नब्बेको दशकबाट आम मानिसको पहुँचमा आएको इन्टरनेट प्रविधिले विज्ञान जगतमा अकल्पनीय चामत्कारिक परिवर्तन ल्याएको छ । पुरानो पुस्तालाई यो प्रविधि अलिक जटिल लागे पनि नयाँ पुस्तालाई यसको प्रभावले छपक्क छोपेको छ । स्वास्थ्य, शिक्षा, संचार, कृषि, यातायातदेखि लिएर मनोरन्जनको क्षेत्र हुँदै घरको चुल्हासम्म इन्टरनेटको प्रयोग र पहुँच बढेको छ । मानवरहित कार र बस त सामान्य भइसके । मानवरहित रकेट पनि अर्को ग्रहमा पुगेर खोज अनुसन्धानको कार्य गर्दैछ । मानव विकासको यो पराकाष्ठा इन्टरनेट र कम्युटरबाट नै सम्भव भएको हो ।
भर्चुअल संसार
कम्युटरका स्क्रिनबाट छिरिने भर्चुअल दुनियाँ एक काल्पनिक संसार हो । मान्छे आकाशतिर हेर्न मन पराउँछ । खोला, नदी, समुद्रतिर डुल्न मन पराउँछ । पहिले पो मान्छे फुर्सदिलो थियो, जाँगरिलो थियो, सैयौं कोश हिँडेरै भ्याउँथ्यो, कैयौं काम जुटेरै गर्थ्यो । अब मान्छे ब्यस्त छ । तर ब्यस्तता के को भन्ने प्रश्न अर्कै हुनसक्छ । हतारोको बारेमा एउटा पुरानो कथा यस्तो छ – एकजना बूढो मान्छे असाध्य हिउँ परेको दिन कतै गइरहेको हुन्छ ।
उत्तरबाट चलेको चिसो स्याँठले ऊ ढल्ला ढल्ला जस्तो हुन्छ । तैपनि ऊ घिस्रिदै अगाडि बढ्दै जान्छ । हिँड्दै जाँदा ऊ एउटा खोल्सी छेउ पुग्छ । उसलाई त्यो खोल्सी तर्ने आँट आउँदैन र त्यहिँ बस्छ । निकैबेरपछि केहि घोडचढीहरु त्यहाँ आउँछन् । बूढो बसी नै रहेको हुन्छ । दशजना घोडचढी मध्ये नौजना बूढातिर नहेरी अघि बढ्छन् तर अन्तिमको घोडचढीले सोध्छ , “तपार्इं किन यो चिसोमा बस्नु भएको ? जमेर मरिन्छ त यसरी बस्दा ।” बूढो मान्छेले भन्छ, “यो खोल्सी तर्ने आँट नआएर यहाँ बसेको । मलाई पनि पारि तारिदिन्छौ कि ?,” अनि घोडचढीले बूढालाई घोडामा राखेर पारि मात्र होइन अलिपर रहेको उसको घरसम्म नै पुर्याई दिन्छ । अनि त्यस घोडचढिले सोध्छ ,“मभन्दा अगाडि जाने नौ जनालाई चाहिं किन नभनेर म अन्तिमको मान्छेलाई खोला तारिमाग्नुभो त ?” अनि बाजे भन्छन्, “म मान्छे हेर्दा हेर्दा धेरै बूढो भैसकें । म अनुहार र आँखा हेरेर को कति हतारमा छ भन्ने थाहा पाउँछु । यो हतारो कहाँसम्म पुग्नका लागि हो भन्ने पनि मलाई थाहा छ । धन्यवाद बाबु, तिमीलाई ईश्वरले कहिल्यै हतार नगर्ने सद्बुद्दि दिई नै राखून् ।” यति भनेर बूढो घरतिर लाग्यो । यस कथाको मर्म अन्तिममा छ । यो आजका मानवको हतारो कहाँसम्म पुग्नका लागि होला त भनेर सोच्दा बेफाइदा हुँदैन।
अब मान्छे हतारोमा छ । सैयौं माइल छिनमै गुड्छ र कैयौं कोश निमेषमै उड्छ ।
पहिले शारीरिक बोझ कुइँच्च बोक्थ्यो अब मानसिक भारी मरिकुच्च बोक्छ । पहिलेको मान्छे वास्तविकतामा बाँच्थ्यो, अबको मान्छे बनावटी साइबर संसारमा बाँच्दैछ । खोरमै जन्मेर खोरमै हुर्केका जंगली जनावरले बाहिर स्वतन्त्र डुलि हिंड़्ने आफ्ना स्वजातीय जीव देख्दा तिनीहरुलाई अराजक मान्दा हुन् । त्यस्तै आजभोलि शहरमै जन्मी हुर्कि गरेका नयाँ पुस्ताले पनि प्रकृतिसँगै तादाम्यता कायम गरेर बसेका मानिसहरुलाई देख्दा तिनीहरुलाई असभ्य र कुसंस्कारी मान्दा हुन् । भर्चुअल दुनियाँमा बाँचेका, प्रकृतिभन्दा टाढा रहेका, आजभोलिका पुस्ता देख्दा मलाई प्लेटोको गुफाको बिम्बकथा याद आउँछ ।
इशापूर्व ३७५ मा ग्रीसेली दार्शनिक सुकरातका चेला प्लेटोले सत्यताका चार तह बुझाउन गुफाको बिम्ब कथा सिर्जना गरेका थिए । एउटा अँध्यारो गुफाभित्र लामो समयदेखि थुनिएर रहेका केहि मानिस हुन्छन् । उनीहरुका पछाडि ठूलो आगो दन्किरहेको हुन्छ । ती थुनुवाहरु त्यस आगोको उज्यालोमा प्रतिबिम्बित बस्तुका छायाँ मात्र देख्छन् । उनीहरुलाई दायाँबायाँ हलचल गर्न नसक्नेगरि नेल ठोकेर राखिएको हुन्छ । ती थुनुवाले अलि पर मान्छे बोलेको सुन्छन् तर शब्द खुट्याउन सक्दैनन् । ती थुनुवालाई जे जस्तो आवाजको प्रतिध्वनि सुनियो र आगोको उज्यालोमा जे जस्तो छायाँ देखियो त्यहि नै सत्य हो जस्तो लाग्छ । तीमध्ये एउटा थुनुवा जब बाहिर निस्कन्छ, अनि मात्र उसले थाहा पाउँछ कि उसले ठानेको संसार त असली होइन रहेछ । त्यसरी ऊ त्यहि बाहिरी दुनियाँमा रमाउन थाल्छ । तर प्लेटो भन्छन् – जो उज्यालोमा छ त्यसले त अरुलाई पनि अन्धकारबाट बाहिर निकाल्ने हो । अनि पो संसार उज्यालो हुन्छ ।
यो भर्चुअल दुनियाँ मलाई प्लेटोको विम्ब कथा जस्तै लाग्छ ।
हामी कम्प्युटर स्क्रिनले सिर्जना गरेको दुनियाँमा मस्त छौं । हामी त्यहिं डुल्छौँ, त्यहिं हास्छौँ, त्यहिं बाँच्छौं । यो साँच्चिकै दुनियाँ हो त ? होइन नि ।
त्यहाँ स्क्रिनमा कलकली पानी बग्छ । त्यहाँ खोलाको कलकल आवाज पनि आउँछ तर पानी त छैन । हामी त्यो कम्प्युटरमा देखिएको पानी पिएर तृप्ति
लिन सक्दैनौं। हामी कृत्रिम आगोको तातो र हिउँको चिसोको अनुभव पनि गर्न सक्दैनौं । यो भर्चुअल वर्ल्डको परनिर्भरताले हामीलाई बेलायती लेखक रोल्ड ड्यालले भनेजस्तै बाँदरमा परिणत गरिछाड्ने छ ।
भर्चुअल जंगल
जंगल रमणीय हुन्छ ।
जंगली र पक्का प्राकृतिक जीव र बनस्पतिको असली भण्डार पनि जंगल नै हो ।
अझ वर्षा मौसममा त जंगल झन् रौनकिलो हुन्छ । जंगली फलफूल, सागपात, च्याउ र अन्य खाद्य बस्तुले यो भरिपूर्ण हुन्छ । तर उस्तै देखिने च्याउहरुका प्रजातिले झुक्याएर धेरैको ज्यान गएको छ ।
बिषालु सर्प र बिच्छी जस्ता कीराले प्राण पनि लिएका छन् । त्यसैगरी, काउछोलाई झुसे सिमी ठानेर समाउने हुँदा कतिका छालाका बोक्रा पनि उप्किएका छन् । जंगलमा हात्ती, बाघ, गैंडा, चितुवा, भालुजस्ता हिंस्रक जनावरदेखि त अझ जोगिनु नै पर्ने हुन्छ । यी त देख्न र अनुभव गर्न सकिने जंगलका कुरा भए । तर भर्चुअल दुनियाँमा समेत यस्तै बिषालु जीव जन्तु र बनस्पतिको उपस्थिति हुन्छ ।
भर्चुअल दुनियाँ वास्तवमा हाम्रो दुनियाँभन्दा विशाल छ । यो निरन्तर फैलिरहेको छ ।
हाम्रो पृथ्वीलोक घुमेर सकिएला । मान्छे, जनावर र चराचरका अन्य जीवित निर्जीव वस्तुको गणना सम्भव होला तर हरक्षण चलायमान भर्चुअल दुनियाँ अगम्य छ ।
लाखौँ दिमागहरु यसलाई परिष्कृत गर्न जुटेका छन् । यसभित्र असल कुराहरुको भण्डार पनि छ र अति कमसल कुराहरु पनि त्यतिकै छन् ।
यो वास्तविक संसारकै प्रतिरुप भएकोले कुन कुरा छान्ने र कसरि प्रयोग गर्ने भन्ने कुरा प्रयोगकर्तामै भर पर्छ ।
अवास्तविकता
यो मानव सिर्जित काल्पनिक दुनियाँ नहुँदा जुन प्रकारको एकापसको प्रेम, स्नेह र सद्भाव मानव जगतमा थियो, आज त्यो हराउँदै गएको छ । मान्छे अझ नजिक छ तर पनि टाढा छ । एक बटनमा आफुले चाहेको मान्छेको प्रतिरुप आफ्ना अगाडि खडा हुन्छ । त्यस प्रतिरुपसँग वातचित र भलाकुसारी गर्न सकिन्छ तैपनि आमनेसामने हुँदाको भाव भनें त्यहाँ हुँदैन । यो त फूलहरु जति पनि हेर्न सकिने तर टिपेर शिरमा लगाउन वा वासना लिन नसकिने अवस्था हो । यो त भोक लागेको बेला खानाको कल्पना मात्रले पेट नभरिए जस्तै हो । यो उपयोगी छ तर वास्तविक दुनियाँमा नओर्लिउन्जेल यसले कुनै अर्थ राख्दैन । भर्चुअल दुनियाँको पीडा बोकेको एउटा कविता भर्चुअल मायालुलाई ले भन्छ :
म अग्गेठ देख्छु
तर तातो भेट्दिन
म तिमीलाई देख्छु
तर महक भेट्दिन
के यो साँच्चै हो ?
यो सपना होइन भने
म किन तिम्रो
हात समात्न सक्दिन
तिम्रो उच्छ्वास महसुस गर्दिन
यो काल्पनिक दुनियाँको
हुनु र नहुनु बिचको प्रतीक
म कहिल्यै बुझ्न सक्तिन ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 9 July, 2021)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).