Monday, 17 April 2023

अथक पाइलाहरु

 

ग्रीक मिथोलोजीमा वर्णित फिनिक्स चरो खरानीबाट फेरि व्यूँझिन्छ । त्यसैगरि लेखक तथा उपन्यासकार महेशराज खरेलले भर्खरै प्रकाशन गरेको ‘यात्रा जिन्दगीको’ उपन्यास पढ्दा लेखक पनि असाधारण अवस्था पार गर्दै, धुलिसात हुँदै फेरि फेरि उठेका छन् । आफूले भोगेको जीवन दुःखपूर्ण अथवा सुखमय जस्तो भए पनि मानिसलाई प्रिय लाग्छ शायद । त्यसैले त यो रुप परिवर्तन गरी गरी हाम्रो मानसपटलमा नाचिरहन्छ । यस्तै आफ्नो जीवन भोगाइलाई महेशराज खरेलले यो उपन्यासमा लिपिवद्ध गरेका छन् ।


यस उपन्यासमा लेखकका वर्तमान र विगत सँगसँगै कुदेका छन् । वर्तमानमा उनी सम्पन्न देखिन्छन् । राम्रो जागिर, काठमाडौँमा घरबार हुनुको साथै आम नेपालीको पहुँचबाहिरको मोटरगाडी कुदाउने हैसियतसमेत उनी राख्छन् । यस्तो उनको सलल बगिरहेको जीवनमा ब्रेक तब लाग्छ जब उनी अचानक पक्षाघातले थलिन पुग्छन् । पाठकलाई अलिकति वर्तमान जीवनको झल्को दिँदै उनी विगततिर पस्छन् । उनको विगत सुखमय छैन । पल पल उनी अभाव र विपन्नताको आगोमा पिल्सिएका छन् । हुन त उनका हजुरबा हजुरआमा नाम चलेका हुनेखाने ‘घिउवाला’ भए पनि लेखकले त्यो हुनुखानुको अनुभव गर्न पाएका छैनन् ।

लेखकका विगत र वर्तमान पढ्दै जाँदा दुई सशक्त पात्र बिस्तारै बिस्तारै सतहमा उत्रिन्छन् । एक पात्र त लेखक स्वयम् नै हुन् भने अर्को पात्र चाहिँ उनकी आमा हुन् । पक्षाघात भएपछि खरेल केही समय अस्पताल मै बिताउँछन् — अरुमाथि पूर्ण आश्रित भएर । अस्पतालबाट घर आएपछि पनि उनको स्थितिमा खासै परिवर्तन आउँदैन । अस्पतालमा हुँदा नर्सहरुमा भर परेका उनी घर आएपछि श्रीमतीमा भर पर्नुपर्ने हुन्छ । उनलाई शरीरले साथ नदिए पनि उनको इच्छाशक्ति सबल देखिन्छ । नियमित औषधि सेवन, परिवारको सहयोग र आफ्नो अथक प्रयासमा उनी बिस्तारै बिस्तारै बल गर्दै आफ्ना नित्यकर्म आफैं गर्न थाल्छन् र थला परेको करिब दुई महिनामा पुनः आफैं गाडि चलाएर आफ्नो कार्यालय जान सफल हुन्छन् । यसबाट के देखिन्छ भने मान्छेको अन्तर बलियो र दृढ छ भने उसले जटिल शारीरिक रोगमाथि पनि विजय प्राप्त गर्न सक्छ । मान्छेको मन कमजोर भए, जति औषधि गरे पनि शारीरिक रोग निको नभएका धेरै घटना हामी सुन्ने, देख्ने गर्छौँ ।


लेखकभन्दा दरिली भएर यहाँ लेखककी आमा उभिएकी छन् । वृद्ध, कान नसुन्ने, आँखा नदेख्ने सासू–ससूरा, रुखबाट लडेर अपाङ्ग बनेका श्रीमान् र साना साना छोराछोरी सबैको हेरचाहको जिम्मा, घर चलाउने, खर्च जुटाउने, घरधन्दा गर्ने सारा काम यिनकै काँधमा आइ लाग्छ । कत्ति पनि नहडबडाइ निरन्तर आफ्नो कर्मपथमा अगाडि बढिरहेकी यी महिलाको कथाले पुरुषभन्दा महिला असक्षम हुन्छन् भन्ने हाम्रो समाजको पुरातन सोचाइ र भनाइ निस्तेज भएको छ । आजभन्दा ५०÷६० वर्ष अगाडि नेपालको दुर्गम पहाड ताप्लेजुङ्को सिनाममा पनि यस्ती दृढ महिलाको अस्तित्व हुनुले महिला जाती कमजोर नहुने तथ्यलाई उजागर गरेको छ । आफू अशिक्षित भए पनि छोराछोरीको जीवनलाई हर हालतमा शिक्षाको ज्योतिले झलमल्ल बनाइदिने चेत उनमा पसिसकेको छ ।

यो पुस्तकमा भेटिएको अर्को पक्ष भनेको तत्कालिन समाजको चरित्र चित्रण हो । उदाहरणका लागि, कसरी त्यो समयमा छुवाछुत एउटा प्रचलित अभ्यास थियो । कसरी तात्कालीक समयमा युवाहरु सामाजिक क्रान्तिमा लागे । लेखकका दाजु पर्ने एकजनाले यो क्रान्तिको अगुवाइ गरेको चर्चा यहाँ भेटिन्छ । कन्याकेटीले पकाएको खाने, विवाह, मरिमराउ अथवा बर्खान्त शुद्धाइँमा जुत्ता लगाएर, छालाको पेटी बाँधेर खाना खाने, इच्छा हुनेले टुप्पी काट्ने, अण्डा खाने, अछुतले छोएको खाने जस्ता काम यी युवाहरुले गर्न थालेका छन् ।

शत्रु खोज्न टाढा जानुपर्दैन, सबभन्दा आफ्नो जसलाई ठानिन्छ उसले नै विश्वासघात गर्छ भन्ने भनाइ पनि पुस्तकमा चरितार्थ भएको छ । हाम्रो समाजमा माइतीले चेलीबेटीको सुरक्षा गर्नुपर्ने संस्कार छ । चेलीबेटीको धनसम्पत्ती खानुहुँदैन भन्ने भनाइ छ । तर यहाँ लेखकका मावलीपक्ष नै लेखकको परिवारको बर्बादीको कारण बनेका छन् । उनका मावलका हजुरबा–हजुरआमाको जिद्धीले नै लेखकका बाबु वर्षाको बेला पानीले भिजेर चिप्लो भएको चिउरीको रुखमा मन नलागी नलागी चढ्नुपरेको र त्यहीँबाट लडेपछि जीवनभर अपाहिज बन्नुपरेको तीतो सत्य यहाँ भेटिन्छ । ज्वाइँलाई मान सम्मान गर्नुपर्ने, जथाभावी काम अराउनु नहुने तत्कालीन सामाजिक संस्कार भए पनि यी बुढाबुढीको मूख्र्याईंपूर्ण ढिपीले एउटा सकृय जीवन बेकामे भएको देखेर पाठकको मन धमिलो हुन्छ । यतिमात्र होइन, छलकपट गरेर उनीहरुको जग्गाजमीन हड्पिने, पछि बसाइँ सरेर मधेस झरेपछि पनि शुरुमा पहिले जे भए पनि अब साझे भएर घरमा बस्ने, खेतीपाती गर्ने आश्वासन दिएर पछि लेखकको परिवारलाई बिचल्ली पार्न यी सहोदर मावली पछि पर्दैनन् । आफन्तले आफन्तलाई गर्ने विश्वासघात, धोखा र छलकपटको यो चरम उदाहरण जस्तो लाग्छ । ठाउँ ठाउँमा त यस्तो पनि हुन्छ र भन्ने प्रश्न पाठकका मनमा बारम्बार उठिरहन्छ ।

यी प्रसंगबाहेक झापामा वि.सं.२०२८÷२९ तिर शुरु भएको कम्यूनिस्ट आन्दोलनको चर्चा पनि यो पुस्तकमा भेटिन्छ । त्यतिबेला आम मानिसमा भएको अन्योल, उनीहरुको मनस्थिति र विशेषगरि मृत्यु भयलाई लेखकले विस्तृत रुपमा वर्णन गरेका छन् ।

समग्रमा हेर्दा खरेलको ‘यात्रा जिन्दगीको’ पुस्तक जीवन जिउन गरिएको संघर्ष नै संघर्षले भरिएको छ । जस्तोसुकै संघर्षलाई पनि आत्मसात गर्दै आफ्नो परिवारलाई सम्हाल्ने लेखककी आमा एक सशक्त, उदाहरणीय र प्रेरणादायी महिलाका रुपमा देखा परेकी छन् । अर्कातिर लेखक आफैंले पनि वर्तमान जीवनमा संघर्ष नै भोगिरहेछन् । कोरोनाले विश्वलाई आक्रान्त पारेको समयमा उनी पक्षाघातले थलिएका छन् । यो रोगबाट तङ्गरिँदै गर्दा फेरि कोरोनाकै शिकार भएका छन् । तैपनि जीवनप्रतिको उनको आशाले यस्ता सबै समस्या परास्त हुँदै जान्छन् र यसै निराशापूर्ण समयमा नै उनको यो कृति जन्मिएको छ । यो जस्तोसुकै घना अन्धकारमा पनि कहीँ न कहीँ उज्यालोको झिल्कोको उपस्थिति हुन्छ नै भन्ने कुराको उदाहरण पनि हो ।


यो पुस्तकलाई बीट मार्दा विभिन्न प्रश्नहरु पाठकका मनमा उब्जिन्छन् । हिन्दू धर्मशास्त्रअनुसार मानिसले आफ्नो कर्मको भोग ढिलोचाँडो भोग्नैपर्ने मान्यता छ । आफ्नी चेलीको सम्पत्ती हडप्ने र उनीहरुमाथि बारम्बार विश्वासघात गर्ने लेखकका मावलीहरुले आफ्नो त्यस्तो दुष्कर्मको सजाय पाए कि पाएनन् होला ? वर्तमान समयमा लेखकको परिवारले काठमाडौँमा एउटा सम्पन्न जीवन गुजारिरहँदा ती मावलीहरु कहाँ छन् होला ? उनीहरुले के कति उन्नति गरे होला ? अभावै अभावको सामना गरिरहेका लेखक र उनको परिवार कसरी भरिपूर्ण भए ? यस्ता खालका प्रश्नको उत्तर नभेटिँदा करिब ३०० पृष्ठको यो पुस्तक अपूरो जस्तो पनि लाग्छ ।गर्न त खरेलको ‘यात्रा जिन्दगीको’ पुस्तकको अर्को खण्ड पनि प्रकाशित गर्लान् । आशा गरौँ दोस्रो पुस्तकले पहिलो पुस्तकमा उठेका पाठकका जिज्ञासाहरुलाई मेटाउने छ । लेखकले पहिलो पुस्तकको शीर्षक ‘यात्रा जिन्दगीको’ भाग–१ राखेका भए पाठकलाई अलि सजिलो हुनेथियो होला । उनीहरु भाग–१ मा छुटेका कुरा भाग–२ मा पढ्न पाइन्छ भनेर ढुक्क हुन्थे होला । अथवा पुस्तकको अन्तमा क्रमशः भएको भए पनि पाठकको उत्सुकता मेटिन्थ्यो होला । लेख्न त लेखकले भित्री पृष्ठमा 'भाग एक' लेखेका छन् तर पुस्तकको अन्तसम्म आइपुग्दा पाठकले त्यो कुरा बिर्सने सम्भावना धेरै छ।

भन्नलाई उपन्यास भनिए पनि यो पुस्तक पढ्दा उपन्यास नै पढेजस्तो चाहिँ लाग्दैन । बरु, यसलाई हामीले समाजमा देखे सुनेका पात्रको यथार्थ जीवन भोगाइको एउटा दस्तावेज भन्न सुहाउँछ । हुन त उपन्यासका विषयबस्तुलाई यथार्थ जीवनबाटै टिपिन्छ र त्यहाँ वर्णित पात्रले हामीलाई काल्पनिक संसारमा विचरण गराउँछन् । यस्तो पुस्तकमा पसेपछि हामी हाम्रो यथार्थता नै बिर्सन्छौँ । यस्तोखाले अनुभूति ‘यात्रा जिन्दगीको’ ले नदिए पनि यो पुस्तकमा धेरै मननयोग्य कुरा समेटिएका छन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 14 April 2023)

 



Saturday, 8 April 2023

टिपिकल ठाउँका टिपिकल खाना

 

 

          म खानेकुराको त्यति सौखिन त होइन तर यात्राक्रममा विभिन्न ठाउँमा पुग्दा त्यहाँका विशेष प्रकारका खानेकुराले भने मलाई निकै आकर्षित गर्छन् । यसो हेरौँ न, ‘भक्का’ भन्नेबित्तिकै विषेशगरी झापा र मोरङ्ग जिल्लासँग जोडिएको छ । यो भेगमा नआएका मान्छेका लागि भक्का कुन चराको नाम हो, थाहा हुँदैन । यसैगरि अष्ट्रेलियासँग ‘भेजीमाइट’ आउँछ मनमा । उता भएका बेला अष्ट्रेलियन साथीहरु मलाई जिस्काउँथे, ‘इफ् यु डन्ट इट भेजीमाइट, यु आर नट अष्ट्रेलियन ।’ त्यतिबेला मलाई के चैँ रहेछ यो भेजीमाइट भन्ने खुल्दुली जागेको थियो । नचाखी भएन भन्ने सुरले एकपटक सुपर मार्केटबाट भेजीमाइट किनेर पनि ल्याएँ । यसलाई जामजस्तै पाउरोटीमा दलेर खानुपर्ने रहेछ । कालो र टर्रो लेदो न त हेर्दा राम्रो, न खाँदा मीठो ! जे होस् यो पदार्थ मलाई मीठो नलागे पनि चाख्न भनेँ चाखेँ ।


कञ्चनपुर, बरमझिया भन्नेबित्तिकै त्यहाँको पेडा र खाजाको स्वाद हाम्रो जीब्रोमा आइहाल्छ । त्यहाँ एउटा एरियाभरिका सबै पसलमा बाजेको पेडा, बूढो बाजेको पेडा, बूढो बाजेको असली पेडा, बैजनाथ बाजेको पेडा जस्ता साइनबोर्ड राखिएका छन् । त्यसैगरि सप्तरी जिल्लाकै हनुमाननगर भन्ने ठाउँ चाहिँ ‘चन्दनचूर’ नामक चामलका लागि प्रख्यात रहेछ । अति मसिनो यो चामलको भात निकै मिठो हुँदो रहेछ । भात भन्दा अझ चाम्रेको कुरा त गरिसाध्य नै छैन ।

एकपटक हामी दार्जिलिङ्ग गएका बेला त्यहाँ पाइने बगेडा चामलको खुब चर्चा चल्यो । मैले त्यसअघि यो जातको चामलको नाम कहिल्यै सुनेकी थिइन । हाम्रो परिवारका केहि सदस्यको भने दार्जिलिङ्गे बगेडा चामलको स्वाद जीब्रोमै झुण्डिएको रहेछ । उहाँहरुले हामी बसेको होमस्टेका भाइलाई जसरी भए पनि यही चामलको भात पकाइदिनू भनेर अनुरोध गर्नुभयो । नभन्दै हामी त्यहाँ बसुन्जेल सधैँ बगेडा चामलकै भात खान पायौँ । हेर्दा निकै मोटो देखिए पनि खाँदा स्वादिलै हुने रहेछ बगेडा चामल ।

मैँले सिलगढीमा गएका बेला  ‘छुर्पीको तरकारी’ नचाखुन्जेल छुर्पी भनेको सुपाडीजस्तै सारो टोकेर खाने पदार्थ हो भन्ने बुझेकी थिएँ । त्यसैले पहिलोचोटि  ‘छुर्पीको तरकारी’ भन्दा त मैले पत्याइन पनि । पनीरलाई नै छुर्पी भनेको हो कि जस्तो लाग्यो । सिक्किम गएका बेला जब मेरा दिदी भिनाजुले गीलो तरकारी खाने छुर्पीकै कोसेली बोकेर आउनुभयो अनि मात्र म छुर्पीको तरकारी हुने रहेछ भन्ने कुरामा विश्वस्त भएँ । छुर्पीको तरकारी मात्र होइन, अचार अझ मीठो हुने रहेछ भन्ने मैँले दार्जिलिङ्ग गएर मात्र थाहा पाएँ । त्यो भेगमा छुर्पीको तरकारी र अचार निकै प्रचलित रहेछ ।


मनमा आसाम सम्ँझदा म त्यहाँ खाइने मसिना आलुको भुटुवा र घिउको साटो खाइने क्रीमलाई सम्झन्छु । हामी जति पनि ठाउँमा आतिथ्य ग्रहण गर्न गयौँ, सबैतिर अरु जति परिकार भए पनि साना आलुको भुटुवा र क्रीम कतै छुटेको थिएन । कुरा गर्दै जाँदा ती आइटम त्यहाँका खास रहेछन् । ठूला आलुको तुलनामा साना आलु त महंगा पनि हुने रहेछन् ।

पहिले पहिले धनकुटालाई सुन्तला र जुनारसँग जोडिन्थ्यो । अहिले तिनलाई अभोकाडोले प्रतिस्थापन गर्दै लगेको छ । धनकुटालाई अभोकाडोको राजधानी नै भन्ने गरिन्छ । शायद जुनार सुन्तलाभन्दा अभोकाडोले किसानलाई बढी फाइदा दिने भएर हो कि यस्तो भएको । यो बाहेक धनकुटासँग जोडिएको अर्को खानेकुरा धनकुटे बिस्कुट, अर्थात् नरिवल बिस्कुट पनि हो । पहिले पहिले त त्यस्तो बिस्कुट बनाउने एउटा मात्र फ्याक्ट्री थियो— मोहन बिस्कुट उद्योग । अहिले त सहस्र भैसके । भन्नलाई त सबैले नरिवल बिस्कुट भन्छन् तर मोहन बिस्कुटको जस्तो गुणस्तर अरुको छैन । मोहन बिस्कुटकै पनि पहिलेको तुलनामा आकार र गुणस्तर दुवै खच्केको छ ।

च्याङ्थापुबाट अट्टे चामल मगाएर खाने हाम्रो घरमा बाढी नै चलेको थियो २÷४ महिना अगाडितिर । त्यसै बीचमा म आफैं च्याङ्थापु पुग्ने साइत जु¥यो— अट्टे चामलको उद्गम स्थलमै । त्यहाँ पुगेर भड्डु भाँडामा पकाइएको अट्टे चामलको स्पेसल भात त खाइयो नै  । यसका अतिरिक्त कोदोको खोले मलाई विशेष लाग्यो । हामी त्यहाँ एक रात बसेका थियौँ । भोलिपल्ट बिहान के खाएर हिँड्ने भन्ने सरसल्लाह हुँदै गर्दा हामीले खाना खाएको होटलकी बैनीले यहाँको नाम चलेको परिकार कोदोको खोले खाएर जानू न ! बिहानका लागि यो राम्रो र आडिलो हुन्छ भन्ने सल्लाह दिइन् । नाम सुन्दा यो परिकार त्यति मीठो होलाजस्तो लागेको थिएन मलाई । तर अग्रजहरुले  पूर्ण समर्थन जनाइसक्नुभएकोले म चूपै लागेँ । बिहान टेबलमा हरहर बाफ उड्दै गरेको कोदोको खोले आयो । मन नलागी नलागी मैले यसो आधा चम्चा उठाएर सुरुप्प पारेँ । म छक्कै परेँ । कति मीठो हुन सक्दो रहेछ कोदोको खोले पनि ! मलाई कताकता यसको स्वाद र नामले मेल खाएजस्तो लागेन  ! मैँले होटलवाली बैनीलाई सोधेँ, “यसको खास नाम चैँ के हो ?” उनले हाँस्दै जवाफ दिइन्, “खोइ, हामी त खोले नै भन्छौँ यतातिर ।” मलाई त खोले भनेको गाईवस्तुले मात्र खाने होला जस्तो लाग्थ्यो ! तर होइन रहेछ । हाम्रै समूहमा हुनुभएका एकजना सदस्यले प्रस्ताव राख्नुभयो, “हामी यसलाई कोदोको सूप भनौँ न !” यो सूप पनि त नेपाली शब्द होइन । नाम लिँदै मुखमा मीठो स्वाद आउने किसिमको कुनै नाम हुन सक्ला त यो कोदोको खोलेको ?


उता ताप्लेजुङ्गको सुकेटारमा भने होर्लाङ्गेमा भुटेका मकै प्रख्यात रहेछन् । भुटेको मकै त खाएकै हो । तर होर्लाङ्गेमा भुटेका मकैको स्वादै बेग्लै । त्यहाँबाट पाथीभरा माताको दर्शन गर्न जाने दर्शनार्थीहरुले बाटामा खान तिनै मकै लिएर जाँदा रहेछन् । “किन मकै नै ?” भन्ने प्रश्नमा रेडिमेड उत्तर आयो स्थानीयवासीबाट, “उचाइ बढ्दै गएपछि अक्सिजन कम भएर सास फेर्न गाह्रो हुन्छ । अनि मकै चपाइरह्यो भने केही हुँदैन ।” मकैको महिमा सुन्दै हामीले खाएको होर्लाङ्गेमा भुटेका मकैको बील रु ६०० उठेको थियो । अर्को दिन टोलीनेताले होर्लाङ्गेमा भुटेका मकैको कविता नै फुराउनुभयो ।

ताप्लेजुङ्गबाट फर्किने क्रममा हामी पाँचथरको राँके भन्ज्याङ्गमा आइपुग्यौँ । यहाँ पहाडमा पाइने प्रायः सबैथोक नै बेच्न राखेको हुँदो रहेछ— छुर्पी, नौनी घिउका बोरा, जुनेलो, विभिन्न प्रकारका गेडागुडी, चिङ्फिङ् । घुमफिर गरेर आफूलाई मन परेको कोसेली किनेर घर लाने बजार रहेछ यो । हामी पनि कोसेलीको जोरजाम गर्ने क्रममा एउटा पसलमा पुग्यौँ । पसले भाइ हौसी हौसी आफ्ना सामान देखाउँदैथिए । यत्तिकैमा कसैले कुनै सामानमा दलाली गर्न खोज्यो, “यसको ३२० भन्नुहुन्छ, म ३०० मात्र दिन्छु है !”  यसको उत्तर ती भाइले यसरी दिए कि केही किन्ने मनसुवा नबनाएकी मैले पनि उनका एक÷दुईवटा सामान किनिदिएँ । उनले बडो सहज पारामा अभिनयसहित भने, “हुँदैन हजुर, हुँदैन । त्यही बीस रुप्पेको लागि हामीले दिनभरि हिँ...हिँ... गरेर दाँत देखाएर बस्नुपर्छ !” उनको एक वाक्यमा मैले कति हो कति विवशता झल्किएको अनुभूति गरेँ ।

यी केही मैले घुमेका ठाउँ र त्यहाँ चाखेका वा देखेका विशेष खानेकुरा त उदाहरण मात्र हुन् । अरु कत्ति मैले सुनेका मात्र छन् भने कति त सुन्दै नसुनेका र देख्दै नदेखेका पनि छन् । जस्तो एकताका जुम्लाको मार्सी चामलको भातको खबरले सारा आम सञ्चारका माध्यमको ध्यान खिचेको थियो । कोरियन किम्चीको नाम पनि मैले सुनेको मात्र छ, चाख्न पाएको छैन । त्यसैगरी पश्चिम नेपालतिर पाइने, मरौटीलाई पनि ‘रमरम मरौटी...’ भन्ने गीतमा सुनेको मात्र हो । खानेहरु यो टिम्मूरजस्तै हुन्छ भन्छन् । जे होस्, ठाउँको खानेकुरा विशेषसँग र खानेकुराको ठाउँ विशेषसँगको जोड मलाई रोचक लाग्ने गर्छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 7 April 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Saturday, 1 April 2023

आफ्नो जरो सधैँ प्यारो

आजभोलि अर्ग्यानिक भन्ने शब्द अति प्रयोग भएको पाइन्छ । सागपात, दाल, तरकारीदेखि लिएर गीतका भाकासम्मलाई अर्ग्यानिकको ट्याग लगाइन्छ । त्यस्तै एउटा अर्ग्यानिक यात्रा जुरेको थियो भर्खरै । एक जीवनमा एकपटक मक्का पुग्नुपर्छ अरे हरेक मुस्लिम सम्प्रदायीले भन्ने सुनिएको हो । हाम्रा लागि यो यात्रा त्यहि अर्थमा रह्यो । यात्री संख्या दश थियो । तर मलाई लाग्छ सबै यात्रुहरुका उद्देश्य फरक थिए । हामीमध्ये केहि त्यहि पुण्य भूमिमा हुर्किनु बढ्नुभएको थियो । केहि सदस्य भनें बिल्कुलै फरक भूगोलबाट हुनुहुन्थ्यो र केहि भनेँ हजारौँपटक सुनिएका ठाउँका नाम अनि पात्रहरुका बारेमा जान्ने लालसा राखेर बाटो लागेका थियौँ ।


हाम्रो मुख्य गन्तब्य पाँचथरको च्याङ्थापू थियो । कस्सिने हो भनेँ दमकबाट बिहान  हिँड्दा बेलुकै त्यहाँ पुग्न सक्थ्यौँ । तर यात्रा सुस्थिरले गर्नु पर्छ र ढुक्कको हुनुपर्छ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै बिहान निस्केर बास बस्न फिदिम बजार पुग्ने टुंगो भयो । वर्षौँ इलाममा बिताउनुभएका कमल दाइले सास एकोहोरो पार्दै स्थान विवरण दिई नै रहनुभयो । त्यसमा थपथाप पार्ने र विवरणलाई शुद्धिकरण गर्ने कामका लागि अर्का दाइ डा. गोविन्द अघिल्लै सिटमा हुनुहुन्थ्यो । मणिपुरे साहित्यकार वसन्तीदेवी र अर्की युवा साहित्यकार अनिता पन्थीले प्रश्नका अड्का थापिरहनुभयो । यतै सुरुङ्गातिरै दुई दुई ढिका भक्का र चियाको नास्ता गरेपछि भने इलाम माथिको बिब्ल्याँटेमा खाना खान पुगियो । भाग्यले जुराएको भन्नुपर्छ, खाना पनि विचित्रकै मिठो । चार बजेतिर फिदिम पुगेपछि स्थानीय साहित्यकारहरुसँग संवाद, गीत, कविता श्रवण सम्म भ्याइयो ।

आफ्नो जरो सधैँ प्यारो भनेजस्तै आफ्ना पितापूर्खाले बिराएको भूमी टेक्ने सुअवसर यसपालि फागु पूर्णीमाका मौकामा जु¥यो । बर्षौंदेखि सुनिएका र पढिएका विचित्रको कथानक जस्तो भूमिमा टेक्दा मन त्यसै हर्षित थियो । त्यो स्थानको सुनिएका कथा र अहिलेको स्थितिमा कति अन्तर होला त भनेर ठ्याक्कै भन्न नै गाह्रो । मलाई त्यो फलाम खोलाका छेउमा रहेको ओढार देख्नु थियो । हामीलाई दन्त्यकथा जस्तो लाग्ने शैलीमा हाम्री सासूआमा साना साना लाला बाला लिएर जिन्दगीको कुनै कालखण्डमा त्यो ओढारमा एक्लै बस्नुपरेको कुरा सुनाउनुहुन्थ्यो । त्यसैले मलाई फलाम खोलाको पानी शीरमा सिन्चिनु थियो, अनि कथा जस्तो लाग्ने तथ्यलाई मनैमा पुनजीर्वित गर्नुथियो ।

आजभन्दा झण्डै साठी वर्षअघिको च्याङ्थापू मैले परिकल्पना गरेर हेरेँ । बाटो घाटो, औषधि पानी, यातायात, शिक्षा, सञ्चार नभएको एउटा अँध्यारो समय । त्यसमाथि पनि स–साना नानीहरु लिएर ओढारमै बास बस्नु कति कष्टकर समय हुँदो हो । त्यहि ओढारबाट फुत्केर हिँडेका दुई सदस्य त हाम्रो यात्रा टोलिमै थिए । अहिले मोटर हिँड्ने बाटोबाट खुत्रुक्क पाँच मिनेट तल झरेपछि भिरालो पाखोमा ढुंगे ओढार रहेछ । हाम्रो परिवारले घर मानेर बसेको ओढारमा अहिले त कसैले अदुवा पो थुपारेको रहेछ । ओढारको तल्तिरपट्टि बेंसी खेत । त्यहि खेतीको एक टुक्राका भरमा हाम्रो परिवार पालिएको रहेछ । अनि छेवैमा फलाम खोला अविरल बगिरहेको रहेछ । ऊ बेलादेखिको बडेमानको बरको रुख पनि त्यहिँ रहेछ । त्यो बर एउट अमूक साक्षी । यदि त्यो वृक्षले संवाद गर्दो हो त कति कुरा भन्दो हो । पारिपट्टि भित्तामा भीरतिर देखाएर कमल दाइ अनवरत रुपमा बाघ कराएका देखि मसानका ताँती खोलाका तिरैतिर हिँडेका कुरा हामीलाई  सुनाइरहनुभएको थियो । म भनें सम्झँदै थिएँ कति कष्टकर जीवन यात्रा भोग्नुभएको हाम्रा पूर्वजहरुले । बडेमानका झ्याउले ढाकेका कटुसका रुखहरु तिनै समयको साक्षी होलान् भन्ने म सोच्दैथिएँ ।

हामीलाई सधैँ अबेर हुन्छ । माथि बाटामा गाडीसँगै बस्नेहरु, तल नझर्नेहरु माथिबाटै कराए, “लौ छिटो गर, ढिलो भैसक्यो ।” हो नि साँच्चै । यो चेत पसेदेखि हाम्रा मनमा पसेको हतारोले कहिल्यै छाड्दैन । रातभर निदाउन्जेल मात्र हतारो बिर्सने हो । जुरुक्क उठेर आँखा खोलेदेखि हुन थालेको हतारो बेलुका आँखा चिम्लिउन्जेल उत्तिकै हुन्छ । मैले विचार गरेर हेरेँ । यो वर्षैभरि हतारो परेको रहेछ । गएको दशक नै हतारोको चपेटामा बितेछ । मेरो मात्र होइन मैले चिनेजानेका सबैलाई उत्तिकै आपद देखेँ । उस्तै चटारो देखेँ । स्याँस्याँ र फ्याँफ्याँ देखेँ । ए हतारो, तँदेखि मलाई आजकल घृणा लाग्न थालेको छ । बिनासित्तिमा तैंले मलाई वर्षौंदेखि अत्याइस् । बौलाहा बनाएर कुदाइस् । मलाई मनलाग्दी हाँस्न पनि दिइनस् । बोल्न दिइनस् । घुम्न दिइनस् । बेकारको हुटहुटी मात्र जगाइरहिस् मेरो मनमा ! तर अहिले मलाई यो जनगणनाको परिणाम सार्वजनिक भएपछि एउटा कुरा जान्न मन छ — लगभग ती ४६ लाख केहि पनि काम नगरी बस्ने नेपालीहरुका मनमा हतारो छ कि छैन होला नि ?

मूलतः यो पटकको यात्रा हतारको थिएन । प्रशस्त समय राखेर, सुस्थिरले बाटो तय गर्दै, खाँदै, हाँस्दै गरिएको यात्रा थियो । तर पनि त्यसै बीचमा स–साना हतार त टुच्च टुच्च आइहाल्ने रहेछन् ।


ओढारबाट अगाडि बढेपछि गढीको डाँडामा पुगियो । झण्डै १०० फिट तल गहिरोमा देखाउँदै दाजुहरुले भन्नुभयो, “हामीले पढेको हरि मिडल स्कुल यहिँ थियो । पछि बाटो बनाउँदा पुरियो । अनि स्कूल ऊ माथि सारियो ।” हो, त्यहि थुम्कीबाट माथि नाम्रेकको डाँडामा हाम्रा सासू ससुरा बसेको घर घडेरी देखिने रहेछ । तल्तिर डिलमा बडेमानको झण्डै शताब्दी पुरानो लप्सीको बोट समेत ठडिएकै रहेछ ।

 त्यो बेलासम्म आफ्नो थातथलोको ठ्याक्कै ठेगाना थाहा थिएन मलाई । यता पूर्वतिर यसो मान्छेसँग बोलाचाला गर्दा ‘पहाड चै कता’ भन्ने थेगो नै छ । हामी सधैँ ताप्लेजुङ्ग भन्ने गर्थ्यौं। तर नाम्रेक अनि च्याङ्थापू त पाँचथरमा पो रहेछन् त ! पहाडका स्थान, थातथलो र नाता सम्बन्धका शब्दकोशजस्ता कमल दाइलाई समेत यो कुरा थाहा रहेनछ क्यारे । पछि उहाँ च्याङथापू पाँचथर र ताप्लेजुङ्गका सिमानामा पर्छ भनेर कुरा मिलाउँदै हुनुहुन्थ्यो । घुमिफिरी च्याङ्थापू पुग्दा साँझ पर्नै लागेको थियो । त्यस भेगको अत्यन्त पुरानो विष्णु मा.वि.मा भेटघाट, छोटो कार्यक्रम सकेर स्कूलले प्रायोजन गरेको एकसर्को चिया पिउँदा दिन घर्किसकेको थियो । कराउँदा कराउँदा कमल दाइको घाँटी बसिसके पनि टोलीका केहि सदस्यहरुलाई पछि लगाएर उहाँ फालेलुङको डाँडो देखाउन अघि लाग्नुभयो । निकै बेर हिँडेपछि एउटा झोलुंगे पुल आयो । त्यस पुलमा एकछिन रमाइलो गरेर एकमाना जति पानी अमला बटुलेर फिर्दा रात परिसकेको थियो । खाना एक ठाउँ र बास अर्कै ठाउँमा बस्दोवस्त भएको रहेछ । खाना खाने बेलामा वर्षाद शुरु भयो ।

आधा सदस्य खाना खाने ठाउँमा घिउमा पकाएका फापरका रोटी छिनाउँदै रहेछन् । केहि सदस्य भनेँ गलेर पाहा भएर सुतेका उठ्नै मानेनन् । एकछिनको घनघोर वर्षा छ्याप्प ओछायो । एक एक फापर रोटी खाइसक्दा झ्याप्पै अँध्यारोले छोप्यो । “अब भने राम्रो भयो । पानी प¥यो । तुवाँलो उघ्रियो । अब हिमाल देखिन्छन् । हातैले छुन सकिएला जस्तो हुन्छ,” कमल दाइ फापरका रोटीको तरान लागेर जाग्नुभएछ । अरुले नपत्याए जस्तो गर्दा उहाँले भन्नुभयो, “बिहान उज्यालो त हुन देओ ।”


राती फेरि घनघोर वर्षा भयो । हामी बसेको गेष्ट हाउस अगाडि आँगनमा लेदो र हिलो थुप्रिएर सडकमा निस्कनै असम्भव जस्तो थियो । कसो कसो काठ, इँटा लगाएर बाटो बनाइकन सडकमा निस्कियौँ । अबको यात्रा ताप्लेजुङ्गको थियो । फुङलिङ बजारमै बासको प्रवन्ध भएको थियो ।

एउटा अर्को कुराको निर्क्यौलमा पुगेँ म यसपालिको यात्रा गर्दा । त्यो के भनेँ दुई पुस्ताले एकै स्थानमा गुजारा गर्दो रहेनछ । बाबुले बनाएको घर छोराले फेर्ने रहेछ । बाबुको बासस्थानमै छोराले जसोतसो गुजारा चलाए पनि नातिका पालामा स्थानान्तरण भैहाल्ने रहेछ । बालीले पनि माटो फेरिमाग्छ । एकै प्रकारको बाली निरन्तर एकै जमिनमा लगाइराखे जमिनले त नाइँ नाइँ भन्छ । मान्छेको के कुरा ! त्यहि भएर नै हाम्रा ससुरा बा ताप्लेजुङ्गको ओसेबाट फुत्केर पाँचथरको च्याङथापू हुँदै, भूटानसम्म पुगेर अन्तिममा झापामा ठेगान लाग्नुभएको होला । हाम्रा आफ्नै बुबा पनि धनकुटाको फलाँटेबाट कचिँडे, धनकुटा बजार हुँदै कहिले धरान, कहिले विराटनगर हुत्तिरहनुभयो । मेरो आफ्नै पनि कथा प्रकारान्तरले उस्तै छ । 

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 31 March 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]