Saturday 10 September 2022

मार्यो लाक्पाले मार्यो

 

 

            हेलो, आइ एम् स्टीभ् । टुडे आइ वील टेक यू अराउन्ड सम अफ द टुरिस्टिक स्पटस् इन केप टाउन ।” पशुपतिनगरबाट दार्जिलिङ्ग जानका लागि चढेको गाडीको चालक भाइ दावासँगको केहि क्षणको यात्रामै मलाई अचानक आफूले ८ / १० वर्ष अगाडि साउथ अफ्रिकाको भ्रमणमा रहँदा एकदिन स्टीभको गाडीमा  चढेर केप टाउन घुमेको सम्झना ताजा भएर आयो । कारण, स्टीभ र दावामा पर्यटकलाई मनोरञ्जन  गराउने कलामा धेरै समानता थियो । जसरी स्टीभ हामीलाई बाटोमा पर्ने सबै ठाउँको वर्णन चाखलाग्दो पारामा गर्थ्यो, दावाको शैली पनि झण्डै त्यही किसिमको थियो । ठाउँको वर्णनसँगै ऊ अरु कुरा जोड्न पनि खप्पिस थियो ।


            पशुपतिनगरदेखि दार्जिलिङ्गको बतासे डाँडासम्म पुगुन्जेल दावाले हामीलाई धेरै कुरा सुनायो । “तपाईँहरुलाई लाग्दो हो, पशुपतिनगर कट्ने बित्तिकै दार्जिलिङ्ग शुरु हुन्छ,” उसले रहस्यको पोको खोल्यो । “किन, होइन र ?” हामी पाँचजना यात्रीमध्ये कसैले उसलाई सोध्यो । “यता हेर्नुहोस्,” उसले बाटाको बायाँतर्फ़को भूभाग देखाउँदै भन्यो, “यो बाटोमाथि पर्ने जमीन नेपालकै हो । इलाम जिल्ला— पशुपतिनगर । बोर्डर कटेर निकै परसम्म तपाईँ नेपाल देख्न सक्नुहुन्छ । बाटोको दायाँपट्टि चाहिँ इन्डिया हो फेरि।” त्यतिबेला मलाई हामी केही वर्षअगाडि मिरीक गएको सम्झना भयो । हाम्रा चालक भाइ जंगबहादुरले पनि उसैगरि बाटाको एक साइड नेपाल र अर्को साइड इन्डिया भएको कथा सुनाएका थिए ।

            हामी सधैँ इन्डिया र नेपालको विवादको कुरा गरिरहन्छौँ तर यी बाटावारि बस्ने नेपाली र बाटापारि बस्ने इन्डियन छिमेकी छिमेकी होइनन् र ? उनीहरु कसरी वर्षौदेखि मिलेर बसेका होलान् ? जब जब इन्डिया र नेपालबीचमा तनाव हुन्छ, उनीहरुलाई कस्तो लाग्दो हो ? उनीहरु कति त्रसित हुँदा हुन् ? मेरो मनमा यस्ता प्रश्न तँछाड मछाड गर्दै आएका थिए ।

            म तपाईँहरुलाई एउटा रमाइलो बस्ती देखाउँछु,” मेरो सोचाइको श्रृङ्खला भङ्ग गर्दै दावाले उत्साही स्वरमा भन्यो । “यहाँ एउटा बस्ती छ, जहाँ सबै घरहरुमा होमस्टे छ,” उसले अर्को रहस्योद्घाटन गर्यो । त्यो बस्तीको नामचाहिँ लेप्चा जगत रहेछ । “किन यस्तो हो दावा भाइ?” ऊसँगैको सिटमा बस्नुहुने मेरा भिनाजु डा. गोविन्दराज भट्टराईले प्रश्न फ्याँक्नुभयो । “अन्त नि सर, पर्यटन यहाँको मुख्य आयश्रोत हो । त्यसैले अहिलेको समयमा यहाँको मानिसहरु होमस्टेप्रति आकर्षित भएको हो ।” यहि प्रसंगसँग जोडेर दावाले अर्को कथा शुरु गर्यो, “दार्जिलिङ्गलाई हो, मान्छेले चिन्ने भनेको मुख्य तीन कारणले हो ।” “के के ?” फेरि कसैले सोध्यो । “यहाँको एजुकेशन, चियापत्ती र टुरिजम् । तर अहिले कोरोना कालपछि यो तिनवटै खच्किएको छ,” उसले अलि चिन्तित स्वरमा सुनायो । “अहिले मान्छेहरु यो दार्जिलिङ्ग टी, दार्जिलिङ्ग टी भनेर किन्छ नि, त्यो त सबै नेपालतिरबाट आएको हो । यहाँको त सबै विदेशतिर जान्छ,” ऊ एकसुरमा बोल्दै थियो ।

            दावाका आँखा बाटामा थिए, हात स्टेयरिङ्ग ह्वीलमा र उसको दिमागले भने अनेक कथा बुन्दैथियो । हामी पनि सबैजना उसका कुरा चाख मानेर सुनिरहेका थियौँ । अब ऊ अलि राजनीतिक मुद्दामा आयो, “हामी कि त छुट्टै राज्य भएको कि त नेपाल सरकारकै अण्डरमा भएको भए हुने । यो बंगालले हामीलाई हेप्छ । यताको सबै आम्दानी उता प्लेन जगहतिर लगेर खर्च गर्छ । हाम्रो दार्जिलिङ्गको दैनिक आम्दानी पर्यटन व्यवसायबाट मात्र ११ करोड हुन्छ । तर हामीले कति पाउँछौ ? वार्षिक दुई करोड मात्र !”

            यस्तो गम्भीर विषयबाट दावा फेरि आफ्नो रमाइलो स्टाइलतिर फर्कियो । “मैले त हो, अप्ठ्यारोमा परेको थुप्रै मान्छेलाई बोर्डर कटाएर दार्जिलिङ्ग ल्याएको छु नि ! अहिले विवाह गरेर ११ जना बाग्लुङ्गे केटी यता आइसक्यो । अब तीनजना आउने तयारीमा छ ।” “कसरी बाग्लुङ्गदेखि यताका केटासँग विवाह गरे त ?” यो उत्सुकता मेरो थियो । दावाको मुखमा उत्तर तयार थियो, “अन्त यताको केटा र उताको केटीको विदेशमै भेट भा’कोरछ । उनारुको उतै मायाप्रीति बसेको रछ । अनि अब घरजाम गर्ने निर्णय गरेर उनारु यता आको रछ हो ।”

            यसरी बाटोभरि दावाले हामीलाई दिक्क हुन दिएन । उसले चालकको र एउटा टुरिस्ट गाइडको काम मजाले गर्यो।

            हामी बतासे डाँडाको होमस्टेमा बस्ने जम्मा सात जना थियौँ— असमदेखि आउनुभएका वरिष्ठ साहित्यकार ज्ञानबहादुर क्षेत्री, उहाँकी धर्मपत्नी मनमाया क्षेत्री, मेरी दिदी डा. अन्जना भट्टराई, भिनाजु डा. गोविन्दराज भट्टराई, जेठानी दिदी निर्मला भट्टराई, भान्जी सिन्धिया श्रेष्ठ र म स्वयम् । दार्जिलिङ्ग टेकेको तेस्रो दिन हामी पाँचजना महिलाको एकसर्को दार्जिलिङ्ग घुम्ने योजना थियो । पुरुषहरु भने साहित्यिक कार्यक्रममा नै व्यस्त हुनुपर्ने थियो ।

           


    लाक्पा भाइले उसको गाडीमा हामीलाई घुमाउने तय भयो । भिनाजु चाहनुहुन्थ्यो कि हामी एक सर्को खर्साङ् पनि घुमूँ । हामीले केटाकेटी बेलादेखि सुनेको यो नाम ! उसबेला हाम्रो घरमा एउटा पहेँलो रेडियो थियो । त्यो रेडियोमा ‘रेडियो खर्साङ्’ को नाम कति सुनियो ! कस्तो होला त त्यो रेडियो स्टेशन भन्ने कौतुहलता मनमा जाग्नु स्वाभाविक थियो । दार्जिलिङ्ग आएको बेला यस्तो ऐतिहासिक ठाउँ नि हेरिहालूँ भन्ने हामी सबैको मनसुवा थियो । तर हाम्रो लाक्पा भाइको कुरै अर्को । ऊ भरिसक्के हामीलाई तर्काइरहेको थियो, “केही छैन खर्साङ्मा ! नजानू तपाईँहरु ! टाइम मात्र लस हुन्छ । यहाँ दार्जिलिङ्गमा नै घुम्ने ठाउँ थुप्रै छ ।” उसले हम्मर गरेपछि हामीले नि “होला तानि !” भनेर चित्त बुझायौँ । मेरा श्रीमान् प्रायः भनिरहनुहुन्छ, “कि आफैं जान्नू, कि भनेको मान्नू !” अब हामी पाँचैजना दार्जिलिङ्गमा कता कता जाने भन्नेबारे उति जानकार थिएनौँ । भिनाजुले केही ठाउँको नाम दिनुभएको थियो तर लाक्पाले त्यस कुरापट्टि पनि उति ध्यान दिएन । अब हामीसँग उसकै भर पर्नुको विकल्प थिएन ।

            ल दार्जिलिङ्गका पर्यटकीय स्थल कता कता छन्, हामीलाई उतै उतै लैजानू,” भन्दै हामीले आत्मसमर्पण गर्यौं । उसले शुरुमा हामीलाई जापानी टेम्पल र पीस प्यागोडा पुर्यायो । ती दुवै ठाउँ नजिक नजिक रहेछन् । लाक्पा दावाजस्तो पर्यटकमैत्री देखिएन ।

ऊ सोधेको कुरा मात्र बोल्ने र ढुस्स मुख लाएर गाडी मात्र चलाउने चालक परेछ । दोस्रो नम्बरमा उसले हामीलाई चियाकमान पुर्यायो । चियाकमानमा हामीले हेर्नुपर्ने खासै केहि थिएन । यता इलाममा, फिक्कलमा र कन्याममा लोभ लाग्दा चियाबगान हेरिसकेका आँखा चिया कमानमा रमाउन सकेनन् । चियाकमानकै बाटो भएर रक गार्डेन र गंगामाया पार्क पुगिने रहेछ । “पैले तपाईँहरु गंगामाया पार्क जानुहोस् ! फर्केर आउँदा यहाँ रक गार्डेनमा छिर्नुहोला,” भन्दै उसले गाडी हुईक्यायो ।

गंगामाया पार्क अगाडि गाडी रोक्दै उसले हामीलाई निर्देशन दियो, “ल तपाईँहरु मन लागुन्जेल घुम्नुहोस् । भित्र बोटिङ छ, बोटिङ् सोटिङ् गर्नुहोस्” । पार्क निकै नै रमणीय होला भन्ने कल्पना गर्दै टिकट काटेर हामी त्यतै पस्यौं । तर यो सिजन पर्यटन आउने सिजन होइन रहेछ । पार्क सुनसान थियो । बाटो पनि लेउ लागेर चिप्लो चिप्लो भएको । बोटिङ् गर्ने ठाउँमा चरोमुसो कोहि थिएन । त्यो पार्क निर्जनप्रायः थियो । हाम्रो साथमा हुनुभएकी मनमाया भाउजूलाई असाध्य फोटो खिच्नुपर्ने रहेछ, त्यसैले गर्दा मात्र हामी त्यो पार्कमा केहीबेर अडियौँ नत्र त्यहाँ हामीलाई आकर्षित गर्ने खासै केही थिएन । फेरि हामी त्यहिँ हुँदाहुँदै पानी पनि पर्न थाल्यो ।

त्यताबाट फर्केर आउँदा लाक्पाले रक गार्डेनबाट निकै पर गाडी रोक्यो र भन्यो, “यहाँबाट तपाईँहरु हिँडेर जानुहोस् । धेरै टाढा छैन । मन लागुन्जेल घुम्नुहोस् र जाने बेलामा मलाई फोन गर्नुहोस्, अनि म आउँछु ।” अरुका गाडी त रक गार्डेनकै अगाडि आएर रोकिएका छन् । यो लाक्पाले चैँ हामीलाई किन यति वर ओरालेको होला — हामी यस्तै गफ गर्दै गन्तव्यतिर बढ्यौँ । त्यो ठाउँ चैँ निकै रमणीय रहेछ । चुन्नु समर फल्स् हेर्न लायकको थियो । यहाँ मान्छेको भिडभाड पनि निकै थियो । मान्छेहरु दृश्यावलोकन गर्नमा भन्दा फोटो खिच्नमा व्यस्त थिए । रक गार्डेनको विशेषता भनेकै यही सुन्दर झरना रहेछ । यहाँ पनि घुम्दाघुम्दै पानी पर्न थालिहाल्यो ।


हामीले बिहानैदेखि लाक्पालाई “हामी कसैलाई पनि जू हेर्न मन छैन । त्यहाँ चाहिँ नलानोस् है,” भनिरहेका थियौँ । ऊ केहि बोलेको थिएन । रक गार्डेनबाट उकालो लागेपछि उसले भन्यो, “अब तपाईँहरु जू जानुहोस् । त्यहाँ तिनवटै पोइन्ट एकै ठाउँमा छ — जू, म्यूजियम र रक क्लाइम्बिङ् ।” अब भने हामी असमन्जसमा पर्यौं । यी तिनवटै पोइन्ट हाम्रो छनोटमा परेका थिएनन् । हामीलाई तेन्जिङ्ग रक हेर्नुथियो, जेन्डिङ्ग गुम्बा हेर्नुथियो । सुर्योदय हेर्न नपाए पनि टाइगर हिल हेर्नुथियो । तर लाक्पा हाम्रो कुरा सुन्ने पक्षमा नै थिएन । समय पनि निकै घर्किसकेको थियो ।

हामीले अन्तमा चोकबजारमा गएर केही किनमेल पनि गर्नुथियो । घडी हेर्दा दिउँसोको तीनबाट उकालो लागिसकेको थियो । मन नलागी नलागी हामीले लाक्पाको कुरामा स्वीकृति जनायौँ । आफ्नै स्टाइलमा लाक्पाले फेरि चिडियाखाना भन्दा परै गाडी रोकेर, “, घुमेर आएपछि मलाई फोन गर्नुहोस्,” भन्दै हिँड्यो । हामीले टिकट काटेर, चिडियाखानाको गेटबाट छिर्दा पौने चार भैसकेको थियो । साढे चार बजे त यो बन्द भै पनि हाल्ने । पैँतालिस मीनेटमा जे जति हेर्न सकिन्थ्यो, त्यो हामीले हेर्यौं र बाहिरियौँ । लाक्पाले एकपटक फेरि हामीलाई, “यहि हो चोक बजार । घुमिसकेपछि मलाई फोन गर्नू,” भन्दै ओराल्यो र कता हो हुईँकियो । चोक बजारका सामानले हामीलाई आकर्षित गर्न सकेनन् । ती सामानको मूल्य पनि हामीले सुनेजस्तो सस्तो थिएन । पछि कुरा बुझ्दा हामी मुख्य बजारमा पस्दै पसेनछौँ । त्यो लाक्पाले हामीलाई कहाँ छोडिदियो कहाँ !

बेलुका हामीले लाक्पाको बारेमा अलि गुनासो गर्दा के निष्कर्ष निस्कियो भने उसले गाडीको तेल जोगाउन हामीलाई धेरैतिर नलगेको र लगेका ठाउँमा पनि परपरै ओराल्ने र जहाँ पनि “मन लागुन्जेल घुम्नू” भन्ने गरेको होला । नत्र त दिनभरि घुम्ने भाडा तिरेपछि हामीले भनेका ठाउँमा पुर्याउनु पर्ने नि !

गुनकेशरी होम स्टेकी नन्दिता बैनीले असोज कार्तिकतिर दार्जिलिङ्ग सारै रमाइलो हुने कुरा गर्थिन् । असोज त आउँदैछ । मकमक्याएर छाडेको दार्जिलिङ्ग घुम्ने धोको पूरा गर्नुपर्छ होला हौ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 9 September 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).