Saturday 17 July 2021

कति र के के पढ्ने बच्चाहरुले ?

 


विद्यालयमा अविभावकहरुको एउटा आधारभूत चिन्ताले सधैँ प्रमुख स्थान पाउँछ  – “मेरो बच्चा घरमा पटक्कै पढ्दैन ।  के गर्ने होला ?” हामी शिक्षकहरुसँग यस प्रश्नको उत्तर हुन्छ तर यो उत्तर धेरैजसो बाबुआमाहरुका लागि ग्राह्य हुँदैन । बरु “नानीहरुलाई खेलकुद पनि गर्न दिनुपर्छ ।  उनीहरुलाई अहिल्यै पढाइको ठूलो भारीले किच्नु हुँदैन,” भनेर हामी सम्झाउँछौं । 

हो पनि ! छ सात घण्टा विद्यालयमा बिताएर आएका नानीहरुले घरमा फेरि खुशीले वा करले कम्तिमा एक दुई घण्टा त गृहकार्य गर्नमै बिताउनुपर्छ । त्यतिले पनि हामी आमाबाबुको चित्त बुझ्दैन । हामीलाई यी केटाकेटी हरदम किताब समातेर बसिरहुन् जस्तो लाग्छ । 

कति पढ्ने

एउटा खेतालाले आठ घण्टा बारी खन्छ । त्यसपछि ऊ घर फर्केर अन्य काम गर्ला तर खन्ने काम सामान्यतयाः गर्दैन । हामी पनि कुनै न कुनै पेशा गर्छौं । एउटा निश्चित समय त्यो पेशासँग सम्बन्धित काम गरिसकेपछि घर फर्केर गफगाफ गर्ने, आराम गर्ने वा केहि मनोरंजन गर्ने गर्छौं ।  त्यसैगरी, बालबालिकाहरुले पनि दिनभर विद्यालयमा र घरमा समेत पढाइ गरिसकेपछि त्यसबाट बिश्राम लिन पाउनुपर्छ । अघाइसकेपछि त जति मीठो भए पनि खान नसकेजस्तै हो पढाइ पनि । 

तपाईंहरुका नानीले तपार्इंले चाहेजति समय अध्ययन कार्यमा नबिताउनुको प्रमुख कारण ‘तपाईं नै हो भन्दा तपाईंलाई रिस उठ्न सक्छ । तर सत्य कुरा यहि नै हो । तपाईं नानीहरुलाई पढिरहुन् भन्ने चाहनुहुन्छ तर आफूचाहिं के गरेर समय व्यतित गर्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यदि तपाईं टिभी त्यति हेर्नुहुन्न, मोबाइलमा र अनावश्यक गफमा समय बिताउनुहुन्न र फुर्सदमा पढ्नुहुन्छ वा कुनै काम नै गर्नुहुन्छ भने नानीहरुले पनि त्यसै गर्छन् । साना नानीहरुका लागि सबैभन्दा ठूला ’रोल मोडलत बाबुआमा नै हुन् । त्यसैले हामी नानीहरुले पढून् वा कुनै काम गरेर समय बिताउन् भन्ने चाहन्छौं भने त्यो कामको शुरुवात हामी आफैंबाट हुनुपर्छ । 

के के पढ्ने ?

सामान्यतयाः हामी ’पढ्नुभनेको पाठ्यक्रममा भएका पुस्तक मात्र पढ्नु भनेर बुझ्छौं भने हाम्रो सोचाइलाई अलिकति परिमार्जन गर्नुपर्छ । दिनभर एउटै  काम गर्न हामीलाई दिक्क लागेजस्तै बालकहरुलाई पनि एउटै पुस्तक पल्टाइरहन वाक्क लाग्न सक्छ । उनीहरुलाई मन पर्ने पाठ्यसामग्री जुटाइदिने अभिभारा पनि बाबुआमाकै हो । अलिअलि पढ्ने बानी परेपछि त उनीहरु साथी साथीका किताव साटासाट गरेर पढ्न थालिहाल्छन् । तस्बिरहरु बनाउन र रंगाउन सक्छन् । यी कुराहरुले पक्कै पनि अभिभावकहरुलाई सन्तुष्टि प्रदान गर्छ । 

एकजना मेरी चिनारु हुनुहुन्छ । उहाँ टिकटकमा निकै नै सक्रिय हुनुहुन्छ । उहाँकी नानी


त्यस्तै पाँच वर्षजतिकी होलिन् । उहाँका टिकटक धेरैले रुचाएका र चर्चाका विषय पनि बनाएका छन् । तर उहाँले मेरो विचारमा एउटा कुरामा ध्यान पुर्याउनु भएको छैन । त्यो के भनें उहाँ आफ्नी सानी छोरीलाई समेत टिकटकमा सहभागी गराउनुहुन्छ । यी अभिभावक बालकहरुले नबुझ्ने, उनीहरुको उमेर समूहमा नपर्ने र अश्लिल लाग्ने वार्तालाप र गीतहरुमा ती सानी नानीलाई अभिनय गराउनुहुन्छ । यो एउटा समस्या हो र यस्ता कुराको दुरगामी प्रभाव कहाँ पर्छ भन्ने कुराको ज्ञान शायद उहाँलाई नभएरै होला यसो गर्नुभएको । बालकहरुलाई  यस्ता उच्छृङ्खल गीत र वार्तालापमा सहभागी गरिएका उदाहरण प्रशस्त देख्न सकिन्छ । यसरी उनीहरुलाई यस्ता नचाहिने काममा सहभागी गराउनु बाल अधिकारको हनन नै हो । यो केटाकेटीहरुलाई उनीहरुले बोक्न नसक्ने भारी बोकाइएको जस्तो हो । यस्ता कुरामा हामी अभिभावकहरुले विचार नगरिदिने हो भने कसले गर्ने ?

मैले कतिपय अवस्थामा विद्यालयहरुमै र सार्वजनिक समारोहमा समेत अबोध बालबालिकाहरुलाई उनीहरुको उमेर नसुहाउने उन्मादी गीतहरुमा नचाएको देखेकी छु । उनीहरु ती गीतका अर्थ नबुझी नाचिदिन्छन् । अनि हामीहरु त्यसैमा मक्ख परेर थपडी  मार्छौं । ती टिकटकमा प्रयुक्त भाषा जब बालकहरुले दैनिक जीवनमा प्रयोग गर्न थाल्छन्, हामी त्यसमा आपत्ति जनाउछौं । यी कुराले बच्चाहरुलाई द्विविधामा पार्न सक्छ । कुनै बेला त्यहि भाषा टिकटकमा बोल्दा स्याबासी पाएका उनीहरु दैनिक व्यवहारमा चाहिं किन यस्ता कुरा ग्राह्य हुदैनन्


भन्ने बुझ्दैनन् । यसले बाल मनोविज्ञानमा ठूलो असर पार्नसक्छ ।

खोइ मेरो ठाउँ ?

हामी आफ्नो गच्छेअनुसार आफ्नो बासस्थानमा बसेकै हुन्छौं । तपाईं हामी प्रायः जुनसुकै घरमा पनि स्कुले उमेरका केटाकेटी देख्छौं । तर ती घरहरुमा केटाकेटीहरुकै लागि भनेर बनिएको सानो पुस्तकालयसहितको पढ्ने कोठा देख्नु भएको छ ? यदि तपाईं आफ्ना नानीहरु पढून् भन्ने चाहनुहुन्छ भनें कमसेकम एउटा सानो कुनो उनीहरुका किताबहरुले भरेर छुट्याइदिनुपर्छ । घर बनाउँदा हामी आफ्ना स्वार्थका बैठक कोठा, सुत्ने कोठा, बाथरुम आदिको परिकल्पना गर्छौं । तर नानीहरुलाई वा आफैंलाई भनेर पुस्तकहरु सहितको पढ्ने कोठाको परिकल्पना गर्छौं त ? यो त जरुरी कुरा हो जस्तो लाग्छ मलाई । यसरि आफू नै रोल मोडल बनिदिने हो र पढ्ने कुरालाई प्राथमिकतामा राखिदिने हो भने बच्चाबच्चीको ध्यान अन्त मोडिदैन ।

हाम्रातिर बालउपयोगी पुस्तकालय त्यति छैनन् । आफू नौ दश क्लासमा हुँदा भनें भाग्यवश काठमान्डौमै भइएकोले साथी साथी मिलेर हामी ब्रिटिस काउन्सिल लाइब्रेरी जान्थ्यौं । न्युरोडमा रहेको नेपाल भारत पुस्तकालयमा जान्थ्यौं र घन्टौं टहल्थ्यौं । त्यहाँ केटाकेटीलाई कहिलेकाहिं ससाना बाल पुस्तक सित्तैमा पनि दिने चलन थियो । त्यसबेला पढेका पुस्तकहरुको छाप मेरो मस्तिष्कमा अझै छ । त्यो सार्वजनिक पुस्तकालय चहार्ने लतले मलाई अस्ट्रेलियासम्मै पछ्यायो । त्यतिबेला हाम्रो सानो छोरो पनि साथमै रहेकाले उसलाई समेत हामीसँगै पुस्तकालय जाने र पढ्ने बानी  बस्यो । 

तोकिएका पाठ्यपुस्तकका भारले थिचिएका बालकहरुलाई कथा, कविता, बाल उपन्यास र चित्र कथाहरुले मनोरन्जनका साथ साथै ज्ञान पनि प्रदान गर्दछन् । पढ्ने बानीले उनीहरुमा कल्पनाशीलताको  विकास हुन्छ । पुस्तकमा भएका पात्र, घटना र तथ्यहरुले बालकहरुलाई समाजका विभिन्न पाटा बुझ्न मद्दत गर्दछ । स्वादिला कथानकमा घोलिएका ज्ञानका कुराहरुलाई उनीहरु आफ्नै प्रकारबाट ग्रहण गर्दछन् । यी र यस्तै कारणहरुले गर्दा बालकहरुलाई पुस्तक पढ्नमा प्रोत्साहित गर्न सकियो भने योभन्दा ठूलो अभिभावकहरुले आफ्ना नानीहरुलाई दिनसक्ने उपहार अर्को हुनै सक्दैन । 


फाइदै फाइदा

पढाइलाई हामीले विद्यालय शिक्षामा मात्र सीमित गरेर हेर्न मिल्दैन । वाह्य पुस्तक पढ्ने बालकको सामान्य ज्ञान, चेतना, तर्क शक्ति र वाचन क्षमता त्यस्ता पुस्तक नपढ्ने केटाकेटीको तुलनामा निकै राम्रो हुन्छ । पढ्नु वा पढ्न प्रोत्साहित गर्नु सहज कार्य भने होइन किनभने यो कुरा मोबाइल चलाउनु र टेलिभिजन हेर्नु जस्तो रुचिकर हुँदैन । तर शब्दहरुले जसरी कल्पनाशीलतालाई उर्बर बनाउँछ त्यति टिभी वा मोबाइलले गर्न सक्दैन । शब्दमा वर्णन गरिएका फूल, जंगल, नदीले हामीलाई ती कुरा कल्पना गर्न वाध्य बनाउँछ । तर काँचको पर्दामा त हामी सबैले एउटै दृष्य देख्छौं र हाम्रो सोचाइ वा कल्पनाको त्यति धेरै काम हुँदैन । टिभीमा देखिएका दृश्य र संवादले भन्दा पुस्तकमा पढेका कुराले हामीलाई आफ्नो विचारको विकास गर्न बढी सघाउ पुर्याउँछ । टिभीका छिनछिनमै फेरिरहने दृश्यले गर्दा हामी सोच्न वाध्य भैरहँदैनौं  र दृश्यसंगै बगिरहन्छौं । तर तिनै कुरा पुस्तकमा पढ्दा भनें अडिएर सोच्न र आफ्नो विचार निर्माण गर्न सक्छौं ।   

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 16 July, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).