Friday 2 September 2022

नेप्टी चेप्टी दार्जिलिङ कस्तो छ ?

 

 

         मधेशतिर खपिनसक्नु उखुम गर्मी थियो । मौसम मापक यन्त्रले पैतीस र छत्तीस डिग्री भन्दा कम देखाउन मान्दै नमान्ने । बिहानैदेखि पसिनाका धारा छुट्ने । माथि घाँटीबाट छुटेका पसिनाका धारा तल पैतालामा पो तिप्लिक्क झर्छन् बेलाबेला त । आफूलाई जाडो मनपर्ने । चिसो भए मनै सित्तल । यता अहिले बसेको गौँडोमा भने सधै उखरमाउलो गर्मी । कार्तिकदेखि माघ सम्म त ठिकै हो, बाँकी आठ महिना त किन आइएछ नि दमक जस्तो हुन्छ ।धन्न आजकल उति बत्ती जाँदैन । नत्र त मध्यरातमा उठेर बाहिर निस्केर चिच्याउन मन लाग्छ मलाई !


          गएको हप्ता पनि पक्का भदौरे घाम लागेको बेला थियो । एकघण्टा बाहिर घाममा बस्ने हो भने जीउमा फोका उठ्लान जस्तो । घमौराले गर्दा शरीर चिर्चिराएर खस्रो सिमेन्टमा दलिनु जस्तो भैरहने । यस्तै बेलामा हामीलाई दार्जिलिङले बोलायो । दार्जिलिङका सैयौँ किस्सा सुनिएको थियो । आफूले गुन्गुनाउने दर्जनौँ गीतका सुमधूर स्वरका धनीहरु गोपाल योन्जन, अरुणा लामा, शान्ती ठटाल, डेइजी बराइली, कुन्ती मोक्तान, सुक्मित गुरुङ देखि मनिला—उदय सोताङसम्म पारीबाटै आएका थिए । साहित्यको सम्झना गर्दा पनि दार्जिलिङ जति उर्वर भूमि त कतै नहोला जस्तो लाग्ने । इन्द्र बहादुर राई, पारिजात, कुमार प्रधान, अगमसिंह गिरी, ईश्वर बल्लभ, पारसमणि प्रधान र शिब कुमार राई जस्ता लेखन हस्तीका नाम लिँदा दार्जिलिङ जोडिएरै आउँछ । उताका साथीभाइसँग बोल्दा उनीहरुको लवज उस्तै प्यारो लाग्ने ! अनि निम्तोको कुरा सुनेपछि हतारहतार मौसम हेरेँ गुगलमा । आहा ! दिउँसो २१ डिग्री अनि रातमा १७ डिग्री । दुई चार दिन भए पनि यो उखुमबाट मुक्ति पाइने भयो जस्तो लाग्यो ।

          खानापिना खााइवरी हो हाम्रो सानो पाँचजनाको टोली उकालो लागेको दमकबाट । सात आठ जना आँटिने स्कर्पियोमा हामी पाँच जनालाई त आनन्द भयो । गाडी चढेदेखि नै मनमा एउटा पुरानो गीत आइरह्यो । भिनाजु डा. गोविन्दराज अगाडिको सिटमा हुनुहुन्थ्यो । भान्जी सिन्धिया, दिदी अञ्जना, म र जेठानी दिदी निर्मला भनें पछाडि । त्यो मैले मनमा सम्झेको गीत पनि भिनाजुको पेवा गीत जस्तै हो । उहाँ बारम्बार यो गीत गुन्गुनाई नै रहनुहुन्छ ।

नेप्टी चेप्टी दार्जेलिङ कस्तो छ ?

दार्जेलिङ शहर बत्तीको लहर

 हेरिरहुँ जस्तो छ ।

मनमा मलाई पनि लागिरह्यो— यो नेप्टी चेप्टी दार्जेलिङ कस्तो होला त ? यता गाडि चारआलिबाट माथि लागेपछि त मन गार्डेन गार्डेन भैगो नि ! बर्नेदेखि उँभो हरिया चियाका बुटाहरु छपक्क मिलेर बसेका । त्यसैमाथि ओछ्यान कसेर सुत्नु जस्तो मिलाएर कलम गरिएका चियाका बुटाहरु । गफाडी प्रल्हाद भाइले गाडी बत्याए । भान्जी सिन्धिया गाडीले मात लाग्ला कि ! वान्ता पो आउला कि भनेर अलिक चिन्तित हुनुहुन्थ्यो । तर यात्रा सोचेभन्दा सहज र रमाइलो थियो । शायद उहाँले वान्ता नै बिर्सिनु भो । गाडी सानी पाथिभरा कट्यो । जोरकलश पनि कट्यो । अव भनेँ हाम्रो गाडी कन्याम छिचोलेर चियाबगान भित्रको अत्यन्त राम्रो  स्थलतिर मोडियो । त्यता हामीले दर भ्याउनु पर्ने थियो । गणेश रसिक दाजुको खिरको निम्तो थियो फिक्कलमा । बाटो काटेर गए कारवाहिमा परिने प्रेमपूर्ण चेतावनी अक्षरसः पालना गर्दै हामी दाजुको म्याजिकल कटेजतर्फ़ लाग्यौं । हामीलाई खासै हतारो पनि थिएन । आखिरमा राती पुगेर बासै बस्नु त थियो । अनि रसिक दाजुसँग केहि क्षण भलाकुसारी चल्यो । तीजको बेलामा रसिक दाजुको इलामे घरमा बसेर खिर खाइयो । दाजुका घरबारी हेरियो । अनि फेरि यात्रा शुरु भयो ।

         हाम्रो अर्को मुकाम पशुपतिनगर थियो । बाटाभरी मुस्मुसे तुँवालो र कुहिरो हामीसँग जिस्किरह्यो । बेला झ्याप्प कुहिराले गाडी नै छोप्थ्यो । झ्याल झ्यालबाट हाम्रा घामले डढेका अनुहार हेर्थ्यो । अनि बेलाबेला त्यो तुँवालाको मुस्लो अलि परपर भाग्थ्यो । पशुपतिनगर त सधैँ चिसो हुने । बढो जान्ने भएर हामीले एक एकवटा पातलो ओढ्ने मात्र बोकेका थियौँ । “जाडो भए उता दार्जिलिङका विश्वप्रसिद्ध स्वेटर खरिद गर्नुपर्छ,” भन्ने भिनाजुको कथनलाई साँच्चै भन्ने ठानिएछ । दार्जिलिङ पुग्न नपाई हल्का ज्यान कठाङरियो । पशुपतिनगरको बोर्डरवारि नै प्रल्हादको गाडी रोकियो । उता ढाटको पारिपट्टि वीणा हाङ्खिम दिदीले पठाउनुभएको गाडीको चालक दावा खडे थियो ।

दावा बढो रमाइलो मान्छे रहेछ । ‘हरेक कुरा दावाका साथ बोल्छ यो दावा,’ फिल्मी तालले डायलग बोले झैं अदवसँग निहुरियो दावा । उस्ले मारुती ओम्नी भ्यान ल्याएको रहेछ । झोला नम्बर पन्ध्र पनि गाडीमा मिलाएर राखेपछि गाडी नागवेली बाटोमा हरियालीका बिचैबिच दार्जिलिङतिर लम्कियो । गफहरु विषयान्तर हुँदै फेरिई फेरिई आइरहेका थिए । मेरो मनमा एकातिर दार्जिलिङको रङ्गिन चित्र आइरहेको थियो, अर्कोतिर भने पुरानो समयमा पूर्वतिरका पहाडबाट घरेलु सामान किन्न र अंग्रेजी शिक्षाका लागि प्रख्यात अखडाका रुपमा चिनिने दार्जिलिङका कथा म सम्झिरहेकी थिएँ । हाम्रो प्रकाश भानिजदाइले फालेलुङको डाँडो काटेर नून बोक्न आउँदा पहिलोपल्ट जिलेबी खाएर अचम्ममा परेको कथा म सम्ँझदै थिएँ । उहाँले फर्केर आएर आमालाई त्यो जिलेबी खाएको कुरा सुनाउनु भएछ । अनि उहाँकी आमाले भन्नुभएछ—“जेठा अलिकति पोको पारेर मलाई पनि ल्याइरहेको भा म चाख्थेँ नि ।” ओहो, कति दुःखद कुरा ! प्रकाश दाइले त्यो कुरा सुनाउँदा असी वर्षको उमेरमा पनि आँखाभरि आँसु पार्नुभएको थियो ।


मनमा कुरा खेलाउँदा खेलाउँदै हामी बतासे डाँडा आइपुगेछौँ । बतासेको होम स्टेमा हामी बास बस्नु थियो । आजसम्ममा यो धर्तीमा करिव २०,००० रात बिताइएछ । राडी, काम्लो, गुन्द्रिदेखि पाँच तारे होटलमा पनि बास बसिएछ तर त्यो होम स्टे भन्नेमा बस्न पाइएको रहेनछ । हुन त उता विदेशमा रहँदा आफैं पकाएर खानेगरी होलिडे अपार्टमेन्टमा त बसेकै हो । जापानमा पनि केहि समय जापानी परिवारसँगै बस्ने खाने अनुभव बटुलेको हो । तर बतासेको बसाई भने पक्का होम्ली रह्यो । दिनेश भाइ र नन्दिता बहिनीको एकजोडा दम्पत्तीले चलाएको दुई तले घरमा हामी बस्न पुग्यौँ । शुरुमा त सडकबाट साँगुरो ढुंगे खुड्किला नाघ्दै तल भीरको घरमा जानुपर्छ भन्दा आज ककस्का नाक भत्किने हुन् , कस कसका घुँडा खुस्किने हुन् भन्दै थिएँ म । हुन पनि करिब ७२ खुड्किला ठाडा ढुंगे सिँढि ओर्लनु र चढ्नु चानचुने कुरा थिएन । तर त्यहाँ पुगेपछि भनें ती कुरा बिर्सिएछ । ती दम्पतीको आतिथ्यले सबै कुरा बिर्साइदियो । गुनकेशरी होम स्टेका मालिक भाइ दिनेश भूतपूर्व सैनिक रहेछन् । उमेरैमा रिटायर भएपछि भाइले होम स्टे खोलेका रहेछन् । करिब दुई बर्षदेखि बिजिनेस चलाएर बसेका ती दम्पतीकहाँ पाहुना लाग्न पुग्ने पहिलो नेपाली टोली पनि हामी नै रहेछौं । ती भाइले झोला, सुटकेश आफैं बोकेर कोठा कोठामा लगिदिए । अनि ती दार्जिलिङे बहिनी नन्दिताले बेजोड मीठो खाना बनाएर खुवाइन् । उनीहरुले हामीलाई घरै जस्तो फिलिङ गराउन कुनै कसर बाँकी राखेनन् । यस्तो चामत्कारिक जोडीसँग हाम्रो साक्षात्कार


गराइदिने र मीठो दार्जिलिङे चियाको पोको उपहार दिने दिदी विणा हाङ्खिमलाई धन्यवाद नदिइकन रहन सकिदैन । यो सुखद समय छोटो भए पनि मीठो र चिरस्मरणीय रह्यो, यो लोकभाका जस्तै:

आलुदम चना

छोटो जीन्दगी नि लै लै

लामो सम्झना !!


(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 2 September 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).