चितवनमा चलेको निशुल्क र महिला मैत्री ब्लू बसको चर्चा म सुनिरहेरकी थिएँ । हाम्री घरेलु सहायक महिला मित्रको कुरा सुनेपछि मलाई यो बस सेवाका बारेमा बुझ्न झन् उत्साह जागेर आयो । ती महिला हाम्रो लगायत अरु दुई घरमा घरेलु सहायकको काम गर्छिन् । एउटा सानो छोरोलाई प्राइभेट स्कुल पढाँउछिन् । तर तीन घरमा काम गरेको कमाईले उनको घर चल्न सक्दैन । कारण के हो भनें उनको डेरामा उनी बाहेक पाँचजना पुरुष सदस्य छन् । निर्माण क्षेत्रमा आर्थिक मन्दीका कारण काम छैन । ती सबैलाई उनले पाल्नु परेको छ । ती महिलाले पनि चितवनमा चल्ने निशुल्क बसको कुरा सुनेपछि भनिन् — ‘त्यस्तै फिरी बस यता चले, म पनि बजार गएर अरु दुई ठाम् काम भ्याउँदी हुँ । आबो सिटी चढौँ — काम गरेर कमाको पैसा त्यतै जान्छ । हिँडेर भ्याउँदैन । हैन दमकमा चैं आउँदैन फिरिको बस ?’ ल, अब त्यस्तो सुनौलो परिकल्पना सम्म त गर्न सक्ने भएछौं हामी भनेर मलाई खुशी लाग्यो । चितवनको क्षेत्र नंबर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो विजयको सय दिन पुग्दा पूर्वनिर्धारित वाचा अनुसार एउटा नीलो बस महिलाहरुको लागि मात्र भनेर चलाउन शुरु गर्यो । एउटा पुरानो बसलाई आकर्षक नीलो र सेतो रंगमा रंगाएर पूर्ण निशुल्क रुपमा महिलाहरुले प्रयोग गर्न पाउने कुरा प्रायः सम्पूर्ण सञ्चारका श्रव्य, दृष्य र छापा सामग्रीहरुले उच्च प्राथमिकतामा राखेर प्रसारण / प्रकाशन गरे । यो कुरा नेपालका लागि नयाँ प्रयोग थियो । महिलाहरुप्रतिको एक उच्च सम्मान थियो । यस कुराले बस चढ्नु र ओर्लनु मात्र भन्ने सामान्य अर्थ बोकेको थिएन ।
गत वर्ष मात्र असम भ्रमणमा रहेका बेला महिलाहरुलाई दिइने ‘फ्रि बस’ को सुविधाका बारेमा मलाई थाहा भएको थियो । गुवाहाटी शहरमा चल्ने केहि बसहरुमा हामी महिलाहरुले पैसा तिर्नु परेन । भर्खरै मात्र मैले भारतका अन्य राज्यमा पनि यस्तो सुविधा छ कि भनेर गुगलको सहायता लिएँ । ओहो ! भारतमा त कर्नाटका, तमिलनाडु राज्य र दिल्लीमा समेत यो महिलालाई सित्तैमा प्राप्त हुने बस सेवा प्रचलनमा आइसकेको रहेछ । दिल्लीमा त अझ सन् २०१९ देखि नै केजरिवालको आम आदमी पार्टीले यस्तो चलन शुरु गरिसकेको रहेछ । तमिलनाडु राज्यमा छोटो दूरिका लागि यस्तो छुट दिइने रहेछ । राज्य स्तरबाट नै महिलाहरुप्रति प्रकट गरिएको सम्मान मलाई गजब अर्थपूर्ण लाग्यो ।
यता चितवनमा भनें ब्लू बस सँगै रास्वपाले ब्लू एम्बुलेन्स पनि चितवन क्षेत्र नंवर २ का जनतालाई उपहार दिएको खबर छ्याप्छ्याप्ती आयो । चिकित्सक टोली सहितको प्राथमिक उपचार सामग्रीले सुसज्जित एम्बुलेन्सको कुरा सुन्दै ‘आहा’ लाग्ने नि । आफैंले देखेको र भोगेको प्यारामेडिक्स सहितको एम्बुलेन्स कति प्रभावकारी होला त भन्ने सम्झेरै खुशी लाग्यो । तर यो चितवनको एम्बुलेन्स विवादित बन्यो । सरकारी अस्पतालको प्रयोगमा नआएको एम्बुलेन्स पुनः रंगरोगन र मर्मत गरिकन चलाउन थालिएको भएपनि भारतीय सरकारबाट प्राप्त अनुदानको एम्बुलेन्सलाई यातायात कार्यालयको अनुमति बेगरै रंग परिवर्तन गर्नु अवैधानिक देखिएकाले रास्वपाले तुरुन्तै यो कार्य स्थगित गर्यो । सुनाइमा के आयो भने उसले अर्को साधनको बन्दोबस्ती पछि फेरि प्यारामेडिक्स टोली सहितको निशुल्क एम्बुलेन्स सेवा शुरु गर्नेछ ।
ब्लू बस र एम्बुलेन्सका कुराहरुले एक पटक नेपाली समाजमा नौलो तरङ्ग ल्याए । यसका पक्ष र विपक्षमा बहस शुरु भए । नागरिक तहबाट यस्ता बहस हुनु त स्वभाविक थियो तर ठूला भनिएका राजनैतिक दल र नेताहरु समेत विचलित भएको कुरा छापामा आयो । एक ठूलै दलका उच्च तहका नेताले त अझ ‘रास्वपाले महिलाहरुलाई मात्र निशुल्क बस चलाएर नेपाली समाजलाई कता लग्न खोजेको हो ?,’ भन्ने टिप्पणी गरे । यो निश्चय पनि अतालिएर र तिल्मिलाएर निस्केको बोली हुनुपर्छ । अब हामीले गर्नुपर्ने प्रश्न ती नेताहरुलाई के छ भने — ‘तपाईंहरुले हामीलाई कहाँ पुर्याइदिनुभयो ?’ विगत तीस वर्षदेखि सत्तामा पालैपालो हालिमुहाली गर्ने दलका नेताहरुले नेपालीलाई कहाँ पुर्याउनु भयो ? खाडी मुलुक, भारत, युरोप, अष्ट्रेलिया, मलेशियाले मात्र नपुगेर नक्कली शरणार्थी बनाएर अमेरिकै पनि पुर्याइदिनुभयो । नेपाली समाजलाई धार्मिक, जातीय र दलीय द्वन्दमा फँसाएर आफूहरु भ्रष्टाचारका आहालमा उपरखुट्टी लाएर पल्टिनुभयो । यस अर्थमा आफूले कुनै काम नगरी समय व्यतित गरेको कुरा ढाकछोप गर्न अरुले गर्न खोजेका जनमुखी काममा औंलो ठड्याउनु भनेको तपार्इंहरुभित्र लुकेको डर र हिनताबोध नै हुनुपर्छ ।
एउटा सलाईको काँटी कत्रो नै हुन्छ र ? तर त्यसले एउटा जंगल ध्वस्त पार्ने सामर्थ्य राख्छ । एउटा वरको रुखको बीज कत्रो हुन्छ र ? तर समय क्रममा त्यसले विशाल अजङ्ग रुप लिन सक्छ । एउटा थोत्रो नै सहि तर रास्वपाले गुडाएको निशुल्क बसले धेरै ठूलो अर्थ बोकेको छ । यसले समाज रुपान्तरणका पक्षमा पहिलो पाइला चालेको छ । महिलाहरुका लागि मात्र चलाइएको बसको विरोधमा उत्रनु महिला विरोधी कार्य हो । नेपाली समाजमा अझै पनि महिलाहरु आफ्नो प्रकारले स्वतन्त्रता उपयोग गर्न पाउने स्थितिमा छैनन् । घरबाट निस्कँदा चाहिने भाडाखर्चको अभावमा उनीहरुको दैनिकी एक किलोमीटरको परिधिमा सिमित हुन्छ । तर दैनिक रुपमा निशुल्क बस सेवाले गर्दा उनीहरु अलिक टाढा गएर काम गर्न सक्लान् । स्कुल कलेज जाने नानीहरुले समय र पैसाको बचत गर्न सक्लान् । उमेरदार महिलाहरुले काम खोज्न र काम गर्न अलि टाढै जाने आँट गर्लान् । स्वास्थ्यको पहुँच पक्कै सहज होला । आमा, दिदी, बहिनीहरुले पक्कै पनि अलिकति स्वतन्त्रताको श्वास फेर्लान् । ब्लू बसले ल्याउने दूरगामी असरको आँकलन गरेर नै ती नेताहरुलाई ब्लू फिबर आएको हुनुपर्छ । तर जुनसुकै दलको होस् अग्रगामी कदम चाल्नेहरुलाई अब पनि समर्थन नगर्ने हो भने पुराना पार्टीका थारा मगजहरुले कुनै नयाँ कुरा गर्न सक्दैनन् । नेपालको ब्लू बस चढ्नेहरुको तथ्यांक थाहा नभएपनि भारतको कर्नाटका राज्यमा निशुल्क बस शुरु भएको तीन दिनमा नै पचास लाख महिलाहरुले यात्रा गरेको तथ्याङ्कले देखाउँछ । महिला मैत्री बस चढ्न किन यस्तो उत्साह होला त भन्ने कुराको उत्तर खोज्न टाढा जानै पर्दैन । सबैभन्दा ठूलो कुरा त सामाजिक रुपमा महिलाहरुले भोगिरहेको असुरक्षा नै हो । हामी सानातिना ठेलठाल, धक्कामुक्की आँखा तरेरै साम्य पार्न खोज्छौं । यस्ता कुराका विरुद्वमा आवाज उठाउनु भनेको आफ्नै आङको छारो उडाउनु हो भन्ने हामी महिलालाई थाहा छ । सामाजिक रुपमा यो हाम्रो आफ्नो यातायात हो र कसैको पिरलो हामीले खप्न पर्दैन है भन्न पाउनु ठूलो कुरा हो । यसका अलावा शिक्षा, स्वास्थ्य र रोजगारीमा पनि प्रत्यक्ष रुपमा पिछाडिएका वर्गलाई निशुल्क यातायात सेवाले पक्कै सहयोग गर्छ नै ।
चितवनमा शुरु गरेको महिला मैत्री बस सेवा जस्तै भक्तपुरमा स्थानीय स्तरबाट ज्येष्ठ नागरिकहरुका लागि वडा कार्यालयसम्म जान आउन निशुल्क यातायात उपलव्ध गराउन शुरु भएको रहेछ । यो पनि सामाजिक रुपान्तरणमा एक सह्राहनीय कदम हो ।
महिलाहरुलाई दिइने सुविधा कुनै व्यक्ति वा दल विषेशले शुरु गरे पनि सरकारी स्तरबाटै गर्न जरुरी हुन्छ । अनि मात्र यस्ता योजनाहरुले स्थायित्व पाउँछन् । तर जुन तंरग ब्लू बसले उत्पन गराएको छ , अन्य राजनैतिक दलहरुले सकारात्मक रुपमा नलिने हो भने र ब्लू फिबर नै मान्ने हो भने यसको परिणाम ०८४ को चुनावले देखाउने छ । खराबलाई खराब र असललाई असल भन्न नसक्नु नेपाली राजनीतिको पुरानो रोग हो । यसै कुराको पुनरावृतिको नाटक हेरेर हामीले दशकौं बिताएका छौँ । अब पनि हामी सुधारको दिशातर्फ नलाग्ने हो भने हामी कुन रसातलमा पुग्छौं भन्न सकिँदैन । समाजले अब थारा मगजहरुबाट ठूलो आशा राखेको छ जस्तो लाग्दैन । सोत्तर हुनबाट बचौं, ब्लू फिबर पालेर नबसौं ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 11 August 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).