Saturday 14 May 2022

हजुरहरु कहाँ नाम्नुहुन्छ?

         


    गुवाहाटीदेखि विश्वनाथ चाराली पुग्नु थियो हामीले । बाटो त त्यस्तै चार पाँच घन्टाको मात्र रहेछ भू–यानमा तर हामीलाई झण्डै सात घन्टा लाग्यो । ढिलाइको प्रमुख कारण त ट्राफिक जाम नै थियो । नौलो ठाउँमा एक्लै हुँइदो हो त मनमा अलिकति सन्देह हुन्थ्यो होला । तर हाम्रो त दशजनाको जत्था थियो । बसमा चढ्ने बित्तिकै आफ्नै भाका र भाषामा गफका पर्रा छुटे । सोणितपुर जिल्ला त्यतै पर्ने रहेछ । कमल दाजुले आफ्नो शास्त्रीय ज्ञान जोडेर सोणितपुरको कथा लगाउनुभयो । आदिकालमा भगवान शिवका सेना र कृष्णका सेना बीचमा यसै स्थानमा भयानक युद्ध भएको रहेछ । युद्धको कारणचाहिँ शिवभक्त वाणासुर नामक राक्षसकी छोरी उषाले श्रीकृष्णका नाती अनिरुद्धलाई मन पराएर अपहरण नै गरिछे । उनीहरुबीच गन्धर्व विवाह पनि भएछ । त्यो विवाह पनि अचम्मसँग जुरेको रहेछ । वाणासुर राजाकी छोरी उषाले सपनामा श्रीकृष्णका नाती अनिरुद्धलाई देखेकी रहिछ । अनि त्यो सपनाका वर्णनका आधारमा उषाकी साथी चित्रलेखाले चित्र उतार गरिछ । अनि मात्र त्यस दिव्य पुरुषको खोजी गर्दा अनिरुद्ध फेला परेछन् । यसरी नातीको रक्षामा उत्रिएका हरि (कृष्ण) र भक्त वाणासुरका पक्षमा उभिएका हर (शिव) का सेनाबीचको भयानक रक्तपातपूर्ण (सोणित) युद्ध भएको स्थान नै सोणितपुर रहेछ । कथाको अन्त्यचाहिँ सुखद रहेछ । ती दुई प्रेमीको मिलन भएछ ।

 असम घुम्ने क्रममा ती चित्रलेखाले चित्र कोरेको ठाउँ र यसै मिथकसँग जोडिएको अग्निगढ़ पर्वत समेत देख्न पाउँदा कमल दाजुजति हर्षित को भयो होला र ?

          यो कथा चल्दै थियो । यसै बिचमा अलिकति तलतल र अलिकति भोक पनि मेट्न मुस्ताङबाट आएका स्याउका सुकुटी निस्के, निर्मला दिदीको ब्यागबाट । त्यसपछि सुबना दिदीले भुजिया, सोनपापडी लगायतका वस्तु झोलाबाट फुतुफुतु निकालेर बाँड्नुभयो । उहाँले रेलमा बाँडिएका ती वस्तु जोगाएर राखेर बसको यात्रामा बाड्नुभएको थियो तर ठट्टामा हितान सरले, “मैले पनि त्यहाँ बढारेको बेला टिपेको भए अहिले कति काम लाग्ने रहेछ,” भन्दा हाँसोको फोहरा नै छुट्यो । समय कटनी गर्नु थियो । परपरका पहाड, सडक छेउका धापिला जमिन, सुपारीका रुखहरु, ब्रम्हपुत्रका विशाल र उर्वर फाँटका बीचबाट बस बेतोड दौडिरहेको थियो । अब गफले अर्को मोड लियो– “असममा के छ ?” असममा हामीले नदेखेको कुरा केहि नभएको निस्कर्ष निस्कियो । यो केवल ठट्टामिश्रित हाँसोको खुराकी मात्र थियो । हामी यति जोडले बोलेछौँ र हाँसेछौँ कि छेउका एकजना भाइले हल्ला कम गरिदिन अनुरोध गरे । अलिकति लाज माने जस्तो गरेर टोली एकछिन चुप लाग्यो तर कसरी चुप लागेर बस्न सकिन्थ्यो र ? फेरि गफहरु शुरु भए । बस ससाना बजार र गाउँ पार गर्दै अघि बढिरहेको थियो । एक ठाउँमा चिया खाजा खान बस एकछिन रोकियो । हाम्रा बिचमा के खाने, कसो खाने विषयमा चर्चा परिचर्चा चल्यो । अन्तिममा हामीले असमको मिठो चिया मात्र किनी खाने टुङ्गो लगायौं । अञ्जना दिदीले काठमाण्डौ देखि जतनसाथ ल्याउनुभएको फुरन्दाना, खजुरी र विराटनगरमा सुमन र महिमा छोरीले बाटोमा खान किनिदिएको भुजिया र मिठाई यतिबेला बहुत काम लागे।

          हाम्रा अघिल्तिर बस्ने एकजना व्यक्ति बेलाबेला हामीतिर हेर्थ्यो अनि फेरि बाहिर हेर्थ्यो । ऊ एक्लो यात्री थियो । यसैबीचमा उसलाई कतैबाट फोन आयो । फोनको स्क्रिनमा होम–१ लेखेको देखियो । उसले केहि बेर शायद असमी भाषामै कुरा गर्यो । त्यसको लगत्तैपछि उसको अर्को फोन आयो र स्क्रिनमा होम–२ देखियो । त्यसै कुरालाई लिएर डा. कुमार र मेरा श्रीमानले गफ शुरु गर्नुभयो– “यसका दुई घरबार रहेछन् ।” कुरामा कुराहरु जोडिए । हाँसो त कति हो कति । त्यस व्यक्तिका शारीरिक स्वरुपका बारेमा पनि कुरा भए । त्यसको आधा घन्टाजति पछि साँझ पर्न थालिसकेको थियो । हामी कता उत्रने भन्ने टुङ्गो थिएन । अब कण्डक्टरलाई सोध्नुपर्ला भन्ने सल्लाह हुँदाहुँदै

त्यसै व्यक्तिले सोध्यो, “हजुरहरु कहाँ नाम्नुहुन्छ?”

          ला, त्यो व्यक्तिको हामीले त्यत्रो खिल्ली उडायौं । बिचरा उसले पनि सुन्यो होला । ऊ हामीलाई सोध्दै थियो कहाँ झर्नुहुन्छ भनेर । उनी त्यतै बस्ने हरि ओली रहेछन् । हामीले साहित्य सम्मेलनमा आएका र फलानालाई भेट्नु पर्नेछ भन्नासाथ उनले फोन लगाए । पाहुनाहरु आउँदैछन् भन्ने खबर गरिदिए र अन्त्यमा हामीसँगै ओर्लेर प्रतिक्षार्थीहरुसँग मिलन पनि गराइदिए ।

          दिनभरी बसमा वरपर गर्ने, ढोकामा उभिएर यात्रुलाई बोलाउने एकजना बलिष्ठ कदका भाइ थिए । तिनले हामी नेपाली हौँ भन्ने कुरा त डा. खगेनबाट गुवाहाटीमा बस चढ्ने क्रममै चाल पाएका हुनुपर्छ । तर ती भाइ पनि बढो छुपेरुस्तम निस्किए । दिनभर बाटोमा मुसुक्क हाँस्थे, “चा के लिए बाहर जाइये,” जस्ता कुरा हिन्दीमै गर्थे । यात्राको अन्तमा भनेँ उनले छेउमा आएर सोधे– “कति दिन बस्ने हो यता? तपाईँहरु नाम्ने ठाम् आउन आट्यो ।” पछि पो थाहा भयो ती त त्यहिँ विश्वनाथ चाराली गोलियाका नेपाली भाइ रहेछन् । एकजना बंगाली युवतीसँग प्रेम विवाह गरेपछि चटक्कै नेपाली बोल्न छाडेका रहेछन् । नेपाली बोल्न छाड्नुको पछाडिको कथा व्यथा अर्कै होला तर जे होस् हामीसँग त अलिकति बोले ।

          बासबाट नाम्ने बेलामा त झमक्क साँझ परिसकेको थियो । बसको ढोकैमा वर्षौदेखिको चिनाजाना जस्तो ज्ञानबहादुर दाजुले सबैको नामले एक एक गर्दै पुकार्नुभयो । यता पुराना मित्रहरु झैं, वर्षौपछि देखादेख भएका दाजुभाइ झैं  चन्द्रमणि उपाध्याय, छत्रमान सुब्बा, पूर्णकुमार शर्मा, अञ्जन बाँस्कोटा, चिन्तामणि शर्मा, प्रकाश लिम्बू लगायतका सहृदयीहरु गाडी लिएर हामीलाई दुई घन्टादेखि पर्खिरहनुभएको रहेछ । गाडीमा सामान थन्क्याएपछि फोटो उठाउने काम भयो । त्यस भेगमा फोटो खिच्ने नभनेर फोटो उठाउने भनिँदो रहेछ । त्यसैगरि बसलाई बास भनेको र सरलाई सार भनेको पनि स्थानीय जनजिब्रोमा राम्रो सुनिंदो रहेछ ।

          कारहरुका लस्करलाई धेरै बेर लागेन गन्तब्यमा पुग्न । छिनभरमै हामी सरकारी पाहुनाघर सर्किट हाउसमा छिरेउं। तल बन्दूकसँग गार्डहरु पहरामा थिए । अबका दुई रात हामीले सर्किट हाउसमै बिताउनुपर्ने थियो । सिम्सिमे पानी पर्दापर्दै, हामीले प्रकाश सुब्बा र विष्णुदेवी बहिनीले आयोजना गर्नुभएको रात्री भोजनको आतिथ्य स्वीकार गर्न पुग्नुपर्ने थियो । हामी नेपालको भौगोलिक सीमाबाट कोशौँ टाढा थियौँ । आफ्नो बासस्थानबाट हजारौँ किलोमिटर टाढाको बाजे बराजुहरुले खोजेको र बिराएको नयाँ धर्तीमा थियौँ । तर यति टाढासम्म ब्रह्मपुत्रको विस्तिर्ण फाँट झैं फैलिएको नेपालीत्व मान र सत्कारले भावविव्हल भएका थियौँ । खानापछि छुट्टिने बेलामा फेरि एउटा फोटो नउठाइकन त किन पो मन मान्थ्यो र !

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 13 May 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



4 comments:

  1. डा व्यन्जना बैनीको यस्तो अद्भूत लेखन शैली पढेर यो मन आनन्द र हर्शले भरियो। कति सूक्ष्म विनोद्पृय र पठनीय ।यस्तै गर्दा अखम यात्राकै एक सानो कृति बन्न सक्छ। अस्तिको हतार थ्यो। नलेख्नेहरुलाइ ग्यान।

    ReplyDelete
    Replies
    1. धन्यवाद हजुर। अस्तिको फोकस खाली आतिथ्य सत्कार मात्र भएकोले हजुरलाई हतारो जस्तो लागेको होला।

      Delete
  2. पढेर स्वाद लाग्यो!

    ReplyDelete
    Replies
    1. हार्दिक धन्यवाद यहाँलाई।

      Delete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).