केहि प्रजातिका चराचुरुङ्गी र जनावर मानिसका अभिन्न मित्र हुँदा रहेछन् । रुप्पी, परेवा, भँगेरा जस्ता चरा र कुकुर, बिराला जस्ता जनावर मानिसबाट टाढा जान नसक्ने रहेछन् । पुराना ढपका खरका छाना भएका घर त अझ रुप्पी र भँगेराका लागि स्वर्गीय स्थान हुने रहेछन् । जस्ता पाताका छाना भएका घरमा समेत रुप्पी, परेवा र भँगेराले कतै न कतै बासस्थान पहिल्याएर छोड्छन् । हेर्दा सफा देखिए पनि असाध्यै फोहोर पारेर हैरान पार्ने परेवाले हामीलाई पुरानो घरबाट विस्तापित नै गरे भन्दा पनि हुन्छ । जताततै गुँड लगाउने, बाझाबाझ गरेर घर हेरिनसक्नु पार्ने, जताततै बिस्टा गरेर घर फोहोर र दुर्र्गिन्धत पार्ने अनि बच्चा कोरल्दा निस्कने निरन्तरको आवाजले परेवाले हामीलाई बसाईँ नै सर्न बाध्य पारे । बुवाकै पालामा बनेको टिनको छाना भएको काठ मिश्रीत घर बीसौँ जोर परेवा र रुप्पीको आश्रय स्थल भएर गयो । पिता माता रहुन्जेल घरमा बस्ने प्रशस्त सदस्यहरु हुँदा त्यति ख्याल नभए पनि पछिल्लो समयमा भनेँ हामी दुई जोइपोइलाई ठूलो घर परेवाको खोर जस्तो हुँदै गएको थियो । परेवाहरु धपाउने हाम्रा धेरै प्रयासहरु निरर्थक साबित भएर अन्त्यमा पुरानो घर भत्काउने निर्णयमा हामी पुग्यौँ ।
मानव जनावर मित्रता
मानिस र जनावर बीचमा धेरै पुरानो
सम्बन्ध छ । हुन त यो सम्बन्ध मानव स्वार्थमा आधारित छ । मान्छेले आफ्नो स्वार्थ र
फाइदाको लागि नै जनावरसँग मित्रता बढाएको हुनुपर्छ । कुकुर र मानव बीचको मित्रता
हेर्ने हो भनें यी दुईको सम्बन्ध असाध्यै पुरानो रहेछ । करिब १५,०००
वर्षभन्दा पहिलेदेखि मानव र कुकुर प्रजातिबीच मित्रता हुन थालेको रहेछ । कुकुरका
बराजुहरु त ब्वाँसा नै रहेछन् र ती बिस्तारै बिस्तारै मान्छेहरुसँग नजिकिँदै गर्दा
अहिलेका घरेलु प्राणी बनेका रहेछन् ।
हाम्रातिर उति कुकुर र मान्छेका बीचमा गहन मित्रताका बारेमा नसुनिए
पनि आफू अष्ट्रेलियामा
रहँदा भने कुकुर र मानव बीचको अत्यन्त प्रगाढ सम्बन्ध बारेमा मैले देखेकी र सुनेकी
छु । एकजना मेरी साथी अमेलाकहाँ पाँचवटा विभिन्न जात र साइजका कुकुर थिए । ती
कुकुर डुलाउनकै लागि भनेर उसले नयाँ ठूलो कार किनेकी थिई । उनीहरु दुई दम्पत्तिका
चर्चा र गफका प्रमूख विषय नै कुकुुर थिए । अनि अर्की साथी केलीले भनेँ आफ्नो प्रिय
कुकुरको मृत्युको शोकमा रन्थनाएर गोडामा त्यस कुकुरको नाम ट्याटु गराएकी थिई । अझ
अर्की सहकर्मी साथी श्यारोनले त आफ्नो हार्ली डेभिडसन मोटरसाइकल बेचिकन उसको
कुकुरको खुट्टाको अपरेशन गराएकी थिई । जति मेरा पश्चिमा साथीहरुले आफ्ना घरेलु
प्राणीप्रति आसक्ति देखाएका छन्, त्यति साह्रो
आसक्ति देखाउने मानिसहरु यता आफ्ना मुलुकमा पाएकी छुइन ।
यी जीवजन्तु प्रेमको उत्कट नमूना
चाहिँ मैले साथी जुलीको प्रेमी चरो काकातुवाको मृत्यु हुँदा देखेकी थिएँ । औसत आयू
भन्दा धेरै बाँचेको वाली नामको उसको काकातुवाको कथा मैले धेरै सुनिरहेकी थिएँ । तर
एकदिन रुँदै जुलीले फोन गरेर उसको वालीले मृत्युवरण गरेको कुरा सुनाई । ऊ तीन दिन
काममा आइन । तेश्रो दिन फूल गुच्छा बोकेर उसलाई सान्त्वना दिन म उसको घर जाँदा
उसले कसरी वालीलाई एउटा ठूलो गमलामा दफन गरी भन्ने विवरण सुनाई । बितेका पच्चीस
वर्षमा उसका पाँच प्रेमी फेरिएछन् । तिनीहरु कसैले वफादारिता देखाएनछन् । तर वाली
सधैँ ऊ सँगै रह्यो र हरेक दिन, हरेक क्षण उसलाई
निष्कपट प्रेम गरिरह्यो । त्यसै कारणले पनि ऊ निकै दुःखी भई ।
लेखनमा जनावर
साहित्यतिर हेर्ने हो भनेँ पनि विभिन्न जनावरहरुलाई लेखनमा प्रयोग
गरिएको पाइन्छ । हालसालैको समयमा चर्चित रहेको ह्यारी पोटरमा हेडविग नामको उल्लु,
सेतीका बिलौंना
नेपाली साहित्यमा भनें जनावरको दृष्टिकोणबाट लेखिएका लेखनीहरु मैले आजसम्म पढ्न पाएकी छैन । त्यसो भएता पनि हाम्रो घरमा आगन्तुक बनेर आउने कुकुर सेतीले मलाई समय समयमा यो बोल्ने भए के के सुनाउँदी हो जस्तो लागिरहन्छ । सेती हाम्रो घरको पिंढीमा बसिरहन्छे, एकटकले हामीलाई हेरिरहन्छे र खाना पर्खिरहन्छे । खान पाएपछि ऊ कतै जान्छे र बिलाउँछे । मेरो दृष्टिकोणमा सेतीका शत्रु मान्छे त हुन् नै, तर त्यो भन्दा पनि उसका वर्गीय शत्रुहरु धेरै होलान् । ऊ अनिच्छित भए पनि वर्षमा दुईपटक गर्भवती हुन वाध्य छे । जन्मिएका बच्चाहरु हुर्किन नपाउँदै स्याहार
चाकरको अभावमा मरेको हेर्न सेती वाध्य छे ।
सडककै कुकुर भए पनि मेरो मनको कुनामा सेतीका लागि अलिकति माया छ । छिमेकी रुपा बहिनीले असाध्यै माया गरेर पालेको कुकुरलाई मोटरसाइकलले हानेर सडकमा मारेको सुन्दा मलाई सेतीको यस्तै दुर्गती हुने हो कि जस्तो पनि लाग्छ । सेती केहि माग्दिन । ऊ केहि संग्रह पनि गर्दिन । अहिले खान पाए ऊ ढुक्क छे । साढे तीन वर्षपछि विदेशबाट घर फर्केको हाम्रो छोरो कुकुर कुट्नेहरु मान्छे होइनन् भन्छ । सेतीका लागि अलिकति खानेकुरा जुगाड गरेर राखिदिन्छ र सेती आइपुगेका बेला त्यसलाई खुवाउनुमा गर्व गर्छ । शुरु शुरुमा मेरो मनमा भएको सेतीप्रतिको अलिकति घृणा पनि आजभोलि हराउँदै गएको छ । सेतीलाई खान नदिनू, ढुंगाले हान्नू भनेर सिकाउनेहरुप्रति दया भाव जाग्न थालेको छ । फेरि पीर लाग्छ – सेतीे गर्भवती भएकी छे । ऊ फेरि कष्टपूर्वक छाउरा जन्माउँछे, ती छाउरा हेरचाह र खानपानका अभावमा मरेको टुलुटुलु हेर्न विवश हुन्छे । यो पीडा भुल्न नपाउँदै ऊ पुनः गर्भिणी हुन्छे । मलाई थाहा छैन यो सेतीको जीवन चक्र यसरी नै कहिलेसम्म चल्ने हो ।
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).