गर्मीको समय भित्र बस्नुभन्दा बाहिरै शीतल हुन्छ । म बाहिरै बसेर आँगनका डिलमा रहेका सुपारीका बोटमा टाँसिएर फुल्न थालेका सुनाखरीका फूलहरु हेर्दै थिएँ । यी फूलहरुसँग आमालाई सम्झिँदै पनि थिए । आमाले गो–लोक प्रस्थान गरेपश्चात् फूलबारी, बगैँचा, करेसाबारी उजाडिएको छ । पुराना गुलाबका बोटहरु स्याहार सुसार नभएर कक्रक्क परेका छन् । अनेक प्रकारका मौसमी फूल लगाएर तिनै बिरुवासँग खेली बस्ने आमा अब हुनुहुन्न । मेरो सोचाइ श्रृङ्खला भंग गर्न एउटा मानिस बाटोबाट बिस्तारै म भएतिरै मोडियो । एउटा ब्याकप्याक बोकेको सामान्य जस्तो लाग्ने मानिस एक अर्कोको आवाज सुन्न सकिने दूरीमा उभियो र सोध्यो, “दिदी, यो बाटो कहाँ जान्छ ?”
प्रश्न
सरल थियो र उत्तर सरल हुन सक्थ्यो । तैपनि मेरो दिमागले बक्र मार्ग रोज्यो । मैले
झट्ट सोचेँ– ‘यो बाटो जहाँ
सोच्यो, त्यहिँ नै जान्छ ।’ तर अपरिचित त्यस व्यक्तिलाई यस्तो बाङ्गो उत्तर
दिनु उचित थिएन । अनि मैले भने, “तपाई कता जानुहुन्छ ?”
“म त
यत्तिकै डुलुवा मान्छे । कता जानु र ?”
“त्यसो
हो भनेँ तपाई हिंडिरहनु नि त । गन्तव्य नै नभएपछि र हिंड्ने मात्र उद्देश्य भएपछि
बाटो के सोधिराख्नु ?” त्यो
मान्छे फनक्क फर्कियो र बाटा लाग्यो । पछि मैले सोचेँ – त्यसो नभन्नु पर्थ्यो।
बाटो
कहाँ जान्छ र ? बाटाहरु स्थिर छन् । बाटाहरु कतैबाट कतै जाँदैनन् । हाम्रो चेतना र
शरीर भनेँ बाटो कुबाटो दौडिरहन्छ । सडक आफैं कतै
जाँदैन । युग युगदेखि यो यत्तिकै लम्पसार लडिरहेको छ । हजारौँ जीवहरु हिड्छन् र
तिनीहरुका पदचापहरु सडकमै विलीन हुन्छन् ।
सडक नाप्ने खुट्टाहरु र खुट्टाहरुलाई अह्राउने दिमागका बीचमा गहिरो सम्बन्ध हुन्छ भन्छन् दार्शनिकहरु । डाँडाका टुप्पामा जाँदा होस् वा वेँसीमा ओर्लंदा मान्छेले आफ्नो मन सधैँ बोकेकै हुन्छ । मनमा जस्तो भारि बोकेको छ, बाहिरी दुनियाँ त्यस्तै देखिन्छ ।
एउटा
किसान कस्सिएर बारी खन्दै रहेछ । त्यसबेला एउटा बटुवा आइपुगेछ र सोधेछ, “त्यो
पल्लो गाउँ पुग्न कति बेर लाग्छ ?”
“कति बेर लाग्नु पर्ने त्यति नै बेर लाग्छ । तिमी कत्तिको हिंड्छौ, मलाई
के थाहा?” त्यो किसानले अलि रुखो उत्तर दिएछ ।
सडक
छेउमा खेतीबारी भएको त्यो किसान अर्को दिन त्यसै गरी खेतमा काम गरिरहेको रहेछ ।
अर्को दिन अर्कै बटुवाले प्रश्न गरेछ –“दाजु
यो गाउँमा कस्ता मान्छे बस्छन् ?”
किसानले
प्रश्नको आँकलन गरेछ र उल्टै सोधेछ, “तपाईं कहाँबाट
आउनुभएको ?”
“म त
सात गाउँ पारीबाट राम्रा, असल मान्छेहरुको बस्ती खोज्दै हिँडेको
।”
“अनि
तपाई बसेको जगामा कस्ता मान्छे बस्छन् त ?” किसानले सोधेछ ।
“त्यहाँ
त जाली, लुच्चा, फटाहा मात्र बस्छन् ।” अनि किसानले
भनिदिएछ, “यो त झन् ज्यानमाराहरुकै बस्ती भने पनि हुन्छ । सबै बौलाहा जस्ता छन्
यहाँ त ।”
यो
सुनेर बटुवा सरासर आफ्नो बाटो लागेछ ।
त्यसको
केहि दिनपछि अर्को एउटा बटुवा त्यहि किसानसँग ठोक्किन आइपुगेछ । त्यो बटुवाले
किसानलाई नमस्कार गरेर सोधेछ, “मलाई अलिकति गरिखाने ठाउँ चाहिएको छ ।
यतातिर पाइन्थ्यो कि ? फेरि यता कस्ता मान्छे बस्छन् ?”
किसानले
उसै गरि भनिदिएछ, “तपाई पहिले बसेको ठाउँमा कस्ता मान्छे थिए र किन नयाँ ठाउँ खोज्नु
भयो ?”
बटुवाले
भनेछ, “ए, त्यहाँ त साह्रै असल र गुणी मानिसहरु बस्छन् । त्यो ठाउँ त स्वर्गै
हो भने पनि हुन्छ । तर मलाई नयाँ ठाउँ हेरौँ, देखौँ जस्तो
लाग्यो । हामी त्यहाँ पाँच पुस्तादेखि बसिआएका छौं । अब खेती गर्ने ठाउँ साँगुरो
भयो । अनि नयाँ ठाउँ खोजिहिँडेको नि ।”
“ए
त्यसो भए तपाईले खोजेको ठाउँ यहि हो । यहाँ पनि तपार्इं बसेको ठाउँमा जस्तै असल
मानिस बस्छन् । यहाँका मानिस आफ्नो आफ्नो काम गर्छन् । एकार्कालाई होच्याउने र
झगडा गर्ने चलन यता छैन,” किसानले भनेछ ।
हो, यो
कथामा जस्तै हामी आ–आफ्ना दिमागमा आफ्नो दुनियाँ बोकेर हिँडेका हुन्छौँ । आफू भलो
त जगत भलो । पहिलो बटुवाले भेट्ने जाली फटाहा नै हुन् र दोस्रोले भेट्ने सज्जन नै
हुन् ।
यसरी सडक
हिँड्दैनन् । सडक कतै पुग्दैनन् । यी सडक हुँदै हाम्रा पाइलाहरु चल्ने हुन् । यी
पाइलाहरु स–साना फड्का मारेर पनि संसारै नाघ्न समर्थ हुन सक्छन् । यी पाइलाहरुले
लरबराउँदै भए पनि नयाँ
जीन्दगीको खोजी गर्न सक्छन् । यी पाइलाहरु गन्तव्यको सीमासँग सन्तुष्ट हुन पनि
सक्छन् । यी पाइलाहरुलाई न त केहि हराउने डर छ, न केहि भेटिने
उत्साह छ । हाम्रो सोचलाई साथ दिने मात्र हो पाइलाले । पाइलाहरु आफैंलाई न कतै
पुग्ने हतार छ, न कतै नपुगेकोमा पछुतो छ ।
यी पाइलाहरुको प्रक्रिया मन र बुद्धिभन्दा अलग छ । खुट्टा नै नभएको मानिस पनि जिवीत रहन सक्छ । मन र बुद्धिले विचारको योजना गर्छ । यहि विचारको भारी बोक्न सघाउने मात्र हो हाम्रा पाइलाहरुले । विचारको तौल नरम सिमलको भुवा जस्तो पनि हुन सक्छ । यो बोझ बडेमानको चट्टानजस्तो पनि हुन सक्छ । अनि विचार अति सुविधाभोगी पनि हुन्छ । यी विचारहरु प्रज्वलनशील वस्तुजस्ता पनि छन् । कुनै पनि बेला मनमा आगलागी हुन सक्छ । मनमा आगलागी हुन कति बेर लाग्दैन । सानो वाणीलाई, व्यवहारलाई हामी हाम्रो मनमा आगो लगाउन दिन्छौँ र आफैं खरानी बन्छौँ । आगो झोसिदिनेहरुलाई त्यो रापले छुने मात्र हो । मन त हाम्रो ध्वस्त हुन्छ । तर गुढ रहस्य के हो भने हामीले स्वीकृति नदिए कसैले पनि हाम्रा मनमा आगो झोस्न सक्दैन।
हाम्रा
विचारहरु कहिल्यै स्थिर छैनन् । यी विचारहरु शाश्वत पनि छैनन् । आदिकालदेखि
मानिसहरु एक अर्काका विचारहरु काट्दै आइरहेका छन् । विचारहरु प्रतिस्थापित
भइरहन्छन् ।
आफ्ना
पाइलाहरुलाई नियन्त्रण गर्न सक्ने अथक यात्री मात्र आफ्नो गन्तव्यमा पुग्न सक्छ ।
त्यस यात्रीले मात्र नयाँ मार्ग र लक्ष्यको अगुवाई गर्न सक्छ । नत्र त बहुसंख्यक
मानिसहरु पुरानै अर्काले खनिदिएको बाटो हिँड्नेहरु हुन् । दह्रिला पाइलाहरु
हिँड्नमा विश्वास गर्छन्, आफ्नो गन्तव्यको खोजीमा अल्मलिँदैनन् ।
विचारहरुले
हाम्रा पाइलाहरुलाई नियन्त्रण गर्छन् तर हामी आफैं ती पाइलाहरुको विचार गर्दैनौं ।
पाइलाहरुलाई चल्न आदेश दिन्छौँ तर पाइलाहरु कता जाँदैछन् विचार गरिबस्दैनौँ । हामी
खाना खान बस्छौँ, तर खाना खाँदैनौँ । हाम्रा विचारहरु खान्छौँ । हरक्षण हामी विचारसँगै
हुन्छौँ । विचारसँग निवृत्त भएर रहनै सक्दैनौँ । विचारको सूप पिइरहन्छौँ ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 22 April 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
अति सुन्दर र गहकिलो....
ReplyDeleteThank you so much for reading and commenting.
Deleteबिचारको बाडीमा निरन्तर बगिरहेछ जीवन।
ReplyDeleteबिचराको सुप नपिइ धर छैन 🥰🙏💖
Thanks for reading and commenting, Sita.
Deleteयस्तो शक्तिशाली आज बिहानै पढे सिक्किम्को नाम्चिस्थित एक लज्मा।ब्यन्जनाको दार्सनिक झिल्का भरियेको पढौ पढौ लाग्ने हुन्छ। त्यस्माथी सुनाखरीको र आमाको तस्वीर यो मन अधीर हुन्छ। अन्जना निद्रा पूरा गर्न पल्टिरहेकी छन ।
ReplyDeleteThank you so much.
ReplyDelete