Saturday 23 April 2022

माइ लाइफ माइ च्वाइस


 हाम्रो छिमेकी बन्न आएका नौबागको परिवारमा दुई महिना जति अगाडि ठूलो उत्सवको आयोजना गरिएको थियो । छिमेकी हुनुको नाताले हामीकहाँ निम्तो समेत आयो । नौबागको परिवार करिब एक वर्ष अगाडिदेखि हाम्रो छिमेकी बनेका हुन् । कुरा बुझ्दै लैजाँदा त्यहाँ त विवाह समारोह रहेछ । बेहुला बेहुलीको भागी विवाह भएको एक दशक भइसकेको रहेछ । तर माइती पक्षले बोलाएर विवाह धर्म पूरा गरिदिन बाँकी रहेछ । हो, त्यही धर्म पालना गर्नलाई नौबाग परिवारले त्यो समारोहको आयोजना गरेको रहेछ । त्यहाँ तीन दिनसम्म निरन्तर लाउडस्पिकर घन्कियो । सुँगुरहरु काटिए । कुखुराहरु काटिए । अनेक परिकारको सुवास आई नै रह्यो । पाहुनाको लावालस्कर चल्यो । बढो रमाइलो दृष्य थियो त्यो ।

विवाहको समाप्तीपछि मात्र मैले जिज्ञासा राखेँ– “नानीहरु पनि ठूल्ठूला भैसकेछन्, अहिले मात्र विवाह भयो त ?” “ए, पहिला आफैं  गरेका । अहिले विधान पूरा गरेको । विधान नगर्दा त सामाजिक रुपमा गाह्रो हुन्छ नि । उनीहरुका छोराछोरीको विवाह गर्नका लागि अड्को पर्ने भो नि त ।” नौबाग भाइले मलाई कुरा बुझाए  । पश्चिमा मुलुकतिर भनें आफ्नो गच्छे भएपछि, समय सन्दर्भ मिलेपछि मात्र विवाह गर्ने चलन मैले देखेकी थिएँ । नेपालमा पनि नौबागहरुले गरेको विवाहको प्रकारबारे मलाई त्यति थाहा रहेनछ । त्यस विवाह उत्सवको लगत्तै पछाडि हाम्रो विद्यालयकी सहचालक बहिनी कुसुमले बिदा मागिन् । उनको पनि धेरै वर्ष अगाडि आफूखुशी बिहे गरेर गइसकेकी नन्दको विवाह गरिदिएर अड्को फुकाइदिनु पर्ने रहेछ ।

उता पश्चिमतिर चाहिँ अड्को फुकाउनको लागि नभई विवाहको मजा लिन विवाह गर्ने रहेछन् । म अष्ट्रेलियामा हुँदा एकपटक पचासको दशकमा हिंड्दै गरेकी गील्डाले मलाई विवाहमा सामेल हुन निम्ता गरिन् । झण्डै एक वर्ष अघिदेखि उनी विवाहको तयारीमा जुटेकी थिइन् । खासगरी उनले विवाहमा लगाउने ड्रेसको चर्चा चल्थ्यो । उनका पनि छोराछोरीहरु वयस्क थिए । निश्चित बोलाइएका मानिसहरु मात्र विवाहमा सरिक थिए । विवाहपछिको पार्टिमा पनि हामीले खाना खाएको बिल आफैं  तिरेर हिँड्यौँ । अरु साथीहरुका लागि यस्तो प्रचलन नौलो नभए पनि मेरालागि चाहिँ अनौठो चलन थियो । बिहा भोजमा जानु र आफैं  पैसा तिरेर खानु । ठाउँ अनुसारको आ—आफ्नो चलन हो । एक प्रकारले मलाई त राम्रै लाग्यो । बिहेको नाममा ठूलो ऋणको भारी थाप्लामा बोक्नु नपर्ने । अझ कतिले त विवाहमा लगाउने ड्रेस समेत भाडामा लिँदा रहेछन् । यस्तै विवाह खर्चका बारेमा कुरा हुँदै गर्दा अमेरिकादेखि आउनुभएकी भारती दिदीले बील र हिलारी क्लिन्टनकी छोरी चेल्सीको विवाहको प्रसंग उठाउनुभयो । हाम्रातिर भए एउटा राष्ट्रप्रमुख भैसकेको मानिसकी छोरीको बिहामा कति मानिसहरु भोजमा बोलाइन्थे, कति तामझाम, भोज र तमासामा खर्च हुन्थ्यो होला भन्ने कुरा चले ।

तर चेल्सीको विवाहमा अत्यन्त सानो संख्यामा मानिसहरु बोलाइएको कुरा उहाँले गर्नुभयो । विवाह नितान्त रुपमा व्यक्तिगत कुरा हो र यो कुरामा अरुले हस्तक्षेप गर्नु हुँदैन भन्ने तर्क उहाँको रह्यो । कसरी उहाँ अमेरिकामै हुर्केका आफ्ना छोराछोरीको विवाहमा आफूले सोचे सम्झेका सबैलाई निम्तो गर्न असमर्थ हुनुभयो भन्ने कुरा रोचक थियो । "यता हाम्रातिर त सम्पूर्ण चिनाजानका मान्छे नबोलाए रिसाउँछन् । धेरै मान्छे बोलाएपछि स्वभावतः खर्च बढी नै लाग्छ । तर उता त अति निकटबाहेक अरुलाई बोलाइँदैन । नेपाली पारा गरेर आफूले बोलाउन खोज्दा पनि छोराछोरी मानेनन् । आफूले  कहिल्यै नचिनेका, नदेखेका र नबोलेका मानिसहरुलाई तपाईंहरु मेरो बिहेमा किन बोलाउनुहुन्छ ? यो त मेरो बिहे हो । कसलाई बोलाउने भन्ने कुराको निधो म गर्छु , भनेर छोरो कड्किएपछि चुप लाग्नै पर्यो,” दिदीले मनको वह पोख्नुभयो ।


यस्तै विवाहको चर्चा चल्दा मैले हाम्रा ठाउँतिर कसरी बाबुआमाले खोजिदिएका कहिल्यै नदेखेका, नबोलेका मानिससँग विवाह गरेर जुनी बिताउनु पर्छ, भन्ने कुरा मेरा अष्ट्रेलियन साथीहरुलाई सुनाउँदा उनीहरु छक्क परेका थिए । एकैपटक पनि नदेखी कसरी बिहे हुन सक्छ र ती जोडीले कसरी एक जुनी गुजार्छन् भन्ने कुरा बुझाउन मलाई कठीन परेको थियो । हो पनि, जुन देशमा व्यक्तिगत स्वतन्त्रतामा बिल्कूलै अंकुश लगाइँदैन, मानिसहरु आफ्नो प्रकारले आफ्ना जीवनसाथी निर्वाध रुपले छनौट गर्न पाउँछन्, उनीहरुका लागि मेरा कुरा नौला नै थिए । जीवनसाथी छनोट गर्न आफ्नो विवेक प्रयोग गर्न नपाइने परिस्थितिलाई उनीहरुले अलि जंगली र पशुवत प्रथा हो भन्ने निश्कर्ष निकालेका थिए । वर्षौदेखि चलिआएको प्रचलनका विषयमा अरुले औँलो ठड्याउँदा म पनि एकपटक त झसंग भएँ । अझ तिनीहरुले हाम्रा आमा हजुरआमाहरुको बिहे सात आठ वर्षकै उमेरमा हुन्थ्यो भन्ने सुनेका भए के भन्दा हुन् ? यिनै कुराहरुले मलाई साउथ अफ्रिकी लेखक चिनुवा आचेबको ‘विवाह नीजि मामिला हो’ भन्ने कथाको याद आयो । कथामा दुई युवा युवती आफ्ना खुशीले विवाह गर्छन् । परिवारले र समाजले समेत लामो समयसम्म उनीहरुबीचको अन्तर्जातीय सम्बन्धलाई स्वीकार गर्दैन तर पछि गएर नाति नातिनाको मायाले गर्दा उनीहरु परिवारमा स्वीकार्य हुन्छन् । सुदूर देशमा लेखिएको कथा भए पनि हाम्रो परिप्रेक्ष्यमा आचेबको कथाले मेल खान्छ ।


एकजना युवा नेताको भाषण आजकल लोकप्रिय भएको छ । भाषणमा नेताले छोरी दिनभन्दा भोट दिन अझ सोचविचार पुर्याउनु पर्ने तर्क गर्छन् । जनतालाई सही मान्छे चुनेर भोट खसाल्नु पर्ने कुरा बुझाउन उनले यो भाषा प्रयोग गरेका हुन् । उनी बुझाउन सफल पनि छन् । तैपनि उनको विचार पुरातनपन्थी लाग्यो मलाई । छोरीलाई राम्रो पढाइ लेखाइ गराएर आत्मनिर्भर बनाउन सके उनको बेहुलो उनी आफै छान्न सक्छिन् । नेताले भाषणमा भनेजस्तो केटीका बाबुआमाले जुवाइं तौलेर हिंड्नु पर्दैनथ्यो । आफू सुहाउँदो केटा होस् वा केटी एउटा वयस्क मानिसले आफैं खोज्न सक्छ । पुरानो समयमा केटाकेटीको उमेर परिपक्व नभैसकेको अवस्थामा बाबुआमाले जोडा खोजिदिनु ठिकै पनि हो । आजको परिप्रेक्ष्यमा चिनुवा आचेबले भने जस्तै विवाह “प्राइभेट अफेयर” नै हो । यसका लागि केटाकेटीले आफ्नो जीवन साथीको छनोट पनि आफैं गर्न सक्नुपर्छ, आफ्नो रुचीअनुसारको मानिस अरुले खोजिदिन सक्दैन । जसरी जसरी विवाह गरे पनि अन्तिममा आएर त केटा र केटी दुई जना मिलेर नै जीवन चलाउने हो, होइन र ? यसैले मलाई त ‘माइ लाइफ माइ च्वाइस’ भन्ने स्लोगन घच्चीको लाग्छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 8 April 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).