Friday 31 December 2021

एक रित्तो किताब

 


    सुफी समुदायमा प्रिय मानिने एउटा पुस्तक छ – द बुक अफ द बुक अर्थात किताबको पनि किताब । अत्यन्त सुन्दर सुनौलो आवरण भएको करिब ३०० पृष्ठ मोटो यो किताब इद्रिस शाहले सन् १९६९ मा लेखेका हुन् । सुफी दर्शनमाथि करिब तीसवटा पुस्तक लेखिसकेका भारतीय मूलका शाहले यो नौलो पुस्तक किन लेखे होला भन्ने कुरा सुफीजम जत्तिकै रहस्यको गर्भमा छ । यस पुस्तकका अघिल्लो खण्डका दुईसय शुभ्र पानाहरु रित्ता छन् । नितान्त रुपमा यिनमा कुनै अक्षर छैनन् र पछिल्ला केहि पानामा मात्र अक्षरहरु छन् । ती पछिल्ला खण्डमा भएका अक्षरहरुको मूल सारमा भनिएको छ, “भाँडो हेरेर भाँडाभित्र के राखिएको छ भनेर आँकलन गर्न सकिँदैन ।”

            यस पुस्तकलाई ब्रिटिश संग्रहालयले शुरुमा पुस्तक नै मानेनछ र फिर्ता गरिदिएछ । पछि युनेस्कोले पत्र लेखिकन अनुरोध गरेपछि बल्ल संग्रहालयले यो पुस्तक जिम्मा लिएछ । कतिपय ग्राहकहरुले समेत यसलाई ठगीका रुपमा लिएछन् । शब्दहरु बिनाको ढड्डुलाई कसरी पुस्तक मान्नु ?

शब्दहरु निरर्थक हुन्

            हामी एक जीवनमा करोडौं शब्दहरु बोल्छौं । एक दिनमै करोडौं शब्दहरु लेखिन्छन् । हामीले बोलेका, सुनेका, पढेका र लेखेका शब्दहरु केहि क्षणका लागि अर्थपूर्ण लाग्लान् र ती उत्तिकै निरर्थक पनि लाग्लान् । हामीमा चेत भरिएपछि नै यो अर्थपूर्ण र निरर्थकताको खेलमा निर्लिप्त हुन्छौँ । तर यी शब्दबिनाको समय हामीलाई कस्तो लाग्छ ? इद्रिश शाहको पुस्तक जस्तो रित्तो, शब्द बिनाको समय ? हो, यस्तो रित्तो समयमाथि पनि धेरै शब्द खर्च भएका छन् । हजारौं लाखौं पुस्तक रित्तो समयमाथि लेखिएका छन् । त्यो रित्तोपनालाई त्यत्तिकै रित्तो रहन दिइएको छैन । अझ अहिलेको आधुनिक समयमा त रिक्तताको पाठ पढाउन धेरै तालिम केन्द्र खोलिएका छन् । इन्टरनेटमा रिक्तता सिकाउने कति हो कति पाठहरु छन् ; भिडियोहरु छन् । मूलतः रिक्तता सिकाउने आधुनिक गुरुहरु अति सुन्दर आसनमा बसेर, भड्किला वस्त्र धारण गरेर, शब्दका भरमा रिक्तता सिकाइरहेका छन् । हामी फेरि पनि शब्दजालमा परेर रिक्तताको आशामा भड्किरहेका छौँ । गुरुहरुलाई दक्षिणाको ओइरो छ । गुरुहरुका नाममा भव्य दरवारहरु बनाइएका छन् । हामी उनीहरुसँग शाब्दिक रिक्तताको पाठ पढिरहेका छौँ ।

            हाम्रो धड्कन र श्वास प्रश्वास बाहेकको स्थायी प्रिय कुरा सोचविहिनको अवस्था हो । जतिसुकै रमाइला, अचम्मका, चाखलाग्दा, उदेकलाग्दा कुरा हाम्रा समीपमा आए पनि हामी फेरि दिक्क बन्छौँ । एकछिनलाई हामी निश्चिन्त बन्न चाहन्छौं । एकछिन केही नसोच्न, नहेर्न,  नसुन्न र नबोल्न चाहन्छौं । जसरी हामी सामान्य अवस्थामा हाम्रो धड्कनलाई वेवास्ता गर्छौं,  निरन्तरको श्वास प्रश्वासलाई कुनै महत्व दिदैनौँ, त्यसैगरी यो आकस्मिक शुन्यता, विचारहिन अवस्थालाई पनि वेवास्ता गर्छौं । क्षणीक शुन्यतालाई विचारहरुको बादलले निमेषभरमै ढाकिदिन्छ । विचारहिन हुन बल गर्न पनि  विचारै गर्नुपर्छ । आफू विचारशून्य अवस्थामा छु कि छुइन भनेर पनि फेरि विचारै नगरी हुन्न । चुप लागेर बस्नु विचारहिन अवस्था होइन किनभने हामी भित्रभित्रै बोलिरहेकै हुन्छौं ।

            दुईजना वृद्धहरुका बीचमा लामो समयदेखि प्रगाढ मित्रता थियो । उनीहरु बिहानको खानापछि नजिकैको खुला चौरतिर जान्थे । घण्टौँ सम्म नबोलिकन बस्थे र जुरुक्क उठेर आ–आफ्ना बाटो लाग्थे । यो उनीहरुको दैनिकी नै थियो । यस्तैमा दुईमध्येको एक जनाको मृत्यु भयो । त्यो मृत्यु घटनापछि ती जीवित वृद्धलाई गाउँलेहरुले सोधे, “ती मृत साथीलाई तपार्इं निकै सम्झिनुहुन्छ होला नि ! सधैँ सधैँ तपाईंहरु चौरीमा घण्टौं बस्नुहुन्थ्यो ।” ती वृद्धले उत्तर दिए, “हो । खासगरी म ती मेरा साथीसँग घण्टौं गफ गर्थें ।”


            ती वृद्ध मित्रहरु आपसमा बोलेर होइन कि नवोलिकनै वार्ता गर्थे । यो आवाजविहिन वार्ताका लागि शून्यता पढ्न सक्ने क्षमताचाहिं विकास गर्नुपर्ने हुन्छ । त्यसैले शान्ति भनेको आवाजहीन अवस्था मात्र नभई अर्थपूर्ण अवस्था पनि हो । ती बूढाहरुको जस्तो शून्य अवस्थामा पुग्न कुनै जंगल पस्नुपर्ने वा हिमालतिर जानुपर्ने पनि होइन । यो त भीडमा, जन्जालमा, कोलाहलमा समेत शान्तिपूर्वक रहन सक्ने अवस्था हो ।

            यस्तै प्रसंगमा एउटा चेलाले गुरुलाई सांसारिक जंजालबाट कसरी मुक्ति पाउने भनेर सोधेछ । गुरु चुप लागेर बसिराखेछन् । उत्तर पर्खिंदा पर्खिंदा ऊ थाकेर हिंडेछ । भोलिपल्ट, पर्सिपल्ट गर्दै निकै दिनसम्म त्यो प्रश्न सोध्ने क्रम चलेछ । तर गुरुले मुख खोलेनछन् । अन्त्यमा साह्रै नै विरक्तिएर चेलाले सोधेछ, “मैले एउटै प्रश्न निरन्तर सोधिरहँदा पनि उत्तर पाइँन । किन होला ?”

            गुरुले अन्त्यमा भनेछन्, “म सधैँभरी उत्तर दिइरहेको थिएँ । मेरो निःशब्द उत्तरलाई तिमीले सुन्नै सकेनौ । तिमी निरन्तर बोली नै रह्यौ ।” अनिमात्र चेलाले बुझेछ गुरुले दिएको उत्तर नै त्यो शान्ति थियो ; निःशब्द उत्तर थियो ।

समय कति भयो ?

            यो मनमा भय पैदा हुन र अशान्तिको बादल फैलिन कति पनि बेर लाग्दैन । हामी जलपाइगुडीको रेलवे स्टेशनमा एक कुनामा कुक्रुक्क बसिरहेका थियौं । टोलीका सहयात्रीहरु अर्धनिद्रा अवस्थामा थिए । रेल आइपुग्न ढिला भएकाले दिक्क भएका मानिसहरु विरक्तिपूर्ण अनुहार लिएर लर्खराइरहेका थिए । हामी बसेकै छेउमा एक जोगी आएर बस्यो । उसको पोको छेउमा राख्यो । चियावालाले डुलाउँदै ल्याएको एक कप चिया किन्यो । म उसका कृयाकलाप नजानिंदो गरी हेरिरहेकी थिएँ । शायद उसले मेरो मनको भय पनि पढिरहेको हुनुपर्छ । मैले अप्ठेरोपन चिर्न, छेवैमा बसिरहेका आफ्ना श्रीमानलाई कति बज्यो भनेर अंग्रेजीमै सोधें । त्यो मेरो झूठो प्रश्न थियो । किनभने हाम्रै नाकका सोझीमा राता ठूला अक्षरमा डिजिटल वाचमा समय देखिइरहेको थियो । मेरो सामान्य बुझाइमा त्यो छेउको जोगी अंग्रेजी नबुझ्ला र त्यसका बारेमा कुरा गरौंला भन्ने ठानेर मैले समय सोधेकी थिएँ ।

            मेरो अनुमानको विपरित जोगी बोल्यो, त्यो पनि पक्का ब्रिटिश एक्सेन्टमा । हामीतिर हेरेर उसले भन्यो, “कहाँ छ समय ! समय तिमी अगाडि पनि थियो । तिमी पछाडि पनि रहिरहन्छ । मान्छेले समय टुक्र्याउने कोशीस मात्र गरिहेरेको हो तर यो अनन्तदेखि अनन्तसम्म रहिरहन्छ ।”

            त्यसोभए त्यो भित्ते घडी के हो त ?”, मेरो मनमा आयो । तर सोधिँन । भित्ते डिजिटल घडीतर्फ औल्याएर ऊ आफैंले भन्यो, “यो त मान्छेको सजिलाको लागि हो । संसार घडीबिना चल्दैन तर वृहत रुपमा हेर्दा समय बदलिंदैन । समय स्थिर छ । रेल चढेपछि एउटा कुरा विचार गर्नू — झ्याल बाहिर हेर्दा रुख, घर, सडक लगायतका सबै कुरा दौडेको देखिन्छ । ती साँच्चै दौडेका हुन् त ?”

           


फेरि समयको चर्चा गर्नैपर्ने भयो । एनाउन्समेन्ट सुनियो । रेल आयो । मानिसहरु घडीसँगै कुदाकुद गर्नुपर्ने भयो । त्यस जोगीका कुराहरुले मलाई कोतरिरहेका थिए । आइन्सटाइन्ले समेत दिक्कालको ब्याख्या गर्दा समयलाई पनि ब्रम्हाण्डको एक आयाम मानेका रहेछन् । ब्रम्हाण्डका हरेक वस्तु परिवर्तनीय छन् तर अन्तरिक्ष आफैंमा स्थिर छ । समय स्थिर छ । हाम्रो दिमाग चलिरहन्छ । दार्शनिक कृष्णमूर्तीले भनेका छन्, “हाम्रो दिमाग नै समय हो ।” सुन्दा अचम्म लागे पनि दिमाग चले समय चल्छ नत्र समय स्थिर हुन्छ । अल्छि लागे, दिक्क लागे समय लामो हुन्छ, अनि खुशीका समयमा त्यहि समय छोटो हुन्छ । तर वास्तविक अर्थमा समय वर्तमान अवस्थामा मात्र अडिएको हुन्छ – न त भूत हुन्छ, न त भविष्य हुन्छ । वस्तुहरु, घटनाहरु देखापर्छन, बिलाउँछन्

            इद्रिस शाहको रित्तो किताब मलाई अर्थपूर्ण लाग्यो किनभने यसले स्थिर चित्तको प्रतिनिधित्व गर्दछ । यस पुस्तकले अपरिवर्तनीय समयको विम्व बोकेको छ । पुस्तकले समय वृत्तमा गरिने हरेक मान्छेका जीवनकथा बोकेको छ । ती जीवनकथालाई जसले जसरी पढे पनि हुन्छ । अक्षरहिन पुस्तकलाई जताबाट शुरु गरेर जता अन्त्य गरे पनि हुन्छ ।

 (Published in a Nepali national daily Purbasandesh, Damak, Jhapa on 31 December 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).