Friday 17 December 2021

पुस्तक नै अब्बल

 


    हालसालै एउटा लोकगीत संग्रहको पुस्तकको पाण्डुलिपी मेरो हातमा आइपुगेको थियो । यो पाण्डुलिपी पढ्दै गर्दा म आफ्नो स्कूले जीवनतिर फर्किएकी थिएँ । यो समय यस्तै ४०
-४२ वर्ष पहिलेको हुँदो हो । त्यतिबेला गीत संगीत सुन्न हामी रेडियो नेपालको मात्र भर पर्नुपर्थ्यो । त्यो समयमा टेलिभिजन हाम्रो कल्पनामै थिएन र कुनै एफ्.एम.का रेडियो स्टेशन पनि खुलेका थिएनन् । आफू  घरमा हुँदा वा स्कूल जाँदै गर्दा बाटामा आफूलाई मन पर्ने गीत बज्थ्यो, अनि सुन्दा सुन्दै सकिन्थ्यो । त्यसलाई फेरि आफ्नो इच्छा बमोजिम रिवाइन्ड गरेर सुन्न सकिंदैनथ्यो र फेरि कहिले त्यो गीत रेडियो नेपालमा बज्ने हो भनेर धैयर्तापूर्वक प्रतीक्षा गर्नुबाहेक अरु उपाय थिएन । त्यतिबेला एउटा राम्रो कुरा चाहिं के हुन्थ्यो भने नाम चलेका गायक गायिकाहरु जस्तै नारायण गोपाल, तारादेवी, मधु क्षेत्री, दीपक खरेल, अरुणा लामा, अरुण थापा, कुमार बस्नेत, मीरा राणा लगायत प्रायः सबैका गीतका पुस्तक किन्न पाइन्थे । तिनै पुस्तक किनेर हामी गीत कण्ठस्त हुनेगरी पढ्थ्यौं र गीत गाउन सिक्थ्यौं । यतिमात्र होइन, हामी ती पुस्तक साथी साथीमा सट्टापट्टा पनि गर्थ्यौं। यसो गर्दा बजारमा निस्केका प्रायः सबै पुस्तक हाम्रा हात पर्न सक्ने सम्भावना प्रबल थियो ।

        हिजोआज यस्ता किताब बजारमा पाइँदैनन् । यस्ता कुरा सुन्दा नवपुस्तालाई एकादेशका कथा सुनेजस्तो लाग्दो हो । खासमा, गीत संगीत प्रेमीले यस्ता पुस्तकको आवश्यकता पनि महसूस गरेका छैनन् होला । आजभोलि मन परेका प्रायः सबै गीत यूट्युव लगायतका विविध डिजीटल प्लेटफर्ममा भेटिन्छन्, शब्दसहितै ।

        आजको यस्तो नयाँनयाँ सूचना प्रविधिको युगमा जहाँ गीतहरु अनेक किसिमले रेकर्ड गरेर सुरक्षित राख्न सकिन्छ, किन त्यो लोकगीत संग्रहको आवश्यकता पर्यो होला भनेर म सोच्न बाध्य भएँ । त्यहिंमाथि लोकगीत त झन् मौखिक साहित्यमा नै पर्छ ।

        नब्बेको दशकतिर जब पश्चिमी मुलुकमा यो नयाँ सूचना र प्रविधिको क्रान्ति नै आयो, मानिसहरु अब यो प्रविधिले सारा पुस्तकलाई विस्थापन पो गर्ने हो कि भनेर निकै डराएका थिए अरे । तर विज्ञानले जतिसुकै ठूलो फड्को मारे पनि, सबै पठन सामग्री अनलाइनमै उपलब्ध गराइदिए पनि यो प्रविधिले पुस्तकको महत्वलाई लेस मात्र पनि घटाउन सकेन । यसको उदाहरणका रुपमा हामी संसारभर उपलब्ध पुस्तकालयलाई लिन सक्छौँ । त्यहाँ जति डिजिटल सामग्री पाइन्छन् तीभन्दा बढी विभिन्न विषयमा लेखिएका पुस्तकहरु सजाएर राखिएको देख्न सकिन्छ ।


        यसबाट के प्रमाणित हुन्छ भने लिखित सामग्रीको महत्वलाई प्रविधिले घटाउन सक्तो रहेनछ किनभने यस्ता सामग्री पनि मानव समाजका लागि अपरिहार्य हुने रहेछन् । जबजब विज्ञानले गरेका अनौठा अनौठा चमत्कारका विषयमा कुरा हुन्छन्, म हाम्रा बुवाको कथन सम्झिन्छु ।

        त्यो समय भर्खर भर्खर बिजुली बत्तीले हाम्रा परम्परागत रुपमा बालिने टुकी, कुपी, लालटिन अथवा लम्फालाई विस्थापन गरेको समय थियो । एक दिन हामी परिवारका सबै सदस्य बेलुकाको खाना खान बसेका थियौं । त्यतिबेला हाम्रा बुवा, मुवाँ हामी छोराछोरीले पकाएको भात खानुहुन्नथ्यो । त्यसैले मुवाँ आफैं भान्से लाग्नुभएको थियो । उहाँले बुवालगायत हामी पाँचजना छोराछोरीलाई खाना पस्किसक्नु भएको थियो । हामी बुवाले कतिबेला खाना चढाइसक्नुहुन्छ र हामी खानु भन्ने प्रतीक्षामा थियौँ । बुवाले खाना चढाउनुभयो, अप्सानी हाल्नुभयो र हामीले गाँस हाल्न मात्र के थालेका थियौं, झ्याप्प बत्ती गयो । बिजुली बत्तीमा बानी पर्न थालेका हामी, पहिलेपहिले चलाउने गरेका कुपी र लालटिन टुङ्गा टुङ्गामा राख्न छोडिसकेका थियौं। एकछिनपछि जब बत्ती आयो, बुवाले हामीतिर हेरेर भन्नुभएको थियो, “हेर केटाकेटी हो ! यो विज्ञान भनेको यस्तै हो । हामी यसको पूर्ण भरोसा गर्न सक्तैनौँ । यसले हामीलाई जुनसुकै बेला पनि धोका दिन


सक्छ ।”

        हुन पनि हो, जब हामी कक्षा कोठामा पसेर परम्परागत सामग्री प्रयोग गरी पढाउने गर्थ्यौं, हाम्रा पठनपाठन प्रकृया निर्विघ्न रुपमा चल्ने गर्थे । तर जब कोरोनाले संसारलाई नै आक्रान्त पार्यो, अनलाइन टिचिङको विकल्प नै रहेन, त्यतिबेला हामीले निकै नै सास्ती बेहोर्नु परेको थियो । कहिले पढाइरहेको बेलामा झ्याप्प बत्ती जाने, कहिले इन्टरनेट स्लो हुने, कहिले इन्टरनेट नै उड्ने र कहिले भने आफू भर परेको कम्प्यूटर एप्लिकेसनले काम नै नगर्ने ।

        नकारात्मक पक्ष जति नै भए पनि आजको युगमा यो सूचना र प्रविधि नभैकन हाम्रो जीवन चल्न असम्भवप्रायः छ । यसरी नयाँ संस्कृतिले थिचेर ल्याएको समयमा त्यो लोकगीतको पाण्डुलिपीले मेरो मनमा केही तरङ्गहरु उठाएको थियो । मेरो पुस्तक प्रेमलाई अझ सुदृढ बनाएको थियो ।

        अहिलेको पुस्तालाई म “गुगल जेनेरेसन” भन्न रुचाउँछु । यो पुस्ता पठन कर्म र पुस्तकदेखि विरक्तिएको जस्तो देखिन्छ । कुनै विषयको बारेमा जानकारी चाहियो भने गुगल गर्यो, सम्पूर्ण जानकारी ल्यापटपको वा मोबाइलको पर्दामा उपलब्ध भैहाल्छ । अनि के दुःख गरेर पुस्तक खोज्नु र पढ्नु ? सबभन्दा पछिल्लो समयमा अधिकांश मानिसहरु “टिकटक” तिर आकर्षित भएको मैले अनुभूति गरेकी छु । के बुढाबुढी, के तरुना तन्नेरी, के केटाकेटी सबै टिकटकमा लागेका छन् । कोही गीत गाउने, कोही नाच्ने, कोही फिल्मका सम्वाद बोल्ने, कोही भन्दा कोही कम देखिँदैनन् । यसै प्रसङ्गमा एकपटक नेपाली चलचित्रका नायक राजेश हमालले ठट्टा गर्दै अब कुनै दिन यी टिकटक बनाउनेहरुले चलचित्र नै बनाए भने पनि आश्चर्य मान्नुपर्ने छैन भनेका थिए । हालसालै अति भएर एउटा क्याम्पसले त औपचारिक सूचना नै प्रसारित गरी कुनै पनि विद्यार्थीले क्याम्पसको परिसरभित्र र क्याम्पसको पोशाकमा कुनै पनि टिकटक भिडियो नबनाउन चेतावनी समेत दिएको थियो ।

        यसरी नयाँ प्रविधिमा सबै उमेर समूहका मान्छे लिप्त हुने तत्कालिन समयको मूल्याङ्कन गर्दै केही विज्ञहरु यसले गर्दा “पठन संस्कृति” मा ह्रास आएको चिन्ता व्यक्त गर्छन् । अहिले विद्यालयतिर पनि कसरी विद्यार्थीमा “पठन संस्कृति” विकास गर्ने भन्ने विषयमा बहस चलेको सुन्न सकिन्छ । अविभावकहरु समेत केटाकेटी मोबाइल फोनमा नै झुण्डिरहने हुनाले उनीहरु पुस्तक समाएर पढ्न मन नगर्ने कुरा व्यक्त गर्छन् ।

        हाम्रा केटाकेटीमा अक्षरप्रति माया मोह जगाउन उनीहरुका रुचिअनुसार विभिन्न विषयमा पुस्तक प्रकाशित हुनुपर्छ । कतिपय स्थानहरुमा अझै पनि पढ्नु भनेको “पाठ्यपुस्तक” मात्र पढ्नु भन्ने बुझाइ छ । त्यसैले बाबुआमा आफ्ना छोराछोरीलाई अन्य पुस्तक पढ्न त्यति प्रोत्साहन गर्दैनन् । पुस्तक हाम्रा सबभन्दा नजिकका साथी बन्न सक्छन् । पुस्तकले हामीलाई संसार देखाउन सक्छन् । पाठ्यपुस्तक बाहेकका आफ्ना उमेर समूहसँग मिल्दा अरु पुस्तकहरु पनि पढ्न किन जरुरी छ त भन्ने कुरामा लामो बहस र छलफल हुन सक्छ । छोटकरीमा भन्नु पर्दा बेलायती लेखक रोल्ड ड्यालले भने झैं जीवनमा केहि गर्नु छ भनें प्रसस्त किताबहरु पढ्नु जरुरी छ । यसले निर्विकल्प रुपमा ज्ञानको दायरा त बढाउँछ नै, त्यसबाहेक पनि हामीलाई मानसिक सन्तुलन कायम राख्न मद्दत गर्दछ । अहिलेका समयका चर्चित व्यवसायी एलन मस्कलाई सोधिएको एक प्रश्न — तपाईंलाई के कुराले रकेट बनाउन प्रेरित गर्यो भन्ने कुराको उत्तरमा उनले छोटकरीमा भनेका छन्, “पुस्तकले ।”


        यसरी हेर्दा पुस्तकको महत्व जति पहिले थियो, अहिले पनि उत्तिकै छ र पछिसम्म पनि रहिरहन्छ । त्यसैले त्यो लोकगीत संग्रहको पाण्डुलिपी पुस्तकका रुपमा निस्कनुले पुस्तकको संग्रहालयमा एक आयाम थप्नेछ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 17 December 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).