Saturday, 30 April 2022

गोठाले गफको चमत्कार

 


    छ दशकभन्दा अगाडि अर्थात् ठ्याक्कै भन्नुपर्दा पैसठ्ठी वर्ष अगाडि लेखिएर निरन्तर चर्चामा रहन सफल उपन्यासका लेखकसँग भेट हुनु मेरा लागि एउटा अहोभाग्य थियो । छ दशकदेखि देवकोटाको मुनामदनपछि बसाइँ उपन्यास नै सर्वाधिक विक्रीको सूचीमा रहेछ । पाठ्यक्रममा समेत राखिएको यस पुस्तकले नेपालीभाषीहरुलाई एकपटक छोएकै होला जस्तो लाग्छ मलाई । विद्यार्थीकालमा पढिएका अविस्मरणीय पात्रहरु झुमा, रिकुटे र मोटे कार्कीजस्ता पात्रहरुको सिर्जना गर्ने एक अथक सर्जक लीलबहादुर क्षत्रीसँग भेट्ने मौका गुवाहाटी– तेजपुर– विश्वनाथ चारआली यात्राले यसपटक जुराइदियो । दश सदस्यीय टोलीको नाइके डा. गोविन्दराज भट्टराईसँग बसाइँका लेखक लीलबहादुर क्षत्रीको लामो र घनिष्ठ सम्बन्ध रहेछ ।

          गुवाहाटीको रेल स्टेशन छेउको पल्टनबजार पुग्दा रात परिसकेको थियो । सहृदयी डा. खगेनले बासको व्यवस्था मिलाइसक्नु भएको रहेछ । उहाँले आफ्नो गाडीमा हाम्रा झोलातुम्बी भरेर नाइकेलाई छेउमा राखेर अघिअघि लाग्नुभयो । हाम्रै टोलीका अर्का उम्दा सदस्य डा. कुमार कोइरालाले अघिल्लो यात्राकै समयमा बाटाको भेउ पाइसक्नु भएकाले हामी पैदलै उहाँका पछि लाग्यौं । भोलिपल्ट बिहानको नास्तापछि धार्मिक स्थलहरु कामाक्ष्या, उमानन्द र वशिष्ठ आश्रम घुमफिर र दर्शन गर्ने कार्यहरु भए । पहिले पनि पुगिसकेका ती धार्मिक क्षेत्र घुमुन्जेल पनि म साँझमा लीलबहादुर सरलाई भेट्न व्यग्र थिएँ । साँझमा आफ्ना प्राध्यापन कार्य सकेर धारिला शर्ट पेन्टमा साना काँटीका डा. खगेन आइपुग्नुभयो र हाम्रो टोलीलाई अगुवाई गरेर पल्टन बजारको पूर्वी खण्डतर्फ़ लैजानुभयो । सानो गल्लीबाट छिरेर अलिकति भित्र पसेपछि लीलबहादुर सरको घर पुगिने रहेछ । नब्बेको दशकमा हिंडिरहेको एउटा लेखनशिल्पी कस्तो हुन सक्ला त भन्ने कुरा मेरा मनमा खेलिरहेको थियो । उहाँसँग भेट हुँदा मेरो कल्पनाले मेल खाएन । उहाँ एक चुस्त शरीरका अध्येता र प्रष्ट वक्ता हुनुहुँदो रहेछ ।

          नब्बे वर्षका लीलबहादुरलाई अर्पण गर्न उहाँकै नाटकहरु संकलित तीस प्रति पुस्तक थिए । नब्बे वर्षका युवा जस्तो हुनुहुँदो रहेछ उहाँ त । परिचय कार्यक्रम पछि उहाँले साहित्य चर्चा थालिहाल्नुभयो । “पाएका र भेटेका सबै पुस्तक म पढछु,” भन्दै गर्दा केहि समयअगाडि मुक्ति बराल दाजुका हातमा पठाइएको आफ्नो ‘घाम अस्ताएको होइन’ पुस्तक पनि उहाँले पढिरहेको कुरा सुन्दा खुशी लाग्यो । धनकुटामा धेरै पहिले बुवा र मुवाँलाई समेत लीलबहादुर सरले भेटेको सुन्दा त झन् मन कति प्रफुल्लीत भयो ।


          नब्बेका उमेरमा समेत उहाँ पढिरहनुहुँदो रहेछ । “उहाँ बिहान, दिउँसो, बेलुका पढिरहनुहुन्छ,” लीलबहादुरका कान्छा छोरा पल्लवले जानकारी दिए, “कार्यक्रमहरुमा पनि यदाकदा हिड्नुहुन्छ ।” संयोग पनि त्यस्तै पर्यो । लीलबहादुर सरलाई भेटेको केहि दिनपछि कवि नव सापकोटाको पचासौं विवाह उत्सवको कार्यक्रम रहेछ । हाम्रो नेपाली टोलीले समेत त्यस कार्यक्रममा निम्ता पाएको थियो । रात्री भोजको त्यस उत्सवमा पुनः लीलबहादुर सरसँग भेट भयो । त्यस उमेरमा समेत उहाँको त्यो सक्रियता सबैका लागि प्रेरणादायी कुरा हो ।

          दर्जनजति पाहुनाका बीचमा घेरिएर बस्नु भएका लीलबहादुर सरले भाषाको चिन्ता प्रकट गर्नुभयो । भाषा सर्जक र प्रयोक्ता रहुन्जेल भाषा नमर्ने कुरा गर्नुभयो । कुराकानीकै बीचमा एक वृद्ध माताको प्रवेश भयो । उहाँ श्रीमती क्षत्री अर्थात् लीलबहादुरकै श्रीमती हुनुहुँदो रहेछ । उहाँ पनि ८४ वर्षका उमेरमा चश्मा नै प्रयोग नगरी पढिरहनुहुँदो रहेछ ।

          कुराकानीका क्रममा उहाँले पठन संस्कृतिमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्नुभयो र भन्नुभयो, “अहिले पढ्ने चलन हरायो । तर म भनेँ फेला परे जति पुस्तकहरु पढ्छु,” यो कुरा हामी सबैका लागि असीमित उर्जा थियो । त्यसै क्रममा उहाँले अझ पनि केही काम गर्न बाँकि रहेको कुरा उल्लेख गर्नुभयो । उहाँलाई हामीले ती बाँकी कार्य के हुन् त भनेर दोहोर्याएर प्रश्न राखे पनि शायद श्रवण समस्याले होला, ती प्रश्नका उत्तर आएनन् । पछि मात्र डा. गोविन्दराजले उहाँका गर्न बाँकी कर्महरुबारे अर्थ्याइदिनुभयो । ओरिएन्टल प्रकाशनले छापेको र डा. गोविन्दराज भट्टराईले सम्पादन गरेको ‘लीलबहादुर क्षत्री चर्चित् नाटकहरु,’ पुस्तकको भूमिकामा यी कुराहरु राम्रोसँग अर्थ्याइएको रहेछ । लीलबहादुरका चर्चित नाटकहरु पुस्तकको भूमिकामा डा.भट्टराईले लील सरका अधुरा चारवटा कामहरुबारे चर्चा गर्दै भन्नुभएको छ:

क) भूमिकाहरुको प्रकाशन हुन बाँकी ।

          ख) नाटकहरुको प्रकाशन हुन बाँकी ।

          ग) निबन्धहरुको प्रकाशन हुन बाँकी ।

          घ) अन्तर्वार्ताहरुको प्रकाशन हुन बाँकी ।

माथि उल्लेखित मध्ये (क) र (ख) का कार्यहरु त सम्पन्न भैसकेछन् । 

          लीलबहादुर सरलाई नेपाल र भारतका विभिन्न साहित्यिक संस्थाले सम्मान र पुरस्कारले विभूषित गरिसकेका रहेछन् । उहाँले ब्रह्मपुत्रको छेउछाउ उपन्यास र अनवरत साहित्यिक योगदानका लागि भारतको साहित्य अकादमी पुरस्कार प्राप्त गर्नुभएको रहेछ । उहाँले नेपालका जगदम्बा सम्मान र प्रज्ञा–प्रतिष्ठानले स्थापना गरेको प्रथम भानु प्रज्ञा अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार पाउनुभएको रहेछ । त्यति मात्र नभएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाले स्थापना गरेको वासुदेव मालती स्मृति अन्तर्राष्ट्रिय पुरस्कार पनि उहाँलाई  प्रदान गरिएको रहेछ । गत वर्ष मात्र उहाँलाई भारतका राष्ट्रपतिको हातबाट पद्मश्री सम्मानले विभूषित गरिएको रहेछ । यी सम्पूर्ण सम्मान र उपलब्धीहरुलाई ठूलो बैठक कोठामा वरिपरि सजाएर राखिएका थिए ।

पहाडी जीवन र आप्रवासको चित्रण गरिएको ‘बसाइँ’ पछि लील सरका फुटकर रचना बाहेक ‘अतृप्त’, ‘ब्रह्मपुत्रका छेउछाउ’ र ‘प्रतिध्वनिहरु विस्मृतिको’ नामक तीनवटा मात्रै उपन्यास छन्।


    लीलसरले ‘बसाइँ’ लेखिसकेपछि केहि साथीलाई भेला गरेर सुनाउनुभएको रहेछ । त्यसमध्ये एकजना सुझबुझ भएका साथीले त्यसलाई मदन पुरस्कार गुठीमा नेपाल पठाउन चाहेछन् र कमलमणि दीक्षितसँग सम्पर्क गरेछन् ।  दीक्षितले पठाउनुस् भन्ने जवाफ दिएछन् । तर उहाँ आफ्नो पाण्डुलिपि त्यति टाढा पठाउने पक्षमा पनि हुनुहुँदोरहेनछ ।

टाइप गरेको थिएन, हातले लेखेको एक प्रति, त्यति टाढा दुइ हजार किलोमिटर पर काठमाण्डुमा, क्या हो कसो हो?,” बी.बी.सी. नेपाली सेवाको एक अन्तरवार्तामा उहाँले बताउनुभएको छ । तैपनि साथीले हातैले भए पनि सारेर त्यसलाई काठमाण्डु पठाएछन् ।

तर आखिर सुनको पारखी त जौहरी मात्रै हुन्छ, कमलमणिजीको हातमा पर्यो, अनि प्रकाशित भयो,” सोहि अन्तरवार्तामा उहाँले बताउनुभयो ।

मदन पुरस्कार गुठीबाट पुस्तक छापिए पनि शुरुवाती दिनमा कसैले पनि त्यसमा रुची देखाएनछन् ।

एक सौ कपी बिक्रीको लागि मैले मगाएको थिएँ । दुइजना व्यक्तिले घरघरमा गएर पुश सेल्स गर्यौं । दाम दुइ रुपैंया थियो त्यसको । एकजना महाजनको पुस्तक पसलमा किताब छोडेको थिएँ, त्यसको केही पछि जाँदा उनले खुब गाली गरेः तपाईं जस्तो पढेलेखेको मान्छेले भगवानका कुरा लेखेको होला भन्ठानेको त, यस्तो गोठाले गफ हामीले नजानेको हो र?”

त्यत्रो उचाइमा पुगेका व्यक्तिको सरलता देखेर म ज्यादै प्रभावित भएँ । आफ्नो सम्पुर्ण जीवन नेपाली भाषा र साहित्यको सेवामा अर्पिएर पनि अझै धेरै काम गर्न बाँकि रहेको कुरा लील सरले गर्नुहुँदा म भनें अहिलेको हाम्रो बजारमुखी र प्रचारमुखी साहित्य सम्झेर चुकचुकाइरहेकी थिएँ । साहित्य सिर्जनामा कत्तिको साधना चाहिने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण आफ्नै आँखासामु पाउँदा म खुशीले गद्गद् पनि भैरहेकी थिएँ । असमबाट हामी फर्केको एक हप्ता बितिसक्दा पनि लीलसरको भव्य व्यक्तित्व मेरो मानसपटलबाट हट्न मानिरहेको छैन ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 29 April 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  


 



Thursday, 28 April 2022

विचारको अचार

 


    गर्मीको समय भित्र बस्नुभन्दा बाहिरै शीतल हुन्छ । म बाहिरै बसेर आँगनका डिलमा रहेका सुपारीका बोटमा टाँसिएर फुल्न थालेका सुनाखरीका फूलहरु हेर्दै थिएँ । यी फूलहरुसँग आमालाई सम्झिँदै पनि थिए । आमाले गो–लोक प्रस्थान गरेपश्चात् फूलबारी, बगैँचा, करेसाबारी उजाडिएको छ । पुराना गुलाबका बोटहरु स्याहार सुसार नभएर कक्रक्क परेका छन् । अनेक प्रकारका मौसमी फूल लगाएर तिनै बिरुवासँग खेली बस्ने आमा अब हुनुहुन्न । मेरो सोचाइ श्रृङ्खला भंग गर्न एउटा मानिस बाटोबाट बिस्तारै म भएतिरै मोडियो । एउटा ब्याकप्याक बोकेको सामान्य जस्तो लाग्ने मानिस एक अर्कोको आवाज सुन्न सकिने दूरीमा उभियो र सोध्यो, “दिदी, यो बाटो कहाँ जान्छ ?”

          प्रश्न सरल थियो र उत्तर सरल हुन सक्थ्यो । तैपनि मेरो दिमागले बक्र मार्ग रोज्यो । मैले झट्ट सोचेँ– ‘यो बाटो जहाँ सोच्यो, त्यहिँ नै जान्छ ।’ तर अपरिचित त्यस व्यक्तिलाई यस्तो बाङ्गो उत्तर दिनु उचित थिएन । अनि मैले भने, “तपाई कता जानुहुन्छ ?”

          म त यत्तिकै डुलुवा मान्छे । कता जानु र ?”

          त्यसो हो भनेँ तपाई हिंडिरहनु नि त । गन्तव्य नै नभएपछि र हिंड्ने मात्र उद्देश्य भएपछि बाटो के सोधिराख्नु ?” त्यो मान्छे फनक्क फर्कियो र बाटा लाग्यो । पछि मैले सोचेँ त्यसो नभन्नु पर्थ्यो।

          बाटो कहाँ जान्छ र ? बाटाहरु स्थिर छन् । बाटाहरु कतैबाट कतै जाँदैनन् । हाम्रो चेतना र शरीर भनेँ बाटो कुबाटो दौडिरहन्छ । सडक आफैं कतै जाँदैन । युग युगदेखि यो यत्तिकै लम्पसार लडिरहेको छ । हजारौँ जीवहरु हिड्छन् र तिनीहरुका पदचापहरु सडकमै विलीन हुन्छन् ।

          सडक नाप्ने खुट्टाहरु र खुट्टाहरुलाई अह्राउने दिमागका बीचमा गहिरो सम्बन्ध हुन्छ भन्छन् दार्शनिकहरु । डाँडाका टुप्पामा जाँदा होस् वा वेँसीमा ओर्लंदा मान्छेले आफ्नो मन सधैँ बोकेकै हुन्छ । मनमा जस्तो भारि बोकेको छ, बाहिरी दुनियाँ त्यस्तै देखिन्छ ।


          एउटा किसान कस्सिएर बारी खन्दै रहेछ । त्यसबेला एउटा बटुवा आइपुगेछ र सोधेछ, “त्यो पल्लो गाउँ पुग्न कति बेर लाग्छ ?”

कति बेर लाग्नु पर्ने त्यति नै बेर लाग्छ । तिमी कत्तिको हिंड्छौ, मलाई के थाहा?” त्यो किसानले अलि रुखो उत्तर दिएछ ।

          सडक छेउमा खेतीबारी भएको त्यो किसान अर्को दिन त्यसै गरी खेतमा काम गरिरहेको रहेछ । अर्को दिन अर्कै बटुवाले प्रश्न गरेछ –“दाजु यो गाउँमा कस्ता मान्छे बस्छन् ?”

          किसानले प्रश्नको आँकलन गरेछ र उल्टै सोधेछ, “तपाईं कहाँबाट आउनुभएको ?”

          म त सात गाउँ पारीबाट राम्रा, असल मान्छेहरुको बस्ती खोज्दै हिँडेको ।”

          अनि तपाई बसेको जगामा कस्ता मान्छे बस्छन् त ?” किसानले सोधेछ ।

          त्यहाँ त जाली, लुच्चा, फटाहा मात्र बस्छन् ।” अनि किसानले भनिदिएछ, “यो त झन् ज्यानमाराहरुकै बस्ती भने पनि हुन्छ । सबै बौलाहा जस्ता छन् यहाँ त ।”

          यो सुनेर बटुवा सरासर आफ्नो बाटो लागेछ ।

          त्यसको केहि दिनपछि अर्को एउटा बटुवा त्यहि किसानसँग ठोक्किन आइपुगेछ । त्यो बटुवाले किसानलाई नमस्कार गरेर सोधेछ, “मलाई अलिकति गरिखाने ठाउँ चाहिएको छ । यतातिर पाइन्थ्यो कि ? फेरि यता कस्ता मान्छे बस्छन् ?”

          किसानले उसै गरि भनिदिएछ, “तपाई पहिले बसेको ठाउँमा कस्ता मान्छे थिए र किन नयाँ ठाउँ खोज्नु भयो ?”

          बटुवाले भनेछ, “, त्यहाँ त साह्रै असल र गुणी मानिसहरु बस्छन् । त्यो ठाउँ त स्वर्गै हो भने पनि हुन्छ । तर मलाई नयाँ ठाउँ हेरौँ, देखौँ जस्तो लाग्यो । हामी त्यहाँ पाँच पुस्तादेखि बसिआएका छौं । अब खेती गर्ने ठाउँ साँगुरो भयो । अनि नयाँ ठाउँ खोजिहिँडेको नि ।”

          ए त्यसो भए तपाईले खोजेको ठाउँ यहि हो । यहाँ पनि तपार्इं बसेको ठाउँमा जस्तै असल मानिस बस्छन् । यहाँका मानिस आफ्नो आफ्नो काम गर्छन् । एकार्कालाई होच्याउने र झगडा गर्ने चलन यता छैन,” किसानले भनेछ ।

          हो, यो कथामा जस्तै हामी आ–आफ्ना दिमागमा आफ्नो दुनियाँ बोकेर हिँडेका हुन्छौँ । आफू भलो त जगत भलो । पहिलो बटुवाले भेट्ने जाली फटाहा नै हुन् र दोस्रोले भेट्ने सज्जन नै हुन् ।

         यसरी सडक हिँड्दैनन् । सडक कतै पुग्दैनन् । यी सडक हुँदै हाम्रा पाइलाहरु चल्ने हुन् । यी पाइलाहरु स–साना फड्का मारेर पनि संसारै नाघ्न समर्थ हुन सक्छन् । यी पाइलाहरुले लरबराउँदै भए पनि नयाँ जीन्दगीको खोजी गर्न सक्छन् । यी पाइलाहरु गन्तव्यको सीमासँग सन्तुष्ट हुन पनि सक्छन् । यी पाइलाहरुलाई न त केहि हराउने डर छ, न केहि भेटिने उत्साह छ । हाम्रो सोचलाई साथ दिने मात्र हो पाइलाले । पाइलाहरु आफैंलाई न कतै पुग्ने हतार छ, न कतै नपुगेकोमा पछुतो छ ।

         


    यी पाइलाहरुको प्रक्रिया मन र बुद्धिभन्दा अलग छ । खुट्टा नै नभएको मानिस पनि जिवीत रहन सक्छ । मन र बुद्धिले विचारको योजना गर्छ । यहि विचारको भारी बोक्न सघाउने मात्र हो हाम्रा पाइलाहरुले । विचारको तौल नरम सिमलको भुवा जस्तो पनि हुन सक्छ । यो बोझ बडेमानको चट्टानजस्तो पनि हुन सक्छ । अनि विचार अति सुविधाभोगी पनि हुन्छ । यी विचारहरु प्रज्वलनशील वस्तुजस्ता पनि छन् । कुनै पनि बेला मनमा आगलागी हुन सक्छ । मनमा आगलागी हुन कति बेर लाग्दैन । सानो वाणीलाई, व्यवहारलाई हामी हाम्रो मनमा आगो लगाउन दिन्छौँ र आफैं खरानी बन्छौँ । आगो झोसिदिनेहरुलाई त्यो रापले छुने मात्र हो । मन त हाम्रो ध्वस्त हुन्छ । तर गुढ रहस्य के हो भने हामीले स्वीकृति नदिए कसैले पनि हाम्रा मनमा आगो झोस्न सक्दैन।

          हाम्रा विचारहरु कहिल्यै स्थिर छैनन् । यी विचारहरु शाश्वत पनि छैनन् । आदिकालदेखि मानिसहरु एक अर्काका विचारहरु काट्दै आइरहेका छन् । विचारहरु प्रतिस्थापित भइरहन्छन् ।

          आफ्ना पाइलाहरुलाई नियन्त्रण गर्न सक्ने अथक यात्री मात्र आफ्नो गन्तव्यमा पुग्न सक्छ । त्यस यात्रीले मात्र नयाँ मार्ग र लक्ष्यको अगुवाई गर्न सक्छ । नत्र त बहुसंख्यक मानिसहरु पुरानै अर्काले खनिदिएको बाटो हिँड्नेहरु हुन् । दह्रिला पाइलाहरु हिँड्नमा विश्वास गर्छन्, आफ्नो गन्तव्यको खोजीमा अल्मलिँदैनन् ।

          विचारहरुले हाम्रा पाइलाहरुलाई नियन्त्रण गर्छन् तर हामी आफैं ती पाइलाहरुको विचार गर्दैनौं । पाइलाहरुलाई चल्न आदेश दिन्छौँ तर पाइलाहरु कता जाँदैछन् विचार गरिबस्दैनौँ । हामी खाना खान बस्छौँ, तर खाना खाँदैनौँ । हाम्रा विचारहरु खान्छौँ । हरक्षण हामी विचारसँगै हुन्छौँ । विचारसँग निवृत्त भएर रहनै सक्दैनौँ । विचारको सूप पिइरहन्छौँ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 22 April 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Saturday, 23 April 2022

माइ लाइफ माइ च्वाइस


 हाम्रो छिमेकी बन्न आएका नौबागको परिवारमा दुई महिना जति अगाडि ठूलो उत्सवको आयोजना गरिएको थियो । छिमेकी हुनुको नाताले हामीकहाँ निम्तो समेत आयो । नौबागको परिवार करिब एक वर्ष अगाडिदेखि हाम्रो छिमेकी बनेका हुन् । कुरा बुझ्दै लैजाँदा त्यहाँ त विवाह समारोह रहेछ । बेहुला बेहुलीको भागी विवाह भएको एक दशक भइसकेको रहेछ । तर माइती पक्षले बोलाएर विवाह धर्म पूरा गरिदिन बाँकी रहेछ । हो, त्यही धर्म पालना गर्नलाई नौबाग परिवारले त्यो समारोहको आयोजना गरेको रहेछ । त्यहाँ तीन दिनसम्म निरन्तर लाउडस्पिकर घन्कियो । सुँगुरहरु काटिए । कुखुराहरु काटिए । अनेक परिकारको सुवास आई नै रह्यो । पाहुनाको लावालस्कर चल्यो । बढो रमाइलो दृष्य थियो त्यो ।

विवाहको समाप्तीपछि मात्र मैले जिज्ञासा राखेँ– “नानीहरु पनि ठूल्ठूला भैसकेछन्, अहिले मात्र विवाह भयो त ?” “ए, पहिला आफैं  गरेका । अहिले विधान पूरा गरेको । विधान नगर्दा त सामाजिक रुपमा गाह्रो हुन्छ नि । उनीहरुका छोराछोरीको विवाह गर्नका लागि अड्को पर्ने भो नि त ।” नौबाग भाइले मलाई कुरा बुझाए  । पश्चिमा मुलुकतिर भनें आफ्नो गच्छे भएपछि, समय सन्दर्भ मिलेपछि मात्र विवाह गर्ने चलन मैले देखेकी थिएँ । नेपालमा पनि नौबागहरुले गरेको विवाहको प्रकारबारे मलाई त्यति थाहा रहेनछ । त्यस विवाह उत्सवको लगत्तै पछाडि हाम्रो विद्यालयकी सहचालक बहिनी कुसुमले बिदा मागिन् । उनको पनि धेरै वर्ष अगाडि आफूखुशी बिहे गरेर गइसकेकी नन्दको विवाह गरिदिएर अड्को फुकाइदिनु पर्ने रहेछ ।

उता पश्चिमतिर चाहिँ अड्को फुकाउनको लागि नभई विवाहको मजा लिन विवाह गर्ने रहेछन् । म अष्ट्रेलियामा हुँदा एकपटक पचासको दशकमा हिंड्दै गरेकी गील्डाले मलाई विवाहमा सामेल हुन निम्ता गरिन् । झण्डै एक वर्ष अघिदेखि उनी विवाहको तयारीमा जुटेकी थिइन् । खासगरी उनले विवाहमा लगाउने ड्रेसको चर्चा चल्थ्यो । उनका पनि छोराछोरीहरु वयस्क थिए । निश्चित बोलाइएका मानिसहरु मात्र विवाहमा सरिक थिए । विवाहपछिको पार्टिमा पनि हामीले खाना खाएको बिल आफैं  तिरेर हिँड्यौँ । अरु साथीहरुका लागि यस्तो प्रचलन नौलो नभए पनि मेरालागि चाहिँ अनौठो चलन थियो । बिहा भोजमा जानु र आफैं  पैसा तिरेर खानु । ठाउँ अनुसारको आ—आफ्नो चलन हो । एक प्रकारले मलाई त राम्रै लाग्यो । बिहेको नाममा ठूलो ऋणको भारी थाप्लामा बोक्नु नपर्ने । अझ कतिले त विवाहमा लगाउने ड्रेस समेत भाडामा लिँदा रहेछन् । यस्तै विवाह खर्चका बारेमा कुरा हुँदै गर्दा अमेरिकादेखि आउनुभएकी भारती दिदीले बील र हिलारी क्लिन्टनकी छोरी चेल्सीको विवाहको प्रसंग उठाउनुभयो । हाम्रातिर भए एउटा राष्ट्रप्रमुख भैसकेको मानिसकी छोरीको बिहामा कति मानिसहरु भोजमा बोलाइन्थे, कति तामझाम, भोज र तमासामा खर्च हुन्थ्यो होला भन्ने कुरा चले ।

तर चेल्सीको विवाहमा अत्यन्त सानो संख्यामा मानिसहरु बोलाइएको कुरा उहाँले गर्नुभयो । विवाह नितान्त रुपमा व्यक्तिगत कुरा हो र यो कुरामा अरुले हस्तक्षेप गर्नु हुँदैन भन्ने तर्क उहाँको रह्यो । कसरी उहाँ अमेरिकामै हुर्केका आफ्ना छोराछोरीको विवाहमा आफूले सोचे सम्झेका सबैलाई निम्तो गर्न असमर्थ हुनुभयो भन्ने कुरा रोचक थियो । "यता हाम्रातिर त सम्पूर्ण चिनाजानका मान्छे नबोलाए रिसाउँछन् । धेरै मान्छे बोलाएपछि स्वभावतः खर्च बढी नै लाग्छ । तर उता त अति निकटबाहेक अरुलाई बोलाइँदैन । नेपाली पारा गरेर आफूले बोलाउन खोज्दा पनि छोराछोरी मानेनन् । आफूले  कहिल्यै नचिनेका, नदेखेका र नबोलेका मानिसहरुलाई तपाईंहरु मेरो बिहेमा किन बोलाउनुहुन्छ ? यो त मेरो बिहे हो । कसलाई बोलाउने भन्ने कुराको निधो म गर्छु , भनेर छोरो कड्किएपछि चुप लाग्नै पर्यो,” दिदीले मनको वह पोख्नुभयो ।


यस्तै विवाहको चर्चा चल्दा मैले हाम्रा ठाउँतिर कसरी बाबुआमाले खोजिदिएका कहिल्यै नदेखेका, नबोलेका मानिससँग विवाह गरेर जुनी बिताउनु पर्छ, भन्ने कुरा मेरा अष्ट्रेलियन साथीहरुलाई सुनाउँदा उनीहरु छक्क परेका थिए । एकैपटक पनि नदेखी कसरी बिहे हुन सक्छ र ती जोडीले कसरी एक जुनी गुजार्छन् भन्ने कुरा बुझाउन मलाई कठीन परेको थियो । हो पनि, जुन देशमा व्यक्तिगत स्वतन्त्रतामा बिल्कूलै अंकुश लगाइँदैन, मानिसहरु आफ्नो प्रकारले आफ्ना जीवनसाथी निर्वाध रुपले छनौट गर्न पाउँछन्, उनीहरुका लागि मेरा कुरा नौला नै थिए । जीवनसाथी छनोट गर्न आफ्नो विवेक प्रयोग गर्न नपाइने परिस्थितिलाई उनीहरुले अलि जंगली र पशुवत प्रथा हो भन्ने निश्कर्ष निकालेका थिए । वर्षौदेखि चलिआएको प्रचलनका विषयमा अरुले औँलो ठड्याउँदा म पनि एकपटक त झसंग भएँ । अझ तिनीहरुले हाम्रा आमा हजुरआमाहरुको बिहे सात आठ वर्षकै उमेरमा हुन्थ्यो भन्ने सुनेका भए के भन्दा हुन् ? यिनै कुराहरुले मलाई साउथ अफ्रिकी लेखक चिनुवा आचेबको ‘विवाह नीजि मामिला हो’ भन्ने कथाको याद आयो । कथामा दुई युवा युवती आफ्ना खुशीले विवाह गर्छन् । परिवारले र समाजले समेत लामो समयसम्म उनीहरुबीचको अन्तर्जातीय सम्बन्धलाई स्वीकार गर्दैन तर पछि गएर नाति नातिनाको मायाले गर्दा उनीहरु परिवारमा स्वीकार्य हुन्छन् । सुदूर देशमा लेखिएको कथा भए पनि हाम्रो परिप्रेक्ष्यमा आचेबको कथाले मेल खान्छ ।


एकजना युवा नेताको भाषण आजकल लोकप्रिय भएको छ । भाषणमा नेताले छोरी दिनभन्दा भोट दिन अझ सोचविचार पुर्याउनु पर्ने तर्क गर्छन् । जनतालाई सही मान्छे चुनेर भोट खसाल्नु पर्ने कुरा बुझाउन उनले यो भाषा प्रयोग गरेका हुन् । उनी बुझाउन सफल पनि छन् । तैपनि उनको विचार पुरातनपन्थी लाग्यो मलाई । छोरीलाई राम्रो पढाइ लेखाइ गराएर आत्मनिर्भर बनाउन सके उनको बेहुलो उनी आफै छान्न सक्छिन् । नेताले भाषणमा भनेजस्तो केटीका बाबुआमाले जुवाइं तौलेर हिंड्नु पर्दैनथ्यो । आफू सुहाउँदो केटा होस् वा केटी एउटा वयस्क मानिसले आफैं खोज्न सक्छ । पुरानो समयमा केटाकेटीको उमेर परिपक्व नभैसकेको अवस्थामा बाबुआमाले जोडा खोजिदिनु ठिकै पनि हो । आजको परिप्रेक्ष्यमा चिनुवा आचेबले भने जस्तै विवाह “प्राइभेट अफेयर” नै हो । यसका लागि केटाकेटीले आफ्नो जीवन साथीको छनोट पनि आफैं गर्न सक्नुपर्छ, आफ्नो रुचीअनुसारको मानिस अरुले खोजिदिन सक्दैन । जसरी जसरी विवाह गरे पनि अन्तिममा आएर त केटा र केटी दुई जना मिलेर नै जीवन चलाउने हो, होइन र ? यसैले मलाई त ‘माइ लाइफ माइ च्वाइस’ भन्ने स्लोगन घच्चीको लाग्छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 8 April 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]