Monday 17 April 2023

अथक पाइलाहरु

 

ग्रीक मिथोलोजीमा वर्णित फिनिक्स चरो खरानीबाट फेरि व्यूँझिन्छ । त्यसैगरि लेखक तथा उपन्यासकार महेशराज खरेलले भर्खरै प्रकाशन गरेको ‘यात्रा जिन्दगीको’ उपन्यास पढ्दा लेखक पनि असाधारण अवस्था पार गर्दै, धुलिसात हुँदै फेरि फेरि उठेका छन् । आफूले भोगेको जीवन दुःखपूर्ण अथवा सुखमय जस्तो भए पनि मानिसलाई प्रिय लाग्छ शायद । त्यसैले त यो रुप परिवर्तन गरी गरी हाम्रो मानसपटलमा नाचिरहन्छ । यस्तै आफ्नो जीवन भोगाइलाई महेशराज खरेलले यो उपन्यासमा लिपिवद्ध गरेका छन् ।


यस उपन्यासमा लेखकका वर्तमान र विगत सँगसँगै कुदेका छन् । वर्तमानमा उनी सम्पन्न देखिन्छन् । राम्रो जागिर, काठमाडौँमा घरबार हुनुको साथै आम नेपालीको पहुँचबाहिरको मोटरगाडी कुदाउने हैसियतसमेत उनी राख्छन् । यस्तो उनको सलल बगिरहेको जीवनमा ब्रेक तब लाग्छ जब उनी अचानक पक्षाघातले थलिन पुग्छन् । पाठकलाई अलिकति वर्तमान जीवनको झल्को दिँदै उनी विगततिर पस्छन् । उनको विगत सुखमय छैन । पल पल उनी अभाव र विपन्नताको आगोमा पिल्सिएका छन् । हुन त उनका हजुरबा हजुरआमा नाम चलेका हुनेखाने ‘घिउवाला’ भए पनि लेखकले त्यो हुनुखानुको अनुभव गर्न पाएका छैनन् ।

लेखकका विगत र वर्तमान पढ्दै जाँदा दुई सशक्त पात्र बिस्तारै बिस्तारै सतहमा उत्रिन्छन् । एक पात्र त लेखक स्वयम् नै हुन् भने अर्को पात्र चाहिँ उनकी आमा हुन् । पक्षाघात भएपछि खरेल केही समय अस्पताल मै बिताउँछन् — अरुमाथि पूर्ण आश्रित भएर । अस्पतालबाट घर आएपछि पनि उनको स्थितिमा खासै परिवर्तन आउँदैन । अस्पतालमा हुँदा नर्सहरुमा भर परेका उनी घर आएपछि श्रीमतीमा भर पर्नुपर्ने हुन्छ । उनलाई शरीरले साथ नदिए पनि उनको इच्छाशक्ति सबल देखिन्छ । नियमित औषधि सेवन, परिवारको सहयोग र आफ्नो अथक प्रयासमा उनी बिस्तारै बिस्तारै बल गर्दै आफ्ना नित्यकर्म आफैं गर्न थाल्छन् र थला परेको करिब दुई महिनामा पुनः आफैं गाडि चलाएर आफ्नो कार्यालय जान सफल हुन्छन् । यसबाट के देखिन्छ भने मान्छेको अन्तर बलियो र दृढ छ भने उसले जटिल शारीरिक रोगमाथि पनि विजय प्राप्त गर्न सक्छ । मान्छेको मन कमजोर भए, जति औषधि गरे पनि शारीरिक रोग निको नभएका धेरै घटना हामी सुन्ने, देख्ने गर्छौँ ।


लेखकभन्दा दरिली भएर यहाँ लेखककी आमा उभिएकी छन् । वृद्ध, कान नसुन्ने, आँखा नदेख्ने सासू–ससूरा, रुखबाट लडेर अपाङ्ग बनेका श्रीमान् र साना साना छोराछोरी सबैको हेरचाहको जिम्मा, घर चलाउने, खर्च जुटाउने, घरधन्दा गर्ने सारा काम यिनकै काँधमा आइ लाग्छ । कत्ति पनि नहडबडाइ निरन्तर आफ्नो कर्मपथमा अगाडि बढिरहेकी यी महिलाको कथाले पुरुषभन्दा महिला असक्षम हुन्छन् भन्ने हाम्रो समाजको पुरातन सोचाइ र भनाइ निस्तेज भएको छ । आजभन्दा ५०÷६० वर्ष अगाडि नेपालको दुर्गम पहाड ताप्लेजुङ्को सिनाममा पनि यस्ती दृढ महिलाको अस्तित्व हुनुले महिला जाती कमजोर नहुने तथ्यलाई उजागर गरेको छ । आफू अशिक्षित भए पनि छोराछोरीको जीवनलाई हर हालतमा शिक्षाको ज्योतिले झलमल्ल बनाइदिने चेत उनमा पसिसकेको छ ।

यो पुस्तकमा भेटिएको अर्को पक्ष भनेको तत्कालिन समाजको चरित्र चित्रण हो । उदाहरणका लागि, कसरी त्यो समयमा छुवाछुत एउटा प्रचलित अभ्यास थियो । कसरी तात्कालीक समयमा युवाहरु सामाजिक क्रान्तिमा लागे । लेखकका दाजु पर्ने एकजनाले यो क्रान्तिको अगुवाइ गरेको चर्चा यहाँ भेटिन्छ । कन्याकेटीले पकाएको खाने, विवाह, मरिमराउ अथवा बर्खान्त शुद्धाइँमा जुत्ता लगाएर, छालाको पेटी बाँधेर खाना खाने, इच्छा हुनेले टुप्पी काट्ने, अण्डा खाने, अछुतले छोएको खाने जस्ता काम यी युवाहरुले गर्न थालेका छन् ।

शत्रु खोज्न टाढा जानुपर्दैन, सबभन्दा आफ्नो जसलाई ठानिन्छ उसले नै विश्वासघात गर्छ भन्ने भनाइ पनि पुस्तकमा चरितार्थ भएको छ । हाम्रो समाजमा माइतीले चेलीबेटीको सुरक्षा गर्नुपर्ने संस्कार छ । चेलीबेटीको धनसम्पत्ती खानुहुँदैन भन्ने भनाइ छ । तर यहाँ लेखकका मावलीपक्ष नै लेखकको परिवारको बर्बादीको कारण बनेका छन् । उनका मावलका हजुरबा–हजुरआमाको जिद्धीले नै लेखकका बाबु वर्षाको बेला पानीले भिजेर चिप्लो भएको चिउरीको रुखमा मन नलागी नलागी चढ्नुपरेको र त्यहीँबाट लडेपछि जीवनभर अपाहिज बन्नुपरेको तीतो सत्य यहाँ भेटिन्छ । ज्वाइँलाई मान सम्मान गर्नुपर्ने, जथाभावी काम अराउनु नहुने तत्कालीन सामाजिक संस्कार भए पनि यी बुढाबुढीको मूख्र्याईंपूर्ण ढिपीले एउटा सकृय जीवन बेकामे भएको देखेर पाठकको मन धमिलो हुन्छ । यतिमात्र होइन, छलकपट गरेर उनीहरुको जग्गाजमीन हड्पिने, पछि बसाइँ सरेर मधेस झरेपछि पनि शुरुमा पहिले जे भए पनि अब साझे भएर घरमा बस्ने, खेतीपाती गर्ने आश्वासन दिएर पछि लेखकको परिवारलाई बिचल्ली पार्न यी सहोदर मावली पछि पर्दैनन् । आफन्तले आफन्तलाई गर्ने विश्वासघात, धोखा र छलकपटको यो चरम उदाहरण जस्तो लाग्छ । ठाउँ ठाउँमा त यस्तो पनि हुन्छ र भन्ने प्रश्न पाठकका मनमा बारम्बार उठिरहन्छ ।

यी प्रसंगबाहेक झापामा वि.सं.२०२८÷२९ तिर शुरु भएको कम्यूनिस्ट आन्दोलनको चर्चा पनि यो पुस्तकमा भेटिन्छ । त्यतिबेला आम मानिसमा भएको अन्योल, उनीहरुको मनस्थिति र विशेषगरि मृत्यु भयलाई लेखकले विस्तृत रुपमा वर्णन गरेका छन् ।

समग्रमा हेर्दा खरेलको ‘यात्रा जिन्दगीको’ पुस्तक जीवन जिउन गरिएको संघर्ष नै संघर्षले भरिएको छ । जस्तोसुकै संघर्षलाई पनि आत्मसात गर्दै आफ्नो परिवारलाई सम्हाल्ने लेखककी आमा एक सशक्त, उदाहरणीय र प्रेरणादायी महिलाका रुपमा देखा परेकी छन् । अर्कातिर लेखक आफैंले पनि वर्तमान जीवनमा संघर्ष नै भोगिरहेछन् । कोरोनाले विश्वलाई आक्रान्त पारेको समयमा उनी पक्षाघातले थलिएका छन् । यो रोगबाट तङ्गरिँदै गर्दा फेरि कोरोनाकै शिकार भएका छन् । तैपनि जीवनप्रतिको उनको आशाले यस्ता सबै समस्या परास्त हुँदै जान्छन् र यसै निराशापूर्ण समयमा नै उनको यो कृति जन्मिएको छ । यो जस्तोसुकै घना अन्धकारमा पनि कहीँ न कहीँ उज्यालोको झिल्कोको उपस्थिति हुन्छ नै भन्ने कुराको उदाहरण पनि हो ।


यो पुस्तकलाई बीट मार्दा विभिन्न प्रश्नहरु पाठकका मनमा उब्जिन्छन् । हिन्दू धर्मशास्त्रअनुसार मानिसले आफ्नो कर्मको भोग ढिलोचाँडो भोग्नैपर्ने मान्यता छ । आफ्नी चेलीको सम्पत्ती हडप्ने र उनीहरुमाथि बारम्बार विश्वासघात गर्ने लेखकका मावलीहरुले आफ्नो त्यस्तो दुष्कर्मको सजाय पाए कि पाएनन् होला ? वर्तमान समयमा लेखकको परिवारले काठमाडौँमा एउटा सम्पन्न जीवन गुजारिरहँदा ती मावलीहरु कहाँ छन् होला ? उनीहरुले के कति उन्नति गरे होला ? अभावै अभावको सामना गरिरहेका लेखक र उनको परिवार कसरी भरिपूर्ण भए ? यस्ता खालका प्रश्नको उत्तर नभेटिँदा करिब ३०० पृष्ठको यो पुस्तक अपूरो जस्तो पनि लाग्छ ।गर्न त खरेलको ‘यात्रा जिन्दगीको’ पुस्तकको अर्को खण्ड पनि प्रकाशित गर्लान् । आशा गरौँ दोस्रो पुस्तकले पहिलो पुस्तकमा उठेका पाठकका जिज्ञासाहरुलाई मेटाउने छ । लेखकले पहिलो पुस्तकको शीर्षक ‘यात्रा जिन्दगीको’ भाग–१ राखेका भए पाठकलाई अलि सजिलो हुनेथियो होला । उनीहरु भाग–१ मा छुटेका कुरा भाग–२ मा पढ्न पाइन्छ भनेर ढुक्क हुन्थे होला । अथवा पुस्तकको अन्तमा क्रमशः भएको भए पनि पाठकको उत्सुकता मेटिन्थ्यो होला । लेख्न त लेखकले भित्री पृष्ठमा 'भाग एक' लेखेका छन् तर पुस्तकको अन्तसम्म आइपुग्दा पाठकले त्यो कुरा बिर्सने सम्भावना धेरै छ।

भन्नलाई उपन्यास भनिए पनि यो पुस्तक पढ्दा उपन्यास नै पढेजस्तो चाहिँ लाग्दैन । बरु, यसलाई हामीले समाजमा देखे सुनेका पात्रको यथार्थ जीवन भोगाइको एउटा दस्तावेज भन्न सुहाउँछ । हुन त उपन्यासका विषयबस्तुलाई यथार्थ जीवनबाटै टिपिन्छ र त्यहाँ वर्णित पात्रले हामीलाई काल्पनिक संसारमा विचरण गराउँछन् । यस्तो पुस्तकमा पसेपछि हामी हाम्रो यथार्थता नै बिर्सन्छौँ । यस्तोखाले अनुभूति ‘यात्रा जिन्दगीको’ ले नदिए पनि यो पुस्तकमा धेरै मननयोग्य कुरा समेटिएका छन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 14 April 2023)

 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).