Monday 23 May 2022

लाङ्रीले दालै पातलो बनाएछ !

 

 

         


    यात्रालाई जीवनको पर्याय ठान्दा हुन्छ जस्तो लाग्यो मलाई । यात्रा जीवनजस्तै कष्टकर पनि हुनसक्छ, उमंगले भरिएको पनि हुनसक्छ, अल्छिलाग्दो वा विरक्तीलाग्दो पनि हुनसक्छ । जीवनसँग अन्य वाह्य तत्वहरु जस्तै– इच्छा, अपेक्षा जोडिँदा भारि थपिएजस्तै रहेछ यात्रा पनि । अलिकति लुगाफाटा च्यापेर कुनै ठूलो अपेक्षा नलिई हिँड्नुमा यात्राको मजा अर्कै रहने रहेछ । मैले अघिल्ला लेखन अंशमा उल्लेख गरेकै असम यात्राको एक अर्कै पाटो हो यो । मलाई त ‘थ्री मेन इन अ बोट’ उपन्यासमा तीनजना मित्रहरुले गरेको जलविहार र उल्काहरुको याद आइरह्यो । १८८९ मा नै जेरोम के. जेरोमले लेखेको सो उपन्यासमा काम गर्दा गर्दा हल्लुण भएका तीन मित्रहरु यात्रामा निस्केका छन् र उनीहरुले गरेका उल्काले पुस्तक भरिएको छ । हाम्रो यात्रा उद्देश्यपरक भए पनि कम्ति उल्काले भरिएको थिएन ।

दालै पातलो

          हामीले रेल त करिब एक बजे दिउँसोको समात्नुपर्ने थियो । तर केहि टोली सदस्य काकरभिट्टामा र केहि दमकमा भएकाले यात्रा छिट्टै शुरु भयो । आखिरमा न्यू जलपाइगुडी पुग्दा बिहानको दश पनि बजेको थिएन । टोली संख्या दश, झोला पोका संख्या करिब चालिस । सबैभन्दा डरलाग्दो त टोली प्रमुखका दुईवटा सुटकेश र एउटा ब्याग । ती सुटकेश र ब्यागभरी अन्य पदार्थ केहि नभई पुस्तकहरु मात्र थिए । उचालिनसक्नुका भारी । धन्न सेवानिवृत ब्रिटिश भर्तिवाला कवि ब्रायन हितान र मेरा पति खगेन्द्र हुनुहुन्थ्यो ती भारी जिम्मा लिने । स्टेशनमा खत्रक्कै तीन घन्टा रुँगाई भयो रेलको ।

          त्यसबीचमा चिया दुई तीन राउण्ड चल्यो । शंकास्पद व्यक्तिहरुलाई कसरी आफ्ना सामान छेउमा पर्न नदिने र स्टेशनमा दलाली गरेर कसरी सामान किन्ने विषयमा बहश, छलफल र डेमो नै भयो । डा. कुमार सरले सातसय भनिएको स्वीस नाइफ रु. सयमै खरिद गरेर देखाइदिनुभयो तर त्यसको टिकाउपन बारे चाहिँ कसैले यसै भन्न सक्ने स्थिति रहेन । त्यतिबेलै त्यो नाइफको एउटा टुप्पो बाङ्गिसकेको थियो । कसोकसो रेल त चढियो तर सिटहरु छरपस्ट थिए । सामान थन्क्याएपछि अलिअलि गर्दै अरुका ठाउँ मिच्दै हामी एकै ठाउँमा आइपुग्यौँ । खाना सहितको रिजर्वेशन भएकोले खाना आई नै हाल्यो । खानाको प्याकेट खोल्ने ढंग नपुगेर केहि सदस्यको दाल पोखिएर बिजोग भयो । अझ टोली नेताको त घुँडामुनिको भाग पहेँलै भयो । ढंग नपुगेको कुरा त कसरी भन्ने ? टोलीले निस्कर्ष निकाल्यो–आज लाङ्रीले दालमा पानी धेरै जखेछ । त्यसै निहुँमा अन्य धेरै कुराहरु निस्के ।


          जाँदा त हामी सबैका टिकट सिलिगुडीका आफन्ती मुक्ति बराल दाजुले गरिदिनुभएकोले हामी ढुक्क थियौँ । आउँदा पनि असमी बन्धूहरुले टिकट गरिदिनुभएको थियो । कसैले पनि गहिरोगरि टिकट हेरिएनछ । हामी गुवाहाटीबाट रेल चढ्नासाथ सबैलाई चिया कफी दियो । हामीलाई त दिएन । निकैबेर सम्म पनि हामीलाई नदिएपछि लाङ्रीलाई सोध्नै पर्ने भयो । अनि पो थाहा पाइयो त त्यो त खाना समावेश नगरिएको टिकट रहेछ । त्यसपछि लाङ्री फकाएर भए पनि हामीले किनेर खायौँ । यो टिकट हेर्न नजानेको कुरा चाहिँ गोप्य हो है । कसैले कसैलाई नभन्ने शर्त छ हाम्रो ।

सित्तैमा बस यात्रा

          म सित्तैको बसमा चढाउने व्यवस्था गर्छु है त!” भनेर डा. खगेन अघि लाग्नुभयो । गुवाहाटी पल्टन बजारको नेपाली मन्दिर अगाडिबाट लाग्ने बसमा उहाँले चढाइदिनुभयो । हो रहेछ, महिलाहरु जतिलाई त असममा सरकारी बसमा फ्रि पो रहेछ । हामी नौ जना बस चढ्दा चार महिलाको त भाडै लिएन । त्यो अचम्म कुराको धङ्धङे नसकिँदै अर्को कुरा सुनियो– १२ कक्षा पास गर्ने केटीहरुले सित्तैमा स्कुटी पाउने रहेछन् । उता दिल्लीमा केजरीवाल सरकारले शुरु गरेका जनप्रिय कुराले अन्य भारतीय राज्यहरुमा जनदबाव बढ्दै गएपछि असममा पनि शुरु भएका रहेछन् यी महिलामैत्री कार्यक्रमहरु ।

          अर्को दिन हामी ब्रम्हपुत्रका बीचमा ठूलो चट्टानी टापूमा उभिएको उमानन्द मन्दिर जाने क्रममा थियौँ । त्यस टापूमा पुग्न जहाज चढ्नुपर्ने । जहाजमा पनि महिलालाई निःशूल्क होला नि त भनेको त होइन पो रहेछ । भू–मार्गमा मात्र निःशूल्क


रहेछ । हवाइ मार्ग र जलमार्गमा त खुत्रुक्क तिर्नुपर्ने रहेछ ।

 मधूर त्रास

          पारीपट्टि उमानन्द मन्दिर जाने जहाज हामी पुग्नुभन्दा एकैछिन् अघि मात्र छुटेको रहेछ । एक घन्टा हामीले त्यहिँ पर्खनुपर्ने भयो । बिस्तारै बिस्तारै भीड बढ्दै थियो । अर्को चहटको जहाजमा जान टिकट काट्ने मान्छेहरु आतुर थिए । साँगुरो यात्रु कक्ष भरियो । अनि टोली सदस्यहरु तिर्खाए । हामीमध्ये एक सदस्य पानी किन्न थोरै टाढा जानुभयो र दुई बोटल पानी लिएर फर्किनुभयो । उहाँसँग छुट्टा नभएपछि पसलेले पानी बाँकी दिएको रहेछ । धार्मिक ठाउँमा पैसा नदिई मान्छे नजाने भएकाले बाँकी पनि नमागी दिने रहेछन् त्यहाँ त । पछि फर्केर आउँदा पैसा तिरेपछि मात्र अघि बढियो ।

          धर्मकर्म गर्न मन्दिर आउनेले तलमाथि गर्दैनन् भन्ने कुरा तिरुपति वालाजी मन्दिरमा पनि देखियो । त्यहाँ त अझ मन्दिर प्रवेश अगाडि जुत्ता राख्ने ठाउँ रहेछ । त्यस ठाउँमा जुत्ता राखेर आफैं पैसा बाक्सामा हालिदिएर हिड्नुपर्ने रहेछ ।

          बाहिरफेर ससाना ठगी, बदमासी त मान्छेले कुनै न कुनै रुपमा गरिरहेकै हुन्छन् तर धार्मिक क्षेत्रमा पसेपछि भनेँ मनमा एक प्रकारको सतर्कता वा त्रास आउने रहेछ क्यारे । आफूले गरेका कु–कर्मले कतै न कतै पिरोल्छ कि भन्ने परिरहँदो रहेछ । एक प्रकारको ‘मधूर त्रास’ मनमा बसिरहँदो रहेछ । यो ‘मधूर त्रास’ भन्ने वाक्यांशको उत्पत्ती अति फारो गरेर बोल्ने डा. विष्णु सिंह राई सरले न्यू जलपाईगुडीमै गर्नुभएको थियो । पुरुष जातिहरु आफ्ना जोईको अव्यक्त त्रास मनमा कसरी बोकेर हिँड्छन् भन्ने कुराको सन्दर्भमा उहाँले, “यसलाई त्रास नै त नभनौँ । त्रास भन्ने शब्द अलि कडा भयो । ‘मधूर त्रास’ भन्दा राम्रो होला भन्नुभयो ।” यो युनिभर्सल ट्रुथ उहाँले शब्दहरुको मीठो गठजोड गरेर उत्पादन गर्नुभएको थियो । यस शब्दावलीले हाम्रो असम यात्राभर प्रमूख स्थान पाई नै रह्यो । त्यसको लगत्तै पछि ब्रायन हितानज्यूले राई सरकै कविता ‘उनको मेरो साथ’ सुनाउनुभएको थियो । कविताको एक अंशः

          उनको मेरो साथ

          जस्तो दाल र भात

          सहज, सरल तर

          एकबिना अर्को अधुरो, अपुरो

          एकको लागि अर्को अपरिहार्य ।

          यो सुस्वादु कविता अलि लामै छ । तर यसमा प्रयुक्त ‘दाल’, ‘भात’ शब्द हामीले यात्राभर प्रयोग गर्यौं।

माल्दाइको झोला चैट

          उमानन्द मन्दिर भ्रमण गरेकै दिन हामी गुवाहाटीको अर्को खण्डमा रहेको वशिष्ठ आश्रम पुग्यौँ । पहिले पनि एकपटक गइसकेको हुँदा म र मेरा श्रीमान बाहिरै बस्यौँ । अरु सदस्यहरु मार्गदर्शक अनुपा बहिनीका पछि लाग्नुभयो । माल्दाइले यात्राभरि अत्यन्त जतनसँग च्यापेको छड्के झोला जुत्ता खोल्ने ठाउँमा छाडेर जानुभएछ । पछि टोली नेताले भेटेर ल्याइदिउन्जेलसम्म पनि माल्दाइलाई आफूसँग झोला नभएको जानकारी भएनछ । सबैजना घुमफिर सकेर फर्केपछि झोलाको कुरा सुनेर उहाँ झस्कनुभयो । झोला छामछुम पारेर हेर्नुभयो र भन्नुभयो, “ला हौ । डाकाले लगेछन् ।” हामी सबै दुखित भयौँ । अनि माल्दिदीले फेरी धैर्यपूर्वक झोला खानतलास गर्नुभयो । धन्य माल त्यहिँ रहेछ । माल्दाइले बेहोशीको दण्डरुवरुप सबैलाई चिया खुवाउनुपर्यो ।

          अगुल्टाले हानेको कुकुर.... जस्तै फेरि फर्केर आउँदा त्यहि झोला छैन भनेर माल्दाइले गाडिबाट ओर्लने बेलामा भन्नुभयो । एकछिन खोजी गर्दा पत्ता लाग्यो । उहाँ त त्यो झोला सिटमाथि ओछ्याएर बस्नु भएको रहेछ ।

          यस्तै यस्तै रमाइलोसँग यसपालीको यात्रा टुङ्गियो । असम यात्राले दुई वर्ष देखि कोरोनाले थलिएको मन मष्तिस्कको ठूलो उपचार भयो ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 20 May 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



2 comments:

  1. ब्यन्जना बहिनीको सुन्दर लेख पढ्ने कौतुहल जागेर आउँछ।उनको शैली दामी छ।आफू पनि जोडियेको यो यात्रा लेख एका बिहानै सकेर निस्केको छु।यसले हाम्रो आसाम यात्राको विनोद पृयतालाई जीवन्त प्रस्तुत गर्दछ।

    ReplyDelete
  2. I love to read your article mam. As usual, it's full of fun and information. Thanks 🙏♥️🤗

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).