Monday 30 May 2022

ऐनाको दोष छैन

 

ताउम्र गालिब यही भूल करता रहा

धूल चेहरे पे थी और

आइना साफ करता रहा !

         


गालिबका यी हरफले धेरै गहिरो अर्थ बोक्छन् । मेरा लागि अहिले यी हरफहरु भर्खरै सकिएको चुनावका लागि भनेरै गालिबले लेखेका रहेछन् जस्तो लागिरहेछ । चुनावहरुले ठूलो अर्थ बोक्छन् । यिनकै आधारमा देशको भविष्य र गन्तव्य निर्धारण हुन्छ । तर यो कुरा जनस्तरमा अझै पनि राम्रोसँग पुग्न सकेको छैन । राजनीतिकर्मीहरुले जनतालाई पाँच वर्षमा एक पटक छाप हान्ने प्रयोजनका रुपमा मात्र महत्व दिएका छन् । अझ लोकतान्त्रिक पद्धतिमा चल्न कसम खाएका राजनीतिक दलहरुले त स्पष्ट रुपमा जनसमस्याहरुलाई आधार बनाएर चुनाव जित्ने अस्त्र मात्र बनाएका छन् ।

आत्मसमीक्षा

          हामी रमितेहरुका लागि यसपालिको स्थानीय चुनाव पहिले पहिलेका चुनाव भन्दा रोचक रह्यो । यसमा गठबन्धन पक्ष हुनु र स्वतन्त्र पक्षको उम्मेद्वारी पर्नुले पनि रोचकतामा मसला थपियो । ठूला मानिएका दलले उठाएका धेरै उम्मेद्वारहरुले उनीहरुकै आधार क्षेत्र मानिएका ठाउँमा हारे । ठूला मानिने दलका पुराना पकड क्षेत्र मानिएका ठाउँहरुमा नतिजा उल्टियो । यस परिणामलाई हेर्दा हामी रमितेहरु त छक्क पर्नु स्वभाविक भए पनि ठूला मानिएका दलहरु भने तीन छक्क परेका छन् । उनीहरुले हारलाई सहज रुपमा स्वीकार गर्न सकिरहेका छैनन् । आफ्ना कमी कमजोरीलाई उनीहरुले सहज रुपमा लिन सकिरहेका छैनन् । आफ्नै पुरानो रेटोरिक प्रयोग गरेर अन्तर्घातको आलाप गाइरहेका छन् । उनीहरुले आफ्नो अनुहार धुने र सफा गर्ने प्रयास गरेकै छैनन् । त्यसको सट्टा जनतारुपी ऐनालाई दोष थोपरिरहेका छन् । आत्मसमीक्षा शब्दको दुरुपयोग गरेर अरुलाई लाञ्छना मात्र लगाइरहेका छन् । 

          राजनीतिक दलहरुले प्राप्त गरेका अनपेक्षित चुनावी परिणामका पछाडि ती दलका प्रतिनिधिहरुले गरेका कार्यहरु नै हुन् । जस जसले आफ्नो धरातल नबिर्सी जनतासँग हातेमालो गरेर काम गरे ती दलका प्रतिनिधिहरु पुनः चुनिएका छन् । तर जसले राजनीतिक संस्कारलाई बिर्से, वित्तिय अनुशासनमा बस्न सकेनन् र जनसमस्याबाट परपर भए त्यस्ता व्यक्तिले हारे । यो स्वभाविक तथ्य हो । दल, छाप र सिद्धान्त जस्ता कुरालाई एकछिन बिर्सिएर संयमी, पठीत, निष्कलंक र उर्जावान् युवकहरुको जमातलाई अघि लगाउने हो भनेँ देशले पक्कै पनि नयाँ मार्गचित्र कोर्न सक्छ भन्ने कुराको प्रमाण पनि हो यो । 

 जादूको छडी

         


पूर्वतिर हर्क साम्पाङ्ग र काठमाडौँमा बालेन्द्र शाहको लौरोले यसपटक चमत्कार गरे । मेरो आफ्नो मूल्याङ्कनमा यी दुवै अनुहारहरु राजनीतिक वृतमा पुराना थिएनन् । यिनीहरुका घोषणापत्र पढेर सर्वसाधारण जनता पछि लागेका पनि होइनन् । हामीले त्यस किसिमका घोषणापत्र प्रत्येक चुनावमा देखेका र सुनेका हौँ । ती घोषणापत्रहरुले कुनै तात्विक अर्थ पनि राख्दैनन् । यो कुरा हामी सर्वसाधारण जनताले देखेको, बुझेकै हो । यसपल्टको साम्पाङ्ग र शाहप्रतिको झुकाव दलहरुप्रतिको वितृष्णाको परिणाम हो भन्न पनि सकिन्छ । यो जागरुक र युवा व्यक्तिहरुलाई अगाडि लगाउनु जरुरी छ भन्ने सन्देश हो । अब पनि चिन्तनशक्तिको हद म्याद पार गरिसकेका व्यक्तिहरुले पार्टी र देश हाँक्ने दुस्साहस नगरुन् भन्ने सन्देश पनि हो । चेतनशील वर्गले उठाएका लौराहरुले अब आउने संसदीय चुनावमा पक्कै ठूलो अर्थ राख्छन् । राजनीति भनेको एक अर्काप्रति गरिने गाली–गलौज र दोषारोपण मात्र होइन रहेछ भन्ने कुरा यी लौराका उदाहरणबाट नसिके अझ ठूलो क्षति राजनीतिक दलहरुले बेहोर्नु पर्ने कुरा अकाट्य छ । पञ्चायतकाल पछिको हिसाब किताब हेर्दा दलहरुले तीन दशक देखि शासन गरिआएका छन् । यस अवधिमा मूलतः कांग्रेस, एमाले र माओवादीले देशमा शासन चलाए । यस समयावधिमा जनताको जीवनस्तर र शासकीय मानसिकतामा खासै सुधार आएन । चुनावको समयमा शिक्षा, स्वास्थ्य र रोजगार प्रमुख मुद्दा रहिआए पनि यिनै विषयहरु उपेक्षित रहे । यिनै दलीय असफलताका परिणाम स्वरुप बालेन शाह र हर्क साम्पाङ्गजस्ता पात्रहरु जनताका रोजाइमा परे । मतदाताहरुले आफ्ना विचारहरु बन्दकी राख्दैनन् र दलीय उर्दीका आधारमा जो जस्तो उम्मेद्वार उठाए पनि मत हाल्दैनन् भन्ने कुराको प्रमाण पनि हो यो स्वतन्त्र उम्मेदवारहरुको जीत ।

          तीस वर्ष अगाडिको समयलाई हेर्दा पञ्चायत विरोधी संघर्षमा दलहरुले ठूलो भूमिका खेलेका हुन् । उनीहरुका राजनीतिक सिद्धान्त र विचारलाई आधार बनाएर जनताले पटक पटक दलहरुलाई जिताए । तर यसबीचमा दलहरु समेत आफ्ना सिद्धान्त र विचारबाट डगमगाएका छन् । यस कुरालाई अहिलेको समयको सामाजिक संजालले ल्याएको खुला सम्वाद क्रान्तिले समेत बल पुर्याएको छ । दलहरुले आफ्ना सिद्धान्त र व्यवहारबारे मेल गराउन नसक्दा अहिलेको परिस्थितिमा जनताले दलीय छाप भन्दा उम्मेद्वारको व्यक्तिगत चरित्रलाई ध्यान दिएको देखिन्छ । राजनीतिक दल र त्यसका मूल पात्रहरुले दलीय सिद्धान्तको बहस भन्दा पनि व्यक्तिगत आरोप प्रत्यारोपमा समय खर्चिएको देखिन्छ । यसको मूल्यांकन जनताले गर्न थालेका छन् । दलीय आस्थाप्रति जनता विमूख हुँदै जानु राम्रो संकेत होइन । दलीय आस्थाप्रति जनता विमूख हुँदै जानुको अर्थ अर्को किसिमको संघर्ष र अराजकतालाई निम्तो दिएको हो । यो किसिमको अराजक स्थितिलाई नियन्त्रणमा ल्याउन प्रमुख राजनीतिक दलहरु नै जिम्मेवार छन् । उनीहरु आफ्ना सिद्धान्त र व्यवहारमा अडिग रहनुपर्छ । जनतामुखी हुनैपर्छ र लोकतन्त्रलाई जोगाउनुपर्छ ।

अभिमतरुपी ऐना

         


अहिलेको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले पाएको भोट पक्का जन अभिमत हो । यी जनप्रिय उम्मेद्वारहरु कुनै दलका विरुद्धमा नभई जनताका आड भरोसामा उभिएका उम्मेद्वार हुन् । पुराना कार्यकाल दोहोर्याएर उठेका सबै उम्मेद्वार पनि हारेका होइनन् । ललितपुरका चिरिबाबु महर्जन यसका उदाहरण हुन् । जनताले पत्याएका चिरिबाबु जस्ता व्यक्तिहरु, सुनिल प्रजापतिजस्ता उम्मेद्वारहरु हार्दैनन् किनभनेँ उनीहरु आफूमात्र जितिरहेका छैनन्, जनतालाई पनि जिताइरहेका छन् । दलहरुका गतिविधिका कारण नै अहिलेको दलहरुले चुनेका प्रतिनिधिहरुको हारको प्रमुख कारण हो ।

          अर्कोपट्टि हेर्ने हो भने राजनीतिक दलले आफ्नो गढ ठानेका क्षेत्र र जनताको मत लिन सक्षम ठानिएका उम्मेद्वारहरु हारिरहेका छन् । यस पटकको मतदान परिणामले दलहरुलाई जनताका अभिमतरुपी ऐनामा  पुनः एकपटक आफ्नो धूलोले छोपेको अनुहार हेर्न र धूलो मैलो पखाल्न सन्देश दिएको छ । अझै पनि उनीहरुले ऐनालाई नै दोष दिने हो भने, जनता भेडै हुन् भन्ने हो भने, अब आउने प्रदेश र संघीय चुनावमा उनीहरुले ठूलो क्षति बेहोर्नु पर्नेछ । यस स्थानीय चुनावले सिकाएको पाठलाई अझै पनि उपेक्षा गर्ने हो भने जनताले आफैं विकल्प खोज्ने रहेछन् । झूठ र पैसाको राजनीति जनताले चाहेको होइन रहेछ भन्ने कुराको सन्देश पनि यस पटकको स्थानीय चुनावको परिणामले दिएको छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 27 May 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).