Friday 16 September 2022

मनभरि गुनकेशरी

 

 


    सारै जान मन लागेर पनि जान मौका नमिलिरहेको ठाउँ दार्जिलिङ्ग ! पहिले पहिले अलि हुनेखानेले आफ्ना छोराछोरीको अब्बल शिक्षाका लागि दार्जिलिङ्ग नै लैजान्थे । इतिहासमा हामी राजा वीरेन्द्रले दार्जिलिङ्गको सेन्ट जोसेफ कलेजमा पढेका हुन् भन्ने कुरा पढ्ने गथ्र्यौँ । कस्तो होला त यो दार्जिलिङ्ग
? मेरो मनमा एउटा मीठो कौतुहल उठिरहन्थ्यो । प्रायः कुनै ठाउँमा घुम्न जाने कुरा अकस्मात हुन सक्तैन । त्यसका लागि अलि योजना गर्नुपर्ने हुन्छ । तर यसपालीको मेरो दार्जिलिङ्ग यात्रा एकदमै अनायोजित थियो । म खालि मेरो कौतुहलताबाट डोहोरिएकी थिएँ ।


वास्तवमा यो मौसम दार्जिलिङ्ग घुम्नका लागि उपयुक्त होइन रहेछ । हुस्सु लागिरहने, पानी परिरहने ! त्यसैले यो ठाउँको प्राकृतिक सौन्दर्यपान आँखाभरि गर्नै पाइएन । हुन त हाम्रो बसाइ पनि त्यति लामो थिएन— मात्र चार दिन र तीन रात । तिनै चारदिन मध्येको एक बिहान । पानी परेर कतै घुम्न निस्कने अवस्था थिएन । मलाई कोठामा धुम्धुम्ती बसिरहन अल्छी लाग्यो र यसो हामी बसेको होम स्टे चलाउने दिनेश भाइ र नन्दिता बैनीको हालखबर के रहेछ भनी बुझ्न म तलामाथितिर उक्लिएँ । उनीहरु दुवै भान्सामा व्यस्त थिए । म पनि एकछिन बस्न मिल्छ कि भन्ने अनुमति लिएर भित्र छिरेँ । “आमै आउनू न ! तपाईहरु त हामीलाई पराइमान्छे जस्तो लागेकै छैन । आफ्नै घरमा आउने आफन्त पाहुनाजस्तो लागेको छ,” नन्दिताले त्यो धुम्मिएको दिनमा उज्यालो मुस्कान छर्दै मलाई भित्र बोलाइन् । उनी धमाधम रोटी पकाउँदै थिइन् । दिनेश भाइ तरकारी काटकुट गर्दैथिए ।

तपाईहरु बिहान रोटी नै खानुहुन्छ ?” मैले गफको सिलसिला शुरु गरेँ । “अँ, नानीहरुलाई ब्रेकफास्ट दिनुपर्छ, उनीहरु स्कूल जान्छन् । अनि हामी नि त्यही खाने हो । हाम्रो लन्च त ढिलो हुन्छ— एक÷दुई बजेतिर,” नन्दिताले प्रष्ट पारिन् । उनले फेरि थपिन्, “तपाईँहरु मात्र हो छिटो खाना खाने, नत्र यहाँ बस्न आउने प्रायः पाहुनाहरु त ढिलो, हाम्रै लन्च खाने समयमा खान्छन् ।” “तपाईँहरु कसरी यो पेशातिर आकर्षित हुनु भयो नि ?” मैले गफलाई निरन्तरता दिनलाई सोधेँ । “उसको पल्टनबाट रिटायरमेन्ट भयो । अब हामीले आफ्नो जीविका चलाउन केहि गर्नुपर्ने भयो । के गर्ने, के गर्ने भनेर हामीले धेरै सोच्यौँ । एकचोटि त घर बनाएर किरायामा लाउने कि भन्ने छलफल पनि गर्यौं र अन्तमा होम स्टे चलाउने निर्णय गर्यौं,” नन्दिताले बताइन् । दिनेश भाइले थपे, “मलाई पहिलेदेखि नै टुरिजम असाध्य मन पर्थ्यो । यही क्षेत्रमा केहि गरौं भन्ने लागिरहन्थ्यो । अब अहिले जागिरबाट पनि रिटायर्ड भएँ, अनि यो क्षेत्रमा हात हालेको ।” खासमा उनीहरुको मूल घर रंगली भन्ने गाउँमा रहेछ । तर आफ्ना दुई छोरीहरुलाई राम्रो शिक्षादिक्षा दिन उनीहरुले दार्जिलिङ्गको बतासे डाँडामा तीन चार वर्ष अगाडि जग्गा किनी आफ्नै घर बनाएका रहेछन् । घर पूरा बनिसकेको पनि थिएन । अझै दुई तला थप्न बाँकी भएको कुरा दिनेश भाइ गर्थे ।

नन्दिता शुद्ध ब्राम्हण परिवारकी रहिछन् । माछामासुको त कुरै छाडौँ, उनी लसुन प्याज पनि खाँदिरहिनछिन् । दिनेश भाइ भने क्षेत्री परिवारका । उनीहरुको प्रेम विवाह भएको रहेछ । मासुमंस खाने पाहुना आए त्यो काम दिनेश भाइले नै सम्हाल्ने रहेछन् । “नन्दिता बैनी, अनि तपाईहरुलाई सघाउने पनि कोही छ ? यी पाहुना बसेका कोठाको सरसफाइ, लुगा धुने कामचाहिँ कसले गर्छ ?” मैले कौतुहलतावश् सोधेँ । उनले हाँस्तै भनिन्, “सबै म गर्छु नि ! पिक सिजनको बेला गेस्ट बढी भए भने हामीलाई सघाउन हाम्रो भतिजालाई बोलाउँछौँ । नत्र नर्मल्ली त सबै काम हामी दुईजनाले नै सम्हाल्ने हो ।”

सामानहरु जुक्त्याउन दिनेश भाइले दिनहुँ तीन÷चारपटक बजार जानुपर्ने रहेछ । बाटाका ७०–७५ वटा सिँढी तल र माथि गर्नुपर्दा उनको ज्यान पनि बनेको रहेछ । त्यसमाथि रिटायर्ड आर्मी ! शारीरिक व्यायाम समेत गर्थे कि ! मैले यो चाहिँ सोध्न बिर्सेंछु ।

मेरो रुचि लेखनमा भएको थाहा पाएरै नन्दिताले भनिन्, “मलाई पनि लेख्न पढ्न त असाध्य मन लाग्छ नि दिदी ! पहिले पहिले सिक्किमबाट ‘कमली’ भन्ने पत्रिका निस्कन्थ्यो । म त्यसमा आफ्ना कविताहरु छपाउँथे । धेरै कविता छापिएका छन् नि मेरा !” “अनि अचेल चैँ लेख्नुहुन्न ?” मैले आश्चर्यमिश्रित स्वरमा सोधेँ । “बिहा भएपछि त घर सम्हाल्नुपर्यो । बच्चाबच्ची भए । उनीहरुको पालन पोषण र शिक्षादिक्षामा ध्यान दिँदादिँदै आफ्नो रुचि त कता पुगिगयो ।” नन्दिताको सिर्जनात्मकता छेउ लागेको सुनेर मलाई अलि नमज्जा पनि लाग्यो । “अब त नानीहरु ठूला भए । फेरि लेख्न थाल्नू न !” मैले उनलाई प्रोत्साहित गर्न खोजेँ । उनी फिस्स हाँसिन् मात्र ।

दिनेश–नन्दिताको खासियत भनेको चाहिँ उनीहरुले हामी त्यहाँ बसुन्जेल कहिल्यै पनि दोहोर्याएर कुनै तरकारी, अचार ख्वाएनन् ! हरेक छाकमा खाना उत्तिकै मीठो । “यत्रोजनालाई पकाएर ख्वाउन दिक्क लाग्दैन ?” मैले नन्दितालाई सोधेँ ।

हाम्रो गफको क्रममा उनले दिनेश भाइले सबथोक ठिक्क पारिदिने र पकाउने कामचाहिँ आफैं गर्ने सुनाएकी थिइन् । “लाग्दैन । हाम्रो परिवार पनि ठूलो छ नि ! चाडबाडमा हामी घर गएको बेला खाना मैले नै बनाउने हो । म एक्ली बुहारी ! भान्सामा अरु आए भने त म अलमलिन्छु । मलाई आफ्नै सुरमा एक्लै पकाउन मन लाग्छ ।”

हामीसँग गुनकेशरी होम स्टेमा रहनुभएका असमी साहित्यकार ज्ञानबहादुर क्षेत्रीलाई पनि विशेष यहाँको खानाले नै मोहनी लगाएको थियो । “हेर्नू व्यञ्जना जी, घर छोडेर बाहिर हिँडेपछि खानपिनको नै समस्या हुन्छ । होटलको खाना खायो, कहिले राम्रो पर्छ, कहिले पर्दैन । यस्तो बेलामा बिरामी परिन्छ कि भनेर ज्यादै डर लाग्छ । तर यहाँ हेर्नू न ! हामीलाई यति राम्रो खाना खुवाउँछन् । घरको भन्दा केही कम छ त ? घरको भन्दा अझ मीठो छ ।” उहाँले हाँस्दै भन्नुभएको थियो ।


आफूले व्यवसाय सुरु गर्नेबित्तिकै कोभिड १९ को आतङ्क मच्चिएकाले गएको दुई वर्ष त दिनेश— नन्दिताले पनि निराशा नै बेहोर्नुपरेको रहेछ । अहिले भने बिस्तारै उनीहरु चम्कँदै रहेछन् । उनीहरुले करीब २५० जति पाहनालाई आफ्नो सेवा प्रदान गरिसकेका रहेछन् । यसबीचमा उनीहरुले कुनै तीतो अनुभव सँगाल्नुपरेको रहेनछ । आएका जति सबै पाहुनाले उनीहरुको तारिफ नै गरेका रहेछन् । यसले उनीहरुलाई आफ्नो व्यवसायमा अगाडि बढ्न थप उर्जा मिलेको कुरा दुवैले खुशी हुँदै सुनाए । “कोही कोही पाहुना त उता प्लेनतिर अति गर्मी भएर खालि ठण्डा खानु मात्र यता आउँछ । दिनभरि कतै घुम्न जाँदैन । घरमै बस्छ । हामी उनीहरुले जे जे अर्डर गर्छ, पकाएर ख्वाउने हो ।” नन्दिताले सुनाइन् । उनले अगाडि थपिन्, “कुनै कुनै चाहिँ कोठामा बसेर पिउने मात्र हुन्छ । अनि उनीहरुले भनेअनुसारको वाइन ल्याइदिनुपर्यो ।”

गफसँगै नन्दिता र दिनेशको काम पनि चलिरहेको थियो । दुवै मिलेर छोरीहरुको नास्ता तयार गरिदिने र हाम्रो खाना बनाइदिने काम गरिरहेका थिए । “तपाईँहरु त सारै ज्ञानी पाहुना हाम्रो । राती पनि छिटै सुतिहाल्नुहुँदो रहेछ । कोठाबाट हल्लाखल्ला आएको पनि सुनिदैन,” नन्दिता सुनाउँदै थिइन् । “आफूसँग भाषा मिल्ने मान्छे आउँदा पनि रमाइलो पो हुँदो रहेछ । कहिलेकाहीँ कसैले भनेको कुरा नबुझेर अलि समस्या पर्छ । उनीहरु एउटा कुरा भन्छ, म अर्कै कुरा बुझ्छु,” उनले आफूलाई आइपर्ने समस्या मसँग शेयर गरिन् । मैले त्यतिबेलै सम्झिएँ— एकपल्ट उनी हामी भए ठाउँमा आएर सोधेकी थिइन्, “तपाईँहरुलाई आज म पोटलको तरकारी बनाइदिऊँ ?” “के हो पोटल भनेको ?” हामी सबैले एकैपटक सोधेका थियौँ । उनले हाँस्दै फेरि, “तपाईँहरुको तिर यसलाई के भन्छ ?” भनेर सोद्धा भिनाजुले तुरुन्तै, “के भन्छ, के भन्छ, के थाहा ? देखेको छैन,” भन्ने जवाफ दिनुभएको थियो । पछि थाहा भयो— पोटल भनेको त पर्वल पो रहेछ ।


नन्दिताले छोरीहरु स्कूल पठाउने बेला भैसकेको थियो । बाहिर पानी पनि मत्थर भएको थियो । मैले कुराको बीट मार्दै भनेँ, “यो गुनकेशरी त  फूल होइन ? तपाईँहरुले आफ्नो होम स्टेको नाम नै गुनकेशरी राख्नुभएको रहेछ । कस्तो हुन्छ होला होगि यो  फूल !” उनले आश्चर्य प्रकट गर्दै सोधिन्, “आमै ! तपाईले देख्नुभएको छैन ?” अनि मलाई बाहिर लगेर आफूले गमलामा  फूलाएको गुनकेशरीको  फूल पनि देखाउन भ्याइन् । मेरो मनमा भने आदिकवि भानुभक्त आचार्यको, 

चपला अबलाहरु एक सुरमा

गुनकेशरीको  फूल ली शीरमा

हिँडन्या सखी ली कन वरिपरि

अमरावती कान्तिपुरी नगरी”

भन्ने कविता गुन्जिरहेको थियो ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 16 September 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).