Sunday 30 April 2023

मायाका रङ्गहरु

 प्रिय कबीर,

यो क्लाइमेट चेन्जको असर हो कि के हो ? जुन समयमा जे हुनुपर्ने हो त्यो हुँदैन । तिमीलाई थाहा छ नि, पहिले पहिले फागुन चैतमा हुइं हुइं हुरी चल्थ्यो ! त्यसैले त भन्न नै चैते हुरी भनिन्छ । आजकल त्यही हुरी वैशाखमा चल्न थालेको छ !


जब जब ह्वाईं ह्वाईं यो चैते हुरी वैशाखमा चल्न थाल्छ, मेरो मन पनि यही हुरीसँगै उडेर कता कता पुग्छ । किन किन मलाई नरमाइलो लागेर आउँछ । यो जीवन नै निरर्थक जस्तो लाग्छ । यसरी मेरो मन डुबेको बेला मेरै मनको भित्री तहबाट सुस्तरी सुस्तरी सुसेली हाल्दै एउटा शीतल भाका मनको सतहमा आइपुग्छ । म अलिक सतर्क भएर त्यो शीतलतालाई अनुभूति गर्न खोज्छु, अनि त्यो प्रष्ट भएर तिमीमा रुपान्तरित हुन्छ, कबीर !

तिमी भन्ने गर्थ्यौ — कुनै पनि समय सधैँ एकनासको हुँदैन । हाम्रो जीवनमा जे जति घटना परिघटना हुन्छन् , ती सबै क्षणिक हुन् । मेरो मनमा यदाकदा छाउने यो निराशा पनि क्षणिक नै हो नि, होइन र ? यो नकारात्मक भावलाई बिस्तारै बिस्तारै तिम्रो मीठो संझनाले छोप्दै लाँदा म धेरैपटक चङ्गा नभएकी पनि होइन । 

अहिले म संझदैछु — प्रेम के हो भन्ने विषयमा हाम्रो बेलाबेलै बहस हुने गर्थ्यो । तिमी भन्थ्यौ — एउट प्रेमी र प्रेमिका बीचको प्रेमको आधार नै शारीरिक आकर्षण हो । प्रेमी सिर्फ प्रेमिकालाई शारीरिक रुपमा हासिल गर्न चाहन्छ । प्राप्तीबिनाको प्रेम के प्रेम ! म प्रतिवाद गर्थें — होइन, प्रेम भनेको मनको गहिराइबाट शुरु हुन्छ — मन नमिली, अझ भनौं आत्मा नमिली शारीरिक आकर्षणमा मात्र अडिएको प्रेम दिगो हुन सक्तैन । प्रेम प्राप्ति मात्र होइन । यसै विषयमा तर्क वितर्क गर्दै हामी घन्टौं बिताइदिन सक्थ्यौँ ।

साँच्चै, वास्तवमा यो प्रेम भन्ने चीज के होला हगि कबीर ? यसको चर्चा सृष्टिको शुरुदेखि नै चलिरहेको छ । हालसालै मैले नयनराज पाण्डेको “लू” भन्ने उपन्यास पढेकी थिएँ । त्यहाँ इलैया भन्ने एकजना पात्र छ । ऊ जति बदमास र उपद्रो गर्ने व्यक्ति त्यो उपन्यासमा शायदै भेटिएला । तर जब ऊ नुसरतको प्रेममा पर्छ, उसमा दैवीय भावना उत्पन्न हुन थाल्छन् । ऊ आफ्नी प्रेमिकासँग साधारण र खुशहाल जीवन बिताउने सपना देख्न थाल्छ । तर उसको दुर्भाग्य ! उसले मन पराएकी केटी अर्कै स्वच्छ छवि भएको केटाको प्रेममा परेकी हुन्छे । इलैया प्रेम गर्न सक्छ वा असल मान्छे हुन सक्छ भन्ने कुरा ऊ पटक्कै पत्याउँदिन । आखिरमा इलैयाकै सहयोगबाट ऊ आफ्नो प्रेमीसँग नयाँ साइकलमा चढेर भाग्न सफल हुन्छे । यतिमात्र होइन, इलैयाले आफ्नी आमाका सम्पूर्ण गहना पनि त्यहि केटीका हात लगाइदिन्छ । ती गहना उसले आफ्नी हुनेवाला श्रीमतीलाई दिने कुरा सोचेको हुन्छ ।

ल भन त कबीर, यो इलैयाको प्रेम कस्तो हो ? उसले त कहिल्यै उसकी प्रेमिकालाई प्राप्त गर्न सकेन, तैपनि एकोहोरो प्रेम गरिरह्यो । आफ्ना सम्पूर्ण भावना र सम्पत्ति नै उसलाई सुम्पिएर ऊ सन्तुष्ट भैरह्यो । ल भन, उसमा शारीरिक लोलुपता कहाँनेर थियो ?

यसैगरी मैले तुलसी आचार्यको “मोचन” उपन्यासमा पनि प्रेमलाई कसरी अर्थ्याएको रहेछ भनेर खोजिहेरेँ । यो उपन्यासको पुरुष पात्र भने शारीरिक प्रेमकै लागि भौंतारिएको भेटियो । पहिली श्रीमतीसँग कुनै पनि कुरामा आफ्नो स्तर नमिलेपछि यो उपन्यासको म पात्र फेसबुकमार्फ़त भेटिएकी दोस्री प्रेमिकालाई सशरीर भेट्न अमेरीकादेखि नेपालसम्मको यात्रा तय गर्छ । एकअर्कालाई आन्तरिक रुपमा जान्नु बुझ्नुअगाडि नै उनीहरु शारीरिक सुखानुभूति गर्न तत्पर हुन्छन् । यसरी उनीहरु दुवैजनाको प्रेमकहानी शारीरिक आकर्षणबाटै शुरु हुन्छ ! यदि उनीहरुका लागि आत्मिक सन्तुष्टि नै प्रेम हुन्थ्यो भने एकअर्कालाई भौतिक रुपमा नभेटिकनै पनि आफ्नो प्रेम सम्बन्ध निभाउन सक्थे नि, होइन र कबीर ? मोचन पढ्दैगर्दा मलाई अंग्रेजी आख्यान लेख्ने भारतीय लेखक कुनाल वसुको कथा संग्रह “द जापनीज वाइफ” मा आधारित चलचित्र “द  जापनीज वाइफ” को संझना भएको थियो । यो एउटा साधारण भारतीय स्कूल शिक्षक र उसकी जापानी पत्रमित्रको मन छुने प्रेम कथा थियो । एक अर्कालाई चिठी लेख्ने क्रममा नै पलाएको उनीहरुको प्रेम चिठीद्वारा नै सबै वाचा पूरा गरेर विवाहमा परिणत भयो । यसरी उनीहरुले एक अर्कालाई नदेखिकनै, नभेटिकनै बाँकी १५ वर्षको जीवन एक विवाहित जोडीका रुपमा बिताए । अन्तिममा नायकको मृत्यु भएपछि उसकी जापानी श्रीमती विधवाको रुप धारण गरेर आफ्नो घरमा प्रवेश गरी । यस्तो खाले प्रेमलाई के को संज्ञा दिनु, कबीर ?


प्रेमको परिभाषा नै खोज्ने क्रममा म अनीता पन्थीको “अनायोजित” उपन्यासमा पसेँ । यो उपन्यासको प्रमुख पात्र प्रयासको प्रेम कहानी फेरि अर्कै छ । आफ्नी प्रेमिका उन्नतीलाई प्राप्त गर्ने आशामा नै उसले आफ्नो सम्पूर्ण जीवन उत्सर्ग गरेको देखिन्छ । हुन त प्रयासको प्रेम शारीरिक स्तरबाटै शुरु भएर आत्मिकतातिर लम्किएको छ । उसले आफ्नो जीवनमा धेरै कुरा गर्छ । ऊ अनेक समस्यामा फँस्दै जान्छ । जति जति ऊ अगाडि बढ्दै जान्छ, उसलाई अब उन्नती आफ्नी हुन नसक्ने निश्चित हुँदै जान्छ । तैपनि ऊ आफ्नी प्रेमिकालाई प्रेम गर्न छोड्दैन ।

मैले हालसालै छुदेन काविमोको चर्चित उपन्यास “फातसुङ” पढिसिध्याएँ । मूलतः यो एउटा दार्जिलिङमा जातीय पहिचानका लागि गरिएको आन्दोलनमा आधारित उपन्यास हो । त्यहि आन्दोलनकै बीचमा पनि युवा मनबीच प्रेम अंकुराएकै छ, फक्रिएकै छ । आफ्नो माटोका लागि लडिरहेका यो उपन्यासका पात्रमा शारीरिक तृप्तीका लागि गरिने प्रेमका लागि समय नै छैन । तैपनि मनैमनमा उनीहरु आफ्ना मायालुका लागि समर्पित हुन्छन् । हतासिएको आफ्नो जीवनमा एकछिन भए पनि प्रेमको माधुर्य भर्छन, आशाका किरण छर्छन् । अनि फेरि हतियार बोकेर अन्तहीन युद्धमा होमिन्छन् ।

यसरी हेर्दा प्रेम मानव जीवनको अभिन्न अंग हो भन्ने कुरामा त हामी दुईमा विमती छैन नि, होइन त कबीर ? कसरी यसलाई परिभाषित गर्ने भन्नेमा चाहिँ हाम्रो विवाद हुने गर्थ्यो । जब जब प्रेमको कुरा आउँछ म प्रख्यात फारसी कवि रुमीलाई संझन्छु । प्रेमको कोमल मखमली भावलाई उनले जति राम्रोसँग शायद अरु कसैले व्याख्या गरेको होला ! उनले प्रेमको व्यापकताको चर्चा गरेका छन् । यो संसारमा प्रेम मात्र साँचो हो, अरु सब कुरा झूठ भन्छन् उनी । हुन पनि हो — मानिस लगायत सबै पशुप्राणी नै प्रेमका भोका हुन्छन् । सबैलाई प्रेम नै चाहिएको हुन्छ — अनेक रुपमा । त्यसैले त प्रेम वैँशालु जोडिमा मात्र सीमित हुन्न नि, होइन त ?


तिमी भन्लाउ — यो सब बकवास हो । प्रेम मान्छेको स्वार्थसँग जोडिएको हुन्छ । तर म तिम्रो कुरामा सहमत हुन सक्तिन है कबीर । प्रेम आफैंमा पवित्र छ, निस्वार्थ छ र अमृततुल्य छ । मानिसले नै यो भावलाई अनेक किसिमका स्वार्थसँग जोडेर दूषित पार्न खोज्छन् । त्यसैले म त रुमीकै पक्षमा छु — प्रेम सबैभन्दा माथि छ, प्रेमले हामीलाई उर्जा दिन्छ । प्रेम नै एउटा त्यस्तो शक्ति हो जसले दानवीय प्रवृत्ति भएका व्यक्तिलाई दैवीय प्रवृत्तिमा परिवर्तन गर्न सक्छ । यस्ता कथा किस्सा हामी पढ्दै आएका छौँ नि, होइन ?

हेर न, तिम्रो प्रेम पनि त मेरो जीवनको कठ्याङ्ग्रिएको क्षणमा न्यानो घाम बनेर आउँछ, गर्मीले उखरमाउलो भएको क्षणमा शीतल पूर्वीय हावा बनेर आउँछ, अनि चारैतिर निराशाको कालो बादल लागेको बेला उज्यालो जूनको किरण बनेर आउँछ । हाम्रो विवाद एक ठाउँमा छ तर एकअर्काप्रति गरिने अनुभूतिको कुनै परिभाषा नै छैन नि ! कि कसो कबीर ?

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 28 April 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  


 




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).