कुशुलेले पुतली नचाएको र मारुनी नाचेको दृश्य मलाई साह्रै मन पर्छ । अहिलेका केटाकेटीहरुलाई त यस प्रकारका नाच त्यति मन नपर्न पनि सक्छ तर यी विलुप्त हुँदै गएका कलारूपहरु मेरा प्रिय बाल्य स्मरणमध्ये पर्छन् । एउटा खास्टोभित्र हात लुकाएर छिन्द्रिंग छिन्द्रिंग मसिना घन्टी जस्तो आवाज निकाल्दै कुशुले आउँदा केटाकेटी उसका अघिपछि लाग्थे र उसले देखाउने तमाशा हरेक घरमा उत्तिकै तन्मयतापूर्वक हेर्थे । कुशुले खास्टोबाट फुत्त हात निकाल्थ्यो अनि उसकी पुतली छमछमी नचाउँथ्यो । मारुनी भने दशैं तिहार छेक आउँथे । पुरुष जातीले महिलाका वस्त्र लगाएर बाजागाजाको तालमा घरघरमा नाचिहिंड्ने मारुनीले हामी भुराभुरीलाई निन्द्रामा पनि मुस्कुराउनेगरिको मनोरञ्जन प्रदान गर्थे । यी कुराहरु डिजिटल युग शुरु हुनुभन्दा धेरै अगाडिका हुन् ।
कुशुले र मारुनीका अन्तर्य
अहिले कुशुले र मारुनी डुल्न छाडेका छन् । माओबादी द्वन्दकालदेखि नै यसरी डुलुवा मनोरञ्जन दिनेहरु हराएर गए । आफू वयस्क हुँदै जाँदा यी कुराहरुप्रतिको रुचि पनि हराउँदै गयो । तर अहिले आएर मलाई यी कुशुले र मारुनीको अन्तर्य थाहा पाएजस्तै लाग्न थालेको छ । पछिल्लो दशकमा राजनीतिक जगतमा बहुचर्चित ‘रुप र सार’भन्ने शब्दावलीको प्रभाव यी नाचमा परेजस्तो लाग्छ । यी कुशुलेहरुका रुप परिवर्तन भए तर सारमा धेरै कुशुलेहरु अझ सक्रिय भएजस्तो लाग्छ । पहिले पहिले पनि कुशुलेले आफ्नो हात खास्टोभित्र लुकाउँथ्यो र हामी भुराभुरीलाई आश्चर्य छरेर जान्थ्यो । कुशुलेलाई कुशुले नाम मात्रले चिनिन्थ्यो –– उसको रुप, रंग, जात, थर र ठेगानाको वास्ता थिएन । उसको महत्व अदृश्य हात निकालेर छमछमी पुतली नचाउनुमा थियो । हामीलाई के मात्र थाहा थियो भनें कुशुलेले चाहेको बेलामा, उसले चाहेको तालमा मात्र पुतली नाच्छ । त्यसैगरि आफू सानो छँदा मारुनीलाई बाजाको तालले मात्र ठेलेर नचाउँन सक्छ जस्तो लाग्थ्यो । बाजा अर्काले नबजाउञ्जेल मारुनी हामीजस्तै गरि हिंड्थ्यो, बोल्थ्यो तर बाजा बजेपछि उसका बहुरुपी लुगाका छेउहरु फिरिरी फिरिरी उडाउँदै नाच्थ्यो ।
आज सामान्य अराजनीतिक आँखाले हेर्दा म सबैभन्दा धेरै कुशुले र मारुनीहरु राजनीतिक वृत्तमा देख्छु । यस वृत्तमा भनें म सबैलाई कुशुले देख्छु र पुतली देख्छु । सानोमा एक कुशुले र एक पुतली हुँदाको नाचको रौनक भने अहिलेको कुशुले नाचमा छैन । अहिले एउटा कुशुलेले धेरै पुतली नचाउँछ अनि फेरि त्यो कुशुले स्वयम् पुतली बनिरहेको पनि देखिन्छ । म जस्ता सामान्यजनलाई यो नाच भ्रामक पनि लाग्छ किनभने पुतली र कुशुले एकै भइदिन्छ । यो ‘इलुजन’अथवा भ्रमले मलाई राजनीति बुझ्नै सकस पार्छ । अनि त्यो मारुनी नाचमा पनि राजनीति घोलिएजस्तो लाग्छ । यो मेरो दिमागी भ्रम नै हुन सक्छ । बाजा बजाउनेहरु आउँछन् र मारुनी नाच्न थाल्छन् । हामीले चाख मानेर हेर्दाहेर्दै फेरि मारुनी नै बाजा बजाउँन थाल्छन् । भ्रामक भए पनि यो परिदृश्य रोचक लाग्छ मलाई ।
भाग्यवादी कि स्वनिर्णयकर्ता ?
कुशुलेको हातको पुतली निर्जीव छ र कुशुलेले जसोजसो गरायो त्यसै त्यसै गर्छ । तर मारुनी त सजीव छ तैपनि त्यो संगीतका तालमा र संगीत सिर्जना गर्नेको तालमा मात्र नाच्छ । त्यसोभए संगीत सिर्जना गर्ने मान्छे र कुशुलेलाई के ले निर्देशित गर्छ ? हामी सोझै भन्न सक्छौं यो त मारुनीको इच्छा हो । हो, यो इच्छा निर्देशित छ कि छैन भन्ने कुरा गौंड लाग्छ मलाई । एक पक्ष होला, उसको कर्ममा मारुनी हुन लेखिएको थियो भन्ने र अर्को पक्षले भन्ला यो कुरा त उनीहरुले व्यक्तिगत रुपमा निर्णय गरेका हुन् । यो पेशा छनौट गर्न उनीहरु स्वतन्त्र छन् । पेशा छनौट गर्ने क्रममा रोजी रोटीको भुमरीमा पसेर पनि उनीहरु मारुनी वा कुशुले बनेका हुन सक्लान् । जसले पुतली नचाउँछ वा नाचेरै गुजारा गर्छ, उनीहरुले जीवनलाई यो दृष्टिकोणबाट नहेरेका हुन सक्छन् । तर बाहिरबाट रमिता हेरेर आंकलन गर्नेहरुले भनें तिनीहरुको भाग्यमा त्यस्तै लेखेको थियो भनेर ढुक्क हुन सक्छन् । भाग्यवादीहरु पहिले नै कुनै अदृश्य शक्तिबाट तोकिएको काम गर्नुपर्ने कुरामा विश्वास गर्छन् । तर स्वनिर्णयवादीहरु यो कुरालाई स्विकार्दैन् । मान्छेहरु अन्य जनावरभन्दा फरक हुन्छन् । उनीहरुमा विकसित मस्तिष्क र विकल्पहरु छान्न सक्ने क्षमता हुन्छ । त्यसकारणले मानिसले आफ्ना कार्यका आधारमा भाग्य निर्धारण गर्न सक्छन् भन्ने उनीहरुको तर्क छ । कुशुले र मारुनी दुवैसँग विकल्पहरु खुला छन् । उनीहरु आफ्ना ज्ञान वृत्तमा भएका कुनै पनि पेशा छान्न सक्छन् र कुशुले वा मारुनी हुन सक्छन् । यो कुरा पेशामा मात्र सीमित नभएर उनीहरुले गर्ने सबै कुरामा लागू हुन सक्छ । एउटा व्यक्तिले अपराध गर्ने कि नगर्ने भनेर छान्ने विकल्प उसका अगाडि हुन्छ । तर विज्ञानले भनें स्वनिर्णयको धारणालाई समेत दिमागी भ्रमका रुपमा लिन्छ । एक पक्षीय दार्शनिकहरु मान्छे स्वतन्त्र प्राणी हो, ऊ जन्मिसकेपछि र विवेक भरिएपछि स्वतन्त्र रुपमा निर्णय लिन सक्छ भन्ने तर्क गर्छन् । यस तर्कमा भाग्य भन्ने कुरा कतै हुँदैन । उपलब्ध र सम्भाब्य कुराहरुमध्ये व्यक्तिले छनोट गर्न सक्छ । तर बस्तु वा विचारको उपलब्धता भनें असीमित हुँदैन । त्यसैगरी, भाग्यवादीहरु भनें कर्ममा लेखिएर आउने कुरामा विश्वास गर्छन् । कुशुले अरु कतै कहीं अदृष्य रुपमा बसेको हुन्छ र त्यसले हामीलाई यहाँ निर्देशित गर्छ भन्ने विश्वास उनीहरु गर्दछन् ।
अहं ब्रम्हास्मि
उसो भए हाम्रा वैदिक शास्त्रहरुले निर्देशित गरेजस्तै सबै दृश्य कुराहरु भ्रम नै हुन् त ? हाम्रो मगज भ्रमको कारखाना हो त ? वैदिक शास्त्रले त्यसै भन्छ । परापूर्वकालदेखि अहिलेसम्म पनि मानव देह लगायत सम्पूर्ण दृश्य जीवन जगत भ्रम नै हो भन्ने एक ठूलो जमात पनि छ । सम्पूर्ण जगत नश्वर, नाशवान छ र एउटा चिरस्थायी कुरो आत्मा मात्र छ भन्ने कुरालाई प्राचीन ऋषिमुनी हुँदै अहिलेसम्मका प्राच्य शास्त्र विद्वानहरुले मानिआएकै छन् । हुन त यसो विचार गर्दा सम्पूर्ण कुरा नाशवान नै छन् । हाम्रो संसार हाम्रो चेतनाभरि मात्र छ । हाम्रा इन्द्रियहरुले अनुभव गरेभन्दा बाहिर हाम्रो संसार छैन । जति देखेको, सुनेको र अनुभव गरेको छ त्यतिमात्र हो हाम्रो संसार । यो सांसारिक चेतभन्दा बाहिर निस्कन सहज छैन । एक मष्तिस्क संसारको भारी बोकेर हिँडेका हामीहरुलाई अर्को चिन्तन गर्ने समय निकाल्न गाह्रो छ । थोरै मात्र परमार्थको चिन्तन गर्ने हो भनें यो दुनियाँ त्यति भारी हुँदैन ; यो जीवन त्यति अत्यासलाग्दो पनि हुँदैन । जे छ, जति छ, त्यति नै प्रशस्त छ भन्न सक्ने हो भने जीवन पक्कै सहज हुन्छ । तर यो सबै थाहा हुँदाहुँदै पनि हामी हाम्रो गन्तव्यको पहिचान गर्न नसकिरहेकै हुन्छौं ।
छमछम पुतली
कुशुलेले पुतलीलाई छमछम नचाएजस्तै, बाजाले मारुनीलाई फिरिक फिरिक नचाएजस्तै परिस्थिति, कर्तव्य र आवश्यकताले हामीलाई नचाइरहेकै हुन्छ । हाम्रा नाचमा अरुले कत्तिको चाख दिएका छन् भन्ने सानो चिन्ता सधैं हामीभित्र रहेकै हुन्छ । हामीलाई पुतली बनाएर यो नाच के ले, किन नचाउँदैछ भन्ने पनि हेक्का नभई कहिले कहिले त निस्प्राण पुतली झैं हामी नाचिरहेका हुन्छौं । जुन जस्तो नाच नाचे पनि आफुलाई नाचको भाका थाहा भैदियो भने, नाचको मजा अरुले लिउन् नलिउन् आफूले लिन सकियो भनें पनि जीवन उकुसमुकुस हुँदैन । आखिर यो दुनियाँमा नाच्ने त हुँदै हो; होशले, विवेकले धैर्यतापूर्वक छमछम पुतली हुनमै हामी सबैको कल्याण छ ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 16 July, 2021)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
यस्तो शक्तिशाली यत गहिरो जीवन जगत्मा मानव उपस्थिती र उसको चेतन यस्तो गम्भीर बिसयमा यस्ता सरल दृस्टान्तले बुझाउने स्रस्टालाई एक बधाइले पुग्दैन ।
ReplyDeleteYasto utsahajanak pratikriyaka lagi hajurlai dherai dherai dhanyabad.
Delete