Saturday 8 April 2023

टिपिकल ठाउँका टिपिकल खाना

 

 

          म खानेकुराको त्यति सौखिन त होइन तर यात्राक्रममा विभिन्न ठाउँमा पुग्दा त्यहाँका विशेष प्रकारका खानेकुराले भने मलाई निकै आकर्षित गर्छन् । यसो हेरौँ न, ‘भक्का’ भन्नेबित्तिकै विषेशगरी झापा र मोरङ्ग जिल्लासँग जोडिएको छ । यो भेगमा नआएका मान्छेका लागि भक्का कुन चराको नाम हो, थाहा हुँदैन । यसैगरि अष्ट्रेलियासँग ‘भेजीमाइट’ आउँछ मनमा । उता भएका बेला अष्ट्रेलियन साथीहरु मलाई जिस्काउँथे, ‘इफ् यु डन्ट इट भेजीमाइट, यु आर नट अष्ट्रेलियन ।’ त्यतिबेला मलाई के चैँ रहेछ यो भेजीमाइट भन्ने खुल्दुली जागेको थियो । नचाखी भएन भन्ने सुरले एकपटक सुपर मार्केटबाट भेजीमाइट किनेर पनि ल्याएँ । यसलाई जामजस्तै पाउरोटीमा दलेर खानुपर्ने रहेछ । कालो र टर्रो लेदो न त हेर्दा राम्रो, न खाँदा मीठो ! जे होस् यो पदार्थ मलाई मीठो नलागे पनि चाख्न भनेँ चाखेँ ।


कञ्चनपुर, बरमझिया भन्नेबित्तिकै त्यहाँको पेडा र खाजाको स्वाद हाम्रो जीब्रोमा आइहाल्छ । त्यहाँ एउटा एरियाभरिका सबै पसलमा बाजेको पेडा, बूढो बाजेको पेडा, बूढो बाजेको असली पेडा, बैजनाथ बाजेको पेडा जस्ता साइनबोर्ड राखिएका छन् । त्यसैगरि सप्तरी जिल्लाकै हनुमाननगर भन्ने ठाउँ चाहिँ ‘चन्दनचूर’ नामक चामलका लागि प्रख्यात रहेछ । अति मसिनो यो चामलको भात निकै मिठो हुँदो रहेछ । भात भन्दा अझ चाम्रेको कुरा त गरिसाध्य नै छैन ।

एकपटक हामी दार्जिलिङ्ग गएका बेला त्यहाँ पाइने बगेडा चामलको खुब चर्चा चल्यो । मैले त्यसअघि यो जातको चामलको नाम कहिल्यै सुनेकी थिइन । हाम्रो परिवारका केहि सदस्यको भने दार्जिलिङ्गे बगेडा चामलको स्वाद जीब्रोमै झुण्डिएको रहेछ । उहाँहरुले हामी बसेको होमस्टेका भाइलाई जसरी भए पनि यही चामलको भात पकाइदिनू भनेर अनुरोध गर्नुभयो । नभन्दै हामी त्यहाँ बसुन्जेल सधैँ बगेडा चामलकै भात खान पायौँ । हेर्दा निकै मोटो देखिए पनि खाँदा स्वादिलै हुने रहेछ बगेडा चामल ।

मैँले सिलगढीमा गएका बेला  ‘छुर्पीको तरकारी’ नचाखुन्जेल छुर्पी भनेको सुपाडीजस्तै सारो टोकेर खाने पदार्थ हो भन्ने बुझेकी थिएँ । त्यसैले पहिलोचोटि  ‘छुर्पीको तरकारी’ भन्दा त मैले पत्याइन पनि । पनीरलाई नै छुर्पी भनेको हो कि जस्तो लाग्यो । सिक्किम गएका बेला जब मेरा दिदी भिनाजुले गीलो तरकारी खाने छुर्पीकै कोसेली बोकेर आउनुभयो अनि मात्र म छुर्पीको तरकारी हुने रहेछ भन्ने कुरामा विश्वस्त भएँ । छुर्पीको तरकारी मात्र होइन, अचार अझ मीठो हुने रहेछ भन्ने मैँले दार्जिलिङ्ग गएर मात्र थाहा पाएँ । त्यो भेगमा छुर्पीको तरकारी र अचार निकै प्रचलित रहेछ ।


मनमा आसाम सम्ँझदा म त्यहाँ खाइने मसिना आलुको भुटुवा र घिउको साटो खाइने क्रीमलाई सम्झन्छु । हामी जति पनि ठाउँमा आतिथ्य ग्रहण गर्न गयौँ, सबैतिर अरु जति परिकार भए पनि साना आलुको भुटुवा र क्रीम कतै छुटेको थिएन । कुरा गर्दै जाँदा ती आइटम त्यहाँका खास रहेछन् । ठूला आलुको तुलनामा साना आलु त महंगा पनि हुने रहेछन् ।

पहिले पहिले धनकुटालाई सुन्तला र जुनारसँग जोडिन्थ्यो । अहिले तिनलाई अभोकाडोले प्रतिस्थापन गर्दै लगेको छ । धनकुटालाई अभोकाडोको राजधानी नै भन्ने गरिन्छ । शायद जुनार सुन्तलाभन्दा अभोकाडोले किसानलाई बढी फाइदा दिने भएर हो कि यस्तो भएको । यो बाहेक धनकुटासँग जोडिएको अर्को खानेकुरा धनकुटे बिस्कुट, अर्थात् नरिवल बिस्कुट पनि हो । पहिले पहिले त त्यस्तो बिस्कुट बनाउने एउटा मात्र फ्याक्ट्री थियो— मोहन बिस्कुट उद्योग । अहिले त सहस्र भैसके । भन्नलाई त सबैले नरिवल बिस्कुट भन्छन् तर मोहन बिस्कुटको जस्तो गुणस्तर अरुको छैन । मोहन बिस्कुटकै पनि पहिलेको तुलनामा आकार र गुणस्तर दुवै खच्केको छ ।

च्याङ्थापुबाट अट्टे चामल मगाएर खाने हाम्रो घरमा बाढी नै चलेको थियो २÷४ महिना अगाडितिर । त्यसै बीचमा म आफैं च्याङ्थापु पुग्ने साइत जु¥यो— अट्टे चामलको उद्गम स्थलमै । त्यहाँ पुगेर भड्डु भाँडामा पकाइएको अट्टे चामलको स्पेसल भात त खाइयो नै  । यसका अतिरिक्त कोदोको खोले मलाई विशेष लाग्यो । हामी त्यहाँ एक रात बसेका थियौँ । भोलिपल्ट बिहान के खाएर हिँड्ने भन्ने सरसल्लाह हुँदै गर्दा हामीले खाना खाएको होटलकी बैनीले यहाँको नाम चलेको परिकार कोदोको खोले खाएर जानू न ! बिहानका लागि यो राम्रो र आडिलो हुन्छ भन्ने सल्लाह दिइन् । नाम सुन्दा यो परिकार त्यति मीठो होलाजस्तो लागेको थिएन मलाई । तर अग्रजहरुले  पूर्ण समर्थन जनाइसक्नुभएकोले म चूपै लागेँ । बिहान टेबलमा हरहर बाफ उड्दै गरेको कोदोको खोले आयो । मन नलागी नलागी मैले यसो आधा चम्चा उठाएर सुरुप्प पारेँ । म छक्कै परेँ । कति मीठो हुन सक्दो रहेछ कोदोको खोले पनि ! मलाई कताकता यसको स्वाद र नामले मेल खाएजस्तो लागेन  ! मैँले होटलवाली बैनीलाई सोधेँ, “यसको खास नाम चैँ के हो ?” उनले हाँस्दै जवाफ दिइन्, “खोइ, हामी त खोले नै भन्छौँ यतातिर ।” मलाई त खोले भनेको गाईवस्तुले मात्र खाने होला जस्तो लाग्थ्यो ! तर होइन रहेछ । हाम्रै समूहमा हुनुभएका एकजना सदस्यले प्रस्ताव राख्नुभयो, “हामी यसलाई कोदोको सूप भनौँ न !” यो सूप पनि त नेपाली शब्द होइन । नाम लिँदै मुखमा मीठो स्वाद आउने किसिमको कुनै नाम हुन सक्ला त यो कोदोको खोलेको ?


उता ताप्लेजुङ्गको सुकेटारमा भने होर्लाङ्गेमा भुटेका मकै प्रख्यात रहेछन् । भुटेको मकै त खाएकै हो । तर होर्लाङ्गेमा भुटेका मकैको स्वादै बेग्लै । त्यहाँबाट पाथीभरा माताको दर्शन गर्न जाने दर्शनार्थीहरुले बाटामा खान तिनै मकै लिएर जाँदा रहेछन् । “किन मकै नै ?” भन्ने प्रश्नमा रेडिमेड उत्तर आयो स्थानीयवासीबाट, “उचाइ बढ्दै गएपछि अक्सिजन कम भएर सास फेर्न गाह्रो हुन्छ । अनि मकै चपाइरह्यो भने केही हुँदैन ।” मकैको महिमा सुन्दै हामीले खाएको होर्लाङ्गेमा भुटेका मकैको बील रु ६०० उठेको थियो । अर्को दिन टोलीनेताले होर्लाङ्गेमा भुटेका मकैको कविता नै फुराउनुभयो ।

ताप्लेजुङ्गबाट फर्किने क्रममा हामी पाँचथरको राँके भन्ज्याङ्गमा आइपुग्यौँ । यहाँ पहाडमा पाइने प्रायः सबैथोक नै बेच्न राखेको हुँदो रहेछ— छुर्पी, नौनी घिउका बोरा, जुनेलो, विभिन्न प्रकारका गेडागुडी, चिङ्फिङ् । घुमफिर गरेर आफूलाई मन परेको कोसेली किनेर घर लाने बजार रहेछ यो । हामी पनि कोसेलीको जोरजाम गर्ने क्रममा एउटा पसलमा पुग्यौँ । पसले भाइ हौसी हौसी आफ्ना सामान देखाउँदैथिए । यत्तिकैमा कसैले कुनै सामानमा दलाली गर्न खोज्यो, “यसको ३२० भन्नुहुन्छ, म ३०० मात्र दिन्छु है !”  यसको उत्तर ती भाइले यसरी दिए कि केही किन्ने मनसुवा नबनाएकी मैले पनि उनका एक÷दुईवटा सामान किनिदिएँ । उनले बडो सहज पारामा अभिनयसहित भने, “हुँदैन हजुर, हुँदैन । त्यही बीस रुप्पेको लागि हामीले दिनभरि हिँ...हिँ... गरेर दाँत देखाएर बस्नुपर्छ !” उनको एक वाक्यमा मैले कति हो कति विवशता झल्किएको अनुभूति गरेँ ।

यी केही मैले घुमेका ठाउँ र त्यहाँ चाखेका वा देखेका विशेष खानेकुरा त उदाहरण मात्र हुन् । अरु कत्ति मैले सुनेका मात्र छन् भने कति त सुन्दै नसुनेका र देख्दै नदेखेका पनि छन् । जस्तो एकताका जुम्लाको मार्सी चामलको भातको खबरले सारा आम सञ्चारका माध्यमको ध्यान खिचेको थियो । कोरियन किम्चीको नाम पनि मैले सुनेको मात्र छ, चाख्न पाएको छैन । त्यसैगरी पश्चिम नेपालतिर पाइने, मरौटीलाई पनि ‘रमरम मरौटी...’ भन्ने गीतमा सुनेको मात्र हो । खानेहरु यो टिम्मूरजस्तै हुन्छ भन्छन् । जे होस्, ठाउँको खानेकुरा विशेषसँग र खानेकुराको ठाउँ विशेषसँगको जोड मलाई रोचक लाग्ने गर्छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 7 April 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).