सानो चन्चले भँगेरो चरो तपाईंले नदेख्नुभएको कति भयो ? ओहो मैले त भँगेरो नदेखेको कति भैसकेछ । लगातार एक हप्तादेखि सम्झेको बेला यसो यताउति हेर्छु, भँगेरो देखिन्छ कि भनेर तर कतै देख्न सकेकी छैन । भँगेरा हराएछन् । भँगेरा कता गए होला नि त ! पहाड मधेस जताततै पाइने, दुई खुट्टा एकैपटक उचालेर बुर्लुक बुर्लुक उफ्रिने त्यो सानो जीवात् कहाँ हरायो होला त भनेर म केहि दिनदेखि सोचिरहेकी छु ।
मुख्यतयाः भँगेराका लागि चाहिने बासस्थानकै अभावमा भँगेरा हराएका होलान् । खर फुसले छाएको घर हुँदा, यसो खोस्रेर उधिनेर घर बनाउने र साना गुँडमा दुईवटा अन्डा पार्ने खिरिलो चरो भँगेरो साह्रै फूर्तिलो जस्तो लाग्थ्यो । अहिले फूसले छाएका घर हराए । काठका घर हराए । सिमेन्टका पक्की घरमा त बस्ने ठाउँ नै हुँदैन । जस्तापाताले छाएका मधेसका घर जस्ता तातेर वर्षा याममा कुनै जीव बाँच्नै नसक्ला जस्तो हुन्छ । त्यसो भन्दा पनि परेवा चाहिँ साह्रै ज्याद्रो हुनेरहेछ । हाम्रो पुरानो घर हुँदा रहरले पालेका परेवा पछि घर भत्काएपछि पनि बढो दुःखले नयाँ घरका छानातिर चेप्टिएर बसेका छन् । कत्ति धपाउने प्रयास गरियो । टिन हटाइयो, नाङ्लो ठटाइयो तर अहँ, परेवाहरु थाकेनन् ।
तर बिचरो भँगेरो रुखमा गुँड पनि नलगाउने, अनि उसका लागि उपयुक्त वासस्थान पनि नभएपछि कतै बसाइँ नै सरे होलान् । अर्को कुरा के पनि थियो भने पहिले पहिले भँगेराले खाने आहारा पनि प्रशस्त थियो । खेतीबालीमा अन्न पोखनढोलन हुन्थ्यो । भँगेरा लगायतका सुगा, परेवा, ढुकुर त्यस्तै आहाराले पेट भर्थे । गहुँ छरेपछि नउम्रियन्जेल भुराहरु खेतैमा सानो याक्सा बनाएर चरा रुङ्न जान्थे । मकै पाक्दा सुगाले हैरानी गथ्र्यो । अहिले खेती पनि खुम्चेर गएको छ । अनि त्यस सँगसँगै सुगा र भँगेरा पनि लोप भएका छन् ।
अस्ति भर्खरै वर्षौं पछाडि मैले सुगाका हुल देखेँ । अग्ला रुखका टोड्कामा गुँड लाएर बच्चा कोरल्ने सुगाका लागि खै र रुख ? तैपनि कताबाट हो कोलाहल मच्चाउँदै सुगाहरु आएको मैले देखें । के खालान् त तिनले भन्ने सोच्दा सोच्दै ती सुगाहरु छिप्पिएका र टिप्न छाडिएका भिण्डीका बोटमा सोइसोइला गर्दै भिण्डीका दानाहरु खाँदा रहेछन् । सुकेका भिण्डीका बियाँ पनि तिनको आहारा हुनेरहेछ । दुईचार दिन लगातार बारीमा मैले सुगाहरु देखेकी थिएँ ।
सानै छँदा उपध्रो गर्नुपर्ने समयमा मैले आफूभन्दा माथिकी दिदीसँग लागेर भँगेराका अण्डा पकाइखाएकी छु, बनभात खाने निहुँमा । ती अण्डा मेरी दिदीले कहाँबाट खोजेर ल्याउनु भएको थियो भन्ने चाहिँ मैले पत्तो पाउन सकिन । मलाई अझैं याद छ — त्यो अम्लेट एउटा चम्चा जत्रो मुश्किलले थियो होला । तर त्यति गर्न सक्नुको बहादुरी कथाको मूल्य ठूलो थियो । आफ्ना खेल्ने दौंतरी धने, बमे, मीना, रिनाका कानमा ती वीरतापूर्ण गाथा हामीले सुनाउन पाएका थियौँ । धने, बमे त अझ अघि बढेर भँगेरा र ढुकुर नै मारेर पोलिखाएका गफ पनि सुनाउँथे । त्यसमा हाम्रो रुची थिएन । जन्मजातै निरामिस बाहुनी केटीहरुलाई यसरी अण्डा पकाइ खाने आँट चैं कसरी पलाएको हो त्यतिबेला !
भँगेरा पोलिखाने कुरा गर्दा मलाई मेरी क्याम्बोडियाकी साथी निङको याद आउँछ । ऊ विभिन्न प्रकारका खानेकुरा र त्यसका भित्री विशेषता बताउँथी । जस्तै, बाँदरको मासु र अझ मगज खाए मान्छे चतुरो हुने, कुकुरको मासु खाए बुढ्याइले नछुने, बिरालाको मासु खाए जस्तोसुकै बाथरोग पनि निको हुने आदि आदि । त्यसै उपक्रममा एकदिन उसले अलि उत्ताउली हुँदै भँगेराको मासुको विशेषता सुनाएकी थिई, ‘भँगेरा र खरायोको मासु खायो भने जस्तै बूढो र रोगीले पनि जवान जस्तो महसुस गर्छ । जवानले खायो भनेँ त बुम बुम बुम ।’ अनि मुखमा हालेको खानेकुरा उछिट्याउँदै ऊ बेस्मारी हाँसी र हाँसो मिश्रित स्वरमा सोधी, ‘यू इट राबीट, स्प्यारो ?’ खानेकुराले यौनशक्ति बढाउने कुरा त्यति प्रमाणित नभए पनि सबै समूदायमा र सँस्कृतिमा यो कुराले विशेष स्थान ओगटेको हुने रहेछ । अब हाम्रैतिर यार्सागुम्बाले ठूलो बजार लिएको छ । वैज्ञानिक हिसाबले हेर्दा प्रशस्त प्रोटिन पाइने मासु, अण्डा, दूध खाएपछि शरीरमा स्फूर्ति आउनु स्वभाविकै पनि हो । मान्छेलाई हल्ला भए पुग्छ, प्रमाण को खोजी उतिसारो गरिँदैन । अहिले चलेको डेङ्गुको महामारीमा मेवाका पातको रस र गएको कोरोना महामारीमा अम्बाका पात खाएजस्तै होला निङले सुनाएको भँगेरा र खरायोको मासुको कथा पनि ।
हराएको भँगेराको सम्झनाले मलाई टाढा पुर्याएछ । वास्तवमा बासस्थान र खानेकुरा सँगै बढ्दो विषादीको प्रयोग पनि भँगेरा लगायतका चराचुरुङ्गी हराउने अर्को कारण होला । बढ्दो शहरीकरणसँग आएको बिजुलीको प्रयोग पनि अर्को कारक तत्व होला । अहिले रातहरु रात जस्ता छैनन् । साँझ परेपछि नजिकको बाँसझ्याङ्गमा हजारौँ बकुल्ला र रुप्पीको कल्याङमल्याङ्ग हुन्थ्यो । साँझ छिप्पिएपछि रातभरीका लागि ती शान्त हुन्थे । अहिले न त बाँसका झाँङ्गहरु देखिन्छन् । न त चराको कल्याङमल्याङ्ग । सडक छेउका रुख र बाँसझ्याङ्गमा त निरन्तरको सडकबत्ती अनि सवारी साधनका बत्तीले जीवजन्तुको चैन उडाइदिएका छन् । वर्षाद्को समयमा पहिलेजस्तो भ्यागुता नै खै कराएका ? न त हिउँदमा सारा जग ढाकेर पिलपिल गर्दै उड्ने जुनकिरी नै छन् ।
भँगेरा हराउनुको तात्पर्य के होला त ? यसरी एउटा जीव बिलुप्त हुँदा मानव जगतमा यसको असर के होला भन्ने जिज्ञासा मेरो मनमा उत्पन्न भयो । मौरीको विनाशसँग मान्छेको विनाश जोडिएको छ भन्ने मैले सुनेकी थिएँ । वास्तवमा यो जगतका हरेक जीवजन्तुको अस्तित्वसँग मान्छेको अस्तित्व जोडिएको हुने रहेछ । बरु मान्छे भन्ने भङ्ज्याहा प्रजाति नहुने हो भने वास्तवमा प्रकृति सकल रुपमा रहने रहेछ । मान्छे विध्वंशकारी जीव रहेछ । जतापनि आफ्नो वर्चस्व कायम गर्न खोज्ने । जे पनि खाइदिने, ढुट्याउने र संहार नै गरिहाल्ने । कतिले पनि भो अब पुग्यो नभन्ने । हम्पासुर प्रजाति रहेछ — मानव प्रजाति । हुन पनि हो । मान्छेले ध्वंश गर्न बाँकी कतै केही नै छैन । अब हामीले सूची बनाउँदै जाने हो भने तपाईं हामीले देखेका कति जीवजन्तु, पन्छी र वनस्पति हराए होला । कतिपय प्रजातिको त नाम निशान नै भेटिँदैन आजकल ।
अहिले सम्झेर ल्याउँदा भँगेरो मात्र कहाँ हो रहेछ र ? यहाँ गिद्ध, बनकुखुरा, स्याल, न्याउरी, जङ्गली खराया, सुगा, जुरेली, बाममाछा, भ्यात्लुङ त मैले एक निमेषमा सम्झिन सकेँ । आँखा चिम्लेर यसो सम्झौँ त हामी प्रकृतिबाट कसरी टाढिदै गएका रहेछौं ? हामीले के के प्रजातिका जीव र वनस्पति गुमाएछौँ र के के प्राप्त गरेछौँ त्यसको बदलामा ?
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 25 August 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
सुन्दर तर्कसहितकाे पर्यावरण बिनासमा कारक बनेकाे मानवीय प्रवृति प्रतिकाे तिखाे प्रस्तुति, बधाई छ डा.सावलाई।
ReplyDeleteहार्दिक धन्यवाद हजुरलाई।
ReplyDelete