Saturday 30 April 2022

गोठाले गफको चमत्कार

 


    छ दशकभन्दा अगाडि अर्थात् ठ्याक्कै भन्नुपर्दा पैसठ्ठी वर्ष अगाडि लेखिएर निरन्तर चर्चामा रहन सफल उपन्यासका लेखकसँग भेट हुनु मेरा लागि एउटा अहोभाग्य थियो । छ दशकदेखि देवकोटाको मुनामदनपछि बसाइँ उपन्यास नै सर्वाधिक विक्रीको सूचीमा रहेछ । पाठ्यक्रममा समेत राखिएको यस पुस्तकले नेपालीभाषीहरुलाई एकपटक छोएकै होला जस्तो लाग्छ मलाई । विद्यार्थीकालमा पढिएका अविस्मरणीय पात्रहरु झुमा, रिकुटे र मोटे कार्कीजस्ता पात्रहरुको सिर्जना गर्ने एक अथक सर्जक लीलबहादुर क्षत्रीसँग भेट्ने मौका गुवाहाटी– तेजपुर– विश्वनाथ चारआली यात्राले यसपटक जुराइदियो । दश सदस्यीय टोलीको नाइके डा. गोविन्दराज भट्टराईसँग बसाइँका लेखक लीलबहादुर क्षत्रीको लामो र घनिष्ठ सम्बन्ध रहेछ ।

          गुवाहाटीको रेल स्टेशन छेउको पल्टनबजार पुग्दा रात परिसकेको थियो । सहृदयी डा. खगेनले बासको व्यवस्था मिलाइसक्नु भएको रहेछ । उहाँले आफ्नो गाडीमा हाम्रा झोलातुम्बी भरेर नाइकेलाई छेउमा राखेर अघिअघि लाग्नुभयो । हाम्रै टोलीका अर्का उम्दा सदस्य डा. कुमार कोइरालाले अघिल्लो यात्राकै समयमा बाटाको भेउ पाइसक्नु भएकाले हामी पैदलै उहाँका पछि लाग्यौं । भोलिपल्ट बिहानको नास्तापछि धार्मिक स्थलहरु कामाक्ष्या, उमानन्द र वशिष्ठ आश्रम घुमफिर र दर्शन गर्ने कार्यहरु भए । पहिले पनि पुगिसकेका ती धार्मिक क्षेत्र घुमुन्जेल पनि म साँझमा लीलबहादुर सरलाई भेट्न व्यग्र थिएँ । साँझमा आफ्ना प्राध्यापन कार्य सकेर धारिला शर्ट पेन्टमा साना काँटीका डा. खगेन आइपुग्नुभयो र हाम्रो टोलीलाई अगुवाई गरेर पल्टन बजारको पूर्वी खण्डतर्फ़ लैजानुभयो । सानो गल्लीबाट छिरेर अलिकति भित्र पसेपछि लीलबहादुर सरको घर पुगिने रहेछ । नब्बेको दशकमा हिंडिरहेको एउटा लेखनशिल्पी कस्तो हुन सक्ला त भन्ने कुरा मेरा मनमा खेलिरहेको थियो । उहाँसँग भेट हुँदा मेरो कल्पनाले मेल खाएन । उहाँ एक चुस्त शरीरका अध्येता र प्रष्ट वक्ता हुनुहुँदो रहेछ ।

          नब्बे वर्षका लीलबहादुरलाई अर्पण गर्न उहाँकै नाटकहरु संकलित तीस प्रति पुस्तक थिए । नब्बे वर्षका युवा जस्तो हुनुहुँदो रहेछ उहाँ त । परिचय कार्यक्रम पछि उहाँले साहित्य चर्चा थालिहाल्नुभयो । “पाएका र भेटेका सबै पुस्तक म पढछु,” भन्दै गर्दा केहि समयअगाडि मुक्ति बराल दाजुका हातमा पठाइएको आफ्नो ‘घाम अस्ताएको होइन’ पुस्तक पनि उहाँले पढिरहेको कुरा सुन्दा खुशी लाग्यो । धनकुटामा धेरै पहिले बुवा र मुवाँलाई समेत लीलबहादुर सरले भेटेको सुन्दा त झन् मन कति प्रफुल्लीत भयो ।


          नब्बेका उमेरमा समेत उहाँ पढिरहनुहुँदो रहेछ । “उहाँ बिहान, दिउँसो, बेलुका पढिरहनुहुन्छ,” लीलबहादुरका कान्छा छोरा पल्लवले जानकारी दिए, “कार्यक्रमहरुमा पनि यदाकदा हिड्नुहुन्छ ।” संयोग पनि त्यस्तै पर्यो । लीलबहादुर सरलाई भेटेको केहि दिनपछि कवि नव सापकोटाको पचासौं विवाह उत्सवको कार्यक्रम रहेछ । हाम्रो नेपाली टोलीले समेत त्यस कार्यक्रममा निम्ता पाएको थियो । रात्री भोजको त्यस उत्सवमा पुनः लीलबहादुर सरसँग भेट भयो । त्यस उमेरमा समेत उहाँको त्यो सक्रियता सबैका लागि प्रेरणादायी कुरा हो ।

          दर्जनजति पाहुनाका बीचमा घेरिएर बस्नु भएका लीलबहादुर सरले भाषाको चिन्ता प्रकट गर्नुभयो । भाषा सर्जक र प्रयोक्ता रहुन्जेल भाषा नमर्ने कुरा गर्नुभयो । कुराकानीकै बीचमा एक वृद्ध माताको प्रवेश भयो । उहाँ श्रीमती क्षत्री अर्थात् लीलबहादुरकै श्रीमती हुनुहुँदो रहेछ । उहाँ पनि ८४ वर्षका उमेरमा चश्मा नै प्रयोग नगरी पढिरहनुहुँदो रहेछ ।

          कुराकानीका क्रममा उहाँले पठन संस्कृतिमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्नुभयो र भन्नुभयो, “अहिले पढ्ने चलन हरायो । तर म भनेँ फेला परे जति पुस्तकहरु पढ्छु,” यो कुरा हामी सबैका लागि असीमित उर्जा थियो । त्यसै क्रममा उहाँले अझ पनि केही काम गर्न बाँकि रहेको कुरा उल्लेख गर्नुभयो । उहाँलाई हामीले ती बाँकी कार्य के हुन् त भनेर दोहोर्याएर प्रश्न राखे पनि शायद श्रवण समस्याले होला, ती प्रश्नका उत्तर आएनन् । पछि मात्र डा. गोविन्दराजले उहाँका गर्न बाँकी कर्महरुबारे अर्थ्याइदिनुभयो । ओरिएन्टल प्रकाशनले छापेको र डा. गोविन्दराज भट्टराईले सम्पादन गरेको ‘लीलबहादुर क्षत्री चर्चित् नाटकहरु,’ पुस्तकको भूमिकामा यी कुराहरु राम्रोसँग अर्थ्याइएको रहेछ । लीलबहादुरका चर्चित नाटकहरु पुस्तकको भूमिकामा डा.भट्टराईले लील सरका अधुरा चारवटा कामहरुबारे चर्चा गर्दै भन्नुभएको छ:

क) भूमिकाहरुको प्रकाशन हुन बाँकी ।

          ख) नाटकहरुको प्रकाशन हुन बाँकी ।

          ग) निबन्धहरुको प्रकाशन हुन बाँकी ।

          घ) अन्तर्वार्ताहरुको प्रकाशन हुन बाँकी ।

माथि उल्लेखित मध्ये (क) र (ख) का कार्यहरु त सम्पन्न भैसकेछन् । 

          लीलबहादुर सरलाई नेपाल र भारतका विभिन्न साहित्यिक संस्थाले सम्मान र पुरस्कारले विभूषित गरिसकेका रहेछन् । उहाँले ब्रह्मपुत्रको छेउछाउ उपन्यास र अनवरत साहित्यिक योगदानका लागि भारतको साहित्य अकादमी पुरस्कार प्राप्त गर्नुभएको रहेछ । उहाँले नेपालका जगदम्बा सम्मान र प्रज्ञा–प्रतिष्ठानले स्थापना गरेको प्रथम भानु प्रज्ञा अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार पाउनुभएको रहेछ । त्यति मात्र नभएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाले स्थापना गरेको वासुदेव मालती स्मृति अन्तर्राष्ट्रिय पुरस्कार पनि उहाँलाई  प्रदान गरिएको रहेछ । गत वर्ष मात्र उहाँलाई भारतका राष्ट्रपतिको हातबाट पद्मश्री सम्मानले विभूषित गरिएको रहेछ । यी सम्पूर्ण सम्मान र उपलब्धीहरुलाई ठूलो बैठक कोठामा वरिपरि सजाएर राखिएका थिए ।

पहाडी जीवन र आप्रवासको चित्रण गरिएको ‘बसाइँ’ पछि लील सरका फुटकर रचना बाहेक ‘अतृप्त’, ‘ब्रह्मपुत्रका छेउछाउ’ र ‘प्रतिध्वनिहरु विस्मृतिको’ नामक तीनवटा मात्रै उपन्यास छन्।


    लीलसरले ‘बसाइँ’ लेखिसकेपछि केहि साथीलाई भेला गरेर सुनाउनुभएको रहेछ । त्यसमध्ये एकजना सुझबुझ भएका साथीले त्यसलाई मदन पुरस्कार गुठीमा नेपाल पठाउन चाहेछन् र कमलमणि दीक्षितसँग सम्पर्क गरेछन् ।  दीक्षितले पठाउनुस् भन्ने जवाफ दिएछन् । तर उहाँ आफ्नो पाण्डुलिपि त्यति टाढा पठाउने पक्षमा पनि हुनुहुँदोरहेनछ ।

टाइप गरेको थिएन, हातले लेखेको एक प्रति, त्यति टाढा दुइ हजार किलोमिटर पर काठमाण्डुमा, क्या हो कसो हो?,” बी.बी.सी. नेपाली सेवाको एक अन्तरवार्तामा उहाँले बताउनुभएको छ । तैपनि साथीले हातैले भए पनि सारेर त्यसलाई काठमाण्डु पठाएछन् ।

तर आखिर सुनको पारखी त जौहरी मात्रै हुन्छ, कमलमणिजीको हातमा पर्यो, अनि प्रकाशित भयो,” सोहि अन्तरवार्तामा उहाँले बताउनुभयो ।

मदन पुरस्कार गुठीबाट पुस्तक छापिए पनि शुरुवाती दिनमा कसैले पनि त्यसमा रुची देखाएनछन् ।

एक सौ कपी बिक्रीको लागि मैले मगाएको थिएँ । दुइजना व्यक्तिले घरघरमा गएर पुश सेल्स गर्यौं । दाम दुइ रुपैंया थियो त्यसको । एकजना महाजनको पुस्तक पसलमा किताब छोडेको थिएँ, त्यसको केही पछि जाँदा उनले खुब गाली गरेः तपाईं जस्तो पढेलेखेको मान्छेले भगवानका कुरा लेखेको होला भन्ठानेको त, यस्तो गोठाले गफ हामीले नजानेको हो र?”

त्यत्रो उचाइमा पुगेका व्यक्तिको सरलता देखेर म ज्यादै प्रभावित भएँ । आफ्नो सम्पुर्ण जीवन नेपाली भाषा र साहित्यको सेवामा अर्पिएर पनि अझै धेरै काम गर्न बाँकि रहेको कुरा लील सरले गर्नुहुँदा म भनें अहिलेको हाम्रो बजारमुखी र प्रचारमुखी साहित्य सम्झेर चुकचुकाइरहेकी थिएँ । साहित्य सिर्जनामा कत्तिको साधना चाहिने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण आफ्नै आँखासामु पाउँदा म खुशीले गद्गद् पनि भैरहेकी थिएँ । असमबाट हामी फर्केको एक हप्ता बितिसक्दा पनि लीलसरको भव्य व्यक्तित्व मेरो मानसपटलबाट हट्न मानिरहेको छैन ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 29 April 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  


 



4 comments:

  1. एक उत्कृष्ट सन्स्मरणात्मक लेख। म सोच्तै मात्र थिये ।बैनी डा ब्यन्जनाले गरेर देखाइन ।उनलाई सधैका साहित्यिक यात्रामा लानु पर्नेरहेछ। हामी नौ जनाको बधाइतिमिलाई।

    ReplyDelete
  2. Dhanyabad hajurlai. Yaha 'anonymous' bhanera auchha; hajur nau janamadhye ko hunuhunchha, chinna pae hunthyo.

    ReplyDelete
  3. सुन्दर वर्णन....

    ReplyDelete
  4. प्रतिक्रियाको लागि यहाँलाई हार्दिक धन्यवाद ।

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).