साँझ पर्न लागिसकेको थियो । आफूले अध्ययन गर्ने अस्ट्रेलियाको मोनाश युनिभर्सिटिको बस पार्कमा एउटी बृद्धा ठसठस गर्दै शपिङ्ग ब्याग लिएर बसबाट ओर्लिन खोजिन् । शायद उनी नजिकैको क्लेटन बजारबाट सौदापात लिएर आएकी हुन सक्थिन् । चालकले अघि सरेर उनको झोला ओराल्न सघायो र बाई भनेर बिदा गर्यो । त्यसपछि उनी गुडाउने झोला खररर पार्दै प्रतीक्षालयको बेञ्चमा मेरै छेउमा आएर बसिन् र हेल्लो भनिन् । “तिमी यतै वरिपरि बस्ने हो ?,” उनले सोधिन् । मैले “हो” भनेपछि उनले त्यो झोला उनको घरसम्म घिस्याइदिन अनुरोध गरिन् । टाढा रहेनछ आमैको बासस्थान । उनले एकदिन चिया खाँउला, बात मारौंला भन्दै मलाई बिदा गरिन् ।
आमैका कुरालाई मैले उति गम्भीरतापूर्वक लिइन । केहि दिन पछि उनैले मलाई
बाटोमा देखेर बोलाइन् र भनिन्, “भोलि फुर्सद भए आऊ मेरोमा । तिम्रा जहान पनि ल्याउँदा हुन्छ ।”एउटा रित्तो ठूलो घरमा आमै त एक्लै पो बस्दिरहिछन् । उनले कफीसँगै आफ्नो लोग्नेको मृत्यु कथा सुनाइन् । बेलुका सँगै सुतेका बूढाबूढी, बिहान त बूढा मरिरहेका पो रहेछन अरे । उमेर पुगेका छोराछोरी आ–आफ्नै बाटो लागेपछि ठूलो ढ्याङ्ग्रे घरमा आमै एक्लै रहिछन् ।
“अब यो घर बेचेर बृद्दाश्रम जानपर्छ भन्छन् छोरा छोरी,” उनले सुनाइन् । आमैसँग धेरै कुरा भए । ग्रीसमा जन्मेर उतै हुर्किकन अस्ट्रेलिया आएकी आमैले कुराको अन्ततिर एउटा घतलाग्दो प्रश्न गरिन् ,“ तिमीहरु सपना नेपालकै देख्छौ कि यताको ? अनि सपनामा के भाषा बोल्छौ ?” हो त, नसोचेको कुरा गरिन् ती आमैले । सपना त उनी पनि ग्रीसकै देख्तिरहिछन् । हामीले पनि सम्झेर ल्याउँदा नेपालकै सपना देखिँदो रहेछ । उतैको सपना देख्दा पनि नेपाली भाषामै बुझिँदो रहेछ । तर सानैदेखि विदेशी भूमीमा हुर्केको हाम्रो छोराले भनें अंग्रेजीमै सपना देख्ने कुरा गर्यो ।
यो सपनाको कुरा मेरा लागि एउटा उत्सुकताको विषय नै बन्यो । हाम्रो छोराकी साथीकी हजुरआमा मोरिससबाट धेरै अगाडि अस्ट्रेलिया छिरेकी रहिछन् । उनलाई मैले यहि प्रश्न गर्दा उनले भनें आफ्ना मुलुकका मान्छे सपनामा देख्दा मोरिसन भाषामा र अंग्रेजी भाषीलाई सपनामा देख्दा अंग्रेजी भाषामै कुराकानी हुने बताइन् । यहि प्रश्न मैले अरु धेरैलाई सोधें । त्यसमध्यमा पनि उतै भेटघाट भएर विवाह गरेका पाकिस्तानी नविद र चाइनिज ग्रेसले भनें आ–आफ्नै भाषामा सपना देख्ने रहेछन् । ग्रेसले भनी, “नविद एक पटक निकै बिरामी पर्यो र सपनामा नबुझिने भाषामा के के बर्बरायो ।”उर्दु भाषामा अरु कुनै केटीको नाम पो लियो कि उसले भनेर ग्रेसलाई पर्नु पीर परेछ । यस्तै खाले अर्को घटना पनि भएको थियो त्यहाँ । मेरा श्रीमानको साथी एडमको ससुरो फिजियन इन्डियन थियो । ऊ एकपटक सिकिस्त बिरामी भयो र नबुझिने भाषा बोल्न थाल्यो । त्यो भाषा बुझ्न सकिन्छ कि भनेर एडम र उसकी श्रीमती अमेलाले श्रीमानजीलाई उनीहरुको घरमा लगे । हो रहेछ, बूढा मान्छे त हिन्दीमै पो बर्बराउँदा रहेछन् । बूढा निको भएर पछिसम्म पनि हिन्दी बोल्न भनेर श्रीमानलाई उनीहरुको घरमा बोलाईरहन्थे ।
सपना के हुन् त ?
सपनाका विषयमा विभिन्न पक्षबाट खोज, अनुसन्धान, र अध्ययन गरिएका छन् ।
तर सामान्य अर्थमा भनें सपना हामीले देखेका, सुनेका, भोगेका र अनुभव गरेका कुराहरुकै दिमागी चित्र हुन् । यी निद्रामा आउँछन् र कहिलेकाहिँ त सम्झना नै नहुनेगरिकन धेरै सपना देखिन्छन् । सपनासँग जोडिएको रोचक कुरा के छ भने यो हाम्रो मनोविज्ञानसँग जोडिएको हुन्छ । हरेक सपनाले हामीलाई निद्राबाट ब्युँझेपछि सोच्न बाध्य गराउँछ । यसले हामीलाई शुभ संदेश दियो कि अशुभ संकेत दियो भनेर झकझक्याउँछ । यी सपनाका आडमा सपनाको शुभाशुभ विश्लेषण गर्नेहरुले खेतीपाती नै चलाएका हुन्छन् । कस्ता सपना देखे के फल प्राप्त हुन्छ भन्ने विश्लेषण गर्ने प्रथा सबै मानव समुदायमा चलेको छ । यस विषयमा पुस्तक नलेखिएको भाषा शायदै कुनै होला । तर ती विश्लेषण भनें आ–आफ्नो संस्कार र संस्कृतिमा आधारित हुने कुरा मैले पाएकी छु । उदाहरणको लागि, सपनामा सर्प देख्दा चीनमा बुद्धि बढ्ने विश्वास गरिन्छ । यता हिन्दुहरुले सर्पलाई नाग देवताको रुपमा लिन्छन् । इस्लाममा यसलाई शुभ मानिन्छ तर क्रिस्तानीहरुले भनें अशुभ मान्छन् ।
प्रशिद्द मनोवैज्ञानिक फ्रायड्ले भनें सपनाहरु हाम्रा दमित इच्छाका उपज हुन् भनेका छन् । हाम्रो मष्तिस्क निद्रामा होस् या चेतनाको अवस्थामा कहिल्यै सुत्दैन । ननिदाएको अवस्थामा त यसले इन्द्रियहरुले दिएको सन्देशको आधारमा जानकारी दिइरहन्छ तर निदाएको अवस्थामा भनें पुराना कुराको सम्झनाको आधारमा झलक पैदा गरिरहन्छ ।
सपना समाउने जाल
आदिबासी अमेरिकन संस्कृतिमा बालकहरुलाई नराम्रा सपना र तिनका दुष्प्रभावबाट जोगाउन ‘ड्रिम क्याचर’वा सपना समात्ने जाल प्रयोग गरिन्थ्यो । बेतको डाँठलाई घुम्र्याएर गोलो रिङ्ग जस्तो पारेपछि बिचमा धागोको जालीजस्तो बुनिन्छ र यसमा विभिन्न चराका रंगिन प्वाँला झुण्डाइन्छ । यो बस्तुलाई केटाकेटीको ओछ्यान वा कोक्रोमा झुन्डाएपछि केटाकेटी निद्रामा झस्किने, तर्सिने गर्दैनन् भन्ने जनविश्वास छ । आजकल भनें यो ड्रिम क्याचरलाई एउटा साँस्कृतिक हस्तकलाको रुपमा लिइन्छ ।
सपनालाई विश्लेषण गरेर लेखिएका अनगिन्ति पुस्तक पाइएजस्तै सपना शब्दकोश पनि उपलब्ध छन् । यो शब्दकोशमा कुन सपनाले के अर्थ राख्छन् भन्ने कुरा पाइन्छ । यी कुराहरुमा वैज्ञानिक सत्यता भनें छैन ।
राजा जनकको सपना
परापूर्व कालदेखि नै मानिस सपनाबाट खेदिएको छ । अद्वैतमार्गीहरुको एक मूलग्रन्थ अस्टवक्र गीतामा राजा जनकको सपनाको उल्लेख छ । सम्पूर्ण धनधान्यले भरिपूर्ण जनक एकपटक आफू भिखारी भएर हिडेको सपना देख्छन् । त्यो सपनाले उनलाई खेदिरहन्छ । आफू विदेह राज्यको सर्वेसर्वा हुँदाहुँदै कसरि भिखारी भएको सपना आयो र त्यो सपना सत्य हो कि बिपनाचाहिँ सत्य हो भन्ने कुराको द्विविधामा उनी परे । त्यहि द्विविधा निवारण गर्ने क्रममा उनी गुरु अस्टवक्रलाई आफ्नो सपनाबारे प्रश्न सोध्छन्, “त्यो सपना सत्य हो भनें म किन अहिले राजा छु ? त्यो सपना सत्य हो कि बिपना सत्य हो ?” अस्टवक्रले जनकलाई दिएको छोटो उत्तर थियो – “न त यो सत्य हो, न त त्यो सत्य हो । अर्थात् राजा जनक, न त तिमी सम्राट हौ, न त भिखारी ।” त्यसो भए म के हु त भन्ने जनकले सोधेको मूलप्रश्नको उत्तर नै अस्टवक्र गीता हो । यसरी शास्त्रले न त सपनालाई सत्य मान्छ न त विपनालाई नै । अस्टवक्र गीताले हामी सामान्य मनुष्य निरन्तर सपनामै विचरण गरिरहन्छौँ भन्छ ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 30 July, 2021)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]