Saturday 11 December 2021

भक्कावालीका पक्का गफ

 


    जति ठन्डी बढ्छ, त्यति व्यापार हुन्छ,” मध्य बजारको एउटा ठूलो वृक्षको मुन्तिर सानो काठको स्टल बनाएर चिया र भक्का बेच्ने बहिनीले भनी । चामलको पीठोलाई वाफमा पकाइएका, अन्य कुनै कुरा मिश्रण नगरिएका भक्का सबैका लागि रुचिकर भएको मैले देखेकी छु । सानो दाउरे स्टोभमा सडक किनारा, ससाना चोकहरुमा आजकल बिहान सबेरै भक्कावालीहरुले आगो जोर्छन् । अलिकति नुन, खोर्सानी, धनियाँ र टमाटर सहितको अचार र ताता हर्हरी वाफ उडिरहेका भक्काले शहरको बिहानी भोक मार्ने प्रयास गर्छन् । यी भक्का उद्योगीहरु नियमित आकस्मिकता जस्तो, असंगठीत रुपमै संगठीत भएजस्तो झण्डै झण्डै बिहान एकै समयमा बजारका विभिन्न कुनामा आगो जोर्छन् । ओछ्यान छाडेर बिस्तारै तङ्रिएका, विविध उमेर समूहका मानिसहरु भक्कावालीहरुका वरिपरि आउँछन् । स–साना मुडाहरुमा बसेर सोहि स्थानमा फू-फू  गर्दै भक्का खाने र पोको पारेर घरैतिर लैजाने क्रम बिहानको नौ–दश बजेसम्म चलिरहन्छ ।

            हाम्रा तराईका आदिवासी दिदी बहिनीहरुको पहिचान बनेको यो खास प्रकारको खाद्य बस्तुको हानीरहित परिकारले बिस्तारै बिस्तारै बजार लिएको देख्दा मलाई खुशी लाग्छ । मैले रोजेकी भक्कावाली त्यतै रुखका फेदमा सानो स्टोभमा समिधाहरु झोसेर भक्का बनाउँथी । मैले देख्दा देख्दै उसले अर्को सानो चुल्होमा चियालाई पनि समावेश गरी । अहिले आएर उसले सडक छेउमा सानो पोर्टेवल स्टल खडा गरेकी छ् । दाउरे चुल्हा हटाएर ग्यास चुल्हो जडान गरेकी छ । एउटा सानो फोहोरदानी, केही मुडाहरु, एउटा सानो काठे बेन्चले घेरिएर ऊ तन्मयतापूर्वक वाफमा भक्का सेकाइरहन्छे । हुर्र एक झुण्ड मान्छे आउने, फेरि बिलाउने, फेरि अर्को जत्था टक्र्याक टुक्रुक  वरिपरि बस्ने, ताता भक्का खाने, किर्लिक किर्लिक बोतलमा राखिएको चिसो पानी पिउने र अझ अलि फूर्सदिलाहरु बसेर सुरुप सुरुप चिया पिउने क्रम उसको मिनी स्टलमा चलिरहन्छ ।

            आजसम्म आठ वर्ष भयो यो दोकान थापेको । छोरा चार वर्षको थियो, भक्का व्यापार शुरु गर्दा । मेरो बाउ आमा पनि चिया व्यापार नै गर्थे । मलाई व्यापार कसैले सिकाउनु परेन,” उसले गाढा चिया स्टेरोफोमका कपमा खन्याउँदै भनी । “एउटा छोरा छ । स्कूल पढ्छ । त्यसका बाबुले त बेहोरा बिगार्यो । भएको सम्पत्ति स्वाहा पार्यो । अब छोराले पढिदिए हुन्थ्यो भन्ने लाग्छ ,” ऊ हातहरु चलाउँदै, आँखाहरु आफ्ना कामतिर लगाउँदै बोल्छे ।

            भक्का कति हो,” एउटा किशोरले सोध्छ ।

            एउटा पन्ध्र । जोडीको पच्चीस ।”

            सबैतिर दश छ त । यहाँ किन धेरै ?”

            सबैतिर नून खोर्सानी छ । यहाँ टमाटर पोलेर धनियाँ हालेको अचार छ । अब टमाटर कति महंगो छ, तपाई नै भन्नुहोस् । डेडसय रुपैँया किलो । ग्यास फेरि बढाइदियो । सिडिन्डरमा पचहत्तर रुपियाँ बढायो ।”



            एकहुल क्याम्पसे केटाकेटीहरु बसे । उनीहरुलाई पनि महंगी वार्ताले छोयो । खानेतेल देखि चिनी, दाल, चामल, गाडिभाडा, पेट्रोल, तरकारीसम्मका कुरा चले । सम्वृद्धिका खोक्रा नाराका कुरा चले । विद्यार्थी न हुन् – चलिरहेको महाधिवेशनदेखि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सम्मका कुरामा निकैबेर बहस मच्चाए ।

            अब कांग्रेसको महाधिवेशन सकिएपछि सरकारले कोरोनाको निहुँमा लकडाउन गरेन भनेँ म हाम्रो टोलीले खाएको पन्ध्रदिनको भक्का चियाको पैसा तिर्छु,” एकजना केटाले ठोकुवा दियो । विद्यार्थीका हुल हिंडेपछि भीड ओछायो ।

            मैले पनि यहि क्याम्पस धाएको हो तर त्यस्तै वाध्यताले छाडिहालियो,” उसले मान्छे नभएको मौका पारेर मन भित्रको कुरा खोली । उसकै शब्दमा उसलाई बैंसको बेलाको रागले छोएछ । भागी बिहे गरिछ तर आफैंले रोजेको मान्छे कुलती परेपछि आँटले परित्याग गरिछ । “सानोमै बाबुआमासँग लागेर व्यापारमा नलागेको भए, आफ्नो सानो बच्चासँग मैले त्यसका लात्ती खाएर बस्नुपर्थ्यो । तर मैले आँट गरेँ । बरु मैले नै त्यसलाई लात मारेँ । छोरा अब बाह्र वर्षको भयो । ज्ञानी छ ।” उसका कुरा सुनेर आर्थिक  रुपमा महिलाहरु सबल हुने हो भनेँ उनीहरुमा आत्मनिर्णयको अधिकार पनि हुने रहेछ भन्ने कुरामा म आफैं पनि विश्वस्त भएँ ।

            तपाईको भक्का नै स्वादिलो, दोडा भक्का दिनु त !” एउटा बसको सहचालक हुनुपर्छ, हतारिँदै आएर भन्यो ।

            अँ, तिमेरु गाडीका मान्छे स्टेशन, स्टेशनमा भक्का चाखिहिँड्छौ नि,” उसले पनि उस्तै उत्तर दिई र भक्का पोको पारिदिई ।

            भक्कावाली जस्ता मान्छे आए, त्यस्तै गरी बोल्थी । उसलाई आरिमा भएको पीठो बेचिसक्नु थियो । चिया माग्ने मान्छे कमकम हुँदै गएका थिए । कुरा फेरि उसले महिला सशक्तिकरणमा जोडी । सबैले यो मनन नगर्ने र अर्काका भर परेर दुःख पाउने कुरा गरी । “आ–आफैं कमाउने भए, अलेली जोगाउने भए, लोग्नेको नोकर बन्नु पर्दैन नि हैन त दिदी ? मैले पढेलेखेका र धनी मान्छेका घरमा हेपिएका बुहारी र स्वास्नी पनि देखेकी छु । परिवार भनेर आफैं मर्नुपर्ने हो भनेँ, यो जुनी पिसिएरै बिताउनु पर्ने हो भनेँ, भो बरु चाहिएन मलाई त्यस्तो ! मैले पनि त्यहि भएर लात मारेँ ।” फेरि उसले आफ्नै कथा जोडी ।

            भक्कावालीले गफका क्रममा महिला अधिकार भनेर हिँड्नेहरुमाथि पनि नजानिँदो गरी असन्तुष्टि प्रकट गरी । “आफैं बलियो भए मात्र काम हुन्छ । नत्र यी अनेकका कार्यक्रम गर्ने र अधिकार अधिकार भन्नेहरु गफै मात्र हान्छन् । मैले त आफैं भोगेकी छु । यिनले त हामीलाई लुँडोको गोटी खेलाएजस्तो पो गर्दा रैछन् ।”

            होइन, कतिलाई त सहारा दिएका छन् । सीपहरु सिकाएका पनि छन् । तपाईँले भनेजति साह्रो पनि होइन कि ?,” भन्ने मेरो कुरामा उसले भनी, “यी हल्लाबाज हुन् । यिनका नाटक नदेखेका र नजानेका हुन् र ?”

           


    अब ऊसँग धेरै पीठो रहेन । भाँडाबाट हर्हरी वाफ उडिरहेकै थियो । ऊ निरन्तर बोलिरहेकै थिई र उसैगरी हात चलाइरहेकै थिई । अबको उसको विषय मायाको थियो । गर्दागर्दै उसले त सोचनीय कुरा पो गर्न थाली ।  “यो माया भन्ने अचम्मको चीज हुँदो रहेछ । सानोमा बाबु आमाको औधि माया लाग्ने । भाइ बहिनीको पनि लाग्थ्यो । पछि उमेरमा बूढाको माया लाग्यो । त्यो माया पनि सकिइगयो । अब छोराको लाग्छ । एउटा भाँडो रित्तिएपछि अर्को भाँडाको चामल झिकेर पकाएजस्तो । अनि त्यो बालककाल मर्दो रहेछ । अनि आँखै नदेख्ने जवानी आयो । के के न लछारपाटो लगाउँला भनेको त्यो पनि ओइलाइगयो । यो भालेहरुले गर्ने माया त अर्कै खालको हुँदो रहेछ । भक्का खाएजस्तो । भक्का तातो हुन्जेल कपाकप खाएजस्तो । भक्का चिसिएपछि तातो भक्का खोज्न कुदिहाल्दारछन् । यी आइमाई जाति चाहिँ बिचरा माया गर्ने भनेर ज्यानै छोड्दा रहेछन् । सप्पै त त्यस्तो नहोला तर धेरैजसो । तर लोग्नेमान्छेको माया भक्कासरी । बुझिराख्नु यो कुरा दिदी । भक्कासरी !”

            बिहानी सत्रका कक्षाहरु कुनै कारणवश् नभएकाले भक्का खान हिँडेकी म भक्कावालीका गफमा भुलिएँ । बिस्तारै घाम माथि चढ्दै थियो । निश्चित समयमा आफूलाई टिप्न आइपुग्ने सिटी पर्खेर बसुन्जेलका गफ थिए ती । भक्कावालीका पक्का गफ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 10 December 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




2 comments:

  1. bhakkawali context le banaauchh chiyawali pani ustai ho lekhne le ma mahaan hu bhandhanchh ... an autobigraphy an Unknown indian phelaa paryo ...........sochdaichhu gyani hune badhyata ho ki rahar ......

    ReplyDelete
  2. तातो र चिसो भक्का हो जीवन। तातो भक्का खान सबै तम्सने।
    भक्कावालीको सच्चावात।

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).