यसपालीको तीज असोजमा परेको छ । तीजकै बेलामा मात्र दर खाएर अहिले भ्याउन सकिँदैन । त्यसैले मेरी निर्मला दिदीलाई तीजको चटारो शुरु भएको भदौ महिना लागेदेखि नै हो । स्थानीय एक विद्यालयमा प्राध्यापन गर्ने निर्मला दिदी अनेकौं संघ संस्थामा समेत सक्रिय रुपमा संलग्न हुनुहुन्छ । उहाँले आफूले बोलाउनु पर्ने र तीज खुवाउनु पर्ने चेलीहरु पनि छन् । यस्तै उहाँको तीज धपेडी देखेर मैले उहाँलाई सोधें, "दिदी, यसपाली कतिवटा तीज कार्यक्रम छन् हौ ?” उहाँले गन्न समेत भ्याउनु भएको रहेनछ । एकछिन कुराको विश्राम लिएर उहाँले औंला भाँच्न थाल्नुभयो र भन्नुभयो, "घरकोसँग आठ । अरु पनि छन् जानुपर्ने त तर कतै जुधेको छ, कतै टाढा छ ।” राधे, एक नारीले झन्डै दर्जन तीज भ्याउनु त चर्कै कुरा हो नि । तैपनि निर्मला दिदी भ्याउनुहुन्छ । शायद हामी सबै भ्याउँछौ कसो कसो मिलाएर ।
समयसँगै रितीरिवाज र चालामाला पनि फेरिने रहेछन् । हामीले मनाउने सामाजिक पर्वहरुमा यस्ता परिवर्तन कति हो कति देख्न पाइन्छ आजभोलि । समाज, संस्कृति र चालचलन समयानुकूल परिर्वतन हुनु नराम्रो होइन । तर कतिसम्म परिवर्तन हुने भन्ने कुराको सीमारेखा चाहिं हामी आफैंले कोर्ने रहेछौँ । कसैलाई यत्तिसम्मको ठिकै हो भन्ने लागेका कुरा अन्यलाई ‘हैट, के रमिता देखाएको होला?’ भन्ने पर्न सक्छ ।
चेलीहरुको नामको एकमात्र चाड तीज पनि त्यस्तै परिवर्तनको चपेटामा परेको छ । एक पुस्ता अगाडिका आमा, दिदीहरुले मानिआएको तीजको कायापलट नै भएको छ । उस जमानामा न त हातमा मोबाइल थिए, न त यातायातको सुविधा नै थियो । कृषिमा आधारित जीवन—चर्या थियो । हातमा दाम कम थियो तर काम नै काम थियो । घरधन्दा, केटाकेटी, बस्तुभाउ, घाँसपात, मेला, पर्म जस्ता सैयौं कुरा महिलाहरुकै जिम्मामा हुन्थ्यो । घाम, पानी, आगो र बुहार्तनको भट्टिमा आठ दशको उमेरदेखि पसेका बहुसंख्यक नारीहरु चालिसको उमेरको हाराहारीमा पुग्दा रौनकहीन थकौटा गाई जस्ता भैजान्थे । अहिले समय फेरियो । घरघरबाट जवान र काम गर्ने उमेरका तन्नेरीहरु जहाज चढेर टाढाको अज्ञात भूमिमा मजदुरी गर्न लर्को लागेको लागेई छन् । उनीहरुका दुःख त कति हो कति होलान् त्यो परदेशमा । मुगलान उपन्यासमा सुतार कान्छो र ठुलेजस्ता पात्रहरुले पाएको दुःख उपन्यासकार गोविन्द राज भट्टराईले वर्णन गरेजस्तो उनीहरु अनन्त पीर सहँदै अर्काको भूमिमा गैंती बजार्दा हुन् । यता दैनिक रुपमा करिब २००० युवाहरु एयरपोर्टमा विदेश जान लामबद्द देख्ता खबुज उपन्यासमा वर्णित पात्रहरुजस्तै हाम्रा दाजुभाइहरु पनि ‘थुइक्क मेरो बाख्रे जुनी’ भन्दै निधारका पसिना पुस्दा हुन् । घरबार, बाउ, आमा, छोरा, छोरी सम्झेर पसिना बगाँउदा हुन् । त्यो पसिनाको मूल्यले यता मुलुकमा भनें परिवर्तन ल्याएको छ । अहिले काम कम छ, हातमा दाम धेरै छ पहिले पहिले भन्दा । मोवाइलले पनि रितिरिवाजमा परिवर्तन ल्याएको छ । क्यामेरा सहितको मोवाइल आएदेखि र सामाजिक सञ्जालको प्रयोग बढेदेखि अझ अझ तीज रौनकिलो बन्दै गइरहेको छ ।
अझ रमाइलो पक्ष त के छ भने एक / दुई महिनाभरका तीज अगाडिका सप्ताहान्तहरु तीज पार्टिले खान्छन् । खास दर खाने दिनभन्दा अगाडि नै परिपरिका दरहरु चल्छन् । अझ कार्यस्थलका, आमा समूहका, टोल विकासका, सहकारीका र आफन्ती साथीभाइ हुँदै सम्धिनी घरका दर पनि भ्याउनु पर्ने हुन्छ । पुरातन समयलाई सम्झिने हो भने तीजको ब्रत बस्ने अघिल्ला दिन राती दुधबाट बनेका परिकार टन्न खाने चलन थियो । तोकिएका दिन बाहेकका दिनमा दर भनेर खाइँदैनथ्यो । अघिल्ला दिन राती दुध र घ्युका गरिष्ट भोजन गरे भोलिपल्ट ब्रत बस्न सहज होला भनेर पनि त्यस्तो चलन चलेको होला ।
अहिलेका तीजहरु अलिक रौनकिला बनेका छन् । नारी स्वतन्त्रताका पर्याय पनि बनेका छन् । जति दर कार्यक्रम उती नयाँ साडीले पनि बजार पाएको छ । साडीमा पनि रमाइलो के छ भनें दर पार्टीमा सहभागी हुने सबैले उस्तै लगाउनु पर्ने ! त्यस्ता एकनासे साडीको नाम नै ‘भाइरल साडी’ । भाइरल साडी देखाउनू त साहुजी भनेपछि पसलेले नि बुझ्ने र थानका थान यस्ता साडी देखाउने । अनि तपाईं जतिवटा तीज कार्यक्रममा जानुहुन्छ, उति नै भाइरल साडी चाहिने । भएन त रमाइलो ? अनि यस्ता एकनासे भाइरल साडी लगाएर समूहमा निर्धक्कसँग नाचगान गरेर, इच्छा भोजन गरेर, दुई चार फोटा, दुई चार भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न पाइएको छ । युगानुकूल परिवर्तन केहिलाई अपाच्य लागेपनि धेरजसो नारीहरुका हकमा तीज सुन्दर चाड बनेको छ । उहिले पनि त गीत गाइन्थे विरहका, चेली माइत जान्थे र दर खान्थे । मौका पाए यसो नाच्थे पनि होलान् दौंतरीसँग । अहिलेको तीज त्यहि पुरातन तीजको विस्तृत रुप त हो नि । पहिला यातायात र संचारका माध्यम नभएर महिला कुँजिएका भएपनि तीज मनाउने प्रक्रिया त करिब उस्तै नै थियो । ठ्याक्कै पहिलेकै स्वरुपमा त के नै पो थामिएको छ र ? त्यसैले तीज बिग्रियो भन्नु गलत हो । महिलाहरुको खुशी देख्न नसकेर अंकुश लगाउन खोजिएको मात्र हो । अझ अहिले आएको सकारात्मक परिवर्तन के हो भने तीजलाई उमंगको चाडका रुपमा लिन थालिएको छ । पहिले जस्ता रुन्चे पिन्चे गीतहरुले तीज पार्टीमा त्यति स्थान पाँउदैनन् । आधुनिक तीजका सकारात्मक पक्षसँग गाँसिएर नकारात्मकता पनि नआएका भने होइनन् । तीजको अहिलेको नकारात्मक पक्ष भनेको यसको भड्किलोपन हो । देखावटी रुपमा प्रत्येक पार्टीमा फेरिने वस्त्र र आभूषणले तीजलाई पक्कै पनि खर्चिलो बनाएको छ ।
उहिले जस्तो वर्षदिन कुरेर एक तीज दर खाने चलन सबैतिर परिवर्तन भयो होला जस्तो लाग्छ मलाई । उहिले पो कसो कसो मुस्किलले कति दिन हिँडेर माइत पुगिन्थ्यो र दर खाइन्थ्यो । अहिले त बिहान दमकमा, दिउँसो काठमाडौमा, अनि साँझमा विराटनगरमा तीज पार्टी भ्याउने साहसी महिला पनि भेटेकी छु मैले ।
गुनासा र नकारात्मक कुराहरु खोज्दै जाने हो भने एउटा पहाड नै बन्न सक्ला । तर तीजले ल्याउने उमङ्ग र समय अनुसारको तौर तरिकामा आफ्नो गच्छे हेरेर चल्दै गर्नुपर्छ । छिमेकी घोडामा चढ्यो भनेर आफू धुरीमा चढ्नुपर्ने जरुरी छैन । जे भए पनि वर्ष दिनमा एक पटक विशेषगरि महिलाका लागि छुट्याइएको यो पर्वमा महिलाहरु नरमाए को रमाउने? त्यसैले गुनासोका लागि अब समय छैन । तीज सँघारमै आइसकेको छ । देश तथा विदेशमा रहनुहुने सबै नेपाली दिदीबहिनीहरुलाई तीजको हार्दिक शुभकामना ।
तीजको रहर आयो बरि लै ।
(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on 15 September 2023)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).