Tuesday 5 April 2022

तिमी हारे पो हामी जित्छौं

         


        चुनावले बजार तानेको बेला छ अहिले । आ–आफ्ना फण्डा लिएर सबै राजनीतिक दल अघि बढेका छन् । यस किसिमको चुनावमा चासो किन हुन्छ वा किन हुँदैन भन्ने कुराले मलाई आजकल कोतरिरहन्छ । हरेक पटक चुनावले ठूला ठूला योजना र सपनाका ज्वारभाटा नै ल्याउने गर्छ । यो चुनावी खेलमा शाब्दिक रुपमा वितण्डा मच्चाउन सक्ने व्यक्ति अघि बढ्छ र इमान्दार व्यक्ति लड्छ । जसले ठूलाठूला डिङ्ग हाँक्न सक्छ, ऊ नै प्रतिस्पर्धामा अगाडि आउँछ ।

        अहिले त अब त्यति प्रचनलमा नहोला तर केहि दशक अगाडि सम्म गोरु जुधाइ खेल्ने प्रचलन थियो । आ–आफ्ना गोरुलाई चौरमा लग्ने र जुधाउने अनि थप्पडी बजाउने । प्रतिस्पर्धा हो, हार र जीत त भइ नै हाल्छ । हार्ने पक्षले शीर झुकाएर हिँड्ने र जित्नेहरुले उल्लासमा शीर ठाडो पारेर हुँकार गर्दै हिँड्ने गर्छन् । अहिलेका चुनावी प्रतिस्पर्धा गोरु जुधाइ जस्तै लाग्छ मलाई । हामी आफ्नो गाँस काटेर तिरेको करमाथि ती जित्नेहरुलाई मनोमानी गर्ने अधिकार दिन्छौँ । जुन व्यक्ति हिजोे लामो प्रतिवद्धता पत्र बोकेर अगाडि बढेको र जितेको थियो, त्यहि व्यक्ति विभिन्न बहानामा काम गर्न नसकेको लाचारी प्रकट गर्छ र फेरि जनतासामु केहि झुठा सपनाका पुलिन्दा बोकेर गिड्गिडाउन आइपुग्छ । अहिले त्यहि कुराको पुनरावृत्ति भइरहेको छ ।
        एउटा सामान्य मनुष्यले समेत प्रश्न गर्छ– के यी जनप्रतिनिधिहरुको कुनै उमेर हद हुँदैन ? के यिनीहरुले कुनै शिक्षाको तह पूरा गर्नुपर्ने वाध्यता हुँदैन ? वास्तवमा सामान्य जस्तो लागे पनि यी अत्यन्त महत्वपूर्ण प्रश्नहरु हुन् । एउटा जागिरेको जागिर खान पाउने उमेरको हद हुन्छ । यदि कसैमा अझै  धेरै समयसम्म काम गर्न सक्ने क्षमता र दक्षता हुँदा हुँदै किन अवकाश दिइन्छ त ? यसका पछाडि खासगरी खच्कँदो उमेरसँगै आउने शारीरिक र मानसिक दुर्वलता नै हो । एउटा उर्वर काल कटिसकेपछि मानिस लगायत कुनै पनि जीव विस्तारै जीर्ण हुँदै जान्छ । उसबाट धेरै ठूलो उत्पादकत्व क्षमताको अपेक्षा गर्न सकिँदैन । कतिपय कार्यक्षेत्रमा त अझ वृद्धावस्थातिर लम्केका मानिसहरुबाट खतरा नै आइपर्ने डर हुन्छ । यसका साथै बुढाखाडाहरुले कुनै पद र पेशामा टाँसिइरहने हो भनेँ नयाँ पुस्ताले पालो नै पाउँदैन ।
यस बहसले हाम्रोमा मात्र नभइ विदेशतिर पनि चुनाव ताका ठाउँ ओगट्ने गरेको छ । गएको राष्ट्रपति चुनावमा भिडेका जो वाइडेन र डोनाल्ड ट्रम्प सत्तरी माथिका थिए र तीमध्ये हाल वाइडेन अमेरिकी राष्ट्रपति छन् । भारतीय प्रधानमन्त्री मोदी समेत सत्तरी नाघिसके । विश्वव्यापी रुपमै राजनीति, चिकित्सा र वकालत पेशामा हुनेहरु प्रायः सेवानिवृत्त भएर ढुक्कले बसेको पाइँदैन । हाम्रो सन्दर्भमा हेर्ने हो भनें प्रमुख दलका शीर्ष व्यक्तिहरु सत्तरी वा सोभन्दा माथिकै उमेरका छन् । तिनैमध्ये केहि व्यक्तिहरु पटक पटक सरकार प्रमुख भैसकेका छन् । उनीहरुका क्षमता र दक्षताका बारेमा जनताहरु पनि अनभिज्ञ छैनन् । उनीहरु दोहोर्याएर  सत्ता प्रमुख बनिसकेका छन् । फेरि पनि तिनै पुराना अनुहारहरु अगाडि बढिरहेका छन् । गर्न सक्ने र क्षमता हुने व्यक्ति वा पार्टीले एकै पालोमा केहि जनमुखी काम गर्न सक्छ र आफ्नो मार्ग फराकिलो पार्न सक्छ । यस कुराको उदाहरण भारतमा उदाइरहेको आम आदमी पार्टी र यसका अगुवा केजरीवाललाई लिन सकिन्छ । सन् २०१२ देखि उदाएको आम आदमी पार्टीले छोटो समयमै जनतालाई प्रभाव पार्न सकेको छ । विगत सत्तरी वर्षदेखि शासन गर्दै आएका पुराना पार्टीसँग वाक्क भएका जनताले केजरीवालको उत्साहलाई साथ दिएका छन् ।


        यहाँ कसैको अपमान गर्न खोजिएको त होइन तर देश र समाजको लागि वर्तमान र भविष्यको खाका कोर्ने क्षमता भएका मानिस हामीले विगतमा चुन्न नसकेकै हो । हाम्रो सन्दर्भमा हेर्ने हो भनेँ देशले विकल्प खोजेको छ । पुराना नेता र पुराना भनिएका पार्टीले देशलाई अगाडि बढाउन सक्ने क्षमता प्रस्तुत गरेका छैनन् । नयाँ तथा वैकल्पिक शक्ति भनिएका पार्टीहरुमा समेत पुरानै व्यक्तिहरु हावी छन् । अलिकति आशा जगाउन खोजेको साझा वा विवेकशील समेत आन्तरिक लैलफडामा फँसेर फुट्ने , जुध्ने र टुट्ने भैरहेका छन् । अहिले घोषणापत्रको मौसम पनि चलेको छ । स्वदेशमै रोजगार सिर्जना गर्छौं  भनेर मौखिक प्रतिबद्धता प्रकट नगर्ने कुनै पनि पार्टी छैनन् । तर त्यस कुरामा कुनै तुक हुँदैन । कसरी, कहाँ, कहिले भन्ने कुराको योजना र खाका कतै भेटिदैँन । ससाना क्षणिक लाभका वृद्ध भत्ता बढाउने, सडक पीच गर्ने, खानेपानीको व्यवस्था गर्ने जस्ता झिना मसिना एजेण्डा बोकेर पार्टीहरु घर दैलो चहार्न थालेका छन् । हामी सबैलाई थाहा छ, जित्नेहरुले के के गर्छन् भन्ने कुरा । कसैले जिते वा हारे पनि हामीजस्ता आम जनताको जीवनमा तात्विक अन्तर आउने छैन । बजार भाऊ घट्ने छैन । शिक्षा, स्वास्थ्य र रोजगारको स्थितिमा सुधार आउनेछैन । चुनावको नाममा ठूलो धनराशी खर्च गरेर पनि नचुनिनु पर्ने मानिसहरु चुनिनेछन् । यी तीता यथार्थ हुन्, तर सत्य यही नै हो । नत्रभनेँ पार्टी प्रवेश गर्नेहरुको भीड हेरौँ । लंगुरबुर्जा खेलमा दाऊ लगाएजस्तै आज एक पार्टीमा र भोलि अर्को पार्टीमा हुलका हुल मानिस कुदिरहेका छन् । यी नवप्रवेशीहरुले गर्ने सिद्धान्त र आदर्शका कुरा फोस्रा गफ मात्र हुन् । एउटा सिद्धान्त बुझ्ने मानिस त एकै ठाउँमा बसेर टिकिरहन सक्नुपर्ने हो । तर जता भीड छ, जता चटक छ, त्यता दौडिनेले के सिद्धान्त बुझेको होला ?
        हाल देखिएको चुनावी गठबन्धन समेत अत्यन्त अप्रजातान्त्रिक प्रक्रिया हो । जनताले आफ्ना खुशीले उम्मेद्वार छनौट गर्ने अधिकारबाट जनतालाई वन्चित गराएर मिलेमतोमा मान्छे उभ्याउने काम प्रजातान्त्रिक हुनै सक्दैन । यो त सत्तामुखी कार्य हो । चुनावी प्रक्रियामै गठबन्धन खडा गर्नु देश र जनताप्रति घात हो । अलग अलग सिद्धान्त र आदर्श बोकेका राजनीतिक दलहरु सत्ता स्वार्थका लागि एक हुन सक्छन् भने तिनीहरु आपसमा मिलेर एकै दल निर्माण किन नगर्ने  ? जसरी जुन हालतमा पनि चुनाव जित्नु नै मात्र उद्देश्य हो भने तिनीहरुबाट जनहितको अपेक्षा कति गर्न सकिन्छ ? जनप्रियहरुले कुनै तिकडमबाजी नगरिकिनै जित्छन् । जनताको मन मुटु जित्न सक्नेहरुलाई गठबन्धनको जरुरत पर्दैन । एक्लो लडाईँ जित्न नसक्नेहरुले मैदानमा अग्रसर नभएको राम्रो । तिमीहरुले हारे मात्र जनताले जित्छन् । जनताको हित सोच्ने हो भने प्रतिगामीहरुले, पुरातनपन्थीहरुले, वृद्धावस्थाका नेताहरुले मार्ग प्रशस्त गरेकै राम्रो । तिमीहरुले एकपटकलाई हारिदिएकै राम्रो ।


        अब जित्ने चाहिँ कसले त ? प्रश्न उठ्न सक्छ । दल, छाप र सिद्धान्त जस्ता कुरालाई एकछिन बिर्सिएर संयमी, पठीत, निष्कलंक र उर्जावान् युवकहरुको जमातलाई अघि लगाउने हो भनेँ देशले पक्कै पनि नयाँ मार्गचित्र कोर्न सक्छ । होइन, पुरानै 
उर्जाहिन समूहलाई अघि लगाउने हो भनेँ हाम्रा दुुर्दिनहरु टाढा छैनन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 1 April 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



2 comments:

  1. Each vote is responsible for the future of nations. Love to read this article 🙏♥️

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).