Wednesday, 13 September 2023

पहिचानको खोजी

 

हाम्रो समाजमा बसाइ सराइको कथा कुनै नौलो होइन । हाम्रा पितापुर्खाको पालादेखि नै चलिआएको हो यो चलन । हिजोआज यहि कुरालाई विभिन्न सिद्धान्तसँग जोडेर व्याख्या गरिन्छ— त्यो बेग्लै कुरा हो । पहिले पहिले खासगरि निम्न मध्यम वर्गका मानिसहरु सुख खोज्दै भारत, बर्मा, भुटानतिर बसाइँ जाने गरेका कथा हामी यदाकदा पढ्न पाउँछौँ । वर्तमान समयमा विश्व–व्यापीकरण र नयाँ सूचना र प्रविधिको विकाससँगै नेपालीका लागि संसारका अरु देशहरुका ढोका पनि खुलेका छन् । त्यसैले त हिजोआज आम नेपाली रोजगारीको सिलसिलामा होस् वा अध्ययनको सिलसिलामा जापान, कोरिया, दुबई, कतार, मलेसिया, अमेरिका, अष्ट्रेलियाजस्ता देशमा जाने गरेका छन् । कतिपय उतै बसेका छन् ।


यस्तै बसाइ सराइकै विषयवस्तुका वरिपरि घुमेको उपन्यास हो असमेली लेखक रण काफ्लेको  ‘रैथाने’। उपन्यासको नामै  ‘रैथाने’भएपछि यहाँ  रैथाने अर्थात् स्थानीय शब्दहरु पनि धेरै भेटिन्छन् । उपन्यास पढ्न शुरु गर्दा नै पाठकको यस्ता  शब्दसँग साक्षात्कार हुन थाल्छ । उदाहरणका लागि हलुवा गोरु, भद्री चरो, खेतका हाफलुहरु, फान, कोराइका रुख आदि । यस्तो भाषा प्रयोगले पक्कै पनि रैथाने स्वाद दिन्छ ।

यी शब्दले यो उपन्यासको परिवेश नेपाल बाहिर नै हो भन्ने कुराको जानकारी पनि दिन्छन् । यसैगरि यहाँ वर्णन गरिएका ठाउँ पनि रमाइला छन् । यस्ता केही उदाहरण लिनुपर्दा कार्बि आङलङ्, मङ्गलदै, हेटौ, बल्लीमारी, अत्रीघाट, सेरेङ, छपडी, कुप्लीझार, चिनिगाउँ पर्छन् । यहाँका  रैथाने  जातिहरुमा  चाहिँ  कार्बि जातिको विशेष चर्चा भेटिन्छ । यस्ता शब्दावलीहरुको प्रयोग उपन्यासभरि नै भेटिने हुनाले यसको शीर्षक ‘रैथाने’प्रति न्याय भएको छ । यो त सतहमा देखिएको कुरा भयो । यो तहलाई उधिनेर अलि भित्री तहमा पस्दा भने उपन्यासको मर्म भेटिन्छ ।

‘रैथाने’केही  सुखको  खोजीमा  नेपालबाट असम भासिएका नेपालीहरुले जीवन जिउनका लागि र आफ्नो पहिचान बनाउनका लागि गरिएको चरम संघर्षको कथा हो । उनीहरुले असम छिरेर त्यहाँका पट्टेर जंगल फाँडी कृषि र पशुपालनमा आश्रित जीवन बिताएका छन् । यसरी नयाँ ठाउँलाई आफ्नो घर बनाउनका लागि उनीहरुले त्यहाँका स्थानीयबासीसँग पनि उत्तिकै तालमेल मिलाउनुपर्ने हुन्छ । पहिलो पुस्ताका मानिसको जीवन त दालरोटीको चिन्तामै बित्छ । दोस्रो पुस्ताका  युवाहरु  भने त्यहाँ  शिक्षा आर्जन गरी आफ्नो पहिचानको खोजीमा लाग्न थाल्छन् ।

यो उपन्यासको नायक रोहित प्रत्यक्ष रुपमा पाठकसामू देखा पर्दैन । उसको बाल्यकालदेखिको मित्र म पात्रले नै उसको जीवनमा र रोहितको  जीवनमा  घटेका  घटना,  नेपाली  जातीले  असमका  गाउँमा भोगेको जीवनका कथा सुनाउँदै पाठकलाई डोहोर्याइरहन्छ । उसको नाम विजय भएको कुरा उपन्यास पढ्दै जाँदा थाहा हुन्छ ।


रोहितको सारै सोझो बाबु जय कान्छाको  सबै  सम्पत्ति  धूर्त  कैरसिंहले  हत्याएपछि जय कान्छो आफ्नो मावलीमै करियाको जिन्दगी निर्वाह गरिरहेको थियो । मामा–माइजूले उसको विवाह धूमधामसँग त गरिदिए तर बाठी माइजूको आशय भने ती जोइपोइको काम खानु मात्र रहेको कुरा जय कान्छाकी पत्नी  बोगीले      दुई - चार दिनमा नै थाहा पाइहाली । बोगी यहाँ एक सचेत र सशक्त  पात्र  भएर  देखा  परेकी  छ । ऊ अर्काको कमारो भएर आफ्नो बाँकी जीवन बिताउन पटक्कै राजी हुन्न । उसलाई आफ्नो स्वतन्त्रता प्यारो छ । त्यसैले ऊ मामा माइजूको घरको छेउमै एक छिमेकीको आश्रय लिएर छुट्टिएर बस्न थाल्छे । दुःख–सुख गरेर उसलाई आफ्नो घरसार चलाउन मन लाग्छ तर उसको लोग्ने जय कान्छो मामा माइजूलाई चटक्क त्याग्न सक्तैन । त्यसैले ऊ बोगीलाई पूर्ण रुपमा साथ दिन सक्तैन । बोगी भने आफ्नो स्वतन्त्रताको लडाईं  लड्न छोड्दिन । अन्तिममा उसकै जीत हुन्छ । ऊ जय कान्छालाई लिएर आफ्ना माइतीका आडमा कार्बि आङलड गएर आफ्नो नयाँ जीवन शुरु गर्छे । त्यहीँबाट शुरु हुन्छ रोहित र विजयको जीवनयात्रा ।

प्रवासमा रहँदा बस्ता मानिस बिस्तारै त्यहीँकै हुन चाहन्छन्  । आफ्नो रैथाने पहिचान खोज्न  थाल्छन् । तर अल्प संख्यामा भएका उनीहरुलाई त्यहाँका  रैथानेले  रैथानेका  रुपमा  स्वीकार्दैनन् । अनि शुरु हुन्छ पहिचानका लागि संघर्ष । यही कुरालाई यो उपन्यासमा देखाइएको छ । नेपालीहरु यसरी अल्पसंख्यकमा परेकाले सरकारी संयन्त्रसँग पनि लडाईं  गरिरहनुपर्छ । भुटानमा देखिएको समस्या  पनि त  यस्तै हो । त्यहाँका नेपालीहरुले आफ्नो स्वतन्त्र अस्तित्वको माग गरे । यो माग पूरा गरिदिनुसाटो भुटान सरकारले उनीहरुलाई लखेट्यो । यसकै फलस्वरुप उनीहरु शरणार्थी भएर नेपाल आउनुपर्यो । दार्जिलिङमा पनि स्वतन्त्र  गोर्खाल्याण्डको  माग गर्दै  त्यहाँका नेपालीले संघर्ष गरेका छन् । आफ्नो मुलुक छोडेर अन्यत्र जाने सबैको पीडा  शायद यस्तै यस्तै नै हो ।

यसरी पहिचानको खोजी गर्ने क्रममा रोहन र विजय दुई विपरित दिशातिर लाग्छन् । रोहन असममा नै बसेर भारतीय पहिचान नै खोज्छ । यसका लागि ऊ विद्यार्थी आन्दोलनमा पनि होमिन्छ । आफूहरुलाई अल्पसंख्यकमा भएकै आधारमा अथवा बाहिरबाट आएकै भरमा  राज्य  प्रणालीले  समेत पक्षपात गरेको कुरा रोहनलाई कदापि स्वीकार्य हुँदैन । उसलाई भारत आफ्नै मातृभूमि हो भन्ने लाग्छ । हुन पनि हो नि, उसले जन्मेर हुर्केर देखेको ठाउँ त्यहि हो । उसको घर त्यहि हो । तैपनि त्यो देशले उसलाई आफ्नो भन्दैन । “हामीलाई यो देशमा हाम्रो त्याग र बलिदान हुँदाहुँदै पनि सौतेनी आमाको दृष्टिले हेर्ने गरिन्छ । हामीमाथि आज समस्या परिआउँदा  सहायता  गर्ने  पनि  छैनन्  र  सरकार र नेतालाई चुनाउमा चाहिँ हाम्रो भोट चाहिन्छ,” (पृ. १५६) भनेबाट पनि यो प्रष्ट हुन्छ । प्रवासी नेपालीहरुलाई त्यहाँको सरकारले दोश्रो दर्जाको नागरिकलाई जस्तो गर्ने व्यवहार र उनीहरुले सार्वजनिक स्थलहरुमा भोग्नुपरेको समस्याका बारेमा रोहन अनविज्ञ थिएन । यस्ता सबै विभेदहरु हटाउनका लागि नै ऊ प्रयाशरत  थियो ।

रोहनको विपरित विजयको परिस्थिति भने बेग्लै थियो । उसका बाबुलाई भारतभूमिमा  आफ्नो  स्वतन्त्र अस्तित्व कायम हुने कुरामा  पटक्कै  विश्वास थिएन । उनी भन्ने गर्दथे, “हामी पनि छिमेकी राष्ट्र नेपाल भएकाले उतैबाट आएका अरे, त्यस कारण विदेशी भएका छौँ । बङ्गलादेशबाट आएर बसोबास गर्ने मुसलमान सरह हामी गोर्खा पनि विदेशी नै हुन्छौँ अरे,” (पृ. १०२) । त्यसैले कुनै पनि दिन यहाँबाट लखेटिन सकिन्छ भनेर उनले भविष्यमा आफ्नो परिवारसहित  नेपाल  नै फर्कने  योजना बनाएर यतैतिर जग्गाजमीन पनि जोड्न थालेका थिए । विजय पनि आफ्नै बाबुको कुरामा सहमत भएको थियो । यहि कुरालाई पुष्टि गर्दै, उपन्यासमा भनिएको छ,“...रैथाने भएर युगौँयुग बसोबास गर्दै आएका हाम्रा मानिसलाई सरकारी तन्त्रबाट घर–घरमा नोटिस पाउने मानिसले यो देश त्यागेर जानु पर्ने भो । जसरी बर्माबाट लेखापानी हुँदै हाम्रा मानिसहरु नेपाल पुगेका थिए । भुटानबाट शरणार्थी भएर नेपाल पुगेका थिए र शिलाङबाट विदेशीको नाम पाएर नेपाल पुग्नुपरेको थियो । प्रवासी मनोभावले बसोबास गर्नेलाई त ठीकै थियो तर स्वदेशी यो देशलाई सधैँका लागि माया मारेर देश त्याग गर्ने नोटिस पाउँदा साह्रै मनमा चोट लाग्ने कुरा भएको थियो,” (पृ. १०४) । यस अर्थमा विजयको परिवार असममा ‘प्रवासी’ मानसिकता बोकेर बसेको थियो र त्यहाँको सरकारले लखेट्नु अगावै स्वेच्छाले नेपाल फर्किएको थियो ।

नेपालमा पनि सोचेजस्तो सहज जीवन त किन हुन्थ्यो र ? यहाँ आएपछि विजयलाई असमकै रोहितसँग बिताएको रमाइलो समयको सम्झनाले कहिल्यै छोडेन । जुन रैनाथे पहिचानको खोजीमा ऊ नेपाल  छिरेको थियो, त्यो पहिचान उसलाई कहिल्यै प्राप्त  भएन । त्यसैले ऊ भन्छ, “...हामी त हुलचालमै जिउ जोगाएर फर्केर नेपाल आयौँ  तर  नेपालमा  आएर बसोबास गरे पनि मलाई रोहितले भनेका कुराहरु सधैँ  याद आइरहने । आफू  जन्मेको ठाउँ र हुर्केको गाउँ सारै प्यारो हुँदोरहेछ । जाति, भाषा, संस्कृति एउटै भए पनि हुर्केको  हावापानी  एउटै नभएपछि  रैथाने भएर  यहाँ  पनि बस्न  चाहिँ सकिने रहेनछ । आफू जति नै नेपाली हुन खोजेपनि मलाई जम्मै छिमेकीले आछामे सर भनी बोलाउने गर्दछन् (पृ. १२७–१२८) ।” यस्तै समस्या भोगेकी  हुन्छे  रोहनकी  प्रेमिका  आशाले  पनि । उसका आमाबाबुले नेपालको केटो खोजेर छोरीको विवाह गरिदियो भने ऊ बढी खुशी र सुखी हुन्छे भनेर आशाको र रोहितको प्रेम निमठेर छोरीको विवाह गरिदिई नेपाल पठाए । सोचेविपरित  उसको  जीवन यता  संकटग्रस्त नै भयो । उसलाई पनि पहिचानको  संकट आइलाग्यो । दुःखी हुँदै ऊ भन्छे, “यहाँ झन् मलाई जम्मैले आछामे  भाउजू  भनेर बोलाउने गर्छन् । जति नै गरेपनि आफ्नो आङबाट आछामको गन्ध चाहिँ हट्ने रहेनछ । म छोरा–छोरीकी आमा भइसकेँ तर आजसम्म म नेपाली भइनँ, आछामे नै भएकी छु,” (पृ. १४३) ।

यसरी हेर्दा प्रवासी नेपालीहरु न त पूर्ण रुपमा उताका भए, न त यताका । उनीहरुको  संघर्ष  सधैँ  पहिचानको खोजीमा केन्द्रित भयो । यसै संघर्षको बीचमा रोहित भने साहित्यकार भएर निस्कियो । विदेशी भूमिमा आफ्ना पूर्खा र आफूले भोगेका समस्यालाई समेटेर उसले  ‘रैथाने’ उपन्यास लेख्यो । यो उपन्यास नेपालसम्म चर्चित भयो । यसका लागि रोहितले नेपाल प्रज्ञा प्रतिष्ठानबाट अन्तर्राष्ट्रिय साहित्यिक कृति पुरस्कार पनि पायो ।


यसबाट के प्रष्ट हुन्छ भौगोलिक रुपमा कोरिएको सीमानालाई साहित्यले मेटाउन सक्दो रहेछ । लेखन नै एक सशक्त माध्यम हो जसले संसारभरि छरिएर रहेको मानव समुदायलाई एक सुत्रमा बाँध्न सक्छ । जहाँ बसेर पनि मान्छेले आफ्नो भाषा, संस्कृति र साहित्यको सेवा गर्न सक्छ । कुनै  ठाउँको  माया  पाउन  त्यहाँको रैथाने  नै  हुनुपर्छ  भन्ने  होइन । यो कुरालाई विजयले अन्तिममा आत्मसात गर्छ । मानिसलाई लेखनले नै पहिचान दिलाउँछ — रण काफ्लेले चुरो कुरोको रुपमा ‘रैथाने’उपन्यासमार्फत दिन खोजेको सन्देश यही नै हो ।

(Published in a Nepali local weekly Janajyoti Saptahik, Damak, Jhapa on  10 September 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).