएर मुन्से आफ्नी आमाको मन दुखाउन चाँहदैन । न त रुपा नै लिम्बू केटासँग विवाह गरेर आफ्ना आमाबाबूमाथि विश्वासघात गर्न सक्छे ! तर युद्ध चम्कँदै गएपछि र उनीहरु पूर्ण रुपमा माओवादी आन्दोलनमा होमिएपछि भने उनीहरुको बिहे पार्टीले नै गराइदिन्छ; यो विवाहका बारेमा उनीहरुका बाबुआमालाई कहिल्यै थाहा हुँदैन । यो विवाहले उनीहरुलाई वैधानिकता त दियो तर उनीहरुले वैवाहित जीवनको सुखभोग भने कहिल्यै गर्न पाएनन् । “चाहे जे होस्, मुन्से र रुपाको धेरै वर्षदेखिको सपना समयले घुमाई फिराई जुराइदिएको छ...तर, सुहागरात मनाउने दिन र समय भने छैन । बेहुला–बेहुली हूँ भनेर सिंगारिएर बस्ने समय पनि छैन । चौबिसै घण्टा गोला बारुद र बन्दुकले सजिएर बस्नु पर्नेछ” (पृ.३०४) । यो भनाइले के प्रष्ट पार्छ भने त्यो समयमा माओवादी प्रेमी–प्रेमिकाले अथवा पति–पत्नीले मुन्से र रुपाकै जस्तो नियति भोगेका थिए । यति मात्र कहाँ हो र ! लडाई खेल्ने क्रममा नै एकदिन रुपा यो संसारबाट बिदा हुन्छे । यसरी मुन्से–रुपा जोडीको प्रेमकथाको दुःखान्त अन्त्य हुन्छ । उनीहरुले भित्रभित्र मात्र एक अर्कालाई माया गरिरहे, भौतिक रुपमा भने उनीहरुको प्रेम पुष्पित पल्लवित हुन पाएन । शायद युद्दको आगो ह्वार ह्वार बलिरहेको समयमा योद्दाहरुलाई खुलेर प्रेम गर्ने अधिकार हुँदैन । उनीहरुले प्रेम र युद्दमा युद्द नै छान्नुपर्नेछ । यो कुरालाई छुदेन काविमोको उपन्यास ‘फातसुङु’ ले पनि पुष्टि गर्छ ।
केही भाषागत त्रुटिका अलावा यो उपन्यासमा खट्किएको एउटा पक्ष भने यहाँ अनावश्यक रुपमा चर्चा गरिएको दोस्रो विश्वयुद्धको कुरा हो । यसको यहाँ कुनै सान्दर्भिता नै देखिदैन । बीचमा अचानक यो कथा घुस्नाले पाठकले अघिदेखि खुरुखुरु पढ्दै आएको पठन श्रृङ्खला भङ्ग हुने सम्भावना प्रवल देखिन्छ ।
यसका अलावा यो पुस्तक पठनीय छ । आफ्नो जीवनमा परिवर्तन आउने आशामा देशका हजारौँ युवायुवतीले यो जनयुद्धमा हाम फाले । कति शहीद भए, कति अपाङ्ग भए, कति बेपत्ता भए । उनीहरुका परिवारले पनि पाउनसम्म दुःख पाए । तर यतिको बलिदान गर्दा समेत उनीहरुको कष्टकर जीवनको स्वरुप परिवर्तन भएन । यसका विपरित माओवादी टाउके नेताहरु भने सुटबुट लाउने, महलमा बस्ने र महङ्गा महङ्गा गाडीमा चढ्ने भए । आफ्नो सर्वस्व गुमिसकेपछि त्यो युद्धभूमिबाट फर्किएका योद्धाहरुले आफूलाई खालि झूठो आश्वासन दिएर, युद्धमा प्रयोग मात्र गरिएको भन्ने कुरा बुझे । यसले उनीहरु दुःखी भए , निराश भए । तर के गर्नु र ? उनीहरुको हातमा अब केहि थिएन । यस्तै यस्तै मर्मस्पर्शी र यथार्थ घटनाहरु समावेश गरेर कृष्ण माबुहाङले ‘माओवादी जनयुद्ध (कैदी नं. ५१ को बयान)’ नामक उपन्यास तयार पारे । मुन्से नाम गरिएको कैदी नं. ५१ सँग उपन्यास छिप्पिँदै जाँदा उपन्यासकार आफैं त्यो पात्रसँग साटिन्छन् । पाठकलाई मुन्सेभित्र पसेर माबुहाङआफैंले प्रत्यक्ष भोगेको युद्धको बयान गरिरहेजस्तो लाग्छ । यो उपन्यासले अघिल्लो पुस्ताका सबै राजनैतिक नेताहरुको यथार्थ चरित्र चित्रण गरेको छ । यिनीहरुकै कारण आजसम्म पनि देशले चरम अस्थिरताको नियति भोग्नु परिरहेको कुरा तपाईं हामीले अनुभूति गरिरहेकै छौं नि ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 4 August 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).