धेरै समयको अन्तरालपछि यसपाली फेरि असम यात्रा जुर्यो मलाई । कस्तो अचम्म ! कोरोना कालअगाडि पनि मैले अन्तिममा असम यात्रा नै गरेकी थिएँ । त्यतिबेलाको यात्रा गुवाहाटीसम्मको मात्र थियो । यो पटक भने त्यहाँभन्दा पर तेजपूर र विश्वनाथ चाराली सम्मको यात्रा तय हुने भएकोले म त्यो यात्रामा सम्मिलित हुन लोभिएकी थिएँ ।
हुन
त यो साहित्यिक यात्रा थियो तर म भनेँ नयाँ ठाउँ हेर्न र त्यहाँका मानिसहरुको
रहनसहन बुझ्न बढी उत्सुक थिएँ । हाम्रो टीम पनि यसपाली त जम्बो नै थियो– दश जनाको
। डा. गोविन्दराज भट्टराईको नेतृत्वमा हामी सबैजना पछि लागेका थियौं । आफूभन्दा
अग्रजहरुसँग जाने भएकाले यो पटक कहाँ बस्ने, कहाँ जाने, के
के गर्ने भन्ने कुराको जिम्मा उहाँहरुले नै लिनुभएको थियो । मैले मान्नुपर्ने शर्त
खालि टीममा मिल्न सक्नु थियो ।
बिहानको
मिरमिरे उज्यालोमा दमकबाट हाम्रो यात्रा शुरु भयो । जंग भाइको ट्याक्सीमा चढेपछि
हामीले कुनै कुराको चिन्ता लिनै पर्दैन । बाटोमा आइपर्ने सबै समस्या भाइले
सुल्झाउनुहुन्छ । आफू मात्र गएको भए काँकडभिट्टाबाट बोर्डर
क्रस गरी पानीटङ्की पुग्न सास्ती नै हुन्थ्यो होला । तर जंग भाइलाई नागरिकताको
प्रमाणपत्र र कोभीड–१९ को खोपकार्ड बुझाएपछि हामीले केहि गर्नै परेन; ट्याक्सीबाट
समेत उत्रनु परेन । सबै कुरा उहाँले टाकटुक मिलाउनुभयो ।
दशजना
मान्छे कसरी एउटै ट्याक्सीमा अटाए होला भन्ने प्रश्न यहाँ उठ्न सक्ला ! हाम्रो
टीममा चारजना महिला थियौँ र महिला जति जंग भाइको ट्याक्सीमा चढेका थियौँ । बाँकी छ
जना पुरुष जीपमा हुनुहुन्थ्यो । पछि थाहा भयो– जीपमा चढ्नेहरुसँग बोर्डरमा निकै
सोधपूछ भएछ । जंग भाइका अनुसार सानो गाडीमा चढेकालाई भन्दा ठूलो गाडीमा चढेकालाई
बढी शंकाको दृष्टिले हेरिन्छ रे बोर्डरमा ।
न्यू
जलपाइगुडीबाट हाम्रो ट्रेन दिउँसो १२:५५
बजे थियो तर नौ बजेतिरै हामी ट्रेन स्टेशन पुगिहाल्यौँ । तीन चार घण्टा
प्रतीक्षामा बिताउनु पनि कष्टकर नै हुन्छ । पर्खिने काम त्यसै पनि मलाई पटक्क मन
पर्दैन । १५–२० मिनेट पर्खिनु त सजायजस्तो लाग्ने मान्छेलाई करीब चार घण्टा
पर्खिनु कम चुनौतीपूर्ण थियो र ! तैपनि मान्छे धेरै भएको हुनाले यताउता गर्दै, गफ
गर्दै, कविता सुन्दै त्यो समय कटनी भयो ।
रेल सेवामा पनि “राजधानी एक्सप्रेस” चैँ एकदमै ठीक समयमा चल्ने गर्छ भन्ने कुरा सुनिएको थियो । हो रहेछ ! हाम्रो १२:५५ को रेल ठीक त्यतिबेलै न्यू जलपाइगुडीबाट छुट्यो । करीब सात बजेतिर हामी गुवाहाटी ट्रेन स्टेशनमा उत्रियौँ । अब यहाँबाट कता लाग्ने, के गर्ने भन्ने कुराको चिन्ता हामीले गर्नै परेन । गुवाहाटी विश्वविद्यालयको नेपाली विभागका प्रोफेसर डा. खगेन शर्मा हाम्रो स्वागतका लागि हामी स्टेशनबाहिर निस्कने बित्तिकै भेटिनुभयो । उहाँले नै हाम्रो होटल अग्रिम रुपमा नै बुक गरिदिनुभएकोले त्यतैतिर लिएर जानुभयो । भोलिपल्ट हामी गुवाहाटीमै घुम्ने भयौँ । यसका लागि पनि खगेन सरले नै गाडीको बन्दोबस्त गरिदिनुभयो । यति मात्र होइन, खगेन सरकी श्रीमती अनुपाले त्यो दिनभरि हाम्रो गाइड हुन सहर्ष स्वीकार गर्नुभयो । त्यो दिन बेलुका प्रसिद्ध साहित्यकार लीलबहादुर क्षत्रीलाई भेट्न उहाँको बासस्थानमा पुगेका हामी एउटा सानो सानो भोज नखाई बिदा हुनै पाएनौं ।
पर्सीपल्ट
बिहान हामीले विश्वनाथसम्मको यात्रा तय गर्नु थियो । होटलमै अलि ढिलो गरी
ब्रेकफास्ट खाएर हामी निस्कियौँ । त्यतिबेला पनि कहाँ गएर बस चढ्ने होला भनी
चिन्ता गर्नु परेन । उनै खगेन सरले हामीलाई बसको टिकट काटिदिनेदेखि बस चढाएर
पठाउने सम्मको जिम्मा लिनुभयो ।
बाटोमा
हामी निकै जाममा पर्यौं। त्यसैले गर्दा विश्वनाथ पुग्दा झमक्क साँझ पर्यो । तर बस
स्टपमा उत्रदां हामीलाई कुनै अपरिचित ठाउँमा पुगेजस्तो लागेन । हाम्रो स्वागतका
लागि त्यहाँ करीब ६-७ जना व्यक्तिको उपस्थिति थियो । विश्वनाथमा हामी दुई दिन बस्यौँ, त्यहाँ
हाम्रो खाने बस्ने व्यवस्था भव्य रुपमा गरिएको थियो । त्यहाँका मानिसहरुको सद्भाव
देखेर हामी धेरै प्रभावित भयौँ ।
त्यहाँ
नाम चलेको भवन, “सर्किट हाउस” रहेछ । त्यो सरकारी भवनमा बाहिरबाट आउने विशिष्ट
व्यक्तिहरु मात्र बस्ने रहेछन् । आम जनताको पहुँचभन्दा बाहिरको त्यहि भवनमा
त्यहाँका व्यवस्थापक साथीहरुले हाम्रो बस्ने व्यवस्था मिलाउनुभएको थियो । हाम्रा
टोली नेतालाई त मन्त्री बस्ने भव्य कक्ष मिलेको थियो । हामी पुगेको साँझ हाम्रो
खाने व्यवस्था व्यवस्थापक साथीमध्येकै एकजनाको घरमा गरिएको रहेछ । यसरी अन्जान
शहरमा समेत हामीले घरको न्यानोपनको अनुभूति गर्न सक्यौँ ।
यति
मात्र होइन, हाम्रो टोलीका पाँच जनाले विश्वनाथ कलेजमा हुन गैरहेको कार्यशाला
गोष्ठीमा आ–आफ्नो कार्यपत्र प्रस्तुत् गर्नुपर्ने थियो । बाँकी रहेका अरु पाँचजना सिर्फ स्रोता
मात्र थियौँ । तर पनि हामीलाई त्यहाँ कुनै विभेदकारी व्यवहार गरिएन । दशैजनालाई
दिइएको आतिथ्य सत्कार र सम्मान उस्तै थियो ।
विश्वनाथबाट
हामी तेजपूर आयौँ । तेजपूरमा पनि एउटा कार्यक्रममा भाग लिनुपर्ने थियो । खासमा
त्यहाँ लामो समयदेखि चलिआएको नेपाली पत्रिका ‘देशवार्ता’ को ३२ औँ वार्षिकोत्सव
रहेछ । त्यहि उपलक्ष्यमा नेपाली भाषा र साहित्यमा योगदान पुर्याउने व्यक्तिहरुको
सम्मान गर्ने कार्यक्रम रहेछ । त्यो विशेष कार्यक्रममा हामी ‘पाहुना’लाई उत्तिकै
स्तरमा सम्मान गरियो । हामीलाई विश्वनाथ देखि तेजपूरसम्म नै साथ दिने व्यक्तिहरुमा
असमका नेपाली साहित्यकारहरु ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि
उपाध्याय, छत्रमान सुब्बा र अन्जन बाँस्कोटा हुनुहुन्थ्यो ।
हामी
विश्वनाथबाट तेजपूर हिँड्नुपर्ने बिहान यसो वरिपरि हावा खान लोकल बजारतिर
निस्किएका थियौँ । एकैछिनमा निकै ठूलो पानी पर्यो । ओत लाग्नलाई हामी कुदेर एउटा
चिया दोकानभित्र छिर्यौँ। पसलमा भएका २/३ जना भाइहरु
उत्सुक भएर हामीसँग गफ गर्न थाले । हामीले चिया खाइसकेको भए पनि पसले भाइले फेरि
सबैलाई चिया र बिस्कुट खुवाए । हामीले पैसा तिर्न खोज्दा उनले अस्वीकार गर्दै भने, “आमै, म
कहाँ तपाईहरुसँग पैसा लिन्छु ! तपाईहरु त हाम्रा पाहुना ! हाम्रो ठाउँमा आउनुभयो, कार्यक्रम
गर्नुभयो, हामीलाई धेरै खुशी लागेको छ ।”
विश्वनाथ चारालीबाट तेजपूर जाँदा बाटोमा अन्जन बाँस्कोटा भाइको घर पर्दोरहेछ । भाइले हामीलाई बिहानको खाना खाने निम्तो दिनुभएको थियो । त्यहाँ पुग्दा हामीलाई उस्तै अपनत्वको अनुभूति भयो । म पहिलोचोटि गुवाहाटी जाँदा माघे संक्रान्तिको बेला परेको थियो । त्यतिबेला त्यहाँ “बिहू पर्व” भनेर उत्सव गरिरहेको देखिन्थ्यो । फेरि यसपाली पनि “बिहू” नै चलिरहेको थियो । पछि थाहा भयो असममा “बिहू” वर्षमा तीन पटक पो मनाइँदो रहेछ । तीमध्ये यो बैशाख महिनामा पर्ने चाहिं सबैभन्दा धुमधामले मनाइने रहेछ । बिहूमा विभिन्न खाले नाचगान हुने रहेछ । डा. खगेन शर्माका अनुसार त्यहाँ करीब १५८ वटा औपचारिक नृत्य समूह छन् रे । ती सबैका बीचमा प्रतिस्पर्धा समेत गराइँदो रहेछ । ती नृत्य समूह विभिन्न ठाउँमा आफ्ना कार्यक्रम लिएर हिँड्ने रहेछन् । बिहूको नाचगान हेर्न पाए हुन्थ्यो भन्ने हाम्रो आशय बुझेर अन्जन भाइले
आफ्नो घर आँगनमै यस्तो नाचको आयोजना गरिदिनुभएको रहेछ ।
ज्ञानबहादुर
क्षेत्री दाइको घर तेजपूरमै रहेछ । उहाँको घरमा पनि हाम्रो भव्य खातिरदारी भयो ।
फर्केर आउँदा गुवाहाटीमा साहित्यकार इन्दुप्रभा
देवीको घरमा र डा. खगेन शर्माको घरमा हामी पाहुना बनेर पुग्यौँ । हामी गुवाहाटीमा
आएर होटलमा खाना खाने कुरा सुनेर इन्दुप्रभा देवीले, “यहाँ हाम्रो घर
हुँदाहुँदै कहाँ उहाँहरुलाई होटलमा खुवाउन पठाउनु ?” भनेर आफ्नै घरमा
हाम्रालागि खानपानको व्यवस्था गर्नुभएको रहेछ । डा. खगेन शर्माको घरमा बिहानको
चिया खाजा खान निम्त्याइएका हामी अनुपा बैनीले दिउँसोको खाजासमेत खानु नपर्ने
गरिकन विभिन्न परिकार पस्कनु भएको थियो । यति मात्र होइन, साहित्यकार
नव सापकोटा र मुन्नी सापकोटाको विवाहको ५० औँ विवाहोत्सवमा पनि हामी आमन्त्रित
थियौँ ।
हुन
त हाम्रो संस्कारमा “अतिथि देवो भवः” भन्ने कुरा चलेकै हो । तर यसको खास अर्थ मैले
असममा यसपाली हामीलाई गरिएको व्यवहारबाट बुझेँ । हामी सबैतिर खुला हृदयले स्वीकृत
भयौँ । विशेषगरि डा. खगेन शर्मा, अनुपा शर्मा, ज्ञानबहादुर
क्षेत्री, चन्द्रमणि उपाध्याय, छत्रमान सुब्बा र अन्जन बाँस्कोटाले
उहाँहरुको अमूल्य समय पनि हामीलाई दिनुभयो । पाहुनालाई त्यस्तो अपनत्वको भाव
देखाउने, त्यस्तो आतिथ्य गर्ने, त्यस्तो आदर
गर्ने, हामी शायदै गर्न सक्छौं । हामी
यान्त्रिक युगका यन्त्रजस्तै व्यस्त मानिस भइसक्यौं ।
असममा
हामीप्रति गरिएको व्यवहारका बारेमा मैले पहिले असममै बसोबास गर्ने र अहिले दमकमा
रहनुभएका मेरा सहकर्मी सरसँग चर्चा गर्दा उहाँले गुह्य कुरा खोल्नुभयो । खासमा
असममा बस्ने नेपालीमा भएको त्यो हार्दिकता र अपनत्वको भाव आसामीहरुसँगको संगतको
प्रभावले आएको रहेछ । आसामीहरु आफ्ना पाहुनाको मात्र होइन आफ्ना छिमेकीका पाहुनाको
सत्कार पनि उत्तिकै गर्छन् रे । छिमेकमा कोही आयो भने चिनजान गर्न जान्छन् रे ।
छिमेकीहरु घरमा छैनन् भनेँ उनीहरु आउन्जेल छिमेकका पाहुनालाई आफ्नै घरमा ससम्मान
राख्छन् रे । मेरा सहकर्मी मित्रका अनुसार यस्ता उदार आसामीहरुसँगको उठ्बसले
त्यहाँका नेपालीमा पनि यस्तो राम्रो संस्कार सरेको रहेछ ।
जे
होस् , “अतिथि देवो भवः” को साँचो अर्थ थाहा पाउनचाहिँ असमको जनजीवनलाई
नजीकबाट हेर्नुपर्ने रहेछ भन्ने अनुभव रह्यो मेरो यसपालीको असम भ्रमण ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 6 May 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
राम्रो यात्रा अनुभूति बहिनी ब्यन्जनाको।
ReplyDeleteहार्दिक धन्यवाद हजुरलाई ।
Deleteसारै मनपर्यो लेखनशैली ।
ReplyDeleteमन पराइदिनुभएकोमा हार्दिक धन्यवाद हजुरलाई ।
ReplyDelete