Monday 6 December 2021

मनको तलाउ

 

    


    सत्रौँ शताब्दीतिरका जापानी कवि मात्सुओ बासोको एउटा तीन हरफे कविताले मलाई तानिरहन्छ । कविताको लगभग अनुवाद यस्तो होला ।

          शान्त पोखरीमा

          एउटा भ्यागुत्तो फुत्त

          छप्लक्क

          मनले खोजेको कुरा भेट्न कहिलेकाहिं सिङ्गै महाभारत छिचोल्नुपर्छ र कहिले त बासोका जस्ता तीन हरफले मात्र पनि ढुक्क पार्छ । कविको पोखरीको विम्वले हाम्रो मन, चित्तलाई प्रतिनिधित्व गर्छ । यो शान्त मनको तलाउमा जब भ्यागुत्तारुपी विचारले फुत्त प्रवेश गर्छ, छप्लक्क आवाज आउँछ र मन तरंगित हुन्छ । कति थोरै शब्दमा कति धेरै कुरा बुझाउन सकेका होलान् बासोले । हो पनि, यो मनको तलाउ शान्त रहँदै रहन्न । यसमा विचाररुपी भ्यागुत्ताहरु फुत्त फुत्त उफ्रिरहन्छन् र तरंग उठाइरहन्छन् । यी तरंगहरु खुशीका, दुःखका, निराशाका र आशाका हुन सक्छन् । खुशीका तरंगहरु धेरै समयसम्म हाम्रा मन मस्तिष्कमा रहदैनन् तर दुःख र निराशाका तरंगहरुले बारम्बार ज्वारभाटा उठाइरहन्छन्; कहिलेकाहिँ वर्षौंसम्म पनि तरंगित भइरहन्छन् । यी दुःख र निराशाका तरंगहरु छायाँ बनेर वरिपरि घुमिरहन्छन् । यी छायाँहरुबाट ओझेल पर्न सहज पनि हुन्न । आफ्नै छायाँले आफैंलाई तर्साउँछ । जसरि छायाँले जताततै पछ्याइरहन्छ, यो मनलाई अनेकन विचारहरुले खेदिरहन्छन् । एउटा विचारले निकास नपाउँदै अर्को विचारले झ्याप्पै छोपेर ल्याउँछ । यी लामबद्द भएर बसेका विचारहरुले तलाउमा ढुङ्गा फाल्दा पानी तरंङ्गित भए झैं मनलाई उद्वेलित गराइरहन्छ ।

 आफ्नै छायाँ

          यो छायाँले तर्साउने विषयमा एउटा किस्सा छ । एउटा व्यक्ति आफ्नै छायाँसँग डराउने रहेछ । उसले छायाँबाट छुट्कारा पाउन कति हो कति प्रयास गर्दा पनि सफल भएनछ । अन्तमा उसले सोचेछ – यो छायाँलाई टाढा कतै लगेर छाडिआउनु पर्यो । अनि ऊ दौडिन थालेछ । दौडिँदा दौडिँदा थाकेर ऊ छायाँलाई झुक्याउन भनेर रुखको छहारीमा बसेछ । छहारीमा बसुन्जेल छायाँ हरायो । ल यो हराएछ अब म भाग्छु भनिकन ऊ उठेर दौडिन थालेछ तर छायाँ त उस्तै गरी ऊ सँगै थियो । त्यसरी छायाँलाई जित्न ताता घाममा दौडिँदा दौडिँदै त्यो मान्छे मूर्छा  परेर लडेको, त्यहिँ नै समाप्त भएछ । यो त एक विम्वात्मक कथा मात्र हो तर हामीलाई पनि छायाँले खेदि नै रहन्छ र मूर्छा पनि पार्छ । यी छायाँरुपी असफलता, ग्लानी र पश्चाताप जस्ता कुराले हामीलाई धेरै नै कोतर्छ । यी भावहरुलाई कतै खाल्डो खनेर पुर्न पाए पनि हुन्थ्यो जस्तो हुन्छ; आगो लगाएर खरानी बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ


तर यी भावहरुबाट जति तर्किन खोज्यो उति हौसिएर आउँछन् ।

          छायाँ छायाँ मात्र हो । हरेक ठोस वस्तुले छायाँ निर्माण गर्छ । ठोस वस्तुहरुले उत्पन्न गर्ने दृष्य छायाँ हो तर हाम्रा मस्तिष्कमा निर्माण हुने अदृष्य छायाँ भनेका दुःख, पीडा, ग्लानी, अत्यास, रिस, राग, द्वेष र घृणा जस्ता तत्व हुन् । हाम्रो शरीरले उत्पन्न गर्ने दृष्य छायाँ जस्तै मष्तिस्कले पनि  अदृष्य छायाँ उत्पन्न  गरिरहन्छ । जीवन रहेसम्म यी दुवै छायाँले छाड्दैनन् । हाम्रो शरीरका छायाँले हामीलाई कुनै बिगार गर्दैनन् । तर चिन्तनबाट उत्पन्न छायाँहरुले भनें हामीलाई तर्साउँछन् ।

          यहाँ एउटा बुझ्नुपर्ने कुरा के छ भने हामी छायाँ उत्पन्न गर्न समर्थ छौं तर स्वयम् छायाँ भनें होइनौँ । छायाँलाई जति धुल्याए पनि, कुल्चे पनि वा जसो गरे पनि हामीलाई केही फरक पर्दैन । हामीले हाम्रा दिमागमा उत्पन्न हुने छायाँलाई त्यसरी नै लिने हो भने हामीले छायाँबाट तर्सिएर भाग्नु पर्दैन, तर्किएर हिँड्नु पर्दैन । दृष्य छायाँ त हामी प्रष्ट देख्न सक्छौँ । तर अदृष्य छायाँरुपी रिस, राग, द्वेष र घृणालाई चाहिँ हामी हत्तपत्त देख्न सक्तैनौं । ती भावहरु उत्पन्न गर्ने हामी आफैंले हो तर ती किन र कसरी उत्पन्न भए भन्नेतिर हामी लाग्न चाहँदैनौँ । युगौँदेखि हाम्रा पुरातन शास्त्रहरुले बुझाउन खोजेको कुरा अझै पनि हामी बुझ्दैनौँ वा सतहि रुपमा मात्र बुझ्छौँ । पद, प्रतिष्ठा र क्षमताका छायाँरुपी अभिमानका आडमा आफ्ना  मानवीय पक्षलाई हामी आफैंले पाखा लगाउँछौँ । निराशा र असफलता जस्तै सफलता र उच्चता पनि धुलिसात भै जाने कुरा हुन् भन्ने हेक्का प्रायः कसैमा रहन्न । कुनै न कुनै रुपमा हामी तिनै छायाँका भरमा अरुभन्दा अब्बल हुने प्रयास गरि नै रहन्छौँ ।

जूनको चमक

          बालकहरुले आकाशको जून देख्दा त्यसलाई पाउन र खेलाउन बल गर्छन् । उनीहरुमा त्यो अप्राप्य वस्तु हो र खेल्ने वस्तु होइन भन्ने ज्ञान हुँदैन । आगो देख्दा पनि बालकहरु समात्न झम्टिन्छन् । यस अवस्थालाई हामी पूर्ण चेतनाको विकास नभैसकेको अवस्था भनेर बुझ्छौं   । तर जब ठूलाहरुले, चेतनशीलहरुले नै यस प्रकारको अविवेकी व्यवहार गर्छन्, त्यसबेला ज्ञान र विवेकलाई के ले ढाक्दो हो ?

          एउटा अर्को प्रतिकात्मक कथाले पनि यस कुरालाई अझ स्पष्ट पार्छ होला । एउटा जंगलका माझमा सुन्दर पोखरी रहेछ । पोखरी छेउको रुखमा खेलिबस्ने एउटा बाँदरलाई पानीमा जूनको प्रतिविम्व देख्दा त्यो जून समातेर बाहिर ल्याउने र अरुलाई देखाउने इच्छा पैदा भएछ । ऊ पानीको छेउमा जाँदो रहेछ, र जून समाउने प्रयास गर्दो रहेछ तर स्थिर पानीमा तरंग उठेर जून टुक्रिँदो रहेछ । अनेक खालका उसका प्रयत्न विफल भएछन् । त्यो दृष्य हेरिरहेको एउटा बूढो बाँदर रुखबाट ओर्लेर भनेछ, “उता माथि हेर त ! हो, त्यो वस्तुको छायाँ हो यो । यो समात्न सकिन्न ।”


          बाँदरले समात्न खोजेको जून र हामीले खोजेका अमरता अनि उपलब्धी उस्तै उस्तै हुन् जस्तो लाग्छ मलाई । तलाउमा भ्यागुत्तो उफ्रदा उठेका तरंगहरु जस्तै मन त तरंगित भइ नै रहन्छ । अनन्त तृष्णा र इच्छाहरु तलाउका तरंग झैं उठ्छन् र समन हुन्छन् । बाँदरले कथामा जूनको छायाँ समात्न प्रयत्न गरे झैं हामी जून समात्न कोशीस गरी रहन्छौँ । यो सनातन देखि चलिआएको खेल हो । यो खेल मात्र हो र खेलेर मजा मात्र लिन्छु भन्ने हो भने जीवन अलि सहज होला । यी खेलहरु आफूले जित्नै पर्छ, अरुले जिते आफ्नो अस्तित्व नै सकिन्छ भनेर गम्भीरतापूर्वक लिने हो भनें जीवन उकुसमुकुस भैजाला । अन्त्यमा मनको तरंगमा हराइजाने एक ग्रीसेली कविका चार पंक्तीः

          तिमी मेरो मनको

          समुद्रमा सुटुक्क पस्दा

          म तिमीसँगै डुब्छु

          तिमीसँगै तैरिन्छु ।

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 3 December 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).